Everest Face
शहबाज शरिफ पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित

पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन)का उम्मेदवार शहबाज शरिफ निर्वाचित भएका छन्।

इमरान खानको तहरीक–ए–इन्साफले समर्थन गरेका उम्मेदवार उमर अयुबलाई पराजित गर्दै पूर्व प्रधानमन्त्री नवाज शरिफका भाइ शहबाज पाकिस्तानको २४ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।

आइतवार पाकिस्तानको संसद् न्याश्नल असेम्ब्लीमा भएको मतदानमा उनले २०१ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी अयुबले ९२ मत प्राप्त गरे।

पाकिस्तानको आम निर्वाचन कुनै पनि दलको प्रस्ट बहुमत नआएपछि नयाँ प्रधानमन्त्री चयन गर्न हप्तौँ लागेको थियो।

निर्वाचनमा सबैभन्दा धेरै सिट जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको दल पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरूले जितेका थिए।

को हुन् शरिफ ?

शरिफको प्रधानमन्त्रीमा यो दोस्रो कार्यकाल हो। यसअघि सन् २०२२ को अप्रिलमा इमरान खानको सरकार ढलेपछि शहबाज प्रधानमन्त्री बनेका थिए।

त्यसभन्दा अघि उनी सबैभन्दा धेरै जनसङ्ख्या भएको प्रान्त पञ्जाबको मुख्यमन्त्री भएका थिए। उनी तीन कार्यकाल र १३ वर्ष मुख्यमन्त्री भएको पन्जाब पाकिस्तानको सबैभन्दा धेरै जनसङ्ख्या भएको र राजनीतिक रूपमा महत्त्वपूर्ण प्रान्त हो।

शहबाज व्यापारबाट राजनीतिमा आएका हुन्। शहबाज सन् १९८५ मा लाहोरको वाणिज्य सङ्घ चेम्बर अफ कमर्सको अध्यक्ष भएको बताइन्छ।

दाजुलाई सघाउँदै आएका शहबाज आफू पनि राजनीतिमा समावेश हुने निर्णय गरे र सन् १९८८ को पन्जाबको प्रान्तीय संसद्‌मा सदस्य भए।

उनी सन् १९९० र सन् १९९३ मा पुन निर्वाचित भए। सन् १९९३ मा उनी प्रान्तीय सभामा प्रतिपक्षी दलको नेता चुनिए।

तीन पटक पाकिस्तानको प्रधानमन्त्री भएका नवाज शरिफका भाइ शहबाजले पाकिस्तानको सेनासँग मेलमिलापको पक्ष लिएको बताइन्छ।

राष्ट्रपतिको पनि निर्वाचन हुँदै

पाकिस्तानमा आगामी मार्च ९ मा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ। त्यसमा पनि पीएमएल-एन र पाकिस्तान पिपुल्स पार्टीको गठबन्धन र हाल जेलमा रहेका पूर्व प्रधानमन्त्री खानको पीटीआईका उम्मेदवारबीच प्रतिस्पर्धा हुने ठानिएको छ।

पीटीआईले महमूद खान अचकजाईलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गरेको छ भने गठबन्धन दलहरूले आसिफ जर्दारीलाई उम्मेदवार बनाएका छन्।

पाकिस्तानमा नवाज शरिफ र बिलावल भुट्टोका दलले नयाँ सरकार बनाउने विषयमा गत फेब्रुअरीमा सहमति गरेका थिए।

फेब्रुअरीको आरम्भमा सम्पन्न निर्वाचनपछि भुट्टोको दल पीपीपीले शरिफको दल पीएमएल-एनलाई सरकार निर्माण गर्न सघाउने प्रतिबद्धता जनाएको थियो।

सन् २०२२ मा इमरान खानलाई सत्ताबाट हटाउन पनि यी दुई दलले गठबन्धन गरेका थिए।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update