Everest Face
घान्द्रुकमा पर्यटन महोत्सव हुँदै

कास्कीको घान्द्रुकमा चैत्र अन्तिम साता घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । 

घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा आगामी चैत्र २७ देखि ३० गतेसम्म महोत्सव आयोजना गरिने भएको छ । 

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले ‘सबै मौसममा पर्यटन’भन्ने नारासहित पर्यटक भित्राउने लक्ष्यसहित महोत्सवको आयोजना गरिएको बताए । उनले महोत्सवमा क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, खुल्ला बास्केटबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता, चक्रीय पदमार्ग दौड प्रतियोगिता, ठेलो प्रतियोगिता र म्युजिकल प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

उनका अनुसार क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ७० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पुरुष भलिबलतर्फ विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक,उदीयमान खेलाडीलाई (सेमिफाइनलबाट म्यान अफ द म्याच) पुरस्कृत गरिनेछ । यस्तै महिलातर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेन्डर, सेटर हुने खेलाडीलाई (सेमिफाइनलबाट म्यान अफ द म्याच) पुरस्कृत गरिने अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार पुरुष भलिबलतर्फ सहभागिताका लागि दर्ता शुल्क ५ हजार र महिलातर्फ ३ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

Ghandrukkk-scaled-(1)-1711850343.jpg
यस्तै महोत्सवका संयोजक अमृत लामा गुरुङले खुल्ला बास्केटबल प्रतियोगिताको विजेतालाई १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने जानकारी दिए । उनका अनुसार टिम दर्ताका लागि ५ हजार रुपैयाँ निर्धारण गरिएको छ । यस्तै घोडा दौड प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २७ हजार ७ सय ७७ र तेस्रो हुनेले ११ हजार ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

यस्तै चक्रीय पदमार्ग दौड प्रतियोगिताको विजेताले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यस्तै ठेलो प्रतियोगिताकै विजेताले ८ हजार र उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । महोत्सवको अवधिमा ह्विलचियर बास्केटबलको समेत प्रदर्शन गरिने छ ।

सो महोत्सवको हरेक बेलुकी विभिन्न जातिका प्रचलित नृत्य तथा साङ्गीतिक कार्यक्रमहरू प्रस्तुत हुने संयोजक गुरुङले जानकारी दिए । उनका अनुसार सो महोत्सवमा आदिम कला केन्द्रले नृत्यहरू प्रस्तुत गर्नेछन् । महोत्सवको अन्तिम दिन लोक तथा दोहोरी गायक राजु परियारको बेजोड प्रस्तुति रहने छ ।

पोखरा पर्यटकीय राजधानी घोषणा भैसकेको बताउँदै सो महोत्सवले पर्यटकीय गतिविधिलाई उचाइमा पुर्‍याउन सघाउ पुग्ने विश्वास व्यक्त गरे । महोत्सव अवधिभर पर्यटकलाई ३० प्रतिशत छुट घान्द्रुक पर्यटन व्यवस्थापन समितिले महोत्सव अवधिभर घान्द्रुक जाने पर्यटकलाई ३० प्रतिशत छुट दिने भएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा चैत्र २७ देखि ३० गतेसम्म आयोजना गरिएको घान्द्रुक पर्यटन महोत्सवमा पर्यटकहरूलाई ३० प्रतिशत छुट दिने अध्यक्ष विक्रम गुरुङले बताए । उनका अनुसार प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई खाना र बस्नको लागि प्रतिव्यक्ति ६ सय रुपैयाँ निर्धारण गरिएको छ ।

घान्द्रुकमा अहिले ७० वटा व्यवस्थित होटेल र १७ वटा होमस्टे सञ्चालनमा रहेका छन् । महोत्सवमा जाने पर्यटक तथा दर्शकलाई घान्द्रुकमा उत्पादन हुने खाद्यान्न र संस्कार, संस्कृतिसँगै प्रतियोगिताबाट मनोरञ्जन दिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update