Everest Face
भ्रष्टाचार गरेको आरोपमा भियतनामी अर्बपतिलाई मृत्युदण्ड

भियतनामी अर्बपति ट्रोङ माई लानलाई मृत्युदण्डको सजाय भएको छ । बिहीबार हो ची मिन सहरको पिपल्स कोर्टले घर जग्गा कारोबार गर्ने टाइकूनका रूपमा परिचित ६७ वर्षीय लानलाई मृत्युदण्डको सजाय सुनाएको बिबिसीले जनाएको छ । 

उनी घर-जग्गाको कारोबार गर्ने संस्था भान थिन्ह फाटकी अध्यक्ष समेत हुन् ।

उनीमाथि घुसखोरी, बैङ्कका नीति नियमको उल्लङ्घन र रकम हिनामिना गरेको आरोप छ। उनले ११ वर्षको अवधिमा भियतनामको ठूलो बैङ्क साइगोन कमर्सियल बैङ्कबाट २७ अर्ब घोटाला गरेको बिबिसीको समाचारमा उल्लेख छ । 

लानले उक्त बैङ्कबाट ४४ अर्ब डलर ऋण लिएको तर २७ अर्ब फिर्ता गर्न कठिन हुने अभियोजनकर्ताहरूले बताएका छन् । 

देशमा अहिलेसम्मकै सबैभन्दा धेरै घोटाला भएको यस घटनामा ४२ हजार पीडित छन् । अभियोजनकर्ताहरूले लानसँग सम्बन्धित एक हजार सम्पत्ति जफत गरेको छ ।

बिबिसीका अनुसार यसमा २७ सय जना मानिसहरूको बयान लिइएको थियो। १० जना अभियोजनकर्ता र करिब २०० जना वकिलहरू यस मुद्दामा संलग्न छन् । 

लानविरूद्ध बरामद भएका प्रमाण १०४ वटा बाकसमा थिए। जसको तौल ६ टन रहेको समाचारमा उल्लेख छ । 

हो चि मिन सहरकी लानले आमासँग आफ्नो व्यापारिक यात्रा कस्मेटिक सामग्री बेचेर सुरु गरेकी थिइन् । सन् १९८६ देखि उनले घर जग्गा जोड्न थालिसकेकी थिइन् । सन् १९९० सम्म आइपुग्दा उनले थुप्रै होटेल तथा रेस्टुरेन्टहरू खडा गरिसकेकी थिइन् ।

सन् २०११ सम्म लान एक परिचित व्यापारीको रूपमा उदाइसकेकी थिइन् । उनले त्यतिबेला तीन वटा साना बैङ्कलाई मर्ज गरी साइगोन कमर्सियल बैङ्क खडा गरिन् । 

भियतनामी कानुनअनुसार कुनै पनि व्यक्तिले बैङ्कको ५ प्रतिशत शेयर भन्दा बढी राख्न पाइँदैन । तर उनले सयौँ नक्कली कम्पनी र मानिसहरू खडा गरी बैङ्कको ९० प्रतिशत बढी शेयर आफ्नो नाममा गरेको अभियोजनकर्ताहरूले बताएका छन् ।

उनले त्यही शक्तिको प्रयोग गरी आफ्नै मान्छेलाई व्यवस्थापक बनाएको र उनकै आदेशमा आफ्ना कम्पनीहरूका नाममा ऋण प्रवाह गरेको पाइएको हो ।

सन् २०१९ फेब्रुअरीदेखि आफ्ना सवारी चालकलाई १०८ ट्रिलियन भियतनामी डोङ (४ अर्ब अमेरिकी डलर) नगद निकाल्न लगाएको र आफ्नो बेसमेन्टमा लुकाएको अभियोजनकर्ताले आरोप लगाएका छन् । 

छानबिन नगरियोस् भनेर उनले विभिन्न व्यक्तिहरूलाई घुस समेत दिएकी हुन् । उनले केन्द्रीय बैङ्कका चिफ इन्स्पेक्टरलाई ५० लाख अमेरिकी डलर दिएको आरोप छ ।

-एजेन्सीकाे सहयाेगमा 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  २१:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update