Everest Face
महावीर पुनले बेचे ८४ हजार पुस्तक, ५ करोड रुपैयाँ आम्दानी

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन आफ्नो जीवनीमा आधारित पुस्तक बेच्न अहिले देश दाैडाहमा छन् । पुस्तक बिक्रीबाट हुने आम्दानीले वीरगन्जमा रहेको कृषि औजार कारखानाको मर्मत सम्भार गर्ने उनको योजना छ ।

पुनले सामाजिक सञ्जाल ट्विटरमा दिएको जानकारी अनुसार हालसम्म ८४ हजार प्रति पुस्तक बिक्री भइसकेको छ । जसबाट पाँच करोड रुपैयाँ सङ्कलन भएको पुनले जानकारी दिएका छन् । 

गत असोज २८ मा सार्वजनिक भएको ‘महावीर पुन- सम्झना, सपना र अविरल यात्रा’ पुस्तक ६ महिनाको अवधिमा यो सङ्ख्यामा बिक्री भएको हो ।

कसैले विश्वास गर्दै नगर्दा पनि आफूले आफ्नो आत्मकथाको किताब बेचेर ३० वर्षसम्म बन्द भएको उक्त कवाडी कारखाना चलाउन सकिन्छ भनेर ढिपी गरिरहेको उनले उल्लेख गरेका छन् ।

पुनले १०० दिनसम्म विभिन्न २८ जिल्ला पुगेर पुस्तक बिक्री गरेका थिए । पुस्तकको मूल्य ७५० रुपैयाँ तोकिएको छ । उनको पुस्तक विदेशमा पनि बिक्री भइरहेको छ ।

एकै जिल्लामा ३२ लाख रुपैयाँकाे पुस्तक बिक्रीः

वैशाख ५ गते एकै दिनमा ३२ लाख रुपैयाँकाे पुस्तक बिक्री भएकाे छ । पुनले बैंकमा रकम जम्मा गरेकाे भाैचर समेत सार्वजनिक गर्दै रुपन्देहीकाे विभिन्न बजार तथा स्थानहरूमा एकै दिनमा साे रकम बराबरकाे पुस्तक बिक्री भएकाे जानकारी दिएकाे छ । उनले सामाजिक सञ्चाल ट्विटरमा राेचक शैलीमा लेखेका छन्, "रुपन्देही जिल्लाको मात्र हिजो सम्मको कमाई हेर्नु होस् । यहाँका जनता निकै सोझा रहेछन् । सोझा जनतालाई निकै पैसा झारियो । अझै दुइ तिन दिन यतै किताब बेचिन्छ । माफ गर्नु होला । बाठो मान्छे बाट पैसा झार्न गाह्रो हुन्छ ।"

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update