Everest Face
नयाँ वर्ष आइसक्याे !  घुम्न कहाँ जाने ?

नयाँ वर्षमा कहाँ जाने भन्ने अन्योलमा हुनुहुन्छ भने अब तपाईँ ढुक्क हुनुस् । हामीले काठमाडौँ वरिपरिका गन्तव्यहरूबारे यहाँ चर्चा गरेका छौँ । तपाईँले कुनै गन्तव्य रोजेर जान सक्नुहुनेछ ।

नयाँ वर्ष २०८१ सुरु हुन अब केही दिन मात्रै बाँकी छ । पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्न विभिन्न उत्सवहरूको आयोजना गर्ने चलन बढ्दै गएको छ । नयाँ वर्षमा नयाँ ठाउँ घुम्ने प्रचलन बढेको छ । यदि तपाईँ नेपालको सङ्घीय राजधानी काठमाडौँ आसपासमा हुनुहुन्छ र नयाँ वर्षमा कहाँ जाने भन्ने अन्योलमा हुनुहुन्छ भने अब तपाईँ ढुक्क हुनुस् । हामीले काठमाडौँ वरिपरिका गन्तव्यहरूबारे यहाँ चर्चा गरेका छौँ । तपाईँले कुनै गन्तव्य रोजेर जान सक्नुहुनेछ ।

नेपालकाे पहिलाे राजवंशावली गाेपालीहरूकाे गाउँ, कुन्छाल 

Chandragir--(1)-1712631628.jpg
गाेपालीहरूकाे गाउँ, कुन्छाल । 

नेपालमा पहिलो पटक शासन गर्ने वंश गोपाल वंश थिए भन्ने हामी सबैलाई थाहा छ।  तर, ती गोपाल वंशका सन्ततिहरू कहाँ छन् भन्ने हामीलाई थाहा छैन । हो, गोपाल वंशका सन्ततिहरूको गाउँ हो, कुन्छाल । त्यसैले कुन्छाललाई ‘गोपाली गाउँ’  पनि भनिन्छ । जहाँ गोपाली समुदायको मात्रै बसोबास छ ।

यो गाउँ ऐतिहासिक महत्त्वले भरिएको  जिल्ला मकवानपुरको थाहा नगरपालिका-१ स्थित  टिस्टुङ-पालुङ उपत्यकाको उत्तर-पश्चिमी कुनामा समुन्द्री सतहबाट करिब एक हजार सात सय मिटरको उचाइमा चुपचाप बसेको छ । महाभारत पर्वत श्रृङ्खलाकै एक पहाडको काखमा विराजमान कुन्छाल गाउँको हावापानी न्यानो समशीतोष्ण खालको छ । ग्रीष्म याममा धेरै गर्मी नहुने र शिशिर याममा धेरै ठन्डा नहुने भएकोले यस प्रकारको हावापानीलाई सबैभन्दा उत्तम हावापानी समेत भन्ने गरेको पाइन्छ । कुन्छाल गाउँको यस प्रकारको हावापानीले गाउँमा पुग्ने पाउनालाई बाह्रै महिना स्वागत गर्दछ ।

गोपाली संस्कृति, जीवनशैलीको अवलोकन, परम्परागत स्थानीय गोपाली खानाको स्वाद लिन पर्यटकहरू पुग्ने गरेका छन् । नेपालको इतिहास र समाजको अध्ययन गर्नेहरू पनि गोपाली गाउँ पुग्ने गरेका छन् । नेपालको पहिलो राज वंशावली गोपालहरूको गाउँ भएकाले कुन्छालमा पुग्ने अधिकांश पर्यटकहरूले इतिहासकै बारेमा चासो र प्रश्न गर्ने गरेको स्थानीयको भनाइ छ ।

कुन्छाल ऐतिहासिक पर्यटनको थलो बन्न सक्छ । नेपालको इतिहासको उत्खनन गर्न चाहनेहरूले एक पटक पुग्नै पर्ने गन्तव्य हो, कुन्छाल । तर, पर्यटकहरूको भिडले ‘गुलजार’ बन्नुभन्दा पहिला कुन्छाल र कुन्छालबासी (गोपाली समुदाय) बारे प्रशस्त अध्ययन र अनुसन्धान हुन जरुरी छ ।  उनीहरूबारे लेखिन जरुरी छ ।

कसरी पुग्ने ? 

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ मा अवस्थित कुन्छाल गाउँ काठमाडाैं उपत्यकाबाट ३०  किलोमिटरको दुरीमा रहेको छ । काठमाडाैंकाे थानकोट चेकपोस्टबाट चन्द्रागिरि डाँडा, चित्लाङ हुँदै जम्मा ४५ मिनेटको यात्रा तय गर्दै कुन्छाल गाउँ पुग्न सकिन्छ । हेटौँडाबाट त्रिभुवन राजपथ हुँदै ७० किलोमिटरको दुरी तय गरेर पनि कुन्छाल पुग्न सकिन्छ ।  त्यसैगरी धादिङको धुनिबेँसी नगरपालिकाको नौबिसे-खानीखाेलाबाट त्रिभुवन राजपथ हुँदै जान पनि सकिन्छ ।  साना ठुला सबै खालका सवारीसाधनमा कुन्छाल गाउँ पुग्न सकिन्छ ।

दक्षिणकाली–चन्द्रागिरि

Chandragir--1712631629.jpg
चन्द्रागिरि, भालेश्वर महादेव मन्दिर ।

चन्द्रागिरि पदयात्रा दक्षिणकाली नजिकै सतिखेलबाट गर्नु उपयुक्त हुन्छ । जहाँबाट हात्तीवन रिसोर्ट हुँदै चन्द्रागिरितर्फ यात्रा अघि बढाउन सकिन्छ । चन्द्रागिरि हाइकिङ ट्रेलमा ढुङ्गा छापिएको बाटो छ । उकालो बाटोको सल्लाघारीमा चल्ने सिरेटोले ज्यानै शीतल बनाउँछ । एक घण्टाको ठाडो उकालोको यात्रापछि चम्पादेवी मन्दिर पुगिन्छ । मन्दिरको दर्शनसँगै तेर्सो बाटोको यात्रा पनि सकिन्छ । त्यसपछि उकालो बाटोको यात्रा सुरु गर्नुपर्छ । जङ्गलै जङ्गलको तेर्सो–उकालो यात्रा केही कष्टकर हुन सक्छ । चन्द्रागिरिबाट माछापुच्छ्रे, अन्नपूर्ण, मनासलु, गणेश, लाङटाङ, दोर्जेलाक्पा लगायत धेरै हिमशृङ्खला छर्लङ्गै देख्न सकिन्छ । यात्राका क्रममा भोक प्यास मेट्न प्रशस्त होटल, क्याफे भेटिन्छन् । लगभग एक घण्टाको उकालोपछि बल्ल २५ सय मिटर अग्लो चन्द्रागिरि पुगिन्छ । जहाँ भालेश्वर मन्दिर छ । फर्किँदा केबुलकार प्रयोग गरेर आनन्द लिन सकिन्छ ।

चित्लाङ–मार्खु

Chitlang--1712631627.jpg
चित्लाङ उपत्यका ।

चित्लाङ मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर ९ र १० मा पर्दछ । नेपालको सङ्घीय राजधानी काठमाडौं उपत्यकाको दक्षिण पश्चिममा चन्द्रागिरी डाँडाको काखमा अवस्थित सानो अनि सुन्दर उपत्यका चित्लाङ समुन्द्री सतहबाट एक हजार सात सय मिटरको उचाइमा रहेको छ । चारैतिरबाट हरियाली पहाड जङ्गलले घेरिएको चित्लाङ प्राकृतिक सुन्दरताले भरिपूर्ण छ नै । पहिले चित्लाङको नाम चित्रापुर थियो । चैत्य जाने बाटो भएकाले यसको नाम चैतलोङ रहन गएको थियो । पछि अपभ्रंश भएर चित्लाङ रहन गएको स्थानीयको भनाई छ । चित्लाङको उत्तरतर्फ चन्द्रागिरि डाँडा र दक्षिणतिर महाभारत रेन्ज छ । यो उपत्यका सांस्कृतिक एवम् ऐतिहासिक दृष्टिकोणले पनि त्यत्तिकै महत्त्वपूर्ण छ ।

थानकोटबाट १६ किमि कच्ची बाटो उकालो–उरालो गर्दै पार गरेपछि मात्र चित्लाङ पुग्न सकिन्छ । मकवानपुर जिल्लामा पर्ने यो रमणीय सानो उपत्यकामा विशेष गरी बाख्राका दूधबाट बनेका चिज र ट्राउट माछाको स्वाद चाख्न पाइन्छ । साथै होमस्टेमा गरिने मिठो मुस्कानसहितको आतिथ्यले हरकोहीलाई दोहाेर्याएर त्यहाँ पुग्न लालायित पार्ने गर्छ । त्यस्तै कुलेखानी विद्युत् गृह भएको इन्द्र सरोवरको मनमोहक दृश्यले पनि त्यहाँ पुग्नेको मन लोभ्याउँछ । जहाँ तालमा ढुङ्गा सयर गर्न सकिन्छ । यहाँ पनि प्रशस्त होमस्टे रिसोर्ट र होटल छन् । जहाँ यात्रालाई विश्राम दिन सकिन्छ ।

चाँगुनारायण–नगरकोट

Nagarkot--1712632041.jpg
नगरकाेट । 

भक्तपुर चाँगुनारायण मन्दिर परिसरबाट तेलकोट हुँदै डाँडाकाँडा चहार्दै नगरकोट चुचुरो पुग्दा चिसो सिरेटोले आनन्दित बनाउँछ । पसिना पुछ्दै हिमशृङ्खला हेर्दा स्वर्गीय आनन्द प्राप्त हुन्छ । नगरकोटमा अत्याधुनिक होटल रिसोर्ट त छँदै छ । स्थानीय स्तरमा खुलेका लज र होमस्टेले पनि उत्कृष्ट सेवा दिन्छन्, जुन तुलनात्मक रूपमा ज्यादै सस्ता छन् । नगरकोटमा भ्युटावरबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य हेर्न पाइन्छ । काठमाडौंबाट २० किलोमिटर दूरीमा रहेको नगरकोट गर्मीमा पनि शीतल महसुस गर्न सकिन्छ । चाडबाडमा होटल बन्द हुन सक्छ । यात्रामा निस्कँदा रुटको होटल बुक गरेर मात्र जानु मनासिब हुन्छ ।

गोदावरी–फुल्चोकी

Fulchowki-1712632368.jpg
फूलचाेकी डाँडा । 

२८ सय मिटरको अग्लो फुल्चोकीबाट हिमालका चुचुरादेखि तराईका समथर सुन्दर फाँट देखिन्छ । गोदावरीकुण्डबाट छोटो बाटो चापाखर्क हुँदै फुल्चोकी पुग्न सकिन्छ । नौधाराबाट वैकल्पिक बाटो मोटरबाटो पनि छ । फुल्चोकीको टुप्पोबाट कचौरा आकारको काठमाडौं छर्लङ्गै देखिन्छ । सहरका हरिया फाँट, पहाडमा कपासझैँ बादलका रुवा छरिएको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । यहाँ जङ्गल सफारीको क्रममा विभिन्न चरा अवलोकन गर्न पनि पाइन्छ । शिखरमा फुल्चोकी माईको दर्शनपछि फेदीमा गोदावरी कुण्ड, लाम कुण्ड ,गौरी कुण्ड, नौधारा, पञ्चदेवल र सिद्धेश्वर महादेवको मन्दिरमा दर्शन गर्न सकिन्छ ।

लेले–दलचोकी

Godawari-(2)-1712631620.jpg
दलचाेकी, ललितपुर ।

लगनखेलबाट लेले सरस्वती कुण्डसम्म सार्वजनिक बसमा यात्रा गर्न सकिन्छ । त्यहाँबाट पैदलयात्रा सुरु हुन्छ । नल्लु डाँडाको उकालो–आरोलो र बीचबीचमा खोल्सा तर्दै पाथीभरा देवीको मन्दिर पुग्न सकिन्छ । पाथीभराबाट आधा घण्टामै २८९० मिटरको उचाइमा रहेको दलचोकी पुगिन्छ । तुवाँलो र बादल नलाग्ने विशेषतः शरद ऋतुमा यहाँ पुग्नु बेस हुन्छ । किनकि, मौसम सफा हुँदा यहाँबाट काठमाडौं आसपासका दर्जन बढी हिमालको दृश्य देख्न सकिन्छ ।

धुलिखेल–नमोबुद्ध

Namo-1712631622.jpg
नमाेबुद्ध, काभ्रे ।

धुलिखेलबाट पुरानो नेवार बस्ती, हजार सिँढी पार गरेर शान्ति वन हुँदै नमोबुद्ध पदयात्रा गर्न सकिन्छ । यसको लागि भरपर्दो मोटरबाटोको पनि सुविधा छ । यहाँबाट गौरीशङ्कर, मकालु, चोयु, लाक्पा दोर्जे, लाङटाङलगायत हिमशृङ्खला स्पष्ट देखिन्छन् । यहाँ प्राचीन बस्ती, परम्परागत तिमाल गाउँको अवलोकनसमेत गर्न सकिन्छ । डाँडामा पौराणिक कथाअनुसार बुद्धले बाघलाई शरीर काटेर खुवाउँदै गरेका मूर्ति यत्रतत्र भेटिन्छ । नमोबुद्ध लभडाँडामा टाँगिएका ध्वजाहरूले पाखा नै रंगीन देखिन्छ । पहाडको टुप्पोमा बुद्ध स्तुपा लस्करै बनाइएका छन्  । यहाँ बसेर बिहानै शंखुपाटी चौर, मकैटार एक्लेखेत हुँदै बल्थली घुम्न सकिन्छ ।

पनौती–बल्थली

Lele-1712631622.jpg
पनौती–बल्थली ।

काठमाडौंको कोटेश्वरबाट बल्थलीको यात्रा तय गर्न सकिन्छ । बल्थलीको हाइकिङ पनौतीबाट सुरु हुन्छ । लस्करै देखिने टायलले छाएका घरहरू, तरेली परेका खेत, कलकल बग्ने खोल्सा, कुलो, पुल पुलेसा अत्यन्तै मनमोहक लाग्छन् । डाँडाबाट टार, खेत, गाउँ र धुलिखेल सहरको लोभलाग्दो दृश्य देखिन्छन् ।

ककनी, नुवाकाेट 

Kakani--1712631630.jpg
ककनी, नुवाकाेट । 

काठमाडौंबाट २७ किलोमिटर उत्तर–पश्चिममा छ— ककनी । नुवाकोट जिल्लामा पर्ने ककनी क्षेत्र प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक, पुरातात्त्विक एवं पर्यटकीय दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिन्छ । ककनीबाट दक्षिणमा देखिने दामन र सिमभन्ज्याङ, पूर्वमा देखिने काठमाडौं उपत्यका र आसपासका मनोरम छटाहरू उत्तरतर्फ देखिने थानसिङ फाँट र गणेश हिमाल मनमोहक मानिन्छन् ।

ककनीमा हुने स्ट्रबेरी, मुला तथा ट्राउट माछापालनले कृषि पर्यटनको सम्भाव्यता पनि बढाएको छ । शिवपुरी जङ्गलको पश्चिमी छेउमा अवस्थित ककनी ऐतिहासिक एवं पुरातात्त्विक हिसाबमा समेत महत्त्वपूर्ण मानिन्छ । वसन्ती दरबार र रुम्बा राजाको दरबार ककनीका ऐतिहासिक स्थल हुन् । वनभोज तथा शैक्षिक भ्रमणका लागि पनि ककनीले उत्तिकै प्रसिद्धि कमाएको छ ।

 सूर्यचाैर-शिवपुरी

suryachaur-1712631627.jpg
सूर्यचाैरमा घाेडा चर्दै । 

प्राकृतिक सुन्दरताले भरिपूर्ण रमणीय ठाउँ सूर्यचौर नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा पर्दछ । शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरमा पर्ने सूर्य चौर काठमाडौं उपत्यकाबाट करिब २५ किलोमिटरको दूरीमा रहेको छ । समुन्द्री सतहबाट २३ सय मिटरको उचाइमा अवस्थित सूर्यचौर प्रकृतिप्रेमीहरूका लागि प्राकृतिक सुन्दरता अवलोकन गर्न उत्कृष्ट गन्तव्य हो । जहाँबाट उत्तरतर्फ लामबद्ध हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।  माछापुच्छ्रे, गणेश, लाङटाङ, जुगल  लगायत हिमाललाई आँखै अगाडि देख्न सकिने भएकाले हिमालको दृश्यावलोकन गर्नका लागि पनि उत्कृष्ट गन्तव्य हो सूर्यचौर । सेता हिमशृङ्खला, काला चट्टानी पहाड, हरिया डाँडादेखि नागबेलीझैँ बगिरहेका नदीसम्म सूर्यचौरबाट अवलोकन गर्न सकिन्छ । भनौँ, जहाँबाट प्रकृतिका सबै रङ्गहरू हेर्न पाइन्छ । सुन्दरताका सबै रङ्गहरू नियाल्न पाइन्छ ।

राष्ट्रिय निकुञ्जभित्रको बाटोमा यात्रा गर्नुको आनन्द अर्कै छ । घना जङ्गलबिचको बाटो, चराचुरुङ्गीको चिरबिर, किरा फट्याङ्ग्राको आ-आफ्नै आवाज, झरनाको छङछङ, सबैको सम्मिश्रणबाट बनेको प्राकृतिक सङ्गीतको जादु, आहा १, जसले त्यहाँ पुग्ने जोकोहीलाई अर्कै संसारमा पुर्‍याइदिन्छ ।

नयाँ गन्तव्यः धादिङकाे ब्राेम्दिङ डाँडा 

Bromding--1710499713.jpg
धादिङकाे बेनीघाट राेराङ-१ मा अवस्थित ब्राेम्दिङ डाँडा । 

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१ मा अवस्थित ब्रोम्दिङ डाँडा अहिले पर्यटकहरूमा परिचित हुन थालेको छ । सन् २०२३ काे नाेभेम्बरमा पहिलो ब्रोम्दिङ पर्यटन महोत्सव सम्पन्न भएसँगै “लुकेको हिरा”को रुपमा रहेको ब्रोम्दिङ डाँडा संसारमाझ आएको छ । आन्तरिक एवम बाह्य पर्यटकहरुका लागि जिज्ञासासहितको रोजाइको गन्तव्य बनेको छ, ब्रोम्दिङ ।

ब्रोम्दिङ किन जाने ?

प्राकृतिक सुन्दरताकाे खानी, शान्त वातावरण 

Bromding-Hill-6---Copy-1709534453.jpg
ब्राेम्दिङ डाँडा र डाँडामा अवस्थित ब्राेम्दिङ गाउँ । 

ब्रोम्दिङ डाँडा महाभारत पर्वत श्रृङ्खलामा पर्दछ । समुन्द्री सतहबाट एक हजार आठसयदेखि दुई हजार एक सय मिटरको उचाइमा रहेको ब्रोम्दिङ डाँडा प्राकृतिक सुन्दरताको अवलोकन गर्नका लागि उत्तम गन्तव्य हो । जहाँबाट उत्तरतर्फ दन्तेलहर जस्तै हिमश्रृङ्खला, हरियाली पहाड, गाउँबस्तीहरूको अवलोकन गर्न सकिन्छ भने दक्षिणतर्फ हेटौँडा, विरगन्जदेखि भारतको रक्सौल बजारसम्म नियाल्न सकिन्छ । दक्षिणतर्फ ब्रोम्दिङभन्दा अग्ला पहाड अन्य छैनन्, जसले गर्दा दक्षिणको तराईको फाँटहरुदेखि उत्तरमा एकसय असी डिग्रीमा हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ । ब्रोम्दिङ डाँडा आफैँमा सुन्दर र मनोरम त छँदैछ । डाँडाबाट सुर्याेदय र सूूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न पाइन्छ । दोलखाको शैलुङलाई भुलाउने सुन्दर थुम्काहरू, मकवानपुरको दामन भुलाउने टाकुरा, पोखराको साराङ्कोट भुलाउने आँखै अगाडी हिमश्रृङ्खला र दुवैतर्फ सुन्दर ठूला ठूला लमतन्न परेर बसेका गाउँहरूले ब्रोम्दिङ पुग्ने जोकोहीलाई मोहित बनाउने गर्दछ । ब्रोम्दिङ डाँडामा पुग्ने प्रत्येक पाहुनालाई स्वागत गर्न आतुर हुन्छन् गाउँ र गाउँलेहरू ।

ब्रोम्दिङ सहरबाट अलिक टाढा छ, र शान्त छ । सहरको कोलाहलबाट उम्कनेहरुका लागि उत्कृष्ट गन्तव्य हो, ब्रोम्दिङ । व्यस्त राजमार्ग, सहर बजारबाट टाढा एकान्तमा बसेको ब्रोम्दिङ शान्तिको खोजी गर्नेहरुका लागि स्वर्ग नै हो । स्वच्छ र शान्त वातावरणमा प्रकृतिसँग रमाउनका लागि गज्जबको गन्तव्य हो, ब्रोम्दिङ ।

संस्कृति र जीवनशैली

Bromding-Hills-(2)-1709277817.jpg
काेदाे टिप्दै स्थानीय बासिन्दा । 

ब्रोम्दिङ डाँडामा विशुद्ध तामाङ समुदायको बसोबास रहेको छ । सो समुदायको संस्कृति, भाषा, भेषभुषा, रहनसहन र जीवनशैलीको अध्ययन गर्न पाइन्छ । उनीहरूको जीवनशैली र दिनचर्यासँग आफूलाई पनि समाहित गरेर गाउँले जीवन परिवेशको आनन्द लिन सकिन्छ । विनोदप्रिय तामाङ समुदायमा पुगेपछि नाचगान छुट्टाउने कुरै भएन । नयाँ पाहुनाको आगमन भएसँगै मौलिक गीतसंगीत र गानबजानमा रमाउँछन् र पाहुनालाई पनि पुलकित बनाएर पठाउँछन् । मौलिक तामाङ सेलो, घाँसे गीत, काठेभाका लोकदोहोरी बढी रुचाउँछन् ।

संघीय राजधानी काठमाडौं, पर्यटकीय नगरी पोखरा, बागमती प्रदेशको राजधानी हेटौँडा, औद्योगिक नगरी विरगन्ज लगायत सहरबाट तीनदेखि पाँच घण्टामा पुग्न सकिने ब्रोम्दिङले त्यहाँ पुगेपछि सहरलाई चटक्कै भुलाइदिन्छ ।

ब्रोम्दिङका बासिन्दा कृषिमा निर्भर छन् । उनीहरूको दिनचर्या जस्तै घाँस दाउरा, गोठाला, मेलापात लगायत गतिविधिले गाउँले जीवनको झल्को दिन्छ । जसले सहरबाट पुगेका पाहुनाहरुलाई नयाँ जीवनशैली र रहनसहनसँग परिचित हुने अवसर प्रदान गर्दछ । सहरबाट खासै टाढा नभएपनि सहरलाई भसक्कै बिर्साएर पाहुनालाई उन्मत्त बनाउँछ, ब्रोम्दिङ । यो ब्रोम्दिङको मुख्य विशेषता हो ।

अर्ग्यानिक खानपानको स्वाद

Bromding-Hills-(1)-1709277818.jpg
स्थानीय हाेमस्टेमा तयार पारिएकाे खाना । मकैकाे ढिँडाे र लाेकल कुखुराकाे मासु । 

सहरबाट थोरै टाढा बसेको र बजारको हावाले खासै नछोइसकेको ब्रोम्दिङ डाँडाको अर्काे विशेषता भनेको अग्र्यानिक खानापानको स्वाद हो । पर्यटन भन्ने वित्तिकै खानपानले निकै महत्व राख्दछ । कुनै ठाउँमा घुम्न जाने भनेपछि पहिले नै सोधिहाल्ने गर्छन, त्यहाँ के खाना पाइन्छ ?

धान नफल्ने भएकाले मकै, कोदो, फापरको ढिँडो, कोदो र फापरको रोटी ब्रोम्दिङको मुख्य खाना हो । सिजनअनुसार मस्याङ, विभिन्न प्रजातिका सिमी, राजमा, आलु, मुला, काउली, बन्दागोभी, विभिन्न सागसब्जी लगायतका तरकारीहरू उत्पादन हुन्छ । लसुन, प्याज, अदुवा, धनियाँ, बेसार, खुर्सानी, जिम्मु लगायत मसलाजन्य उत्पादनहरु हुन्छ । त्यसैगरी पेय पदार्थमा मकै र कोदोको शुद्ध लोकल रक्सी, निगार(जाँडको झोल), जाँड(छ्याङ), तोङ्बा आदि पाइन्छ ।

मासुजन्य पदार्थमा शुद्ध लोकल कुखुराको मासु, खसी, बोका, राँगाको सुुकुटी पाइन्छ । ब्रोम्दिङ डाँडामा पुग्ने पाहुनाहरु लोकल रक्सी(आइराक), लोकल कुखुराको मासु र ढिँडोसँग बढी मोहित हुने गरेका छन् ।

घरबास(होमस्टे)को प्रवन्ध हुँदै

420661674_122094113840201019_6364547860970141770_n-1712633248.jpg
ब्राेम्दिङ सामुदायिक हाेमस्टे ।

आफ्नो गाउँठाँउ, डाँडा, पाखापखेरा पाहुनाहरूको रोजाइमा पर्न थालेपछि स्थानीय समुदायले घरबासको प्रवन्ध गर्न थालेका छन् । ब्रोम्दिङ डाँडामा सामुदायिक होमस्टे निर्माणकार्य अघि बढेको छ । निकट भविष्यमै ब्रोम्दिङ डाँडामा घरबासको तयारी हुने स्थानीयले बताएका छन् । होमस्टेको औपचारिक घोषणा नभइसकेपनि अहिले ब्रोम्दिङमा पुग्ने पाहुनालाई राम्रै गाँसबासको व्यवस्था छ । बाहिरबाट आउने पाहुनाहरूलाई खाने, रम्ने र बस्ने सुविधा दिइरहेका छन् । ब्रोम्दिङमा आउने पाहुनाहरूले गाँसबासको चिन्ता लिनुनपर्ने स्थानीय बाबुलाल तामाङले बताए । वडा सदस्य समेत रहेका उनले भने, “हामीले घरबासको निर्माण थालेका छौँ, निकट भविष्यमै घोषणा हुनेछ । तर, अहिले पनि यहाँ आउने पाहुनाहरूले गाँसबासको चिन्ता लिनुपर्दैन, हामी व्यवस्था गर्छौँ र गरिरहेका छौँ ।”

त्यसैगरी ब्रोम्दिङ गाउँका स्थानीय चन्द्रमान तामाङले ब्रोम्दिङ डाँडामा पुग्ने पाहुनालाई गाँसबासको व्यवस्था गर्दै आएका छन् । गाउँमा पाहुना आउन थालेपछि आफूहरु निकै उत्साहित भएको तर पाहुनालाई कसरी सेवासुविधा दिने भन्ने विषयमा अलमल भइरहेका बेला सामुदायिक होमस्टेको अवधारणा अघि बढेपछि खुशी लागेको चन्द्रमान बताउँछन् । उनले अहिले आफ्नो घरलाई २० जनासम्म पाहुनालाई गाँसबास दिनसक्नेगरी घरबासको रुपमा रुपान्तरण गरेका छन् ।

ब्रोम्दिङ पुग्दा छुटाउन नहुने सुन्दर गाउँ, जरुङ

Bromding-Hills-(3)-1709277815.jpg
ब्राेम्दिङ डाँडा नजिकै रहेकाे जरुङ गाउँ । 

ब्रोम्दिङ पुग्दा छुटटाउनै नहुने अर्काे गन्तव्य हो सुन्दर जरुङ गाउँ । बेनीघाट रोराङ गाउँपालिका–१ को सबैभन्दा ठूलो र सुन्दर गाउँ हो जरुङ । जरुङ गाउँमा पनि विशुद्ध तामाङ समुदायको बसोबास रहेको छ । ब्रोम्दिङ डाँडा र जरुङ गाउँको बीचमा हावापानी, खानपान, जीवनशैली र रहनसहनमा निकै भिन्नता छ । एकसय बीस भन्दा बढी घरधुरी रहेको जरुङ गाउँ समुन्द्री सतहबाट बाह्रसय देखि तेह्रसय पचास मिटरको उचाइमा फैलिएको छ । न्यानो शमशितोष्ण हावापानी पाइने हुनाले जरुङ गाउँमा बेँसीमा फल्ने सुन्तला, अम्बा, केरा लगायत लेक र बेँसीमा फल्ने थुप्रै प्रकारका फलफूल तथा तरकारीहरू पाइन्छ । जरुङ गाउँमा पनि घरबास(होमस्टे)को व्यवस्था गर्ने तयारी थालिएको छ । ब्रोम्दिङ डाँडा पुग्ने पाहुनाहरू जरुङ गाउँमा पनि पुग्न थालेपछि स्थानीय होमस्टेको व्यवस्था गर्न लागेका छन् । स्थानीय श्री जरुङ सिम्टार आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेको शिक्षक वीर बहादुर तामाङले आफ्नो घरलाई होमस्टे बनाउन लागेको बताएका छन् । होमस्टेको लागि दुई वटा घर तयार रहेको र सजावटको काम भइरहेको उनले बताएका छन् ।

ब्रोम्दिङ पुग्दा छुटाउन नहुने गन्तव्यहरू

धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १ मा अवस्थित छ, ब्रोम्दिङ । ब्रोम्दिङ डाँडा मात्रै नभएर सिङ्गो वडा नै पर्यटकीय महत्त्वले भरिएको वडाध्यक्ष जीवन सिं तामाङ बताउँछन् । “ब्रोम्दिङ डाँडा मात्रै होइन, सिङ्गो वडा नै पर्यटकीय गन्तव्य हो । ब्रोम्दिङमा आउनुुहुने पाहुनाहरूले ब्रोम्दिङ मात्रै घुमेर फर्किनुभयो भने पक्कै पछुताउनुपर्ने छ । वडामा जरुङ, सिम्टार, लवाङ, सुन्दरनागी, थमभन्ज्याङ जस्ता सुन्दर गाउँहरू त छँदैछन्, ती गाउँहरू आ–आफ्ना विशेषताहरू छन् । जस्तो कि हिमालयको श्रृङ्खला हेर्न ब्रोम्दिङभन्दा थमभन्ज्याङ राम्रो छ । वडामा खैलिङ्गेश्वरी, ऋषेश्वर महादेव, भूमिथान, पचलीभैरव, लगायत धार्मिक पर्यटकीय स्थलहरू पनि छन्,” उनले भने,“यति मात्रै होइन, यस वडामा थुप्रै झरनाहरु छन्, गुफाहरु छन्, खोलाहरु छन् । खोलामा असला माछा पाइन्छ । पाहुनाहरु फिसिङमा पनि रमाउन सक्छन् । त्यसैले म पाहुनाहरुलाई फेरी पनि भन्न चाहन्छु, ब्रोम्दिङ मात्रै घुमेर नफर्किनुहोला ।”

ब्रोम्दिङ पुग्नेले नछुटाउनुहोला डाँफे मुनाल पार्क

danfe_munal_park-1712633640.jpg
मकवानपुरकाे कैलाश-२ मा रहेकाे डाँफेमुनाल पार्क ।

ब्रोम्दिङ डाँडा धादिङको बेनीघाट रोराङ गाउँपालिका, मकवानपुरको कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकाको सङ्गमस्थल हो । ब्रोम्दिङ पुग्दा छुटाउन नहुने र प्रायः पाहुनाले नछुटाउने गन्तव्य हो डाँफे मुनाल पार्क । मकवानपुरको कैलाश गाउँपालिकाले ब्रोम्दिङ डाँडा रेन्जमा दुई जिल्लाको सिमा क्षेत्रमा निर्माण गरेको डाँफेमुनाल पार्क पर्यटकीय आकर्षण हो । पार्कसँगै रहेको ऐतिहासिक विष्णुकुण्डमा गुरु रिम्पोछेको मुर्ति पनि स्थापना गरिएको छ । त्यसैगरी पार्क नजिकै पिङ स्थापना गरिएको छ । पार्क परिसरमा सतीको चिहान समेत रहेको छ । सतीघाट सती प्रथाको अध्ययनका लागि खोजको विषय बनेको छ ।

कसरी पुग्ने ब्रोम्दिङ ?

सबैभन्दा पहिला त ब्रोम्दिङ पुग्न गाह्रो छैन । तपाईँ कुन ठाउँमा हुनुहुन्छ भन्ने कुराले बढी अर्थ राख्छ । काठमाडौं, पोखरा, भरतपुर, हेटौँडा, विरगञ्ज लगायत नेपाल ठूला पर्यटकीय एवम् औद्योगिक सहरहरूबाट तीनदेखि पाँच घण्टाको यात्रामा पुग्न सकिन्छ ब्रोम्दिङ । काठमाडौंबाट पुथ्वी राजमार्ग हुँदै धादिङको गजुरी, मलेखु, आदमघाट लगायत बजारबाट प्रवेश गरेर पुग्न सकिन्छ । काठमाडौंबाट गजुरी बजारसम्म ६३ किलोमिटर रहेको छ । गजुरीको चालिसेदेखि २६ किलोमिटरको दुरी (अफरोड) करिब डेढ घण्टामा पार गरेर ब्रोम्दिङ डाँडा पुग्न सकिन्छ । त्यसैगरी चर्चित माछा बजार मलेखुबाट मलेखु खोलाको तिरैतिर २९ किलोमिटर पार गरेर पनि ब्रोम्दिङ पुग्न सकिन्छ । आदमघाट बजारबाट प्रवेश गरेर पनि ब्रोम्दिङ पुग्न सकिन्छ । तर, पृथ्वी राजमार्गबाट प्रवेश गर्दा सबैभन्दा छोटो र सहज बाटोको लागि चाहिँ गजुरीको चालिसेबाट प्रवेश गर्दा राम्रो हुन्छ ।

काठमाडौंको कलंकीदेखि वडाको सबैभन्दा ठुलो गाउँ जरुङसम्म नियमित बस सञ्चालन हुन्छ । बसको यात्रा गरेर पनि पुग्न सकिन्छ । तर, बसको यात्रा गर्दा अलि बढी समय लाग्छ । जरुङ गाउँ देखि ४० मिनेट उकालो लागेपछि ब्रोम्दिङ पुग्न सकिन्छ ।

चन्द्रागिरी चित्लाङ हुँदै पुग्न सकिन्छ, ब्रोम्दिङ

काठमाडौंबाट चन्द्रागिरी, चित्लाङ, टिस्टुङ पालुङ, शिखरकोट, डाँडेबास हुँदै ब्रोम्दिङ डाँडा पुग्न सकिन्छ । काठमाडौंबाट ब्रोम्दिङ पुुग्नका लागि सबैभन्दा रमाइलो मार्ग हो यो । करिब ९० किलोमिटर चार–पाँच घण्टामा पार गरेर यस मार्ग हुँदै ब्रोम्दिङ पुग्न सकिन्छ । काठमाडौंको थानकोट चेकपोष्टबाट चन्द्रागिरी डाँडातर्फ प्रवेश गरेर करिब दुई घण्टामा थाहा नगरपालिका र कैलाश गाउँपालिकाको सिमाना रहेको सुन्दर डाँडेबास बजार पुग्न सकिन्छ । चन्द्रागिरी, चित्लाङ, टिस्टुङ, पालुङ आफैँमा चर्चित पर्यटकीय गन्तव्यहरु हुन् । टिस्टुङ उपत्यकाको बज्रयोगिनीमा रहेको कुन्छाल गाउँ अर्काे पर्यटकीय पर्यटकीय गन्तव्य हो । नेपालको पहिलो राजवंशी गोपालीहरुको सन्ततीहरुको बसोबास रहेको कुन्छाल गाउँले त्यस मार्गमा यात्रा गर्ने जोकोहीलाई मोहित पार्ने गर्छ । यस मार्गबाट ब्रोम्दिङको यात्रा गर्दा थुप्रै गन्तव्यहरूको अवलोकन गर्न सकिन्छ । डाँडेबाससम्म कालोपत्रे भएको छ ।

डाँडेबासदेखि करिब दुई घण्टा (३५ किलोमिटर) अफरोड यात्रा गरेपछि ब्रोम्दिङ पुगिन्छ । महाभारत पर्वत श्रृङ्खलाको डाँडैडाँडाको यात्रा, प्राकृतिक सुन्दरता, उत्तरतर्फ लामबद्ध दन्तेलहर जस्तै हिमश्रृङ्खला, तँछाडमछाड गर्दै उभिरहेका पहाडहरु, हरियाली वनजङ्गल, चराचुरुङ्गीहरुको आवाज, वन्तयजन्तुहरुसँग साक्षात्कार गर्दै यात्रा गर्दा रोमाञ्चकता बाहेक अरु भेटिँदैन । प्रकृतिसँग रमाउन, प्रकृतिका रङ्गहरुमा रङ्गिदै आफूलाई भुलाउन यो मार्ग उत्तम मार्ग हो ।

हेटौँडाबाट पनि साढे दुई देखि तीन घण्टामा पुग्न सकिन्छ ब्रोम्दिङ

बागमती प्रदेशको राजधानी हेटौँडाबाट मनहरी, राक्सिराङ हुँदै करिब (४२ किलोमिटर) तीन घण्टाको यात्रा गरेर ब्रोम्दिङ डाँडा पुग्न सकिन्छ । हेटौँडाबाट भिमफेदी, कैलाश गाउँपालिका हुँदै यात्रा गर्न पनि सकिन्छ ।

पोखराबाट पृथ्वी राजमार्ग हँुदै (१३० किलोमिटर) धादिङको गजुरी बजार पुगेर ब्रोम्दिङ डाँडातर्फ प्रवेश गर्न सकिन्छ ।

कस्ता सवारीसाधनमा पुग्न सकिन्छ ब्रोम्दिङ ?

जुनसुकै मार्गबाट यात्रा गरेपनि ब्रोम्दिङ पुग्नको लागि अफरोड यात्रा गर्नुपर्ने हुन्छ । चार पाङ्ग्रे साना सवारीसाधन (ट्याक्सी, कार) मा गाह्रो पर्छ । मझौला खालका ग्रामिण क्षेत्रमा चल्ने बस, अन्य चारपाङ्ग्रे तथा सबै खालका दुई पाङ्ग्रे सवारी साधन लिएर ब्रोम्दिङ पुग्न सकिन्छ ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update