Everest Face
९२ वर्षको उमेरमा पाँचौँ पटक बिहे गर्दै मिडिया टाइकुन रुपर्ट मर्डाेक

मानिसका इच्छा-चाहनाहरू अनेक हुन्छन् । कसैका पुरा हुन्छन् त कसैका हुँदैनन्। कसैले पुरा गर्छन् त कसैले सक्दैनन् । हुन त 'जहाँ इच्छा त्यहाँ उपाय' भने जस्तै  इच्छाशक्ति भयो भने सपना होस् या रहर पुरा हुन्छन् नै । नेपालमा बिहे गर्ने उमेर कानुनतः पुरुष र महिलाको २१/२० हो । यद्यपि केही वर्ष तलमाथि हुने गरेको  छ ।

१८ वर्षभन्दा मुनिकाले बिहे गरे कारबाही हुने व्यवस्था पनि छ । बालविवाह अझै पनि नेपालको एक सामाजिक समस्या हो । उमेर पुगिसकेकालाई विवाह गर्न राेकताेक छैन, तर नेपालको कानुन अनुसार बहुविवाह गर्न पाइँदैन ।

संसारमा धेरै बुढो उमेर र कलिलो उमेर बिच विवाह भएको हामीले देखेका सुनेका छौँ । एकैजनाले थुप्रै महिलासँग विवाह गरेको पनि सुनेका छौँ । कतिपयले चर्चाको लागि पनि यसो गर्ने गरेका छन् । तर, 'मिडिया टाइकुन' रुपर्ट मर्डाेकलाई नचिन्ने संसारमा सायदै हाेलान । हो, ९२ वर्षको उमेर, हाम्रो नेपाली समाजमा 'घरले जाउजाउ, वनले आउआउ' बेला भएको मर्डाेकले पुनः विवाह गर्न लागेको समाचारले संसारलाई चकित बनाएकाे छ । 

मिडिया टाइकून रुपर्ट मर्डोकले उनकी प्रेमिका एलेना जुकोभासँग बिहे गर्ने कुरा छिनेको उनको टीमले पुष्टि गरेको छ।

९२ वर्षीय रुपर्टले ६७ वर्षीया अवकाशप्राप्त रुसी मलेक्युलर बायोलजिस्ट जुकोभासँग केही महिनादेखि 'डेटिङ' गरिरहेका बताइएको छ।

उनको बिहे यही वर्ष क्यालिफोर्निया राज्यको भाइनयार्डमा हुने ठानिएको छ। यो उनको पाँचौँ बिहे हुनेछ, बिहे छिनेको भने उनको यो छैटौँ पटक हो।

उनले फक्स एन्ड न्यूज कर्पको अध्यक्ष पद गत वर्ष छोडेका थिए।

यहि वर्षकाे जूनमा बिहे हुँदै

रुपर्टले ६७ वर्षीया अवकाशप्राप्त रुसी मलेक्युलर बायोलजिस्ट जुकोभासँग केही महिनादेखि 'डेटिङ' गरिरहेका बताइएको छ।

सबैभन्दा पहिला यो समाचार छापेको 'द न्यू योर्क टाइम्स'ले जून महिनामा बिहे गर्ने कार्यक्रम तय गरिएको र त्यसका लागि निमन्त्रणा बाँडिसकिएको लेखेको छ।

अस्ट्रेलियामा जन्मेका मर्डोकले पछिल्लो पटक बिहे गर्न निधो गरेकी पूर्वप्रहरी पादरी महिला एन लेसले स्मिथसँग एप्रिल २०२३ मा उनको सम्बन्ध बिग्रन पुगेको र त्यसलगत्तै उनले जुकोभासँग डेट गर्न थालेको बताइएको छ।

एलेना र रुपर्टको भेट उनका पूर्वश्रीमतीमध्ये एक चीनमा जन्मेकी व्यवसायी वेन्डी डेङले आयोजना गरेको पार्टीमा भएको थियो।

मर्डोकका पूर्वपत्नीमा अस्ट्रेलियाली एअर होस्टेस प्याट्रिसिया बूकर, स्कटल्यान्डमा जन्मेकी पत्रकार आना मान, चीनमा जन्मेकी वेन्डी डेङ र अमेरिकी मोडल तथा अभिनेत्री जेरी हल छन्।

जुकोभाले पहिला रुसी तेल अर्बपति एलेक्जेन्डर जुकोभसँग बिहे गरेकी थिइन्।

उनकी छोरी दाशा व्यवसायी हुन् र उनी रुसी सम्भ्रान्त रोमन अब्रामोभिचसँग सन् २०१७ सम्म विवाह सम्बन्धमा थिइन्।

को हुन् मर्डोक?

रुपर्ट मर्डोकले सन् १९५० को दशकमा आफ्नो करिअर सुरु गरेका थिए।

उनले यूकेमा सन् १९६९ मा 'न्यूज अफ द वर्ल्ड' र 'द सन' खरिद गरे।

पछि उनले अमेरिकामा 'न्यू योर्क पोस्ट' र 'वाल स्ट्रीट जर्नल'लगायत अन्य अमेरिकी प्रकाशन खरिद गरे।

सन् १९९६ मा उनले 'फक्स न्यूज' सुरु गरे, जुन अहिले अमेरिकामा सबैभन्दा बढी हेरिने टेलिभिजन च्यानल मानिन्छ।

न्यूज कर्प सन् २०१३ मा स्थापना गरिएको हो। त्यसमार्फत् मर्डोक सयौँ स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाका मालिक बनेका छन्।

उनको करिअर विवादमुक्त भने छैन। उनलाई सबैभन्दा क्षति पुगेको क्षण भने ब्रिटेनको एउटा कुख्यात फोन ह्याकिङ काण्ड हो।

त्यसमा उनको 'न्यूज अफ द वर्ल्ड'ले १३ वर्षे स्कुले छात्रा मिली डाउलरको भोइसमेल सुनेको थियो भन्ने सार्वजनिक भएको थियो। ती छात्राको स्कूलबाट घर फर्कने क्रममा अपहरण गरेर हत्या गरिएको थियो।

गत सेप्टेम्बर महिनामा उनले मिडिया साम्राज्यको अग्रणी भूमिकाबाट पछि हट्ने घोषणा गरेका थिए।

उनले मिडिया साम्राज्य सञ्चालन गर्ने अधिकार उनका छोरा लाचलानलाई सुम्पिएका थिए। पछि उनले 'फक्स' र 'न्यूज कर्प'को अवकाशप्राप्त अध्यक्षको भूमिका लिए।

'द न्यू योर्क टाइम्स'को समाचारअनुसार मर्डोकको जुकोकासँगको बिहेले उनको व्यवसायको भविष्यलाई कुनै असर नपर्ने ठानिएको छ।

(याे सामाग्री एजेन्सीहरूकाे सहयाेगमा तयार पारिएकाे हाे )

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update