कसरी बिताउनुभयो २०८० ? मेरो चाहिँ खल्लीबल्ली भयो । खल्लीबल्ली भनेर तपाईँलाई हँसाउन खोजेको चाहिँ होइन है ! यो मेरो निर्मम आत्मसमिक्षा हो ।
वास्तवमा भन्नुपर्दा २०८० सालमा जस्तो व्यस्त म कहिल्यै थिइनँ । सायद फुर्सद धेरै भएर होला । जति फुर्सद हुन्छ, त्यत्ति नै व्यस्त रहने मेरो बानी छ । यस अर्थमा चाहिँ बित्नै लागेको वर्षमा जस्तो फुर्सद म कहिल्यै थिइनँ । हुन त यो उल्टोपाल्टो सोचेर, भनेर तपाईँलाई गफ दिन खोजेको होइन है ।
अब वास्तविकतालाई सोझै भनूँ होला । करिब १७ वर्ष पहिलेको कुरा हो, जतिबेला म १२ वर्षको थिएँ । मैले कक्षा पाँच पास गरेको थिएँ । कक्षा पाँच पास गरेपछि थप अध्ययनको लागि मैले गाउँ छोड्नुपर्ने भयो । छोडेँ । डेढ दशकभन्दा बढी समयमा मैले एक महिनासम्म पनि कहिल्यै गाउँमा परिवारसँग बस्न पाइनँ । अध्ययनसँगै सहरमा बाँच्ने मेलोमेसो गर्दा गाउँमा कहिल्यै बस्न पाइएन । आफ्नो घर, गाउँ जाँदा पनि घुम्न गएको जस्तो । वर्ष, डेढ वर्षमा एक दुई दिनको लागि पुग्ने अनि हतार-हतार सहर फर्किनुपर्ने । मेरो धोको भनौँ या योजना नै थियो, विश्वविद्यालयको नियमित अध्ययन सकेपछि गाउँमा एक वर्ष बरालिएरै बस्छु ।
२०७९ को अन्त्यतिर स्नातकोत्तर तहको परीक्षा पनि सकियो । संयोग भनौँ या के भनौँ, अलिकति फुर्सदको सास फेर्दै गाउँमा पुगेको मात्र थिएँ, गाउँकी एक जना नानीको अवस्था देखेर केही नगरी बस्नै सकिनँ । आर्थिक समस्याका कारण स्वास्थ्योपचार नपाएर घरमै मृत्यु कुरिरहेकी १५ वर्षकी सानी थिङ तामाङ नानीको अवस्था देखेर जिन्दगीमै सबैभन्दा गहिरोसँग भावुक भएँ । साँच्चै भन्नुपर्दा मेरा बचपनको सबैभन्दा मिल्ने साथी आफ्नै हजुरबा र आफ्नै पिताजीको स्वर्गारोहण हुँदा पनि म त्यो गहिराइमा भावुक भएकाे थिइनँ । सायद त्यतिबेला म मा त्यो तहको पिडा बोध गर्ने क्षमताको विकास भएको थिएन । अथवा मैले त्यत्तिबेला बोध गरेर पनि बिर्सिएको हुनसक्छ । दुई वर्ष अघि आफ्नै काइँली दिदीले संसार छोडेर जाँदा बढी भावुक भएको थिएँ । म भन्दा ठ्याक्कै अगाडिको सन्तान भएकोले उनले जति कसैले पनि बोकिनन् मलाई । आमा घाँस काट्न जाँदा हामी तीन जना जान्थ्यौँ, आमा घाँस बोक्थिन्, उनी मलाई । खैर, सुकिसकेको घाउ नकोट्याउँदा नै बेस होला । सानी नानीकै प्रसङ्गतिर लागौँ ।
सानी नानीको अवस्था देखेर के गरौँ के गरौँ छटपटी भयो । उनको दुईचार वटा फोटो खिचेर काठमाडौँ आएँ । काठमाडौँ पुगेपछि समाचार लेखेँ । साँझ ८ बजेर समाचार पब्लिस गरेँ । समाचार पब्लिस भएको १९ मिनेटपछि गाउँबाट श्याम लामा (साइनोले काका)को फोन आयो । “सानीलाई काठमाडौँ पठाइदिएको छु, राती १२ बजे आइपुग्छ होला, अस्पतालमा जाऊ है भतिज ।” काकाको आवाज आयो । मैले भनेँ, “हस् ।”
गाउँकै सानी नानीको दिदी पर्ने मुना तामाङ दिदीले खर्चको जोहो गर्ने भएपछि काठमाडौँ ल्याएको थियो । मलाई त्यत्ति सन्चो थिएन । म राती जान सकिनँ । बिहान गएँ । फागुनको २५ गते । त्यस दिनदेखि करिब चार महिना अस्पताल धाएरै बित्यो । देश-विदेशबाट सयौँ जना शुभचिन्तकहरूले सानीको उपचारको लागि सहयोग गरे । अस्पताल बसेको एक सय २६ दिनपछि उनी डिस्चार्ज भइन् । उनको स्वास्थ्यमा क्रमिक सुधार आएको थियो । घरमै आराम गर्दा पनि हुने चिकित्सकको रायपछि गाउँमा लग्यौँ । स्वास्थ्य सुधार भइरहेकै थियो । तर, करिब ६ महिनापछि अचानक उनले हामीलाई छोडेर गइन् । सानीलाई बचाउने प्रयास गरिरहँदा दुई तीन पटक अप्रिय निर्णयको मुखमा समेत पुगेको म निःशब्द भएँ । समय समयमा महसुस गरिरहन्छु, तर शब्द फुर्दैन । सानीबारे अहिलेलाई मात्रै सुनाऔँ । यस अर्थमा जीवनमै सबैभन्दा पिडादायी वर्ष पनि हो मेरो लागि २०८० ।
अलिकति गाउँमा नै केन्द्रित हुने भएपछि गाउँ ठाउँको लागि केही गरौँ भन्ने लाग्यो । प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पन्नता, धार्मिक एवम् ऐतिहासिक पर्यटनको सम्भावना बोकेर पनि लुकेर बसेको आफ्नो गाउँ, ठाउँ र परिसरलाई चिनाउने प्रयास गरौँ भन्ने लाग्यो । केही महिना अघि नेपालभरि मोटरसाइकलमा घुमेका साथीहरूसँग सल्लाह गरेँ । बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ज्यूसँग वडा नम्बर एकको ब्रोम्दिङमा एउटा कार्यक्रम गरौँ भनेर प्रस्ताव राखेँ । आफ्नो गाउँपालिकाको विकास र समृद्धिको लागि समर्पित उहाँले प्रस्ताव नस्विकार्ने कुरै भएन । ब्रोम्दिङ डाँडा र समग्र वडाको पर्यटकीय सम्भाव्यताको अध्ययन, प्रवर्द्धन तथा विकासमा टेवा पुग्नेगरी पर्यटन महोत्सव गर्ने तय भयो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलज्यूकाे प्रमुख आतिथ्यतामा, तत्कालीन बागमती प्रदेश सरकारका अर्थमन्त्री बहादुर सिँ तामाङ, पर्यटन बोर्डका तत्कालीन उपाध्यक्ष चन्द्र रिजाल, बागमती प्रदेश सदस्य मधु कुमार श्रेष्ठ, एक्सपल्स राइडर्स नेपाल क्लब, दर्जनभन्दा बढी सञ्चारकर्मीहरू, स्थानीय राजनीतिक दलका प्रतिनिधि एवम् सरोकारवाला र स्थानीय बासिन्दाको उपस्थितिमा नोभेम्बर १ र २ मा दुई दिने पर्यटन महोत्सव गरियो । यसबारे पछिल्ला घटनाक्रमबारे कुनै दिन चर्चा गरौँला । पहिलो पर्यटन महोत्सवले लुकेर बसेको ब्रोम्दिङ डाँडा र गाउँ ठाउँलाई चिनाउन सफल भयो । त्यसपछि विभिन्न ठाउँबाट आन्तरिक एवम् बाह्य पर्यटकहरू समेत आउन थाले । अहिले पनि आइरहेकै छन् । ब्रोम्दिङ डाँडा र जरुङ गाउँमा होमस्टे खुलेको छ । पहिलो प्रयास, थुप्रै कमीकमजोरीहरूका बाबजुद सुरु गरिएको कार्यक्रमले गाउँमा पर्यटनको बहस सुरु भएको छ । यसलाई एउटा उपलब्धि मान्न सकिएला । खैर, मलाई चाहिँ बरालिरहेको जस्तो नै लागिरहेको थियो र छ ।
दसैँ, तिहार, छठ लगायत पर्वहरूमा रुमलियो । त्यसपछि तामाङ समुदायको सबैभन्दा ठुलो सांस्कृतिक पर्व सोनाम ल्होछारको तयारीमा लागियो । मेरै प्रस्तावमा धादिङ र मकवानपुरले सीमा क्षेत्रमा एकै ठाउँमा कार्यक्रम गर्ने तय भयो । धादिङको बेनीघाट रोराङ–१ र मकवानपुरको कैलाश गाउँपालिका–२ ले दुई जिल्लाको सीमास्थित डाँफे-मुनाल पार्कमा कार्यक्रम गर्ने भयो । कैलाश गाउँपालिकाको मुख्य आर्थिक सहयोगमा देश-विदेशमा छरिएर रहेका सयौँ महानुभावहरूको सहयोगमा २८६०औँ सोनाम ल्होछार (डुक ल्हो) माघ २६–२७ मा भव्यताका साथ सम्पन्न भयो । त्यस क्षेत्रकै सबैभन्दा भव्य र ऐतिहासिक बन्यो ल्होछार कार्यक्रम । राष्ट्रिय स्तरका दर्जनौँ कलाकारहरूको प्रस्तुति रह्यो । तामाङ संस्कृतिका धरोहर ताम्बा, बोन्बो, लामा, लब्ताबा लगायतको झाँकी प्रस्तुत भयो । पन्ध्र हजार भन्दा बढीले मेलाको अवलोकन गरे । दुई जिल्लाका स्थानीय तहले एकै ठाउँमा कार्यक्रम गरेर सद्भाव र एकताको सन्देशसहित ल्होछार मनाइयो ।
त्यसदेखि यताको दुई महिना फेरि बरालिएर नै बित्यो । पछिल्लो समय गोरखाको चुमभ्याली पुगियो । बौद्ध धर्मावलम्बी लामाहरूको बसोबास रहेको चुमभ्याली अहिंसा क्षेत्र हो । जहाँ काटमार नगरेको एक सय वर्ष नाघेको छ । बौद्ध संस्कृति, परम्परा र जीवनशैलीको अवलोकन गर्नका लागि पुग्नुपर्ने ठाउँ हो चुमभ्याली । चुमभ्यालीका केही कथाहरू मैले सार्वजनिक गरिसकेकै छु, अझै थुप्रै कथाहरू लेख्न बाँकी नै छन्, थुप्रै दृश्यहरू देखाउन बाँकी नै छन्, थुप्रै कथाहरू सुनाउन बाँकी छन् । बिस्तारै लेख्दै जाउँला, देखाउँदै जाउँला, सुनाउँदै जाउँला । यसो सम्झिँदै गर्नुहोला । अहिलेकाे लागि यति नै भन्न चाहेँ, 'खल्लीबल्ली २०८०' । मेरो बर्षभरिको खल्ली-बल्ली पढिदिनुभएकोमा नमन । नयाँ वर्ष २०८१ को हार्दिक मङ्गलमय शुभकामना । अर्को साल भेटौँला ।
ए साँच्ची, तपाइँकाे चाहिँ कसरी वित्याे २०८० ? कमेन्टमा लेख्नुस् ल !