Everest Face
नुन किन्न पनि नागरिकता देखाउनैपर्ने !

हुम्लाको सिमकोट, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकले १० किलोग्राम नुन किन्न नागरिकता पेश गर्नु परिरहेको छ ।

सिमकोटस्थित साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयले, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकलाई १० किलोका दरले नुन बिक्री गर्दै आएको छ । उनीहरूलाई नागरिकताको आधारमा प्रतिव्यक्ति १० किलो नुन वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयका प्रमुख राजबहादुर लामाले बताए ।

एक जनाबाट १० किलो नुनको ९० रुपैयाँ लिने गरिएको छ । “प्रतिकिलो नौ पर्छ । एक बोरामा पचास प्याकेट नुन हुन्छ,” कार्यालय प्रमुख लामाले भने, “पूरै बोरा ४५० रुपैयाँमा बिक्री हुँदै आएको छ ।”

प्रमुख लामाका अनुसार प्रत्येक साताको आइतबार शाखा कार्यालयको वितरण केन्द्रमा नागरिकता पेश गरेपछि नुन किन्न पाइन्छ । सदरमुकाम सिमकोटमा तीन पालिका सहित जिल्लाभरका नागरिक बसोबास गर्दै आएकाले वार्षिक कोटाले अपुग हुने देखिएपछि नागरिकताको आधारमा १० किलो वितरण गर्न थालिएको उनको भनाइ छ ।

लामाका अनुसार आर्थिक वर्ष २०८०/८१ का लागि जिल्लामा एक हजार ५०० क्विन्टल नुन आइपुगेको छ । जिल्लामा आइपुगेको नुन सम्बन्धित पालिकाका जनप्रतिनिधिको जिम्मा दिएर बिक्री गरिने उनले बताए ।

झन्डै १८ दिन बसेर दक्षिण भेगमा रहेका पालिकाका नागरिकलाई नुन वितरण गरिएको गाउँपालिकाले जनाएका छन् । चंखेली गाउँपालिकामा ३८७, सर्केगाडमा ४८५, अदानचुलीमा ४८५ र ताँजाकोटमा ४०० क्विन्टल नुन वितरण भएको उनले बताए ।

जिल्लामा पछिल्लो समय ढिके नुनको प्रयोग हट्दै गएको लामाले बताए। चंखेली–५ को नेप्का र उत्तरी नाम्खा–६ को लिमीमा मात्रै ढिके नुनको प्रयोग हुँदै आएको कर्पोरेशनको तथ्यांक छ ।

-रासस

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update