Everest Face
‘माछा’लाई भ्रष्टाचारीसँग किन तुलना गरेकाे हाेला ? 

!...बुढीगण्डकीको तिरैतिरबाट भिरैभिर खोपेर बनाएको अफरोड बाटो, धुलो उडाउँदै कुद्याे बस । खाल्डाखुल्डीमा बस कहिले तीन फिटसम्म उफ्रिने, बसको इन्जिनबाट फाल्ने धुवाँ, सडकको धुलो अनि गन्द्राङगुन्द्रुङ आवाजले नजिकै आफ्नै लयमा शान्त बगिरहेको निर्मल बुढी गण्डकीलाई हैरान पारिरहेको थियो । तर, बुढी गण्डकीको कुनै गुनासो आएन, उनी आफ्नै सुरमा बगिरहिन् । सायद उनलाई गुनासो गर्ने फुर्सद थिएन या “नाथे मानिससँग के गुनासो गर्नु” भन्ने लाग्यो ।

Sotikhola-(9)-1713504626.jpg
बुढीगण्डकीकाे तिरैतिर, भिरैभिरमा बनेकाे बाटाे ।

बुढी गण्डकी केही नबोले पनि उसमा आश्रित माछा लगायत जलचरहरू भने पक्कै तर्सिरहेका थिए होलान् । तर्सेपनि फेरि भागेर जानु कहाँ ? वल्ला किनार, पल्लो किनार, तलमाथि भाग्ने त हो । जता भागे पनि आखिर पानीभित्रै हो । भागेर पानी बाहिर जाने/बाँच्ने क्षमता तिनलाई प्रकृतिले दिएकै छैन । हुन त हरेक प्राणीहरूका आ–आफ्नै सीमितताहरू छन् । जुन प्रकृतिले निर्धारण गरिदिएका छन् । प्रकृतिभन्दा बलिया कुनै पनि प्राणी हुनै सक्दैनन् । मानिसले जतिसुकै भौतिक प्रगति गरे पनि प्रकृतिसामु निरीह नै हुन्छन् । 

“यत्रो ठुलो नदिमा माछा त होला नि है मामा ?”, नदितिर नजर घुमाउँदै भान्जी नेनाले जिज्ञासा राखिन् । 

“होला नि ।”, मैले भनेँ ।

माछा !, माछा भन्ने बित्तिकै तपाईँको मस्तिष्ककाे क्यानभासमा केको चित्र बन्यो ? अहिले त माछा भन्ने बित्तिकै पानीभित्र बाँच्ने लाम्चो आकारको जलप्राणीको याद कम आउँछ, बरु देशलाई खोक्रो बनाउने ‘धमिरारुपी’ भ्रष्टाचारीहरूको अनुहार पो याद आउँछ । भ्रष्टाचारी र माछा पर्यायवाची शब्द जस्तो भएको छ । तर, यहाँनेर समस्या छ, माछा र भ्रष्टाचारी एउटै होइनन् । पानीभित्र लेउ खाएर बाँच्ने माछालाई भ्रष्टाचारीसँग किन तुलना गर्नु ? माछामाथि अन्याय हो यो । सायद माछा बोल्ने भएको भए मानिस विरुद्ध मानहानिको मुद्दा हालिसक्ने थियो । 

मछुवाले जहिले पनि ठुलै माछा खोज्छन्, जति ठुलो माछा पायो त्यति नै रमाउँछन् । तर, ‘अदालत÷प्रहरी प्रशासनरुपी’ मछुवाले त साना भ्रष्टाचारी मात्रै खोज्छन्÷समाउँछन् । माछा, मछुवा र भ्रष्टाचार÷भ्रष्टाचारी नियन्त्रकबीच यहाँनेर पनि तारतम्य मिल्दैन । 

Sotikhola-(5)-1713504405.jpg
साेतीखाेला बजार छेउमा बुढीगण्डकीमाथि बेलीबृज ।

बुढी गण्डकीमा लेउ खाएर बाँच्ने माछा पक्कै होलान् । त्यसमा समस्या भएन, गुनासो पनि भएन, बरु नहुनु चाहिँ समस्या हुनसक्छ । बन्न लागेको बुढी गण्डकी जलविद्युत आयोजनामा ‘भ्रष्टाचारीरुपी’ माछा भेटिनु चाहिँ समस्या नै हो । यस आयोजनामा नौ अर्ब रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको भनेर पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले नै दाबी गरेका थिए । २०७७ असोज २२ गते गोरखाकै पालुङटार–६ स्थित पौवाटारमा तत्कालीन जसपाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको नामै किटेर नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका थिए । उनले भ्रष्टाचार गरेको प्रमाण जुटाउने दाबी समेत गरेका थिए ।

उनले भनेका थिए, “करोड र लाखको कुरा छाडौँ, अर्ब, अर्बको लुट भइरहेको छ । म प्रधानमन्त्री छँदा सुरु गरेको बुढीगण्डकी जलविद्युत आयोजनाबाट केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डले नौ अर्ब रुपैयाँ कमिशन खाएर अलपत्र पारिरहेका छन् । मलाई थाहा छ यो कुरा । प्रमाणित गर भन्नुभयो भने म तुरुन्त गर्न सक्छु । यो मात्र होइन, अरू १०/८ वटा आयोजनाबाट अर्बौँ अर्ब कमिशन खाएर मुखमा बुझो लाएर बसेका छन् । चिट चोरेर ८ कक्षा पास गरेका र १० कक्षामा फेल भएकाहरूले कमिशनखोरसँगको साँठगाँठबाट मुलुक चलाएकाले अहिले यस्तो दुर्दशा भएको हो ।”

कुनै सामान्य व्यक्तिले बोलेको अथवा आरोप लगाएको भए त्यसलाई सामान्य रूपमै लिन सकिन्थ्यो । जसले यही व्यवस्था ल्याउनका लागि ज्यानको बाजी थापेर सशस्त्र द्वन्द्वको नेतृत्व गरे, मुलुकको पूर्व प्रधानमन्त्री, एक बौद्धिक व्यक्तिले बोलेको दाबी गरेको कुरामा सत्यता नै होला । उनले दाबी गरे जस्तै ती ठुला भनिएका नेताहरूले भ्रष्टाचार गरेको प्रमाणित होला भन्ने विश्वस्त हुन सकिन्थ्यो । तर, अहँ ! न देउवा, ओली र प्रचण्डले भ्रष्टाचार गरेको प्रमाणित भए न भट्टराईले प्रमाणित गर्ने चेष्टा नै गरे । “काले काले मिलेर खाऔँ भाले” भएको त होला नि ! हामी नेपाली जनताले नबुझेको कुरा होइन । जानीजानी एक अर्काको कट्टु त कहाँ खोल्थे र !

बुढीगण्डकीको तिरैतिर माछाखोलासम्मको यात्रामा, बुढी गण्डकीको माछा, जलविद्युत आयोजना अनि भ्रष्टाचारको प्रसङ्ग स्वाभाविक रूपमा मस्तिष्कमा आउने नै भयो । यस्तै-यस्तै सोच्दै, कल्पनामा सयर गर्दै अघि बढेँ । गन्तव्यमा पुर्‍याउन त बस गुडिरहेकै थियो ।  

“भिरको बाटो यस्तै हो”, एक जना यात्रु बोले । सायद उनी त्यतैका स्थानीय थिए । उनको प्रतिउत्तरमा अर्को बोले, “हाम्रो सरोकार भिरसँग होइन, त्यो त प्रकृतिले बनाएको हो, मान्छेले बनाएको बाटो त राम्रो बनाउनुपर्‍यो नि ।”

मानिस त हो, गुनासो गरिहाल्छन्, प्रतिक्रिया दिइहाल्छन् । अक्करे भिर खोपेर बनाएको बाटो देख्दा चाहिँ मेरो मनमा गुनासो उठेन । बरु “यस्तो डरलाग्दो चट्टाने भिर खोपेर बाटो बनाउन कति कठिन भयो होला” भन्ने मनमा जिज्ञासा उठिरह्यो । कसैलाई प्रश्न गरिहाल्ने अथवा प्रतिक्रिया दिइहाल्ने स्वभाव मेरो होइन । झल्याँस्स सम्झिएँ, “वीर गोरखालीहरूको जिल्लामा पो यात्रा गरिरहेको छु, यस्ता जाबो भिर त खोपिहाल्छ नि !” 

सुनैना र नेनालाई चाहिँ गाडीमा चढ्यो कि आँखा चिम्लिनुपर्ने, नत्र आन्द्राबुँढी नै खाली हुने । गाडी चढ्ने बित्तिकै निदाउने कोसिस गर्छन् उनीहरू । बसले तीन फिट उफार्दा पनि निदाएझैँ गरिरहेका थिए । म चाहिँ झ्यालबाट आँखालाई बाहिर डुलाउँदै मनोवादमा व्यस्त भएँ । आरुघाटबाट करिब दुई घण्टापछि हामी सोतीखोलामा पुग्यौँ । सोतीखोला बजार नजिकै बुढी गण्डकी नदिमाथि बनेको बेलीब्रिज देखेर दङ्ग परेँ । निलो कञ्चन बुढी गण्डकी, सेतो सफा बगर अनि माथि बेलीब्रीज । तर, हामीले बेलीब्रिज तर्न नपर्ने रहेछ । तरेर जान नपरे पनि फोटो त खिच्नैपर्यो । पुलमा उभिएर दुई चार फोटो अनि छोटो भ्लग कैद गरेँ । 

Sotikhola-(2)-1713504456.jpg
साेतीखाेला पुलमा हामी । 

सोतीखोलादेखि हामीले अर्कै बस चढ्नुपर्ने रहेछ । हामी चढेर आएको बस पुल तरेर गयो, हामी चाहिँ वारी नै रह्यौँ । अर्को बस कुर्नुपर्ने भयो । बस कुरेर एक ठाउँमा बसिराख्नुभन्दा बरु बिस्तारै हिँड्दै गरौँ, जहाँ पुग्दा बस आउँछ, त्यहीँबाट चढौँला भन्ने सल्लाह भयो । त्यसपछि हामी पैदल हिँड्न थाल्यौँ । अग्लो भिरको फेदमा नदी किनारामा बसेको सोती खोला बजार सारै सफा र सुन्दर देखियो । बजारको छेउमै रहेछ सोती खोला । पहाडको खोँचबाट बगेर आएको सोती खोलाको कञ्चन पानी पिएर अघि बढ्यौँ ।  

Sotikhola-1713504461.jpg
साेतीखाेला बजार ।

केहीबेरमा बस आइपुग्यो । हामी बस चढ्यौँ । त्यस्तो अप्ठ्यारो बाटोमा पनि बस निकै जोडतोडले कुद्यो । म बसको दाहिनेतिर झ्यालमै थिएँ । अगाडी हेर्दा भिर मात्रै देखिन्थ्यो, बाटो नै नदेख्ने, तल हेर्दा पातालमा बगिरहेको बुढी गण्डकी । मनमा अलि अलि डर, अलि अलि रोमाञ्चकताको मिश्रित अनुभूति भइरह्यो । अलिकति अगाडि पुगेपछि बस रोकियो, बाटोमा दुई वटा गाडी बिग्रेको रहेछ । एउटा टिप्फर अनि एउटा आइचर । उनीहरू एकआपसमा ठोकिएको होइन । दुवैको पट्टा बाँचिएको रहेछ । विदेशी पर्यटकहरू चाहिँ आफ्नो गाडी छिराउने प्रयास गर्दै थिए । उनीहरू बाटो बनाउन ढुङ्गा, मुढा उचालिरहेका थिए । स्वयम गाडीको चालक र अन्य नेपालीहरू चाहिँ पर्यटकले ढुङ्गा बोकेको फोटो भिडियो खिच्न मोबाइल तेर्स्याइरहेका थिए । सबै जना क्यामेरा म्यान, पत्रकार ! 

Sotikhola-(6)-1713504401.jpg
बाटाे बनाउँदै विदेशी पर्यटकहरू । 

जबरजस्त गरेर भए पनि पर्यटकको सानो–सानो गाडीहरू पास भयो । उनीहरू गाडी चढेर हुइँकिए । हामी पनि पुनः पैदलयात्रा गर्दै अघि बढ्यौँ । खासमा बसमा भन्दा पैदलयात्रा गर्दा रमाइलो भइरहेको थियो । भिरपाखा, खोला, झरनाको अवलोकन गर्दै यात्रा जारी राख्यौँ । धार्चे गाउँपालिकाको–७ स्थित लापु भन्ने गाउँमा पुग्यौँ । लापु गाउँसँगै रहेछ न्याउली झरना । झरना भन्दा पनि झरनाभन्दा माथिको डाँडामा उभिएको ठुलो चट्टान देखेर अचम्म लाग्यो । गगनचुम्बी चट्टान ठिङ्ग उभिएको थियो । यति अग्लो ढुङ्गा कसरी अडिएको होला ? भूकम्पले किन केही भएन होला ? एक अर्कासँग यस्तै–यस्तै जिज्ञासाहरू राख्दै हामी तीन जना पाइलाहरू अगाडि बढाइरह्यौँ ।

Nyauli-Waterfall-1713505577.jpg
न्याउली झरना । 

अलिकति अगाडी पुगेपछि बाटो छेउमा उभिरहेको एक जना बाजे उमेरका मनुवाले हामीलाई देख्नेबित्तिकै सोधे, “आज बस आउँदैन ? कहाँबाट आएको तिमीहरू ?” उनी पनि बसको पर्खाइमा रहेछ । बस बाटो ब्लग भएकोले नआउने सुनाए । त्यसपछि हामी गफ गर्दै सँगै अघि बढ्यौँ । उनको नाम कृष्ण बहादुर गुरुङ रहेछ, घर चाहिँ खोलाबेसी ।

Nyauli-Waterfall-(2)-1713505950.jpg
कृष्ण बहादुर गुरुङ ।

लापुमा उनी चप्पल किन्न आएका रहेछन् । चप्पल किन्न उनी बस नआएपछि त्यही चप्पल पड्काउँदै हिँडे । हामीलाई पनि गफ गर्न साथी भयो । उनीसँग गफ गर्दै जाँदा थाहा भयो कि हामीले देखेको बडेमानको ढुङ्गा त त्यहाँका गुरुङ समुदायको कुलदेवता पो रहेछ । उनीहरू त्यस ढुङ्गालाई चिङ्गार भनेर सम्बोधन गर्दा रहेछन् । उनका अनुसार त्यो ढुङ्गाको उचाइ डेढसय मिटर छ । ढुङ्गाभित्र ‘हिरामोती’ रहेको उनीहरू विश्वास गर्दा रहेछन् । सँगै हिँड्दा उनले आफ्ना पुराना भोगाई र अनुभूतिहरू सुनाए । नुन बोक्न गोरखा बजार गएको, गाउँमा बाटो ल्याउन गरेको सङ्घर्ष लगायत कथाहरू उनले सुनाए । 

Nyauli-Waterfall-(1)-1713505950.jpg
कृष्ण बहादुर गुरुङसँग गफ गर्दै यात्रा गर्दै ।

हामीसँग हिँड्दा पाइला नपुगेपछि कृष्ण बहादुर अगाडि लागे । न्याउली झरनामा केहीबेर हामी रुमलियौँ । हाम्रो गन्तव्य माछाखोलासम्म थियो । न्याउली झरनाबाट त्यहाँ पुग्न तीन घण्टा लाग्ने स्थानीयले बताए । झमक्क साँझ परिसकेको थियो । हामी त्यतै बस्ने या जाने अलमलमा पर्‍यौँ । न्याउली झरना आफ्नै तालमा छङछङ गरिरहेकै थियो, गगनचुम्बी पहाडको काखमा बडेमानको चिङ्गार आफ्नै ठाउँमा उभिइरहेकै थियो, त...ल बुढी गण्डकी आफ्नै लय र सुरमा बगिरहेकै थियो । साँझ छिप्पिँदै जाँदा हामीले चाहिँ लय र सुर दुवै बिर्सिन पो लाग्यौँ ।

Sotikhola-(1)-1713504456.jpg
पैदलयात्रा गरेर अघि बढ्दै हामी । 

अँध्यारो भइसकेको थियो, “अब यतै बास खोज्नुपर्छ” भन्ने मुडमा पुग्यौँ । यतिकैमा बसको हर्न बजेको सुनियो । बस आउँदै रहेछ । बाटो खुलेछ । एकैपटक तीन वटा बस लस्करै आउँदै रहेछ । सबै ब्लग भएर रोकिएका । हामी फेरि बस चढ्यौँ । गन्तव्य पुग्ने भएपछि नरमाउने कुरै भएन । फेरि उस्तै बाटो, अक्करे भिर खोपेर बनाएको बाटो, गन्द्रागुन्द्रुङ गर्दै धुलो उडाउँदै बस कुद्यो । त्यस्तो अप्ठ्यारो बाटोमा त्यसमाथि राती पनि चालकहरूले प्रतिस्पर्धा गर्न छोडेनन् । बेढङ्गले कुदायो बस । बाटो यसै डरलाग्दो, बसको कुदाइले डरको डोज थपियो, गन्तव्य पुग्ने खुसीले डरलाई थिच्ने प्रयास गरियो । नेना र सुनैनालाई चाहिँ आनन्द, न डरलाग्दो बाटो देख्नु, न बेढङ्गले बस कुदाएको पत्तो ! निदाइदियो आनन्द ।

Sotikhola-(3)-1713504442.jpg
डरलाग्दाे भिरकाे बाटाेमा कुदिरहेकाे बस । 

रातिको आठ बजे माछाखोला पुग्यौँ ।बस रोक्ने ठाउँको दुईतीन वटा खाजा पसलबाहेक बजार सुतिसकेको रहेछ । हामी चाहिँ सेकसम्म टेन्टमा सुत्ने र प्रकृतिसँगको सामीप्यता बढाउने योजना अनुरूप टेन्ट लगाउने ठाउँको खोजीमा लाग्यौँ । नदिको किनारामा बास बस्ने हाम्रो योजना नै थियो । हामी नदी किनारा पुग्ने बाटो खोज्दै बजारको गल्लीहरू छिचोल्दै खोलातिर लाग्यौँ । अँध्यारोमा छामछुम गर्दै बल्लतल्ल नदी किनारामा पुगेको त घोडाको तबेला पो रहेछ । हामीलाई देखेर घोडाहरू रिसाए, कराउन थाले, त्यो अनकन्टार अनि अनजान ठाउँमा के गरौँ क गरौँ भयो । फेरि माथि फर्केर आयौँ । बजारमा एक जना सत्यरसले लट्ठिएको व्यक्ति बाटो नै कब्जा गर्दै हिँडिरहेको भेटियो । ऊसँग खोला किनार जाने बाटोबारे सोधेँ । उसले पुल तरेर पारिपट्टि गएपछि तातोपानी कुण्डमा पुगिने बतायो । हामी पुल तरेर त्यतै लाग्यौँ । पुल तरेर पारि पुगेपछि खोलामा झर्ने बाटो चाहिँ खतरनाक रहेछ । तैपनि जसोतसो झर्‍यौँ ।

Sotikhola-(7)-1713504385.jpg
टेन्ट फिट गर्दै हामी । 

बुढी गण्डकी नदी किनारामा बालुवामाथि टेन्टको घर तयार भयो । त्यसरी नदी किनारामा बस बसेको हामी सबैको पहिलो अनुभव थियो । उनी दुई जनाको चाहिँ टेन्टमा बास बसेको पनि पहिलो अनुभव । नयाँ अनुभव गर्न हामी खुबै उत्साहित थियौँ, तर अलिअलि डर त छँदै थियो । “डराउनु हुँदैन, केही आउँदैन, केही हुँदैन ” भन्दै एकअर्कालाई ढाडस दियौँ । छेवैमा बुढी गण्डकी गर्जिरहेको थियो । हामी आनन्दले सुस्तायौँ ।

Sotikhola-(8)-1713504385.jpg
बुढीगण्डकीकाे किनारमा टेन्टमा सुस्ताउँदै हामी । 

बिहान पाँच बजे नै उठ्यौँ । बुढी गण्डकीको पवित्र जलले हातमुख सुद्धिकरण गरी बसपार्कतर्फ लाग्यौँ । एउटा आश्चर्य के भयो भने माछाखोला बजारमा माछा कतै पनि थिएन । साँझ होटल बन्द भएकोले नदेखेको होला भन्ने सोचेका थियौँ । “माछाखोलामा आएपछि बुढीगण्डकीको माछा त चाख्नुपर्छ है मामा ।” नेनाले भनेकी थिइन् । तर बिहान हेर्दा माछाखोलामा माछा कतै देखिएन । समोसा खाएर अगाडि बढ्यौँ..... (यात्रा जारी छ, फलाे गर्दै गर्नुहाेला)

यस यात्रा संस्मरणकाे अघिल्लाे भाग पढ्न यहाँ क्लिक गर्नुहाेस्ः !...अनि हामी अघि बढ्यौँ बुढी गण्डकीको तिरैतिर

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update