Everest Face
वैशाख १ गतेदेखि  ठमेल र दरबारमार्ग २४ सै घण्टा खुल्ने

काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सै घण्टा खुल्ने भएको छ ।

नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सै घण्टा) व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउन आवश्यक सम्पूर्ण तयारी भएको जानकारी दिए ।

'नयाँ वर्षको उपलक्ष्यमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्गको बजार क्षेत्र २४ सै घण्टा सञ्चालन हुने घोषणा गर्नुहुनेछ,' उनले भने ।

उनका अनुसार सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय, काठमाडौँले लिनेछ ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले ठमेल र दरबारमार्गको रात्रिकालीन व्यवसाय वैशाख १ गतेदेखि लागू हुने गरी सुरक्षा तयारी गरिएको बताए । पूर्णकालीन व्यवसाय सञ्चालनका लागि आचारसंहिता एवं सुरक्षा व्यवस्थापन मापदण्ड बनाइएको उनले जानकारी दिए ।

चैत ३० गते जिल्ला सुरक्षा समितिको बैठकले उक्त मापदण्ड पारित गरेपछि लागू हुनेछ ।

सबै सरोकारवालासँगको राय-सुझावका आधारमा पूर्णकालीन व्यवसाय सञ्चालनसम्बन्धी सुरक्षा व्यवस्थापन मापदण्ड बनाइएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

ठमेलमा अहिले बिहान ४ बजेसम्म क्लब खुल्छन् । रात्रिकालीन व्यवसायअन्तर्गत क्लब, डान्स, दोहोरी, डिस्कोलगायत मनोरञ्जन व्यवसाय, किराना पसल, पर्यटनसँग सरोकार भएका सबै बजार खुल्नेछन् ।

परिषद्का अध्यक्ष शर्माले सबै सरोकारवालासँग छलफल र समन्वय गरी भगवानबहाल क्षेत्रबाहेक ठमेलको सबै क्षेत्रलाई २४ सै घण्टा रात्रिकालीन व्यवसाय खुला गरिने बताए। ठमेलको सातघुम्ती, चाक्सीबारी, च्याठाः सोह्रखुट्टे क्षेत्र खुला गरिनेछ । 

आचारसंहिता अनुरूप मापदण्ड नपुगेका व्यवसायलाई वैशाख २ गतेदेखि बन्द गरिने जनाइएको छ । मापदण्ड पूरा गर्न समय सीमा दिइने र त्यो पूरा गरेको खण्डमा खोल्न दिइने छ । मापदण्ड पालना नभए कानुनी दायरामा ल्याइने परिषद्ले जनाएको छ ।

पूर्णकालीन व्यवसाय सञ्चालन गर्ने निर्णयले ठमेल र दरबारमार्गका व्यवसायी उत्साहित बनेको क्लब एसोसिएसन अफ नेपालका महासचिव अमित ठकुरीले बताए ।

महासचिव ठकुरीले भने, 'ठमेल २४ सै घण्टा खुलेपछि पर्यटकीय चहलपहल बढ्ने र व्यवसाय फस्टाउने आशा जागेको छ । लामो समयको प्रयासपछि यो निर्णय हुँदैछ। घोषणा मात्रै होइन, कार्यान्वयन पनि दीर्घकालीन हुनुपर्छ ।' -रासस

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update