Everest Face
साहसिक पर्यटनको 'हब' बन्दै वैकुण्ठ-कैलाश, जीपलाइनकाे सफल परीक्षण

मकवानपुरको कैलाश गाउँपालिका-२ स्थित वैकुण्ठ-कैलाशमा जीपलाइनकाे सफल परीक्षण गरिएको छ ।

शुक्रवार गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तान सहित पालिकाका कर्मचारी र स्थानीय जनप्रतिनिधिहरूकाे उपस्थितिमा एक हजार दुई सय मिटर लामाे जीपलाइनकाे सफल परीक्षण गरिएको हो । 

कैलाश गाउँपालिकाले पालिकाकै गौरवको आयोजनाको रूपमा जीपलाइनकाे अवधारणा अघि सारेको हो । जीपलाइनले पर्यटकीय गन्तव्यको रूपमा  विकास भइरहेको कैलाश-२ लाई साहसिक पर्यटकहरूको हब बनाउने पालिकाले अपेक्षा लिएको छ ।

Zipline_Kailash-(1)-1740885008.jpg
जीपलाइन बनेकाे स्थल, कैलाश गाउँ । 

जीपलाइनकाे सफल परीक्षणपछि खुसी व्यक्त गर्दै गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तानले जीपलाइनले गाउँपालिकाको प्रचारप्रसार सँगै आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनमा सहयोग पुग्ने  विश्वास व्यक्त गरे । 

यस योजनाले पालिकाको पर्यटन प्रवर्द्धन सङ्गै स्थानीय समुदायले रोजगारी पाउने अध्यक्ष मुक्तानले बताए । 

Lok_Muktan-1740885322.jpg
लाेक बहादुर मुक्तान, अध्यक्ष, कैलाश गाउँपालिका ।

भौगोलिक विकटताको ट्याग भिरेर महाभारत पर्वत शृङ्खलामा लुकेर बसिरहेको पालिकाको भूगोललाई पर्यटकहरूमाझ चिनाउन महत्त्वाकाङ्क्षी योजनाको रूपमा जीपलाइनकाे योजना अगाडि सारिएको र त्यसलाई कठिनताका बाबजुद सफल परीक्षण गरेर प्रमाणित गरेको अध्यक्ष मुक्तानले बताए । 

गाउँपालिकाले बहुवर्षीय योजनाको रूपमा अघि सारेको जीपलाइनकाे लागत करिब दुई करोड रुपैयाँ रहेको छ ।  पहिलो चरणको काम सन्ध्या निर्माण सेवाले ८८ लाख रूपैयाँमा ठेक्का सम्झौता गरेर काम गरिरहेको छ । आगामी आर्थिक वर्षमा जीपलाइनकाे स्टेशन, रिसाेर्ट, कफी शप लगायतका संरचनाहरू  निर्माण हुने कैलाश-२ का वडाध्यक्ष राजेन्द्र घिसिङले जानकारी दिए । 

Rajendra_ghising-1740885322.jpg
राजेन्द्र घिसिङ, वडाध्यक्ष, कैलाश-२ ।

जीपलाइन सञ्चालन पछि धादिङ जिल्लाको बेनीघाट रोराङ र गजुरी गाउँपालिका, मकवानपुरको थाहा नगरपालिका, राक्सिराङ गाउँपालिका र मनहरी गाउँपालिकाका जीपलाइन पारखीहरूले नजिकै जीपलाइनकाे सफर गर्न पाउने छ ।   

मकवानपुरको हेटौँडा, मनहरी, पालुङ, धादिङको गजुरी, मलेखु, लगायत बजारबाट जम्मा ३० देखि ४० किलोमिटरको दुरीमा जीपलाइन स्थल वैकुण्ठ पुग्न सकिन्छ । 

Zipline_Kailash-(4)-1740885006.jpg
वैकुण्ठ गाउँ, कैलाश-२ ।

शुक्रवार प्राविधिक टोली सहित गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र घिसिङ, योजना शाखा प्रमुख नरेन्द्र दत्त भट्ट, इन्जिनियर अनिल जोशी लगायतको टोलीले पहिलो चरणको परीक्षण गरेका थिए । जीपलाइन प्राविधिक एवम् प्रशिक्षक बद्री घिमिरेले जीपलाईन चढेर परीक्षण गरेका थिए ।

Zipline_Kailash-(3)-1740885006.jpg
डाँफेमुनाल पार्क ।

जीपलाइन स्थलमा आकर्षक समेत रहेको छ । विष्णुकुण्ड, गुरु पद्म सम्भवको प्रतिमा, डाँफेमुनाल पार्क, भाइरल पिङ, सतिघात, डम्फु पार्क, चितुवा पार्क लगायत थुप्रै आकर्षणहरू रहेका छन् । 

Zipline_Kailash-(5)-1740885004.jpg
डम्फु पार्क ।

पर्यटकीय पूर्वाधारहरूकाे निर्माण, प्रचारप्रसार सँगसँगै कैलाश-२ पर्यटकहरूको रोजाइमा पर्न थालेको छ ।  निर्माणाधीन जीपलाइनले कैलाशलाई साहसिक पर्यटनको हब बनाउनेमा शङ्का छैन । 

Zipline_Kailash-(6)-1740885004.jpg
चितुवा पार्क ।

तस्बिरः चन्द्र तामाङ/एभरेष्ट फेस 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update