Everest Face
!...अनि हामी अघि बढ्यौँ बुढी गण्डकीको तिरैतिर

“बुढा, हामी कतै घुम्न जाम न”, श्रीमती सुनैनाले एक बिहान अगाडि टेबुलमा कफी टक्र्याउँदै भनिन, “अहिलेको मौसम घुम्न लायक पनि छ, न जाडाे, न गर्मी ।”

हुन पनि हो, चैत महिनाको पहिलो हप्ता, जाडोले बिदाइको हात हल्लाउँदै गरेको अनि स्वागतको प्रतीक्षामा रहेको न्यानो । श्रीमतीजीको प्रस्ताव मनासिब लाग्यो । कफीको चुस्की लिँदै गुगलतिर यसो एकछिन घोत्लिएँ अनि निस्किएँ । मोबाइलमा गुगल क्रोम ब्राउजरको छेउमा रहेको जीमेलमा एक सय नौ वटा नोटिफिकेसन देखेँ । यति धेरै नोटिफिकेसन देखेपछि क्लिक गरिहालेँ । युट्युबमा अपलोड गरेको भिडियोमा प्रतिक्रियाहरू आएको रहेछ । सरसरती हेरेर लाइक, लभ, टेक्स्ट रियाक्ट गरेँ ।

आफ्नो युट्युब च्यानलमा पनि दर्शकहरूको माया बिस्तारै बढ्दै गएको देखेर मनमनै खुसी पनि लाग्यो । सब्सक्राइबर एक हजार सात सय एक्काइस । “यति थोरै सब्सक्राइबर पुग्दा पनि केको खुसी ?” तपाईँको मनमा जिज्ञासा उठ्यो होला । तर, मेरो लागि भने यो सङ्ख्या कम्ता होइन । मेरो एउटा राम्रो गुण छ, त्यो के भने म सानो सानो कुरामा पनि रमाउन सक्छु । प्राप्ति भनेको प्राप्ति नै हो, चाहे थोरै होस् या धेरै, सानो होस् या ठुलो । आखिर, आफूले प्राप्त गरेका जति सबै चिज भुलेर त दुःखको महासागरमा डुबिरहेका छन् मानिसहरू । खैर, यतातिर धेरै नजाऔँ ।

घुम्न त जाने, तर कहाँ कुन ठाउँ जाने अलमल भयो । देशका प्राय चर्चामा आएका ठाउँहरूमा पुगिसकेको भएर पनि कुनै ठाउँमा दोहोरिएर जान मन पनि खासै भएन । अघिल्लो वर्षको जेठमा करिब तीन हप्ता लगाएर मोटरसाइकलमा देशलाई एक फन्को मारेको थिएँ । त्यसक्रममा सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मका थुप्रै पर्यटकीय गन्तव्यहरूमा पुगेको थिएँ । कहाँ जाने निधो गर्न सकिएन । 

श्रीमती सुनैनाले एकैछिनपछि नजिकै आएर सोधिन, “कहाँ घुम्न जाने भयो ?”, म एकछिन शान्त रहेँ अनि भनेँ, “मैले धेरै ठाउँ घुमिसकेको छु, ठ्याक्कै कहाँ जाने भनेर पत्ता लगाउन सकिनँ, बरु यसपालि चाहिँ गन्तव्य छनौट गर्ने जिम्मा तिमीलाई है ।” 

उनी मुस्कुराएर किचनतिरै पसिन् । भाँडाकुँडाको खत्र्याङखुत्रुङ आवाज आयो । उनी खाना पकाउन लागेको अनुमान लगाएँ । म चाहिँ ल्यापटप खोलेर युट्युब स्क्रोल गर्न थालेँ । विजयकुमार पाण्डेको दिशानिर्देश टिभी भन्ने च्यानलमा एउटा भिडियो देखेँ, थमनेलमा लेखिएको थियो, “लार तान्जेनको लाम्बा ।” भिडियो हेर्दै जाँदा थाहा भयो, भिडियो चुमभ्यालीको कथा रहेछ । गोरखा जिल्लामा पर्ने चुमभ्याली । लार भनेको चुमभ्यालीको एउटा गाउँ रहेछ । तान्जेन भनेको त्यस गाउँको एक जना बासिन्दा रहेछ अनि लाम्बा भनेको चाहिँ उनको दिवङ्गत याकको नाम रहेछ । विजयकुमार र तान्जेनबीचको संवादमा मानिस र पशु (याक) बीचको गहिरो प्रेम छचल्किएको थियो । छिमेकी जिल्ला गोरखाको हिमाली भेगमा लुकेर बसेको चुमभ्यालीबारे पहिला पनि नसुनेको भने थिएन । उक्त रहस्यमय उपत्यकाबारे थुप्रै पटक समाचार सामाग्रीहरू पनि तयार पारेको थिएँ । चुमभ्यालीबारे विजयकुमारका अन्य सामाग्रीहरू पनि हेरेँ । विद्या चापागाईँको हेर्ने कथाका शृङ्खलाहरू पनि हेरेँ । अनि निर्णयमा पुगेँ । अबको गन्तव्य हो, चुमभ्याली । 

श्रीमती सुनैनालाई चुमभ्याली घुम्न जाने सोच बनाएको बताएँ । चुमभ्यालीबारे आफूले थाहा पाएका जानकारी पनि उनीसित साटेँ । उनले उत्साहित हुँदै चुमभ्याली जाने प्रस्ताव स्विकारिन् । अनि लागियो तयारीतर्फ । 

अलि टाढाको यात्रा, अप्ठ्यारा बाटाहरू पार गर्नुपर्ने थाहा थियो । श्रीमानश्रीमती दुई जना मात्रै पनि नजाने, ठूलो टिममा पनि नजाने हाम्रो सल्लाह भयो । करिब एक हप्ता निरन्तर पदयात्रा गर्नुपर्ने थियो । यात्रा त्यति सहज नहुनेमा हामी पक्का थियौँ । ठुलो टिम बनाएर जाँदा थुप्रै समस्या आउन सक्ने पूर्वानुमान गरेर हामी सानो टिम बनाएर सुटुक्क जाने तयारी गर्‍यौँ । हामीसँग दिदीको छोरी नेना जाने भइन् । नेना, सुनैना र चन्द्र, तीन जनाको सानो टिम तयार भयो । 

नेना गजुरीमा घरमा थिइन् । हामी चाहिँ काठमाडौंमा थियौँ । चैत्र चार गते हामी धादिङबाट चुमभ्यालीतर्फ प्रस्थान गर्ने योजना तयार भयो । तीन गते बिहान काठमाडौँबाट निस्कियौँ । तर अफसोस, काठमाडौं उपत्यकालाई बिदाइ गर्नेवित्तिकै हामी दुर्घटनामा पर्‍यौँ । थानकोट कटेर ओरालो लाग्नेवित्तिकै पिपलमोडमा विपरीत दिशाबाट आइरहेको मोटरसाइकलसँग हाम्रो मोटरसाइकल नराम्रोसँग ठोकियो । हामी रोडमा बजारियौँ । केहिबेर होसहवास उड्यो । धन्न हामी दुवैले हेलमेट लगाएको हुनाले खासै चोटपटक लागेन । अर्को मोटरसाइकल चालकलाई पनि खासै केही भएन । तर, हेलमेट नलगाएको भए चाहिँ त्यही जीवनलिला समाप्त हुने पक्का थियो । हेलमेटले टाउकोलाई बचायो । मोटरसाइकल चलाएको दशक बढी हुँदा पनि हेलमेटको भारी बुझेको थिएन । साँच्चै भन्नुपर्दा पहिला “यस्तो नाथे हेलमेट लगाए पनि हुन्छ, नलगाए पनि हुन्छ” जस्तो सोच्थेँ । त्यस दिन हेलमेटको महत्त्वलाई राम्रोसँग बुझियो । हेलमेट लाउनु भनेको त जीवन जोगाउनु पो रहेछ । 

निकै लामो यात्रामा निस्किएका हामी दुर्घटनामा परेपछि चिन्तामा पर्‍यौँ । भोलीपल्ट बिहान हामी चुमभ्यालीतर्फ लाग्नुपर्ने थियो । दुर्घटनाले मानसपटलमा राज गरिरह्यो । निदाउन गाह्रो भयो । सानो होस् या ठुलो दुर्घटना भनेको दुर्घटना नै हो । जीवन र मरणको सवाल जो छ । त्यस दिन धादिङको गजुरी स्थित दिदीको घरमा गएर बस्यौँ । 

हामी तीन जना भएकोले मोटरसाइकलमा जान मिलेन । झन् अघिल्लो दिनको दुर्घटनाले मोटरसाइकलबाट त्रसित थियौँ । सार्वजनिक यातायातको प्रयोग गरेर जाने भयौँ । हामी बिहान सात बजे गजुरीबाट निस्कियौँ । घरबाट निस्केर सडक छेउमा १० मिनेट उभिँदा पनि धादिङ जाने गाडी आएन । मोटरसाइकलमा आफ्नै पारामा फुत्त हिँड्ने बानी लागेको मलाई त्यो प्रतीक्षा निकै लामो लाग्यो । मोटरसाइकलमा जान पाएको भए यतिबेला फलानो ठाउँमा पुग्ने थियो, भन्ने कल्पना गरेँ । 

करिब पन्ध्र मिनेट पर्खेपछि बल्ल एउटा म्याजिक गाडी आयो । त्यसमा चढेर धादिङबेसीतिर छुट्ने फुर्केखोलासम्म गयौँ । फुर्केखोलामा धादिङबेसीतिर जाने पुलमा एउटा जम्बु हाइस बसिरहेको रहेछ । हामी पुग्दा त्यो गाडी यति हतारमा देखिन्थ्यो कि मानौँ केही सेकेन्डभित्रै संसारमा प्रलय हुँदै छ । हामी पनि दौडियौँ गाडीसम्म पुग्न । गाडीमा प्यासेन्जर करिब भर्न लागेको रहेछ । हामी सिटमा बस्यौँ । हामी निकै लामो यात्रामा निस्किएको हुनाले चाँडो हिँड्न पाए हुने भन्ने लाग्ने नै भयो । अगाडि घरबाट निस्किनेवित्तिकै पन्ध्र मिनेट सडक उभिएर पाँच मिनेट म्याजीकको यात्रापछि त्यहाँ पुगेका थियौँ । त्यस्तो हतारमा देखिएको ड्राइभरले हामी गाडी चढेर बीस मिने हुँदा पनि हिँड्ने सुरसार गरेनन् । बरु त्यसै गरी हतारो शैलीमा प्यासेन्जर बोलाइरहे । प्यासेन्जर भरिभराउ भयो, तर गाडी हिँडेन । पैँतालिस मिनेट बित्यो । दुई तीन जना प्यासेन्जर त गाडीबाट ओर्लेर बसे, उनीहरूको भनाई थियो, “यत्रो बेर रोकेपछि बरु यसै ढिलो उसै ढिलो, अहिले बसमा जान्छु ।” 

मलाई चाहिँ बरु जसरी भए पनि मोटरसाइकलमै हिँड्नुपर्ने रहेछ भन्ने मनमा लागिरह्यो । सुनैना र नेनाको छटपटी पनि कम थिएन । आफैँ आत्तिइरहेको मैले उनीहरूलाई चाहिँ नआत्तिन भनिरहेँ । एक घण्टा सात मिनेटपछि गाडी हिँड्यो । पृथ्वी राजमार्गलाई बिदाइ गरेर कालु पाण्डे राजमार्ग हुँदै धादिङबेसीतिर अगाडि बढ्यौँ । थोपल खोलाको तिरैतिर नागबेली बाटो भएर यात्रा गर्दा रमाइलो अनुभूति भयो । गाडी चाँडो नहिँड्दा बढेका तनाव कम हुँदै गयो । एक घण्टाको यात्रापछि हामी धादिङबेसी पुग्यौँ । धादिङबेसीको पुच्छर बजारबाट आरुघाटको लागि सवा दश बजे बस छुट्ने रहेछ । तर, हामी साढे नौ बजे पुगेका थियौँ । पैँतालिस मिनेट कुर्नुपर्ने भयो । हामी सुद्ध शाकाहारी क्षेत्र चुमभ्यालीको यात्रामा रहेकोले शाकाहारी नै भएर जाने सल्लाह थियो । सोही अनुरूप खाजा खानको लागि एउटा शाकाहारी भोजनालयमा पस्यौँ । चिया नास्ता खाएर निस्किदा बस हिँड्ने बेला पनि भएछ । 

ठिक सवा दश बजे बस हिँड्यो ।  बीचबीचमा सुन्दर गाउँबस्ती, बजार, डाँडापाखा, वनजङ्गल हेर्दै अघि बढेको यात्रा रोमाञ्चक नहुने कुरै भएन । ज्यामिरे, मुरलीभञ्ज्याङ हुँदै करिब डेढ घण्टामा हामी धादिङको अन्न भण्डार सल्यान्टार पुग्यौँ । सल्यान्टारमा पुगेपछि चाहिँ तराईको फाँटमा पुगेको जस्तो अनुभूति भयो । दुवैतिर नदीले घेरिएको पहाडहरूको बीचमा लमतन्न बसेको उपत्यका छिचोल्दै बस अघि बढ्यो ।  

आरुघाटमा पुगेपछि त्यसभन्दा माथि जानको लागि बसको टिकट काउन्टर खोज्यौँ । हामी त्यहाँ पुग्दा यतिकै ढिलो भइसकेको थियो । बस नपाउला भन्ने चिन्ता छँदै थियो । झन् टिकेट काउन्टर नै नभेटिएपछि केहीबेर रन्थनियौँ । बल्लबल्ल टिकट काउन्टर भेटियो । काउन्टरको बोर्ड धुलाम्मे रहेछ । अक्षर धुलोभित्र हराएको थियो । धुलाम्मे सडकको किनारामा बसेको काउन्टर बोर्ड धुलोले ढाक्नु आश्चर्य भएन । तर, अफसोस, काउन्टर त बन्द पो रहेछ । टिकट खोज्न कहाँ जाने अलमल भयो । काउन्टर नजिकैको चिया पसले दिदीलाई गुहारेँ । उनले “अहिले गोरखाबाट बस आउँछ, त्यसमा जानु ।” भनिन् । यति सुनेपछि अलि आनन्दको सास फेरियो । केहिबेरमा साँच्चै एउटा बस टुप्लुक्क आइपुग्यो । “कहाँसम्म जान्छ ?”, गुरुलाई सोधेँ, 

“आरखेतसम्म जान्छ ।”, गुरुको जवाफ आयो ।

“अनि त्यहाँभन्दा माथि चाहिँ ?”, मैले सोधेँ ।

बल्लबल्ल पाएको बस आरखेतसम्म मात्रै जाने थाहा पाएँ । आरुघाटबाट त्यस्तै आठ-दश किलोमिटर होला आरखेत भन्ने ठाउँ । खैर, हाम्रो गन्तव्य पुग्ने मार्ग त त्यही थियो । हामी बस चढ्यौँ, अनि अघि बढ्यौँ बुढी गण्डकीको तिरैतिर, जता हेर्याे त्यता भिरैभिर । हाम्रो गन्तव्य चुमभ्यालीको मु गुम्बा थियो, बुढी गण्डकीको चाहिँ महासागर । सँगसँगै तर विपरीत दिशामा आ–आफ्नै गन्तव्यतिर हामी बगिरह्यौँ....

 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update