Everest Face
अब २ मिनेट ४४ सेकेन्डमै श्रम स्वीकृति पाइने !

अब वैदेशिक रोजगारीमा जाने श्रमिकले सबै कागजात मिलाएर अनलाइनबाट आवेदन दिए दुई मिनेट ४४ सेकेन्डमा श्रम स्वीकृति लिन सक्ने भएका छन् ।

वैदेशिक रोजगार विभाग, ताहाचलमा आइतबार भएको पत्रकार सम्मेलनमा बोल्दै श्रम मन्त्री डोलप्रसाद अर्यालले एक नागरिकले दुई मिनेट ४४ सेकेन्डमै श्रम स्वीकृति पाउने दाबी गरेका हुन् । 

“यदि हाम्रा सेवाग्राहीले समयमा सबै डकुमेन्ट राम्रोसँग मिलाएर राख्नुभयो भने, हाम्रो अहिलेको अध्ययनले दुई मिनेट ४४ सेकेन्डमा एक जना नागरिकले आफ्नो श्रम स्वीकृति पाउने गरी हामीले काम गर्‍यौँ,” मन्त्री अर्यालले भने, “तर पनि कम्प्युटरको अलिकति सिस्टम स्लो होला किन भने हाम्रो प्रविधि, विद्युत् र इन्टरनेटको स्पिडले केही फरक पर्न सक्छ ।”

यी सबै कुरालाई मध्यनजर गर्दै श्रम स्वीकृति लिन बढीमा एक घण्टा लाग्न सक्ने उनको भनाइ छ । “कुनै पनि श्रमिकले राम्रोसँग डकुमेन्ट राखेको अवस्थामा एक घण्टाभित्र श्रम स्वीकृति आफ्नो मोबाइलमा प्राप्त गर्न सक्नुहुनेछ,” उनले भने, “कम्प्युटरमा विभिन्न हार्डवेयर जस्तै एसएसडी थप गरियो, अनावश्यक फाइल सफा गरियो, त्यसपछि सुरुमा तीन सिफ्टमा काम गराउनुपर्छ कि भनेर तीन सिफ्टमा पनि काम गराइयो । तर, आजको दिनमा दुई सिफ्टमा मात्र काम हुन्छ ।” जुनसुकै समयमा डकुमेन्ट बुझाउन सकिने भए पनि स्वीकृति भने कार्यालय समयमा मात्र पाइने मन्त्री अर्यालले स्पष्ट पारे । 

अनलाइनबाट श्रम स्वीकृति लिने प्रक्रिया निकै सहज भएको भन्दै मन्त्री अर्यालले यसका लागि व्यक्ति स्वयंले आफ्नो फोनबाटै फाराम भर्न सक्ने जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update