Everest Face
पृथ्वी राजमार्गसँगै समानान्तर वैकल्पिक राजमार्ग बनाउन नेता पाण्डेद्वारा राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य राजेन्द्र प्रसाद पाण्डेले पृथ्वी राजमार्गसँगै समानान्तर वैकल्पिक राजमार्ग बनाउन राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराएका छन् । 

धादिङ-१ का प्रतिनिधि पाण्डेले आज राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई भेटेर ध्यानाकर्षण गराएको जानकारी दिएका छन् । नेता पाण्डे योजना आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग यसअघि नै भेटेर ध्यानाकर्षण गराइसकेको र सकारात्मक प्रतिक्रिया आएको समेत जनाएका छन् । 

नेता पाण्डेले २०८०/१२/१६ गते तयार पारेको ध्यानाकर्षण पत्र सार्वजनिक गर्दे लेखेका छन्, "आज मैले राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई भेटेर उक्त योजना पेश गरेँ । यही योजना राष्ट्रिय योजना आयोगका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ज्यू लाई २०८०/१२/१९ गते पेश गरेको थिए । दुवै जनाको उत्तर सकारात्मक छ ।" 

वि.सं. २०२३ सालदेखि निर्माण कार्य सुरु भई २०२९ सालमा सम्पन्न भएको धादिङ जिल्लाको नौबिसेदेखि पोखरासम्मको पृथ्वी राजमार्ग नेपालकै सबैभन्दा व्यस्त राजमार्ग हो । वि.सं. २०३२ सालमा निर्माण भएको नारायणगढ-गोरखा राजमार्ग जोडिएपछि राजधानी काठमाडौँबाट पश्चिम नेपालसम्म जोड्ने राजमार्गबाट तराई मधेश समेत जोड्ने महत्त्वपूर्ण तथा अत्यन्त व्यस्त राजमार्ग बनेको हो । 

यस राजमार्गमा यतिवेला दैनिक झण्डै २० हजार भन्दा बढी सवारीसाधनहरू गुड्ने गर्दछन् । काठमाडौँबाट हेटौँडा र काठमाडौँ-धुलिखेल - बर्दिबास सडक बनेपछि पनि पृथ्वी राजमार्गमा सवारी आवागमनको चाप घटेको पाइँदैन । देशको कुना कुनामा रहेका स्थानीय तहहरूसँग पनि सडक यातायातले दैनिक जोडिँदै गएको कारण पनि यो सडकले मर्मत गर्ने पर्याप्त समय पनि पाउन सकेको छैन । हाल पृथ्वी राजमार्गको चौडा गर्ने कार्य जारी रहेपनि सवारी चापका कारण काम गर्न समेत कठिनाइ भइरहेको छ । 

काठमाडौँको सितापाईलादेखि धादिङको धार्के बजार हुँदै पृथ्वी राजमार्गमा जोडिने गरी हालै वैकल्पिक राजमार्ग निर्माणको अन्तिम चरणमा पुगेको छ । धार्के बजारदेखि गल्छी-परेवा टार-आरुवासटार-वेनिदोभान र गोरखाको घ्याल्चोक (गण्डकी गाउँपालिका) हुँदै मुग्लीन पारीबाट पूर्वी नवलपुरको गैँडाकोटसम्मको त्रिसुली नदी पारीको समानान्तर सडक निर्माण गर्न अति आवश्यक भएको नेता पाण्डेले बताएका छन् । 

धादिङ र गोर्खाको कतिपय भागमा ट्र्याक समेत निर्माण भैसकेको जनाउँदै उक्त योजनालाई आगामी आ.व.२०८१/०८२ को वार्षिक बजेट कार्यक्रममा समावेश गर्ने गरी विस्तृत सर्वेक्षण (DPR) गर्न नीतिगत निर्णय गरी कार्यान्वयनमा लैजान आयोगसँग आग्रह गरेका छन् । 

राजधानीसँग जोडिने र नेपाली जनताको जीवन रेखा (Lifeline ) को रूपमा विकास भएको यो राजमार्ग समयमा बन्न नसकेमा राजधानीसँग उपत्यका बाहिरका जनताको सहज सम्बन्ध हुन नसक्ने र त्यस स्थानमा समानान्तर वैकल्पिक राजमार्ग बन्न नसकेमा अबको १० वर्षपछि थपिने सवारीलाई व्यवस्थापन गर्न अत्यन्त कठिन हुने उनले बताएका छन् । 

यसका लागी गत श्रावण महिनामा राष्ट्रिय योजना आयोगले वाग्मती र गण्डकी प्रदेशका मुख्यमन्त्री सहित उक्त सडकले छुने पालिकाहरूका प्रमुखहरूलाई उपस्थित गराई कुरीनटारमा बैठक समेत गराई सकेको जानकारी दिएका छन् । 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update