रोचक त के छ भने अष्ट्रेलियामा मानिसको जनसङ्ख्याभन्दा कङ्गारुको सङ्ख्या झण्डै दोब्बर छ । जसका कारण पनि मार्नु परेको हो । अष्ट्रेलियाकाे जनसङ्ख्या जम्मा २६.६५ मिलियन अर्था दुई करोड ६५ लाख रहेको छ । कङ्गारुको सङ्ख्या करिब पाँच करोड रहेको अनुमान छ ।
कङ्गारु त्यस्तो दुर्लभ जनावर हो, जुन अष्ट्रेलिया र पपुवा न्युगिनीमा मात्र पाइन्छ । पपुवा न्युगिनीमा ट्रि कङ्गारु पाइन्छ, जसको सङ्ख्या मात्र ३ सयदेखि ५ सयको हाराहारीमा छ । उता अष्ट्रेलियामा भने कङ्गारुको सङ्ख्या करिब पाँच करोड रहेको अष्ट्रेलियाको सरकारी तथ्याङ्कले देखाएको छ ।
कङ्गारुको सङ्ख्या गणना गर्नु निकै गाह्रो काम हो । अष्ट्रेलियाका ६ राज्यले हेलिकोप्टरमार्फत कङ्गारुको गणना गर्ने सीएनएनले जनाएको छ ।
अष्ट्रेलियाले हरेक वर्ष लाखौँ कङ्गारु मार्नका लागि कोटा पनि तय गर्छ भन्दा तपाईँलाई अचम्म लाग्छ, तर त्यो सत्य हो । यस वर्ष मात्र अष्ट्रेलियाका न्यु साउथ वेल्स, क्वीन्सल्यान्ड, भिक्टोरिया, साउथ अस्ट्रेलिया र वेस्टर्न अस्ट्रेलियामा ५० लाख कङ्गारु मारिने कोटा तय भएको सीएनएनले जनाएको छ ।
गार्डियनका अनुसार यस वर्ष भिक्टोरिया राज्यमा २ लाख ३६ हजार ३५० कङ्गारु मारिँदैछन् । गत वर्षभन्दा यस राज्यमा २७ प्रतिशत बढी कङ्गारु मार्न अनुमति दिइएको हो । यस देशमा जग्गा धनीहरूलाई कङ्गारु मार्ने लाइसेन्स नै प्रदान गरिन्छ ।
अष्ट्रेलियाको कङ्गारु उद्योग सङ्घका अनुसार कङ्गारुको मासु र छाला बेचेरै अस्ट्रेलियाले वर्षको १ सय ३३ मिलियन अमेरिकी डलर आर्जन गर्छ । कङ्गारु मार्नुलाई अधिकारवादी संस्थाले विश्वभर विरोध पनि जनाएका छन् ।
यद्यपि अष्ट्रेलियाको सरकारले भने कङ्गारुको सङ्ख्या अत्यधिक भएकाले त्यसलाई मार्नुबाहेक उपाय नभएको बताउँछन् ।
कङ्गारु धेरै हुँदा यसले मानिसलाई आक्रमण गर्ने, बालीनाली नष्ट गर्ने गर्दछन् । यसले जमिन नै कब्जा गरेर बस्ने र अन्य जनावरहरूलाई पनि मार्ने हुनाले सङ्ख्या नियन्त्रण गर्न मार्नुपरेको जनावर विज्ञहरू नै बताउँछन् ।
खडेरीको समयमा कङ्गारु आफैँलाई भोकमरीबाट जोगाउन पनि नियमित रूपमा कङ्गारु मार्न आवश्यक भएको उनीहरू बताउँछन् ।
अष्ट्रेलियाको क्वीन्सल्यान्डको मारुम भन्ने ठाउँ यतिबेला कङ्गारुको कब्जामै गएको छ । त्यहाँ २२० घर छन् तर कङ्गारुको सङ्ख्या बढी भएकाले त्यहाँ उक्त जनावरले मानिसहरूलाई आजित बनाएका छन् ।
कङ्गारु खाना खोस्न किचनसम्मै आउने गरेका छन् । यदि मानिसहरू कङ्गारुको प्रतिकारमा उत्रिए कङ्गारुले मानिसहरूलाई कुट्ने गरेको पनि बताइएको छ ।
-सीएनएन र एजेन्सीको सहयोगमा