Everest Face
नयाँ वर्षमा शैलुङमा डम्फु महोत्सव हुँदै

नयाँ वर्ष २०८१ को अवसरमा आगामी वैशाख १ गते दोलखा र रामेछापको सङ्गमस्थल शैलुङमा डम्फु महोत्सव हुने भएको छ ।

ताम्बा सङ्घ नेपाल (ताम्बा ह्युलखोर) शैलुङ गाउँपालिकाको आयोजनामा प्राकृतिक, धार्मिक एवम् सांस्कृतिक पर्यटनको केन्द्र शैलुङमा डम्फु महोत्सव हुन लागेको हो । 

डम्फुको आविष्कारक पेङदोर्जेको थातथलो समेत मानिएको शैलुङमा हुन लागेको महोत्सवमा दुईसय जना भन्दा बढी ताम्बाहरूको उपस्थिति रहने आयोजकले जनाएको छ । डम्फु पेङदोर्जे नामक मेमे(पुर्खा)ले बनाएको र उनी शैलुङकै स्थानीय भएको ताम्बाहरूले बताउने गरेका छन् । 

सयौँ जना ताम्बाहरूले डम्फु र टुङ्ना बजाएर एकै पटक प्रस्तुति दिने भएको छ । ताम्बा सङ्घ नेपालका अध्यक्ष दावा वाङ्गेल मोक्तानले सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै सम्पूर्ण सहभागीहरूलाई अनिवार्य डम्फु ल्याउन आग्रह गरेका छन् । 

तामाङ समुदायको चिनारीको रूपमा रहेको डम्फु बाजाको संरक्षण तथा प्रवर्द्धन गर्न र तामाङ समुदायको संस्कृतिको धरोहर ताम्बा संस्कृतिको संरक्षण र विकासमा टेवा पुर्‍याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । साथै महोत्सवले शैलुङमा पर्यटकीय गतिविधि बढाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको जनाएको छ । 

शैलुङ रिग्सुम गोन्पो सेवा समाजका महासचिव कुमार थोकर तामाङले महोत्सवमा कम्तीमा २० हजार  जनाले सहभागिता जनाउने दाबी गरेका छन् । नयाँ वर्षको अवसर र महोत्सवका कारण सो सङ्ख्यामा जनसहभागिता रहने अनुमान गरिएको छ । 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update