पानी घट्ट हेर्दा सामान्य जस्तो लागे पनि यसको सबै पक्रिया राम्ररी अध्ययन गर्ने हो भने यो त्यतिबेलाको वैज्ञानिक चमत्कार नै थियो । यसको संरक्षण गर्न जरुरी छ ।
मानव सभ्यताको विकाससँगै मानिसका आवश्यकताहरूले विभिन्न किसिमका ज्ञान विज्ञानको पनि सिर्जना भएको पाइन्छ । हाम्रा पुर्खाहरूले जीवन जिउने क्रममा आइपरेका विविध समस्याहरूको समाधानका लागि विभिन्न उपायहरूको खोजी गर्दै गए । दैनिक जीवनलाई सजिलो पार्नका निमित्त आफूलाई आवश्यक पर्ने विभिन्न सर-सामग्रीहरूको पनि खोजी गर्दै गए । आवश्यकता अनुसार ससाना सामग्री निर्माणदेखि लिएर वर्तमान विश्वव्यापीकरणको युगसम्म आइपुग्दा हाम्रा पुर्खाहरूले थुप्रै सङ्घर्ष गर्नुपरेको र जसको फलस्वरूप हामीले हाम्रो दैनिक जीवनलाई सजिलैसँग यापन गर्न सम्भव भएको छ ।
यस्तै विभिन्न किसिमका आवश्यकता परिपूर्ति गर्ने क्रममा गरिएको खोज तथा अनुसन्धान तत्कालीन समयका ढिकी, जाँतो, पानी घट्ट आदि पनि हुन् । मानिसले अन्न पिसेर पकाइखाने कुराको सुरुवातदेखि नै यस्ता खोजहरू भए जसले गर्दा हातले चलाउनुपर्ने जाँतोलाई पानीले चलाएर पिठो बनाउने कार्य सम्भव भयो । पानी घट्ट पनि हाम्रा पुर्खाहरूको खोज तथा अनुसन्धानको उपज हो ।
पानी घट्ट पानीबाट चल्ने अथवा घुम्ने एक प्रकारको यन्त्र हो जसको प्रयोगबाट मकै, गहुँ, कोदो, फापर जस्ता खाद्य पदार्थहरू पिस्ने गरिन्छ । विशेष गरी नेपालको ग्रामीण इलाकामा यसको प्रयोग हुन्छ ।
कहिलेदेखि भयो यसको प्रयोग ?
पानी घट्ट प्राचीन कालदेखि नै मानव जीवनमा उपयोग गरेको पाइन्छ । ग्रीक भूगोलविद् स्ट्राबोका अनुसार सन् ७१ बिसीमा एसिया माइनरमा क्याबिराका राजा मिथराडेटस युपेटरको दरबार नजिकै पानी घट्टको प्रयोग भएको थियो ।
कसरी बनाइन्छ र कसरी काम गर्छ यसले ?
पानी घट्टका लागि आवश्यक ढुङ्गो सबै ठाउँमा पाइँदैन । यसका लागि एक विशेष प्रकारको कडा ढुङ्गो चाहिन्छ । सुरुमा ढुङ्गोलाई छिनुले गोलो आकार दिइन्छ र बीच भागमा गोलो प्वाल पारिन्छ । घट्टका लागि यस्ता दुई वटा ढुङ्गाहरू आवश्यक पर्दछन् । यसरी घट्ट बनाइसकेपछि यसका लागि अर्को महत्त्वपूर्ण वस्तु भनेको पानी हो । पानीलाई अग्लो ठाउँबाट काठको डूँडमार्फत छाँगो बनाई त्यसले हिर्काएपछि घुम्ने गरी पानी घट्टको मदानी राखिएको हुन्छ । मदानी घुमेपछि घट्टमा जोडिएको ढुङ्गाको जाँतो चल्न थाल्छ र अन्न पिस्न थाल्छ । अन्न निरन्तर खस्नको लागि यसको माथि सोली अथवा कोठो राखिएको हुन्छ । सोलीमा अन्न खन्याइन्छ र अन्न सोलीबाट सोलीको मुखमा भएको धारा हुँदै घट्टमा खस्दछ । सोलीबाट अन्न खस्नको लागि सोलीमा कम्पनको आवश्यकता हुन्छ । यसको लागि सोली र घट्टको माथिल्लो फक्लेटोमा कटकटे अथवा चरो जोडिएको हुन्छ ।
घुन नपिस्नु रहस्यमय
अचम्मको कुरा के छ भने घट्टमा पिस्न लिएको अन्नमा घुन छ भने अन्न पिसेर मसिनो पिठो भएर आउँछ भने घुन जिउँदै आएको देखिन्छ। नेपालको पश्चिम तिर घुन र घट्टको मामा भान्जाको नाता पर्दछ यसैले घट्टले घुनलाई केही न गरेर बाहिर निकाल्छ जुन दिन घट्टले घुन पिस्ने छ त्यो दिन पृथ्वी पापले डुब्ने छन् भन्ने भनाई रहेको छ ।
ग्रामीण क्षेत्रमा यसको विकल्प छैन
गाउँघरमा मकै, कोदो, फापर, गहुँ,चामल आदि अन्नबाली पिस्नका लागि पानी घट्टको प्रयोग अझैसम्म भइरहेको पाइन्छ। घट्ट चलाउने व्यक्तिलाई घटेरो भनिन्छ। अन्न पिसेबापत घटेरोले त्यही अन्नबाट निश्चित मात्रा लिएर जीविकोपार्जन गर्ने गर्दछ ।
बढ्दो आधुनिकता सँगै सहर बजारमा पानी घट्टको प्रयोग हुन छाडे पनि गाउँ बस्तीमा भने घट्टको लोकप्रियता घटेको छैन । देशका विभिन्न स्थानमा कुटानी पिसानीको लागि परम्परागत पानी घट्टको प्रयोग यथावत् नै छ ।कुटानी, पिसानी र पेलानीमा आधुनिक प्रविधि भित्रिए पनि देशका थुप्रै स्थानमा पानी घट्टको विकल्प छैन ।
पानी घट्टमा खाद्य पिसानी गर्दा सस्तो पर्नुको साथै घट्टमा पिसिएको खाद्य निकै स्वादिलो हुने भएकाले पिसानीको लागि पानी घट्टको नै प्रयोग गरेको पाइन्छ ।
पानी घट्ट हेर्दा सामान्य जस्तो लागे पनि यसको सबै पक्रिया राम्ररी अध्ययन गर्ने हो भने यो त्यतिबेलाको वैज्ञानिक चमत्कार नै थियो । यसको संरक्षण गर्न जरुरी छ ।