Everest Face
इजरायलले गर्‍यो इरानमा जवाफी हमला

इजरायलले इरानमा जवाफी हमला गरेको छ । शुक्रवार राति इस्फाहन सहरनजिक हवाई अड्डा र परमाणुस्थललाई लक्षित गरी  इजरायलले आक्रमण गरेको हो ।

त्यहाँको आकाशमा ड्रोन र मिसाइलहरू देखापरेका थिए । ती ड्रोन र आक्रमणहरू इरानको हवाई डिफेन्स सिस्टमले निस्तेज तुल्याएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

यो आक्रमणको पुष्टि दुवै पक्षले गरेपनि महत्त्व दिएका छैनन् ।  

द न्युयोर्क टाइम्सका अनुसार इसराइलले अहिलेसम्म सार्वजनिक रूपमा इरानमाथि जवाफी आक्रमण सुरु गरिएको भनेको छैन । यद्यपि इरानको आक्रमणपछि त्यसको जबाफ दिनुपर्ने माग बढेको थियो । 

इरानले आफ्नो आकाशमा शङ्कास्पद वस्तु देखिएको त्यसलाई निस्तेज पारिएको भनेको छ । 

दुवै पक्षले  इजरायलकाे पछिल्लो आक्रमणलाई खासै महत्त्व नदिनुले  यो मामिलालाई धेरै बढाउन चाहँदैनन् भन्ने बुझ्न सकिन्छ ।

सिरियास्थित इरानी दूतावास परिसरमा रहेको वाणिज्य दूतावास भवनमा इसराइलले अप्रिल १ मा गरेको हवाई आक्रमणको बदलामा इरानले शनिबार राति इजरायलमा सयौँ ड्रोन र मिसाइलबाट आक्रमण गरेको थियो । 

इरानले आफूमाथि जबाफी आक्रमण गरे इजरायललाई  झन् ठूलो हमला गर्ने चेतावनी दिँदै आएको छ । यति मात्र होइन, इजरायललाई हतियार र अरू सहायता दिएर भरथेग गर्ने अमेरिकालाई पनि बीचमा नआउनू भनेर धम्क्याएको थियो । 

अमेरिकाले पनि इजरायललाई  इरानबाट सुरक्षा दिन सकिने तर इरानविरुद्धको लडाइँमा प्रत्यक्ष साथ दिन नसकिने बताउँदै विचार गरेर रणनीति अपनाउन भनेको छ। त्यसकारण इजरायलले इरानमाथि घोषित रूपमा आक्रमण गरेको छैन । 

सिरियाको‍ इरानी दूतावास भवनमा भएको आक्रमणमा कुद्स फोर्सका ६५ वर्षीय जनरल मोहम्मद रेजा जाहेदी, जाहेदीका 'सेकेन्ड-म्यान' जनरल मोहम्मद हादी हज रहिमी र उक्त क्षेत्रमा कुद्स फोर्सका सैन्य कमान्डर जनरल होसेन अमान अल्लाहीसहित सात इरानी सैन्य अधिकृत मारिएका थिए । 

-एजेन्सी

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update