Everest Face
लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सवको आयोजना हुँदै 

बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने भएको छ ।  नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष, नेपालस्थित चिनियाँ दूतावास, नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा यही अप्रिल ५-६ मा महोत्सव हुन लागेको हो ।

महोत्सवमा लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन, लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवस र लुम्बिनी शान्ति कन्सर्ट गरी तीन वटा प्रमुख कार्यक्रम हुने जनाएको छ । 

म्याराथनमा नेपाल, चीन, पाकिस्तान, श्रीलङ्का, केन्यालगायत देशका धावकहरूको सहभागिता हुने जनाइएको छ ।

महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपालस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सिनले महोत्सवले लुम्बिनीलाई विश्व शान्ति र धार्मिक सांस्कृतिक पर्यटन गन्तव्यको रूपमा थप परिचित गराउने बताए । 

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले लुम्बिनीको महत्त्वलाई विश्वमाझ परिचित बनाउन कार्यक्रम गर्दै आइरहेको बताए । 

लुम्बिनी विकास कोषको परिसरमा हुने कार्यक्रम अन्तर्गत ५ अप्रिल बिहान लुम्बिनी पवित्र उद्यानमा अन्तर्राष्ट्रिय ध्यान र साँझ संवाद कार्यक्रम राखिएको छ । भोलिपल्ट लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन लुम्बिनी स्क्वायरमा हुनेछ । ६ अप्रिल साँझ लुम्बिनी शान्ति कन्सर्ट हुनेछ । जसमा आनी छोइङ डोल्मा, चिनियाँ गायक उलान तुया, लु निङ लगायतको प्रस्तुति हुनेछ ।

त्यस्तै पुरुषतर्फ अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ४२ किलोमिटर बढीको म्याराथन दौड हुनेछ । महिलातर्फ २१ किलोमिटर दूरीको हाफ म्याराथन दौड गरिने छ । म्याराथन प्रतियोगिताको विजेताले ५ लाख पाउनेछन् । कुल पुरस्कारमा २० लाख रुपैयाँ छुट्याइएको छ ।

५ किलोमिटरको रोड रेस र विद्यालयका छात्र, छात्राको लागि ३ किलोमिटरको वाकाथन लगायतका खेलकुद कार्यक्रम पनि समावेश गरिएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update