पिता जी निकै सौखिन हुनुहुन्थ्यो । छानोलाई थेग्न पिँढीको डिलमा उभ्याइएको खाँबोमा किला ठोकेर रेडियो झुन्ड्यायो अनि फलैँचामा पल्टेर सुनिरहने । घरीघरी रेडियोको कान बटार्दै ब्याण्ड परिवर्तन गर्ने अनि अर्को–अर्को एफएम सुन्ने । त्यसो गर्दा बीचमा झ्यार–झ्यार आवाज आउने । त्यसले चाहिँ दिक्क बनाउँथ्यो । राम्रो गीत बजेपछि बहिनी र मैले नाच्नुपर्थ्याे । नाचे बापत पसलमा भएको खानेकुरा आफूले छानेर खान पाउने । घरमा किराना पसल थियो ।
एक दिन गोधुली साँझमा बहिनी हामी आँगनमा खेल्दै थियौँ । पिता जी त्यही फलैँचामा पल्टेर रेडियोको कान बटार्दै हुनुहुन्थ्यो । राम्रो गीत बज्यो भने हाम्रो नाच हेर्न पाइने ध्याउन्नमा त्यसो गरिरहनु भएको थियो । निकैबेरको दिक्क लाग्दो झ्यार–झ्यारपछि मिठो धुन बज्यो । यस्तो सङ्गीत थियो जसको सुरुको धुन नै कानबाट छिरेर मुटुसम्म पुग्यो । अनि मस्तिष्कले भन्यो “वाह ! यस्तो पो सङ्गीत ।”
पहिला अरू गीतहरू बज्दा हामीलाई नचाउन पिताजीलाई हम्मे-हम्मे पर्थ्याे । अनेक प्रलोभन देखाएपछि मात्रै हामी नाच्न तयार हुन्थ्यौँ । तर, त्यो गीतमा त्यस्तो भएन । हामी कतिबेला नाच्न थाल्यौँ थाहा नै भएन । गीत सकिएपछि रोकियौँ । रोकिएपछि मात्रै थाहा भयो, पिता जी पनि आँगनमा आएर कम्मर मर्काउँदै पो रहेछ । हामीलाई नचाइरहने उहाँ आफू भने नाच्नुहुन्न थियो ।
त्यो गीत पहिलो पटक सुनेका थियाैँ । हुन त त्यो गीत कुन सालमा रेकर्ड भएको हो थाहा थिएन र छैन । खोज्न आवश्यक पनि ठानिनँ । “मन परेपछि पर्यो पर्यो” भने जस्तै भयो । हामीले त्यसरी नाचेको पनि कुन सालमा हो थाहा छैन । हामी केटाकेटी नै थियौँ भन्ने चाहिँ थाहा छ ।
अहिले जस्तो मन लागेको बेला सुन्न पाउने अवस्था थिएन । रेडियोमा जुनबेला बज्यो त्यतिबेला मात्रै सुन्न पाइने । निकै वर्षपछि दाइले क्यासेट किनेर ल्याएपछि दोहोर्याएर सुन्न पाएको थियो । त्यो जतिको आनन्दको क्षण अरू थिएन । तर, ब्याटरीबाट बजाउनुपर्ने भएकाले मन भर्नेगरी सुन्न भने नपाइने । नाच्ने सर्तमा साँझ–साँझ बजाउनुहुन्थ्यो दाइले ।
गीतको बोल थियोः
माथि–माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई
हत्केलामा मायाको गुराँस फुलाउनेलाई
भन्दिनु है भन्दिनु मेरो चुल्ठो खाली छ उनको
त्यो मनै जाली छ….
यति मिठो स्वर, यति मिठो सङ्गीत अनि सुन्दर शब्द कसका हुन् थाहा थिएन । पछि थाहा भयो कुन्ती मोक्तानको स्वर, शिला बहादुर मोक्तानको सङ्गीत र श्रवण मुकारुङको शब्द सिर्जना रहेछ । उत्कृष्ट शब्द, सङ्गीत र स्वरको सुन्दर संयोजनकै कारण मीठो गीत बनेको रहेछ । एउटा अजर अमर गीत बनेको रहेछ । यस गीतले महाभारत पर्वत श्रृङ्खलाकाे सबैभन्दा अग्लो टाकुरा शैलुङ क्षेत्रलाई दुनियाँसामु पुर्याइदिएको छ । त्यहाँको सुन्दरतालाई श्रोता दर्शकको मन मुटुमा बसाइदिएको छ । हुन त यहाँ गीत–सङ्गीतको चर्चा गर्न खोजिएको होइन । उक्त गीतले वर्णन गरेको ठाउँ शैलुङमा पाइला टेक्दाको अनुभव साट्ने प्रयास गरेको छु ।
शैलुङसँग गीतले साइनो गाँसिदियो । गीतले मित्रताको साइनो गाँसिदिएको शैलुङलाई भेट्न भने निकै कुर्नुपर्यो । देशको थुप्रै भूगोलमा पाइला राखिसक्दा पनि शैलुङलाई भने भेट्न पाएको थिएन । शैलुङलाई भेट्न जानको लागि थुप्रै पटक योजना बन्यो । कहिले समय मिल्यो, पैसा भएन । कहिले पैसा भयाे, समय मिलेन । पैसा र समय दुवै मिलेर पनि मिल्ने साथी भएन । अनि शैलुङलाई भेट्ने रहर रहरमै सीमित रहिरह्यो । शैलुङप्रतिको अनुराग कम भएन, बरु बढ्दै गएको थियो । यस वर्ष चाहिँ एक्लै भएपनि जाने योजना मनमा उनिरहेको थिएँ ।
गत फागुनको मध्येतिर जन्मभूमि धादिङको बेनीघाट रोराङ–१, जरुङ गाउँबाट साथी जयराम तामाङ (साइनोले फुपाजु पर्ने) र म काठमाडौं फर्किँदै थियौँ । गुराँस फुल्ने मौसम भएकाले गुराँसको जङ्गलको बाटो हुँदै यात्रा गर्ने हाम्रो इच्छा अनुसार धादिङको बेनीघाट रोराङ–१ र मकवानपुरको कैलाश गाउँपालिकाको सिमानामा पर्ने खैलीङ डाँडा हुँदै यात्रा गर्दै थियौँ । महाभारत पर्वत श्रृङ्खलामा पर्ने करिब २५ सय मिटरको उचाइसम्म चुलिएको खैलीङ डाँडामा गुराँसको ठुलो जङ्गल छ । भर्खर फुल्दै गरेको गुराँसले जङ्गल राताम्य भएको थियो । जरुङ गाउँबाट करिब २० मिनेटको मोटरसाइकल यात्रापछि हामी खैलीङ डाँडा परिसर २३ सय मिटरको उचाइमा रहेको चक्पटार भन्ने ठाउँमा पुग्यौँ ।
लमतन्न परेको ठूलो चौर । छेउछाउमा साना–साना थुम्काथुम्कीहरू । बीचबीच फाट्टफुट्ट गुराँसका राताम्य पोथ्राहरू । खर्सु र बाजका हरिया बोटहरू । थुम्काथुम्की र गुराँस फुलेको देखेपछि हामी एकछिन हरायौँ । हराएको बेला दुवैले एक अर्कालाई क्यामेरामा कैद गर्यौँ । ताकि पछि भेट्टाउन सकियोस् ।
खैलीङ डाँडा समुन्द्री सतहबाट २५ सय मिटरको उचाइसम्म चुलिएको छ । खैलीङ नामक गोठालोको नामबाट डाँडाको नामकरण भएको किंवदन्ती पाइन्छ । डाँडामा उक्त नाम गरेको व्यक्तिले पहिलो पटक गोठ बनाएर बसेको हुनाले उनको खर्कलाई खैलीङ खर्क भनिएको र पछि सिङ्गो डाँडाको नाम नै खैलीङ रहन गएको बताइन्छ । याे डाँडा महाभारत पर्वत श्रृङ्खला अन्तर्गत धादिङ र मकवानपुरकाे सिमानामा पर्दछ ।
राताम्य फुलेको गुराँसको फेदमुनि टुप्लुक्क बसेँ अनि साथी जयरामलाई तस्बिर कैद गर्न अह्राएँ । तस्बिर कैद गर्दै गर्दा मनमा आफैँ गुञ्जियो,
गुराँसको फेद मुनि सम्झनाको छाया,
जहाँ गएनि किन लाग्छ, मलाई तिम्रै माया ..!
मनमनै गाएको जस्तो लागेको थियो, आवाज पनि निस्केको रहेछ । साथी जयराम तस्बिर कैद गर्न छोडेर चुड्की बजाउँदै रहेछ । दुवै मिलेर एक पटक धित मर्ने गरी खुलेरै गायौँ । हामी दुवै जना विनोदप्रिय । निकै रमाइलो भयो । मिठो गीतको लागि सविन राईलाई सम्झियौँ ।
गुराँस फुलेको देखेपछि मलाई तीन वटा गीतको याद आउँछ । गुनगुनाउँछु पनि । सविन राईको “गुराँसको फेदमुनि”, नारायण गोपालको “म त लाली गुराँस भएछु” र कुन्ती मोक्तानको “माथि माथि शैलुङ्गेमा” असाध्यै मन पर्छ ।
सविन लिम्बुको “गुराँसको फेदमुनि” सँगै गाएपछि साथी जयराम तस्बिर कैद गर्नमै व्यस्त भए । म चाहिँ नारायण गोपालको “म त लालीगुराँस भएछु” लाई गुनगुनाउँदै बसेँ ।
गुराँस र थुम्काथुम्की देखेपछि मनमा “माथि–माथि शैलुङ्गेमा” नगुञ्जिने कुरै भएन । साथीले सुन्नेगरी नै गाइदिएँ । साथी जयराम चुड्की बजाउँदै कम्मर मर्काउन थाले । एक पटक पुनः दुई जनाको नाचगान चल्यो । बिहान घामको किरण धर्तीमा आइपुग्दै गर्दा चक्पटार पुगेका हामी निकैबेर भुल्यौँ ।
“अब जाऔँ होला”, मैले भनेँ ।
“एउटा छ, पिएर जाने ?” साथीले मुस्कुराउँदै सोधे ।
“के ?”
“बियर”
साथी जयरामले झोलाबाट एक क्यान निकाले । मैले उठाइसकेको झोला भुँइमा राखेर थचक्क बसेँ । “चिसो अनि जङ्गलै जङ्गलको खुल्ला बाटोमा बिस्तारै यात्रा गर्दा हल्का पिएपनि ड्राइभ गर्न सकिन्छ” भन्ने निचोडमा पुगेपछि दुई जनाले एक क्यान सकायौँ अनि लम्कियौँ गन्तव्यतिर ।
करिब २५ सय मिटर उचाइको खैलीङ डाँडाको गुराँसे जङ्गलको ४५ मिनेटको यात्रापछि हामी मकवानपुरको कैलाश–६ स्थित दुम्सीखर्कमा पुग्यौँ । दुम्सीखर्कमा आराम गरिरहेको बेला पत्रकार अर्जुन पाख्रिनको फोन आयो । फागुन १६ र १७ गते दोलखाको शैलुङमा ठुलो कार्यक्रम हुने र उक्त कार्यक्रमको रिपोर्टिङको लागि हिमाल दर्पणबाट मलाई लाने उहाँको जानकारी थियो । टुरिजमसमाचार डटकमका सम्पादक पाख्रिन दोलखाका स्थानीय पनि ।
“अजिङ्गरको आहारा दैवले जुराउँछ” भने झैँ भयो मेरो लागि । पर्यटकको रूपमा पटक–पटक जान कोसिस गर्दा पनि शैलुङ पुग्न नसकेको मलाई सञ्चारकर्मीको रूपमा जाने मौका जुर्यो । खैलीङ डाँडाको यात्रा गर्दागर्दै महाभारत पर्वत श्रृङ्खलाकै अग्लो टाकुरासम्मको रोमाञ्चक यात्रा हुने तय भयो । प्रिय दाइ, पत्रकार अर्जुन पाख्रिनलाई धन्यवाद ।
दुम्सीखर्कमै बसेर यति निर्णय भएपछि हामी मकवानपुरको डाँडेबास, शिखरकोट, पालुङ, टिस्टुङ, चित्लाङ, चन्द्रागिरि हुँदै काठमाडौं खाल्डोमा प्रवेश गर्यौँ । साँझ परिसकेको थियो । साथी जयराम र मेरो दिनभरिको यात्रा टुङ्गियो । हामी आ–आफ्नै वासस्थानतिर लाग्यौँ । मेरो भने भोलिपल्ट पनि यात्रा जारी रहने पक्का थियो ।
साँझ वासस्थानमा पुगेपछि पत्रकार अर्जुन पाख्रिन दाइलाई फोन गरेँ । कार्यक्रमबारे सोधेँ । शैलुङ डाँडामा बनेको “शैलुङ ज्याङछ्युब छ्योर्तेन” (बोधी चैत्य) को समुद्घाटन हुने कार्यक्रम रहेछ । प्राचीन बौद्ध ङिङ्मा सम्प्रदायका गुरु क्याब्जे सेचेन सब्ज्याम रिम्पोछेद्धारा धार्मिक अनुष्ठानसहित छ्योर्तेनको शुद्धीकरण तथा सु-प्राण प्रतिष्ठा हुने कार्यक्रम रहेछ । टुल्कु लोसाङ नाम्ग्याल रिम्पोछेको इच्छाअनुसार शैलुङ रिगसुम गोन्पो सेवा समाजले करिब सात वर्षको अथक प्रयासपछि छ्योर्तेनको निर्माण सम्पन्न गरेको रहेछ ।
कार्यक्रमबारे थाहा पाएपछि म झनै उत्साहित भएँ । शैलुङ प्राकृतिक सुन्दरताले भरिभराउ त छँदै छ, त्यसमाथि बौद्ध र हिन्दु धर्मावलम्बीहरूको पवित्र धार्मिक सङ्गम स्थल भन्ने पनि थाहा थियो । बहुप्रतिक्षित, सुन्दर अनि पवित्र स्थलमा पवित्र धार्मिक कार्यक्रममा सहभागी हुन पाउनु चानचुने भाग्य होइन ।
फागुन १६ गते बिहान ६ बजे बौद्धस्थित तामाङ भवनबाट यात्रा सुरु हुने भयो । हामी ६ः३० बजे जम्मा भयौँ । ताम्बा (तामाङ समुदायको पुर्ख्यौली परम्पराबारे बताउने व्यक्ति) र हामी सञ्चारकर्मीको लागि एउटै बस रहेछ । अन्य दर्शन गर्न जानेहरूका आ–आफ्नै गाडी । ताम्बा सङ्घ नेपालका थुप्रै ताम्बाहरू र हामी सञ्चारकर्मीहरू सँगै यात्रा गर्ने भयौँ । ताम्बाहरूसँग यात्रा गर्न पाउने भएपछि म पुनः एक पटक हौसिएँ । डम्फुको तालमा ताम्बा गीत सुन्दै यात्रा गर्न पाउनु सौभाग्य नै ठानेँ ।
रमाइलो यात्रा सुरु भयो । कोटेश्वर, भक्तपुर, बनेपा, धुलिखेल, पाँचखाल, दोलालघाट हुँदै यात्रा अघि बढ्यो । रमाइलोमा भुलेर होला, दोलालघाट कटेको पत्तै पाएन । दोलालघाटलाई पछाडि छाड्दै भोटेकाशीको तिरैतिर अघि बढ्यो बस । दोलालघाटमा पहिला नै पुगिसकेको थिएँ । त्यसपछिका बाटो मेरा लागि पहिलो र नौलो थियो । बसभित्र ताम्बाहरूको गानबजान जारी नै थियो । तैपनि मैले बाहिरको दृश्यमा अलि बढी ध्यान दिन थालेँ । भोटेकोशीको किनारमा रहेको सुकुटे बजार पुगियौँ । निलो कञ्चन नदीको किनारमा चिटिक्क परेका रिसोर्टहरूले ध्यान तानिरहे । आफ्नो आँखाले मात्रै कैद गर्दा चित्त नबुझेपछि केही दृश्यहरू क्यामेरामा पनि कैद गरेँ गुडिरहेकै बसको झ्यालबाट । सुन्दर दृश्यहरू हेर्दाहेर्दै खाँडीचौर पुगियौँ । त्यसपछि भोटेकोशी र हामी छुट्टियौँ किनकि हाम्रो गन्तव्य फरक थियो । उ समुन्द्रसम्म पुग्न आफ्नै बाटो लागे, हामी शैलुङ पुग्न । विपरीत दिशाको यात्रामा रहेका हामी निमेकभरका लागि मात्रै सँगै थियौँ ।
खाँडीचौरबाट उकालो सुरु भयो । महाभारत पर्वत श्रृङ्खलाकै अग्लो टाकुराको यात्रा गरिरहेको हुनाले उकालो नै चढ्नुपर्ने थियो । निकै अग्लो पहाडको नागबेलीझैँ बाटो पार गर्दै मुडे बजार पुगियौँ । समुन्द्री सतहबाट २५ मिटरको उचाइमा रहेको मुडे बजारमा पुग्दा निकै चिसो महसुस भयो । ताम्बा यादव तामाङको पछिपछि लागेर बजार घुम्यौँ । पहाडको काखमा रहेको मुडे बजार सानो तर चिटिक्क रहेछ । आलुको लागि प्रख्यात मुडे छ्युर्पीको लागि पनि प्रसिद्ध रहेछ । चौँरीको दूधबाट बनेको छुर्पी मुडे पुग्नेले छुटाउन नहुने कोसेली रहेछ । खाना खाएर एकैछिन मुडे बजारमा टहलिएपछि यात्रा अघि बढ्यो ।
सुन्दर गाउँहरू, सल्लाघारी जङ्गल छिचोल्दै डाँडैडाँडा यात्रा जारी रह्यो । पहाडी दृश्यको अवलोकन गर्दै करिब डेढ घण्टाको रोमाञ्चक सफरपछि शैलुङको बेसक्याम्प कालापानी पुगियौँ । हाम्रो बसको यात्रा टुङ्गियो । करिब २८ सय मिटरको उचाइमा रहेको कालापानी निकै चिसो थियो ।
कालो चिया पिउँदै अर्जुन दाइलाई पर्खिएँ । उहाँ मोटरसाइकलमा हुनुहुन्थ्यो । चिया पिई नसक्दै प्रतीक्षाको घडी सकियो । धुलाम्मे ज्याकेट टकटकाउँदै दाइ आइपुग्नुभयो । दाइसँग एक जना साथी पनि । नाम हिरोज लोप्छन । पहिला सामाजिक सञ्जालमा सामान्य भेट भएपनि भौतिक साक्षात्कार खासै नभएको । उहाँका अनुसार एक पटक भेट भएका रहेछौँ । तर, मेरो मानसपटलबाट त्यो क्षण गायब भएको रहेछ । मोडल एवम् टेलिभिजन प्रस्तोता हिरोजको लुक्स नै हिरो ।
बेसक्याम्प कालापानीदेखि शैलुङ डाँडा पुग्न पदयात्राको विकल्प छैन । अर्जुन दाइ, उहाँकी बहिनी सिर्जना, हिरोज र मैले सँगै पदयात्रा गर्ने भयौँ । यात्रा अघि बढ्यो ।
थोरै अगाडि बढ्ने बित्तिकै सिमेन्टेड सिँढीको बाटो सुरु भयो । पाँचसय मिटर लामो मिनी ग्रेटवाल बन्दै रहेछ । यति सुन्दर ठाउँमा कङ्क्रिटको प्रयोग जरुरी नभएको र वातावरणीय हिसाबले पनि हानिकारक भएको टिप्पणी सुरु भयो । शैलुङ पुग्न उहिल्यै बनेको फराकिलो गोरेटो बाटो रहेकाले यस्तो संरचनाको जरुरी नरहेको राय मेरो पनि रह्यो । यसमा हामी चारै जनाको सहमति रह्यो ।
नेपालको पूर्वाधार विकासको शैली, दिगो विकासको अवधारणा, वातावरणीय सन्तुलन लगायत विषयमा कुराकानी गर्दै अघि बढ्यौँ । ठाउँ–ठाउँमा खुट्टालाई आराम दिएर ग्रुप सेल्फी गर्ने क्रम पनि जारी थियो । कालापानीबाट यात्रा सुरु गर्दा निकै आत्तिएका हामी ख्यालख्यालमै शैलुङ पुग्यौँ । शैलुङको एकसय आठ ओटा थुम्काहरूमध्ये पहिलो थुम्कामा अग्लो त्रिशूल रहेछ । त्यहाँबाट माथितिर हेर्दा शैलुङको मनोरम दृश्य देखिने रहेछ । शैलुङको सर्वोच्च टाकुरामा बनेको ज्याङछ्युब छ्योर्तेनसहित अग्ला होचा थुप्रै थुम्काहरूलाई पृष्ठभूमिमा पारेर तस्बिर कैद गरेपछि अर्जुन दाइले सोध्नुभयो, “कस्तो लाग्यो चन्द्र ?”
“एकदम रमाइलो भइरहेको छ, थ्याङक्यु दाइ फर दिस अपर्चुनिटी । तर, मलाई कता कता आफ्नै गाउँमाथिको डाँडामा पुगेको जस्तो पनि फिल भइरहेको छ दाइ । मेरो गाउँमाथि हाम्रो धादिङ र मकवानपुरको सिमानामा पर्ने ब्रोम्दीङ डाँडा पनि यस्तै छ । यस्तै खालका नाङ्गा थुम्काहरू । यस्तै तर, उचाइ अलि कम । १८ सय देखि २२ सय मिटरसम्म चुलिएको छ । अनि त्यही क्षेत्रमा पर्ने खैलीङ डाँडा पनि यस्तै छ । त्यसको चुचुराको उचाइ २५ सय छ । त्यो पनि महाभारत पर्वत श्रृङखलाकै टाकुरा हुन् ।” मैले यति भनेपछि दाइको आवाज आयो “लौ, एक पटक हामीलाई पनि लैजाऊ”
“हुन्छ दाइ” मैले भनेँ ।
यति भन्दै हामी थुम्काहरू पार गर्दै छ्योर्तेन बनेको महाभारत पर्वत श्रेणीकै सबैभन्दा अग्लो डाँडा (३१४५ मि) तर्फ उक्लियौँ । तँछाडमछाड गर्दै उभिरहेका थुम्काहरूबीच भनेको गोरेटो बाटोमा डाँडा पुगेर फर्किँदै गरेकाहरूसँग दर्शन गर्दै अघि बढ्यौँ । केहिबेरमा गन्तव्यमा पुगियौँ । सबैभन्दा अग्लो डाँडामा पुगेपछि तलतिर नियालेँ, “वाह ! शैलुङ”
डुब्नै लागेको रातो घामको किरणले पोतिएको हिमशृङ्खलाका चुचुराहरू रगताम्य देखिएको थियो । घामको किरण नपरेका चुचुराहरू चाहिँ काला पहाड । गोधुली साँझमा त्यसभन्दा तलका हरियाली पहाडहरू सबै काला देखिने नै भए । अन्धकारले धर्तीलाई लपक्कै छोपिएको बेला पनि उज्यालो लागिरहेको थियो शैलुङ । अद्भुत दृश्यहरूले मोहित भयौँ हामी ।
हाम्रो लागि डाँडामै गाँसबासको व्यवस्था थियो । साँझ पर्दै जाँदा चिसो पनि बढ्दै गयो । चिसो हावा चल्न थाल्यो । हामी खान खाएर टेन्टभित्र पस्यौँ । “शैलुङमा पुगेपछि यहाँको लोकल कोदोको सगुन ग्रहण गर्नुपर्छ । यसले चिसोबाट बचाउन पनि मदत गर्छ” भन्ने आवाज उठ्यो । टेन्टभित्रै बसेर गफगाफसँगै सगुन ग्रहण सुरु भयो । म चाहिँ लामो समय टिक्न सकिनँ । अलिक लामो समयपछि पदयात्रा गरेको हुनाले शरीरले आराम खोजेको रहेछ । म आफ्नो टेन्टमा गएर पल्टिएँ । रात छिप्पिँदै जाँदा चिसो उक्लँदै थियो । तर, साथीहरूको गफ भने झन्झन् गरम गरम हुँदै थियो । म निदाए छु ।
!…बिहान पाँच बजे बिउँझिएँ । तर, उठ्न गाह्रो भयो, सकिनँ । अर्जुन दाइको आदेश आएपछि मात्रै उठेँ । टेन्टबाट बाहिर निस्केर हेर्दा पूर्वतर्फ आकाशमा लाली छाएको थियो । अगाडी गगनचुम्बी काला पहाडहरू लामबद्ध उभिएका थिए । धर्ती पुरै अन्धकार नै थियो । बिस्तारै रातो घाम पहाडको शिरमा शिरविन्दु झैँ देखिने गरी उक्लियो । घामले एकैछिनमा गोलो टिकाको रूप धारण गर्यो । तर, पहाडको निधारमा अडिएन । बरु माथि–माथि पो गए । जति-जति माथि पुग्यो, रङ्ग पनि फेरिँदै गयो । रातो घाम बिस्तारै पहेँलो हुँदै हेर्नै नसक्ने गरी सेता भएर चाँदी झैँ टल्किए । हुन त, माथि–माथि पुगेपछि नाथे मानिसले त रङ्ग बदल्छन्, घामको के कुरा । तर, उदाउने बेला रातो घाम अस्ताउने बेला पनि रातै । मानिस पनि जन्मिने बेला नाङ्गै अनि मर्ने बेला पनि…!
आफूलाई छेकिराखेका पहाडहरूलाई धर्तीमै छाडेर आकाशमा पुगे घाम । धर्ती उज्यालिए । काला अग्ला पहाडहरू चाँदीझैँ टलक्क टल्किन थाले । डाँडा, पाखा–पखेरा, खोला–नाला अनि गाउँ-बस्तीहरूले आफ्ना रूप प्रकट गर्न लागे । बिहानीको घामको किरणको स्पर्शले अग्लो पहाड शैलुङलाई बैँस चढ्यो । थुम्काथुम्कीहरूको पत्र-पत्र मिलेर बनेकी शैलुङ फक्रिएको फूल झैँ देखिइन् । शिरैमा बनेको नयाँ छ्योर्तेन शैलुङको सुन्दरतामा नयाँ गहना बने । लुङ्ता र दर्ज्युकाे झकिझकाउ त छँदै थियाे । ढुङ्गा माटाेले बनेका पुराना माने, छ्याेर्तेनहरू । सुन्दरताका सबै रङ्गहरू एकै ठाउँमा । साँच्चै स्वर्ग हुन्थ्याे भने यस्तै त हाेला जस्ताे लाग्याे । मनमनै बाेलेँ, “हेवन इज् मिथ, शैलुङ इज् ट्रुथ”
शैलुङको सुन्दरतामा केहिबेर लट्ठिएपछि मनिङ वाल्कमा निस्किएँ एक्लै । थुम्काहरूमा दौडिएँ । तर, थुम्काहरूको छेउछाउमा रहेको चिमाल र गुराँसको जङ्गलमा पुगेपछि मन कुँडियो । जङ्गलमा जताततै फोहोर रहेछ । चाउचाउ, विस्कुटका बाेक्रा, अनेक थरीका प्लास्टिक, प्लास्टिक- सिसाका बोतल, म्याट्रेक्स, टेन्ट जस्ता फोहोर जताततै लथालिङ्ग फालिएको रहेछ । दिसा पिसाब जहाँतहीँ । केहि मिनेटअघि सय मिटर माथि थुम्कामा बसेर स्वर्गानुभूति गरेकाे मैले नर्ककाे अनुभूति गरेँ । स्वर्गबाट नर्कमा झरेकाे जस्ताे । एक ठाउँमा मात्रै हो कि यस्तो फोहोर भनेर झन्डै सय मिटर परसम्म हिँडे, फोहोरै फोहोर ! “यस्तो सुन्दर अनि पवित्र धार्मिक स्थलको परिसर भने डम्पिङसाइट जस्तो ! फोहोरको व्यवस्थापन गर्न सम्बन्धित निकाय चुकेको देखियो । समयमै ध्यान दिन नसकिए यसले शैलुङको पवित्रतामा आँच पुर्याउने छ । सुन्दर शैलुङ प्रदूषित शैलुङ बन्ने छ । वातावरणीय प्रदूषण बढ्ने छ । स्थानीय समुदायको जनस्वास्थ्यदेखि पारिस्थितिक प्रणालीसम्म खलबल्याउने छ । पर्यटकहरू पुग्ने छैनन् । पुगेकाहरू दोहोरिने छैनन् । फेरि यो त पवित्र धार्मिक स्थल पनि हो । बौद्ध र हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र, दुई धर्मको दोभान अनि प्रकृति र अध्यात्मको सङ्गमस्थल । पवित्र धार्मिक स्थलको दर्शन गर्न आउनेहरूले यस्तो फोहोर देख्दा कस्तो महसुस गर्लान् ?” यस्तै यस्तै सवालहरूले रन्थनिएपछि माथि डाँडातिरै उक्लिएँ ।
मुड फ्रेस गर्न भनेर मनिङ वाल्कमा गएको म फोहोर देखेपछि झन् दिक्क भएर फर्किएँ । कफीको चुस्की लिएर साथीहरूसँग गफिँदै फ्रेस हुने कोसिस गरेँ । बिहानीको समयमा देखिने शैलुुङ र त्यहाँबाट देखिने दृश्यहरूलाई कैद गरेँ । अझै आकाशबाट नियालौँ कि भनेर छेउमै उभिएको भ्यूटावरको टाउकोमा चढेँ । तर, भुईँबाट जति देखिन्छ त्यत्ति नै रहेछ देख्ने । महाभारत पर्वत श्रृङ्खलाकै अग्लो गगनचुम्बी टाकुरामा तीन तले भ्यूटावर ! त्यत्ति अग्लो प्राकृतिक टावरमाथि अर्को भ्यूटावर बनाएर शैलुङको अपमान गरेको हो कि जिस्काएको हो, थाहा भएन । तर, झट्ट हेर्दा लाग्छ, भ्यूटावरले शैलुङलाई गिज्याएको छ । सुन्दर स्याउजस्ताे गालामा पिलाे आएकाे जस्ताे !
हुन त पछिल्लो समय देशभरि भ्युटावरे विकासको आतङ्क छ । भ्यूटावर बनाउनु नै विकास र समृद्धिको द्योतक हो भन्ने मानसिक रोगबाट ग्रसित तथाकथित विकासवादी जनप्रतिनिधि, राजनीतिक दल तथा एनजिओ आईएनजिओहरू । कुनै गाउँमा पिउने पानी छैन, भ्यूटावर छ । केटाकेटी रुखको फेदमा बसेर बढ्छन्, त्यहाँ पनि भ्यूटावर छ । सिटामोल र सिटामोल पाउने स्वास्थ्य क्लिनिक छैन, त्यहाँ पनि भ्यूटावर चाहिँ छ ।
शैलुङ पनि अछुतो रहेन छ । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले भ्यूटावर निर्माण गरेको रहेछ । भ्यूटावर रामेछाप र दोलखाको ठ्याक्कै सिमानामा बनेकोले स्वामित्वको विषयमा लामो विवाद चलेपछि अन्तिममा रामेछापको दोरम्बा शैलुङ गाउँपालिकालाई हस्तान्तरण गरिएको रहेछ । तीन तले भ्यूटावर निर्माणका लागि करिब एक करोड ७० लाख रुपैयाँ खर्च गरेको रहेछ । भ्यूटावर एकातिर शैलुङको सुन्दरतामा घाउ बनेको छ भने अर्कोतिर लागत कहिले पनि नउठ्ने देखिन्छ । सरकारले विकासको नाममा गरेको भद्दा मजाक र जनताले तिरेको करको दुरुपयोग भएको गतिलो उदाहरण लाग्यो, भ्यूटावर ।
भ्यूटारको टाउकोबाट तल भुईँमा ओर्लिने बित्तिकै साथी हिरोज लोप्चनको प्रश्न आयो, “चन्द्र जी, तपाईँलाई पिनास भएको छ ?”
मैले भने, “छैन”
“किन र ?” प्रतिप्रश्न गरेँ ।
“भए, ट्वाइलेट जानुस् भनेर” हिरोजको हाँसो मिश्रित जवाफ आयो ।
म गएँ । भ्यूटावरको फेदमा शौचालय रहेछ । दुर्गन्ध यति थियो कि ढोकामा मात्रै पुग्दा पनि नाकको जाम खोल्ने । पानी छैन । जताततै टिस्यु पेपरको डल्लो अनि प्लास्टिकको बोतल । यसो सोचेँ, “यो करोडौँको भ्यूटावर बनाउनुभन्दा व्यवस्थित ट्वाइलेट पानीको व्यवस्था गरेको भए शैलुङ कति खुशी हुने थियो । ठाउँ-ठाउँमा डस्टवीन राखेर फोहोरलाई एक ठाउँमा जम्मा गरेको भए कति पवित्र हुने थियो, शैलुङ ।”
छरपस्ट फोहोर, अनावश्यक भ्यूटावर, अव्यवस्थित शौचालयको गन्थन-मन्थनले रन्थनिएरै बिहानीको समय बित्यो । कार्यक्रम सुरु हुने बेला पनि भयो । प्रमुख अतिथि गुरु क्याब्जे सेचेन सब्ज्याम रिम्पोछेको स्वागतका लागि लाम्बा, ताम्बा, गान्बा, बोन्बोहरू तयार भए । आ–आफ्ना प्रस्तुतिहरू पनि दिन थाले । हामी चाहिँ ताम्बासँग बढी झुम्मियौँ । ताम्बा सङ्घ नेपालको डम्फुरेसँग नाच्यौँ, नचायौँ ।
डम्फुकाे तालमा नाच्दै गाउँदै ताम्बाहरू ।
निकैबेरकाे रमाइलो पर्खाइपछि प्रमुख अतिथि गुरु क्याब्जे सेचेन सब्ज्याम रिम्पोछेको आगमन भयो । शैलुङ रिगसुम गोन्पाे सेवा समाजको सात वर्ष लामो अथक प्रयासबाट बनेको शैलुङ ज्याङछ्युब छ्योर्तेनको सुप्राण-प्रतिष्ठासहित उद्घाटन भयो ।
गुरु क्याब्जे सेचेन सब्ज्याम रिम्पोछे ।
शैलुङको सुन्दरतामा एउटा नयाँ गहना थपियो । शैलुङको परिचयमा एउटा नयाँ आयाम थपियो । महाभारत पर्वतको श्रीपेच बन्यो, ज्याङछ्युब छ्योर्तेन । दिउँसोको दुई बजे कार्यक्रम सम्पन्न भयो । हामी शैलुङसँग बिदाइको हात हल्लाउँदै अनगिन्ती सम्झनाहरू बटुलेर फर्कियौँ ।
अन्त्यमा,
डाेजरकाे नङ्ग्राले जथाभावी धर्तीलाई चिथाेर्नु, अनावश्यक भाैतिक संरचना बनाउनुलाई विकास मान्ने मानसिकताबाट माथि उठ्न विलम्ब गर्न हुँदैन । विकास भनेकाे बनाउनु मात्रै हाेइन, बचाउनु पनि हाे । नेपालकाे सन्दर्भमा बनाउनुभन्दा बचाउनु जरुरी छ । जस्ताे सगरमाथा अरूले बनाउन सक्दैनन्, हामीसँग छ, त्यसलाई बचाउने हाे । बुद्धकाे जन्मभूमि हामीसँग छ, त्यसलाई बचाउने हाे । यस्ता थुप्रै प्राकृतिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक सम्पदाहरू छन् । तिनकाे संरक्षण र संवर्द्धन गर्न सकिए पर्यटनकाे विकास हुने नै छ । नेपालकाे अर्थतन्त्र बलियाे बन्दै जाने छ । नेपाल र नेपालीले सुःख र समृद्धिकाे सास फर्न पाउने छन् ।
शैलुङ पवित्र धार्मिक स्थल भएकाले गुम्बा, छ्योर्तेन तथा मन्दिरहरू बन्नु स्वाभाविक नै हो । यसले शैलुङको गरिमालाई उँचो पार्ने छ । शैलुङको शोभा र महत्ता बढाउने छ । पर्यटकहरूको ध्यान खिच्ने छ । तर, विकासको नाममा सुन्दर शैलुङलाई जथाभाबी चिथोर्ने, अनावश्यक संरचना बनाउने गरेमा शैलुङको अस्मिता मेटिने छ । शैलुङलाई ‘शैलुङ’ नै रहन दिनु उत्तम हुने छ ।
शैलुङमा अत्यावश्यक खानेपानी, शौचालय र विद्युतको व्यवस्था र फोहोरको व्यवस्थापन जरुरी छ । तर, विकासकाे नाममा विनाश पाे हुँदै छ कि भन्नेतर्फ सम्बन्धित सबै चनाखाे बन्न जरुरी छ ।
छ्योर्तेनको निर्माण गर्न इच्छा व्यक्त गर्नुहुने टुल्कु लोसाङ नाम्ग्याल रिम्पोछे र उहाँको इच्छालाई अथक प्रयासबाट सार्थक बनाउने शैलुङ रिगसुम गोन्पो सेवा समाजलाई धन्यवाद दिनैपर्छ । धादिङको बेनीघाट रोराङ–१ को खैलीङ डाँडादेखि महाभारत पर्वत श्रृङखलाकै अग्लो टाकुरा पवित्र भूमि शैलुङसम्मसँगै यात्रा गर्नु भएकोमा तपाईँलाई पनि धन्यवाद ।
यात्रा सकियाे ।
घुम्न त घुमियाे, शैलुङबारे तपाइँलाइ के थाहा छ ?
शैलुङ डाँडा नेपालको बागमती प्रदेश अन्तर्गत दोलखा र रामेछाप जिल्लाको सिमानामा पर्दछ । यो क्षेत्र नेपालकै रमणीय पर्यटकीय स्थलको रूपमा परिचित रहेको छ । शैलुङ समुन्द्री सतहबाट करिब ३,१५० मिटरकाे उचाइसम्म चुलिएको छ । यो डाँडा प्राकृतिक सुन्दरताको लागि मात्रै नभएर धार्मिक स्थलको रूपमा पनि परिचित छ । बौद्ध र हिन्दु धर्मको सङ्गमस्थलकाे रूपमा शैलुङ परिचित छ । प्रकृति र अध्यात्मको दोभान शैलुङमा जनैपूर्णिमा, बालाचतुर्दशी, बाह्र वर्षे मेला जस्ता चाडमा धेरै दर्शनार्थीहरूको भीड लाग्ने गर्दछ ।
शैलुङकाे नामकरण सम्बन्धमा विविध किंवदन्तीहरू प्रचलित छन् । तथापि, यस पर्वतको नाम तामाङ भाषाबाट राखिएको हो भन्ने मत बढी बलियो देखिएको छ । तामाङ भाषामा “शै” भनेको सय र “लुङ” भनेको थुम्का भन्ने बुझिन्छ । सय वटा थुम्काथुम्कीहरू मिलेर बनेको हुनाले शैलुङ भनिएको जनविश्वास छ ।
अर्को किंवदन्ती अनुसार प्रथम बुद्ध साङ्गे माह्मोर्चेले शैलुङमा बसेर ज्ञान बाँडेको हुनाले यस पर्वतलाई साङ्गेलुङ भनिएको पछि अपभ्रंश हुँदै शैलुङ रहन गएको बताइन्छ । यस मत अनुसार शैलुङमा सय वटा नभई एक सय आठ वटा थुम्काहरू रहेको जनविश्वास रहेको छ ।
शैलुङ डाँडा आफैँमा सुन्दर त छँदै छ, जहाँबाट मनमोहक गौरीशङ्कर हिमाल, सगरमाथा, माछापुच्छ्रे हिमाल, गणेश हिमाल लगायत काठमाडौँ उपत्यका र तराईका केही भागहरू समेत देखिने भएकोले यो स्थान अझ रमणीय पर्यटकीय स्थल बन्न सफल भएको छ ।
यहाँ शैलुङ्गेश्वर महादेवको मन्दिर, १२ वर्षमा एक पटक खुल्ने गदौरी, धार्मिक रूपले चर्चित गुफा पनि अवस्थित छ । चारैतिर देखिने मनोरम हिमशिखरहरू, वनैभरि नाच्ने डाँफेमुनाल, चौँरी र विभिन्न जातजातिका चराचुरुङ्गी एवम् जङ्गली जनावरहरूले शैलुङ डाँडा धार्मिक एवम् पर्यटकीय महत्त्व बोकेको स्थानको रूपमा चिरपरिचित रहँदै आएको छ । साथै थुम्कामा हिउँद महिनामा सेताम्मे हिउँ पर्ने भएकोले यसबेला हिउँप्रेमीहरूको धेरै भीड लाग्ने गर्दछ । धेरै ठाउँबाट पर्यटकहरू आई हिउँमा खेल्ने र सेताम्मे शैलुङको प्राकृतिक स्वाद लिने गर्दछन् ।
शैलुङको अर्को महत्त्वपूर्ण विशेषता भनेको यहाँको चौँरीको दूधबाट बन्ने विभिन्न प्रकारका परिकारहरू पनि पर्दछन् । “माथि माथि शैलुङ्गेमा” बोलको गीत त्यसै अजर अमर बनेको होइन । गीतले शैलुङकाे माटो बोलेको छ । प्रकृति बोलेको छ । शैलुङवासीकाे जनजीवन, जीवनशैली, रहनसहन र संस्कृति बोलेको छ । यहाँका बासिन्दाहरू प्राय सबैले चौँरी पालन गर्ने गर्छन् र उत्पादित चौँरीको दूधबाट उनीहरू मिठा छुर्पी, चिज बनाएर विभिन्न ठाउँमा लगेर विक्री वितरण गर्ने गर्दछन् । यहाँ यसको अलावा बहुमूल्य जङ्गली जडीबुटी पाँचऔंले, चिराइतो, मजिटो, च्यातु लगायत अन्य धेरै जडीबुटीहरू पनि प्रशस्तै मात्रामा पाइन्छ।
शैलुङ जति सुन्दर र सम्पन्न छ, त्यति नै रहस्यमय पनि । त्यसैले एक पटक पाइला टेक्नुपर्ने भूगोल हो, शैलुङ । अनि काठमाडौंबाट नजिकै रहेको धादिङको खैलीङ र ब्रोम्दीङ त छुटाउने कुरै भएन !