Everest Face
नेपालको अर्थतन्त्र सुधारोन्मुख छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा रहेको बताएका छन् ।

बिहीबार नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले आयोजना गरेको तेस्रो एकाउन्टेन्ट सम्मेलनलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका छन् । उनले नेपालको अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक हुँदै गएकाले आगामी दिनमा थप सुधार हुने दाबी गरे । उनले नेपालको अर्थतन्त्रको बाह्य सूचकमा सुधार, वित्तीय क्षेत्र सबल र महँगी क्रमशः घट्दै गएकाले अर्थतन्त्र लयमा आउने सङ्केत गरेको बताए ।

उनले सरकारले लिएको नीतिगत निर्णयको कारण बाह्य सूचकमा सुधार, वित्तीय क्षेत्र सबल र महँगी क्रमशः घट्दै गएको उल्लेख गरे । गभर्नर अधिकारीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२४ मा विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको बताए ।

उनले कोरोना महामारीको सङ्कट र रुस युक्रेन युद्धका बीच पनि पछिल्लो समय आर्थिक गतिविधिमा भइरहेको सुधारले आर्थिक वृद्धिको लक्ष्यमा वृद्धि हुने अवस्था रहेको बताए । उनले विश्वको अर्थतन्त्र सकारात्मक अवस्थामा रहेको भन्दै उच्च बिन्दुमा रहेको महँगी क्रमशः घट्ने क्रममा रहेको बताए । उनले सन् २०२३मा ६.८ प्रतिशत रहेको मूल्य वृद्धि सन् २०२४ मा ५.९ प्रतिशतमा झर्ने अनुमान रहेको बताए ।

‘अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२४ मा विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । कोरोना महामारीको सङ्कट र रुस युक्रेन युद्वका बीच पनि पछिल्लो समय आर्थिक गतिविधिमा भइरहेको सुधारले आर्थिक वृद्धिको लक्ष्यमा वृद्धि हुने देखाएको छ । यसरी हेर्दा समग्रमा विश्वको अर्थतन्त्र सकारात्मक छ’, उनले भने, ‘उच्च बिन्दुमा रहेको महँगी क्रमशः घट्ने क्रममा रहेको छ । जुन सन् २०२३मा ६.८ प्रतिशत रहेको मूल्य वृद्धि सन् २०२४ मा ५.९ प्रतिशतमा झर्ने अनुमान छ । नेपालको अर्थतन्त्रमा पनि विभिन्न सूचकहरू बलियो रूपमा देखिएकाले भविष्यमा वृद्धि हुने अवस्था छ । जुन नीतिगत सुधारको कारण बाह्य क्षेत्र सुधार,सबल वित्तीय क्षेत्र,मूल्यवृद्धि स्थिर छ ।’

उनले लेखा परीक्षण व्यवसायीहरूको सक्षमताले निजी क्षेत्र र राज्यका निकायहरूलाई पारदर्शी बनाउन मद्दत पुग्ने बताए । उनले लेखा व्यवसाय विश्वका एक उत्कृष्ट व्यवसाय भएको भन्दै विश्वका जुनसुकै देशमा पनि काम गर्न सकिने अवस्था रहेको बताए ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update