“हामीले जसो गरे पनि जनता खुसी हुनुपर्ने ? हामीले जे गरे पनि जनताले ताली बजाउनुपर्ने ? राज्य किंकर्तव्यविमूढ हुँदा पनि नागरिकले जयजयकार गरिरहनुपर्ने ? के यही हो हाम्रो काम गर्ने शैली ? हामी कहिले परिवर्तन हुने हो ? हाम्रो सोच्ने शैली कहिले परिवर्तन गर्ने हो ? जनतालाई हामीले कहिलेसम्म मूर्ख बनाइराख्ने हो ? नागरिकलाई कतिन्जेल बेकुफ बनाइराख्ने हो ?”
हिजाे (चैत्र २० गते) मङ्गलवार प्रतिनिधिसभामा सांसद रामनाथ अधिकारीले बर्साएका प्रश्नहरू हुन् यी ।
धादिङ–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अधिकारीले आफ्नो क्षेत्रको जनताले भोगिरहेको पिडालाई प्रतिनिधित्व गर्दै आक्रोश पोख्ने क्रममा यी प्रश्नहरू उठाएका हुन् । धादिङको जिल्ला सदरमुकाम धादिङबेसीदेखि उत्तरी हिमाली भेगमा अवस्थित रुबीभ्याली जोड्ने दामन पाख्रिन राजमार्गको दुरावस्थाको चित्रण गर्दै उनले भने, “तीस वर्षमा सय किलोमिटर पक्की बाटो पनि बनाउन नसक्ने हामीले जनतालाई कहिलेसम्म झुक्क्याइरहने हो ?”
तत्कालीन जिल्ला विकास समितिको आयोजनामा “कामको लागि खाद्यान्न कार्यक्रम” अन्तरगत वि.सं. २०५० सालमा निर्माण सुरु गरेको दामन पाख्रिन राजमार्ग हालसम्म पनि सम्पन्न भएको छैन । करिब सय किलोमिटर लामो राजमार्गको हालसम्म अन्तिम विन्दुसम्म ट्र्याकसमेत खोल्न सकेको छैन । ट्र्याक खोलिसकेको खण्ड पनि स्तरोन्नति हुन सकेको छैन ।
“”वर्षा यामको त कुरै छोडौँ, हिउँदमा समेत माघे झरीले पनि सडक अवरुद्ध हुन्छ”, उनले भने, “जनताले अहिले पनि तीन चार दिन पैदल हिँडेर सदरमुकाम आउन बाध्य छ । यो त विकासको लाजमर्दो नमुना हो ।”
सडक राम्रो बन्न नसक्दा पर्वतीय एवम् सांस्कृतिक पर्यटनको सम्भावना भएको गणेश हिमालको काखमा अवस्थित रुबीभ्याली लगायत उत्तरी भेगका जनताले सास्ती खेप्नुपरेको सांसद अधिकारीले बताए । सडकको दुरावस्थाकै कारण पर्यटनको अथाह सम्भावना भएर सो क्षेत्रमा पर्यटन प्रवर्द्धन तथा विकास हुन सकेको छैन । पर्यटनमार्फत आयआर्जन बढाई जीवनस्तर उकास्ने अवसरबाट स्थानीय समुदाय वञ्चित भएका छन् ।
उक्त सडक खण्ड अन्तर्गत जम्मा आठ ओटा पक्की पुलहरू निर्माण गर्नुपर्नेमा भर्खरै सबैभन्दा ठुलो किम्ताङ खोलाको पुल नेपाल विद्युत् प्राधिकरण नेपाली सेनाको सहयोगमा निर्माण थालिएको छ उनले जानकारी दिए ।
जनताले सूचना प्रविधिको प्रयोग गरी संसारको भौतिक विकास हेरिरहेको र कतिपय देशहरूले दशपन्ध्र वर्षमै भौतिक विकास गरेर देशको कायापलट गरिरहेको जनाउँदै उनले भने,“हामीले तीस वर्षमा पनि जम्मा सय किलोमिटर सडक पनि पक्की बनाउन सकेनौँ, जनतालाई कतिन्जेल मूर्ख बनाइराख्ने ?”
सङ्घीय सरकार र प्रदेश सरकारले वार्षिक बजेट बनाउँदा विभिन्न खण्डको नाममा सानो–सानो बजेट छुट्टाउने गरेको जनाउँदै उनले व्यङ्ग्य गर्दै भने, “सरकारले त्यो सडकको कतै कालोपत्रे गर्न, जाली हाल्न भनेर विभिन्न खण्ड गरेर पाँच लाख दश लाख रुपैयाँ छुट्टाउँछ, त्यो होम गर्न हो कि श्राद्ध गर्ने हो ?”
चारो हालेको जसरी छुट्टाएको बजेटले परिणाममुखी काम नै नहुने उनले बताए । “सडकमा कामको अनुगमन गर्न जाँदा केही काम भएको देखिँदैन, कार्यान्वयन गर्ने अर्थ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, सडक बोर्डदेखि डिभिजन सडक कार्यालय, प्रादेशिक सडक कार्यालय, प्रदेश सरकार विभिन्न मन्त्रालय, जिल्ला पूर्वाधार विकास कार्यालयसम्म गरेर दर्जनभन्दा बढी कार्यालयहरू जोडिन्छन्, । एउटा कार्यालय गए अर्कोलाई देखाउँछन्”, उनले भने, “अहिले पनि नागरिकहरू राज्य सञ्चालकहरूलाई पैदलयात्रा गरेरै गाली गरिरहेका छन् ।”
सांसद अधिकारीले देशको विकास गर्न नसक्नुको कारणबारे राज्य सञ्चालकहरूले गम्भीर आत्मसमिक्षा गर्ने बेला भएको बताए । उनले भने, “बर्षौँ छलफल गरौँ, सदनमा छलफल गरौँ, समितिमा छलफल गरौँ, घण्टौँ छलफल गरौँ, हप्तौँ छलफल गरौँ, समस्या कहाँनेर छ, कसको कारणले यस्तो भइरहेको छ ? देशको विकास गर्न किन सकेनौँ ? समस्या, सोचमा छ कि सोधमा छ ? कागजमा छ कि कर्मचारीमा छ ? नियममा छ कि नियतमा छ ? नेतामा छ कि नागरिकमा छ ? समस्या कहीँ न कहीँ त छ, समस्याको पहिचान गरौँ । अन्यथा नागरिकको आँसुले पोल्नेछ ।”