Everest Face

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र बहादुर शाहीले कर्णालीको विकासका लागि बजेट नदिए कर्णालीलाई छुट्टै राज्यको घोषणा गर्न सरकारलाई चुनौती दिएका छन् ।

आइतबार प्रतिनिधिसभामा बोल्दै सांसद शाहीले कर्णाली राजमार्गको स्तरोन्नति गर्न आवश्यक बजेट नदिएको भन्दै यस्तो आक्रोश व्यक्त गरेका हुन् । 

“आगामी आर्थिक वर्षको बजेटमा जसरी भए पनि कर्णाली राजमार्गको स्तरोन्नतिको लागि बजेट हाल्नैपर्छ, नत्र भने सडक र सदनमा आन्दोलन गर्छौँ”, सांसद शाहीले भने, “कि त कर्णाली नेपालभित्र पर्दैन भन्नुस्, हामी विकास गरेर देखाउँछौँ ।”

जडीबुटी, फलफूल र अन्नको भण्डार, पर्यटनको अथाह सम्भावना भएको कर्णालीले वार्षिक २७ अर्ब रुपैयाँभन्दा बढीको आम्दानी गर्न सक्ने उनले बताए । ठुलो सम्भावना भएको कर्णालीलाई सधैँ उपेक्षा गरेको र दुई तीन अर्ब रुपैयाँ बजेट माग्दा पनि नदिएको भन्दै शाहीले भने, “हामीले भीख मागेको होइन, अधिकार मागेकाे हाे ।” 

 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update