“यो हाम्रो सयौँ वर्ष पुरानाे संस्कृति हो, तर अहिले झन्-झन् लोप हुँदै गएको छ”, ऋषेश्वर महादेवको पुजारी लुङ्गु लामाले भने, “पुराना बुढापाकाहरू कमजोर हुँदै जानु र युवा पुस्ताले चासो नराख्दा यस्तो भएको हो ।”
केही वर्ष अघिसम्म फागुन शुक्ल प्रतिपदाको दिनदेखि नै धादिङको बेनीघाट रोराङ-१ स्थित जरुङ गाउँ ढ्याङ्ग्रोको आवाजले गुञ्जायमान हुन्थ्यो । दिउँसोदेखि राति निकै अबेरसम्म बोम्बो (झाँक्री), लाव्ताबा (कुल देवताको पुजारी) लामा (जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कार पुरा गर्ने पुजारी) हरू ढ्याङ्ग्रो बजाउँदै नाच्थे र नचाउँथे । गाउँका बासिन्दाहरूलाई फागु पूर्णिमा आएको थाहा हुन्थ्यो । मकै छर्ने बेला भएकाले दिनभरि बारीमै व्यस्त हुने गाउँवासीहरू साँझ ढ्याङ्ग्रो बजाउँदै नाचेको हेर्न जान्थे । दिनभरिको थकानलाई बिसाउन गाउँलेहरू ढ्याङ्ग्रो बजाउने ठाउँमा जम्मा हुन्थे । केटाकेटी युवायुवतीदेखि वृद्धवृद्धासम्म ऋषेश्वर डाँडामा गएर होली खेल्न उत्साहित हुन्थे ।
फागुन पूर्णिमामा माथिल्लो गाउँ ऋषेश्वर डाँडामा मेला लाग्छ । त्यही मेलाको लागि उनीहरू १५ दिन अगाडिदेखि नै तयारी गर्थे । रमाइलो गर्न माहौल बनाउँथे । होली अथवा फागुन पूर्णिमाको दिन सोही वडाको ऋषेश्वर डाँडामा ठुलो मेला लाग्थ्यो । सो डाँडामा ऋषेश्वर महादेवको गुफा छ ।
तर अहिले होलीको पूर्व-सन्ध्यासम्म पनि सुनसान छ जरुङ गाउँ । ढ्याङ्ग्रोको आवाज सुनिँदैन । फागुन पूर्णिमा आएको आभास भएको छैन जरुङबासीलाई । किनकि गाउँका बोम्बो, लाव्तावा र लामाहरूका घरमा ढ्याङ्ग्रो बजेका छैनन् । सिठी बजेका छैनन्, बुढापाकादेखि युवाहरूको होहल्ला सुनिन छाडेका छन् ।
“यो हाम्रो सयौँ वर्ष पुरानाे संस्कृति हो, तर अहिले झन्-झन् लोप हुँदै गएको छ”, ऋषेश्वर महादेवको पुजारी लुङ्गु लामाले भने, “पुराना बुढापाकाहरू कमजोर हुँदै जानु र युवा पुस्ताले चासो नराख्दा यस्तो भएको हो ।”
तामाङ संस्कृतिको जानकार लामाले संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गरे । लामाले भने, “संस्कृति हराए सभ्यता हराउँछ, सभ्यता हराए पहिचान हराउँछ ।”
“पहिले पूर्णिमाको साँझ गाउँका युवाहरू कुटो-कोदाली बोकेर गुफाको सरसफाइ गर्न जान्थे । घर-घरबाट स्वतःस्फूर्त रूपमा दर्जनौँ युवाहरू पुग्थे । उनीहरूले गुफालाई चिटिक्क पार्थे, लिपपोत समेत गर्थे । सँगै पुजारी बाजेहरू पनि पुग्थे । युवाहरूलाई “यसो गर उसो गर” भन्थे । युवाहरू गुफा सफा गरेमा महादेव खुसी हुन्छ भन्दै कुटो-कोदालो चलाउन तँछाडमछाड नै गर्थे । पूर्णिमाको साँझदेखि भोलिपल्टसम्म मेला लाग्छ । मेला भर्नेहरू दर्शन गर्न पुग्दा गुफालाई चिटिक्क सिँगारिएको हुन्थ्यो । दर्शनार्थीहरू प्रफुल्लित हुन्थे” लामाले स्मरण गर्दै भने, “अहिले महादेवकाे गुफा सफा गर्न युवाहरू पुग्दैनन् । गाउँका बुढापाकाहरू वास्ता गर्दैनन्, सक्दैनन् पनि, युवाहरूलाई नबोलाईकन आउँदैनन् । मै बुढो मान्छेले नै सफा गर्छु ।”
गाउँमा लाग्ने मेला, जात्राहरू समाजको महत्त्वपूर्ण संस्कृति भए पनि तीनको संरक्षणमा कसैको ध्यान नगएको स्थानीय अगुवा काले बहादुर पाख्रिनले बताए । यस्ता मेलाहरू गाउँका मानिसहरूलाई एक अर्कासँग जोड्ने, सामाजिक सम्बन्धलाई बलियो बनाउने र मानिसहरूलाई रमाइलो गर्ने महत्त्वपूर्ण माध्यम भएको पूर्व वडाध्यक्ष समेत रहेका पाख्रिनले बताए ।
“पहिला-पहिला हाम्रो रमाइलो गर्ने ठाउँ भनेको मेला जात्राहरू नै थिए । मेला भर्न, पूजा गर्न गाउँका गान्बा, ताम्बा र बोम्बोहरु हौसिन्थे । तर अहिले यी सबै एकादेशको कथा जस्तो बन्दै गएको छ”, पाख्रिनले भने, “मलाई अहिले पनि त्यसरी नै रमाइलो गर्न, मेला भर्न मन लाग्छ नि, तर के गर्नु उहिलेको जस्तो माहौल बनाउनै सक्दैन ।”
यस्तो मेला जात्रा , लोक परम्पराहरू हराउँदै जाँदा समाज उराठ लाग्दो बनेको पाख्रिन बताउँछन् । उनका अनुसार पहिला त्यसरी मेलाको तयारी गर्ने पुजारीहरूलाई गाउँका अगुवाहरूले सगुन (रक्सी) को व्यवस्था गर्ने गरेका थिए । सगुन आइरक खाना पाइने भएपछि त्यसैमा खुसी मान्दै पुजारीहरू अघि सर्थे । तर अहिले पुजारीहरूले खासै चासो दिँदैनन् ।
सबै कुराहरूलाई पैसामा हिसाब गर्न थालेकाले यस्तो परम्पराहरू हराउन थालको पाख्रिनको ठम्याइ छ ।
“पहिले गाउँका अगुवाहरूले घरमै पारेको सगुन पोङ (रक्सी) दिन्थे । उनीहरू खुसी हुन्थे । तर अहिले त्यस्तो चलन हराउँदै गयो । पुजारीहरू आफै खर्च गर्नुपर्छ । गाउँलेले बुझेर दिँदैनन् । जसका कारण पनि संस्कार हराउन थालेको छ”, पाख्रिनले भने ।
पहिले ऋषेश्वर डाँडाको मेला भर्न मकवानपुरको पालुङदेखि गोरखा र चितवनसम्मका मानिस आइपुग्ने गर्थे । त्यस बेला ऋषेश्वर डाँडामा रहेका थुम्काहरू भरिभराउ हुन्थ्यो । ऋषेश्वर महादेवको गुफा धादिङ र मकवानपुरको सीमानामा रहेकाले दुवै जिल्लाका मानिसहरू जमगढ हुने थलो नै ऋषेश्वर डाँडाको मेला थियो ।
खेती किसान मेलापात गाँस दाउरामा व्यस्त हुने गाउँवासीहरूका लागि आफ्ना आफन्त, साथीभाइ एवम् इष्टमित्रसँग भेटघाट गर्ने माध्यम जात्रा थियो । सम्बन्धहरूलाई पुनर्जागृत गर्न, नयाँ सम्बन्ध जोड्न मेलाको भूमिका हुन्छ । दुःख कष्टहरूलाई भुलेर आनन्द लिने राम्रो अवसर थियो मेला । मेलामा गीत गाउने, नाच्ने । कुराकानी गर्ने गर्थे । मेलाबाटै प्रेम बस्ने, बिहे समेत हुने गरेको थियो । गीत गाउँदा हार्यो भने बिहे गरेर जाने चलन थियो । पहिला मेला भर्न जाँदा आमाहरूले घरमै पारेको सगुन लगिन्थे । आफ्ना साथीभाइ, इष्टमित्र आफन्तहरूलाई बाँड्थे । खानेकुराहरू तयार पारेर लान्थे ।
ऋषेश्वर महादेवको गुफा रहेको डाँडालाई स्थानीय बासिन्दाले भने रिक्सुल डाँडा भन्ने गरेको छ । ऋषेश्वरको अपभ्रंश भई ‘रिक्सुल’ बन्न पुगेको हो । करिब एक हजार नौ सय मिटरको उचाइमा अवस्थित डाँडामा ऋषेश्वर महादेवको गुफा छ । यो मेला कहिलेदेखि सुरु भयो भन्ने यकिन थाहा नभएको स्थानीय अगुवाहरू बताउँछन् । त्यस क्षेत्रमा मानिसको बसोबास भएदेखि नै मेलाको सुरु भएको हुनसक्ने पुजारी लुङगु लामाले बताए ।
किंवदन्ती
ऋषेश्वर महादेव गुफा र मेलाको बारेमा विभिन्न किंवदन्तीहरू रहेका छन् । सत्ययुगमा मानिस र भगवान् अलग हुने बेलामा अन्य भगवान् र मानिसहरूको बिचमा लडाई भयो । लडाइ भएपछि पृथ्वीमा मानिसहरूको लास गन्हाउन थाले, वातावरण प्रदूषित बन्यो । भगवान् ऋषेश्वर महादेवले आफूलाई कि जमिन माथि कि जमिनमुनि बस्ने निधो गरे । आकाशमा बस्दा हावाले दुर्गन्ध ल्याउने भएपछि गुफामा बस्ने निर्णय गरे । जमिन मुनिको गुफामा बस्न थाले । सोही क्रममा ऋषेश्वर महादेव उक्त गुफामा बस्न थालेको बताइन्छ ।
सोही समयदेखि नै मानिसहरूले पूजा गर्दै मेला भर्दै आएका थिए । ऋषेश्वर महादेवको गुफा जमिनमुनि ठाडो रूपमा रहेको छ । पहिला उक्त गुफामा जान भर्याङ नै लगाउनुपर्ने थियो । तर अहिले भने पुरिँदै गएको छ । अहिले सजिलैसँग गुफामा पस्न सकिन्छ ।
काले बहादुर पाख्रिनका अनुसार करिब एक सय वर्षअघि ऋषेश्वर महादेवको पूजा गर्न छोडेका थिए । पूजा-मेला गर्न छोडेपछि गाउँमा रहेको पानीको मुहान नै सुकेपछि पुनः पूजा-मेला सुरु गरिएको हो । पूजा पुनः सुरु गरेपछि अर्कै ठाउँमा पानीको मूल फुटेको थियो । पहिला धारा पखेरा (जरुङ गाउँ धारा पखेरा भन्ने ठाउँ छ) मा पानी आउँथ्यो । पूजा गर्न छोडेपछि उक्त धारा सुक्यो । पछि पुन पूजा सुरु गरेपछि म्रुखोप भन्ने खोलामा पानीको मुहान फुटेको हो । त्यो मुहान ऋषेश्वर महादेवको गुफाबाट सिधै मुनि करिब तीन किलोमिटरमा रहेको छ । ७२ को भूकम्पले दुई वर्षसम्म सुकेको म्रुखोलामा पुनः पानीको मूल फुटेको छ । अहिले बाह्रै महिना पानी आइरहेको छ ।
त्यही पानीकै कारण जरूङ गाउँमा मानव बसोबास सुरु भएको पाख्रिनको विश्वास छ । त्यसैले ऋषेश्वर महादेवको पूजा र मेला जरुङ गाउँको सभ्यतासँग जोडिएको उनले दाबी गरे ।
यो मेला हराउँदै जानुमा मेलामा हुने झै-झगडा पनि कारण भएको पाख्रिनले बताए । अहिलेभन्दा दुई दशक अघिसम्म ठुलो मेला लाग्थ्यो, झगडा भएपछि घट्दै गएको हो । तर पछिल्लो पाँच वर्षदेखि भने झगडा नभएको उनले बताए । यससँगै मेला बढ्दै जानेमा आशावादी छन् पाख्रिन ।
धार्मिक, सांस्कृतिक एवम् सामाजिक महत्त्व समेत बोकेको ऋषेश्वर महादेवको पूजा र फागु मेला ओझेलमा पर्दै जानु चिन्ताको विषय हो । यो पूजा र मेला स्थानीय समुदायको धार्मिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक एवम् जनजीवनसँग प्रत्यक्ष जोडिएको छ । कतिपय मेला पर्वहरू लोप समेत भइसकेका छन् । यी लोक परम्परा तथा संस्कृतिहरूको संरक्षणमा स्थानीय सरकारको ध्यान जान जरुरी छ । धार्मिक स्थलहरूको संरक्षणका लागि समिति गठन गर्न आवश्यक छ । ती स्थानहरूमा गरिने मेला, पूजा, जात्राहरूको सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्थापन, भौतिक पूर्वाधारहरूको निर्माण तथा संरक्षणमा स्थानीय सरकार, समुदाय र युवाहरूले महत्त्वपूर्ण भूमिका खेल्न आवश्यक छ ।
वडामा थुप्रै धार्मिक स्थलहरू रहेकाे र तिनकाे संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका लागि अध्ययन, खाेज तथा अभिलेखनकाे कार्य अगाडि बढाउन लागिएकाे वडाध्यक्ष जीवन सिं तामाङले बताए ।
ऋषेश्वर महादेवको गुफा रहेको ऋषेश्वर डाँडा प्राकृतिक सुन्दरताले पनि युक्त छ । यो डाँडा पर्यटकीय सम्भावनाले भरिपूर्ण रहेको छ । त्यसो त धादिङको बेनी घाट रोराङ वडा नम्बर १ नै पर्यटकीय सम्भावनाले भरिपूर्ण रहेको छ । जहाँ यस्ता थुप्रै धार्मिक स्थलहरू रहेका छन् । समुन्द्री सतहबाट ८ सय मिटर २१ सय मिटर उचाइसम्म फैलिएको यस वडामा विभिन्न गुफा, धार्मिक स्थल, झरनाहरू रहेका छन् । वडामा रहेका डाँडाबाट उत्तरतर्फ मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।