Everest Face
नेपाल र नेदरल्यान्ड्स फाइनलमा भिड्ने

काठमाडौं । वर्षाका कारण त्रिकोणात्मक टी-२० सिरिजको लिगचरणको अन्तिम खेल नतिजा विहीन भएसँगै प्रतियोगिताको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्ने भएका छन्।

आइतबार टियू मैदानमा भएको नामिबिया र नेदरल्यान्ड्स बिचको खेलमा नामिबियाले टस हारेर पहिले ब्याटिङ गर्दै १५ ओभरमा ४ विकेट गुमाएर ९८ रन जोड्दा वर्षा भएपछि रोकिएको खेल पुन सुरु नहुँदा दुबै टिमले १-१ अङ्क बाँडे।

दुबै टोलीले अङ्क बाँडेसँगै नेदरल्यान्ड्सको ४ खलबाट ५ अङ्क भएको छ।

त्यस्तै दोस्रो स्थानमा रहेको नेपालको ४ अङ्क हुँदा तेस्रो स्थानमा रहेको नामिबियाको ३ अङ्क भयो। अब नेपाल र नेदरल्यान्ड्सबिच मंगलबार फाइनलमा प्रतिस्पर्धा हुने छ। नामिबिया खेलबाट बाहिरिएको छ।

यसअघि शनिबार त्रिकोणात्मक टी–२० सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको थियो। नेदरल्यान्ड्सले दिएको १ सय २१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्दै प्रतियोगिताको फाइनल  प्रवेश गरेको थियो।

नेपालको जितमा कप्तान रोहित पौडेलले ४६ रनको इनिङ खेल्दा गुल्सन झाले ३८ रन बनाएका थिए। त्यस्तै, कुशल भुर्तेलले १२ रन बनाएका थिए। नेदरल्यान्ड्सका लागि भिभियन किंगमाले ३ विकेट लिँदा आर्यन दत्तले १ विकेट लिए।

जितसँगै नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको थियो।

टियु मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स १९.३ ओभरमा अलआउट हुँदै १ सय २० रन बनाएको थियो। उसका लागि म्याक्स ओ’ड्वाडले ३३ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक स्कट एर्डवार्डले १८ रन बनाउँदा टिम भान डेर गुगटेनले २४ रन बनाएका थिए।

त्यस्तै, रोएलअफ भान डेर मेर्वीले २३ रन बनाएका थिए। नेपालका लागि प्रतिश जिसीले ३ विकेट लिँदा करण केसी र कुशल मल्लले समान २–२ विकेट लिए। त्यस्तै, दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए।

त्रिकोणात्मक सिरिजको शीर्ष दुईमा रहने टोली फाइनल प्रवेश गर्ने भएकाले नेपालसँग फाइनल खेल्ने टिमको तय नेदरल्यान्ड्स र नामिबियाबिचको खेलले गर्ने थियो। नेपालले लिग चरणको पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो। नेपालले शनिबार खेलमा विजयी भएसँगै नेदरल्यान्ड्ससँग समान ४ अङ्क बनाउँदै फाइनलमा स्थान पक्का गरेको थियो।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update