
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सि लामा तामाङले शिक्षा नै विकासको मेरुदण्ड भएको बताएका छन् ।
आज बिहीबार हेटौँडा स्थित तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री तामाङले शिक्षाविना समाजको कुनै पनि क्षेत्रको विकासको परिकल्पना गर्न समेत नसकिने बताएका हुन् ।
“शिक्षा विकासको मेरुदण्ड हो । शिक्षालाई किन मेरुदण्ड भनिएको हो भने हाम्रो मेरुदण्ड भाँचियो भने के हुन्छ ? हामी मुडा जस्तो मात्रै हुन्छौँ । यताउता चल्न पनि सक्दैनौँ”, मुख्यमन्त्री तामाङले भने, “शिक्षाले मानव समाज र विकासलाई गतिशील बनाउँछ । सबै क्षेत्रलाई चलायमान बनाउँछ । शिक्षाविना विकास र रूपान्तरण सम्भव छैन र कल्पना गर्न पनि सकिँदैन ।”
मुख्यमन्त्री तामाङले यस विद्यालयले नेपालको शैक्षिक उन्नयनमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै मुक्तकण्ठले प्रशंसा समेत गरेका छन् ।

“यस विद्यालयले शिक्षाको विकासको लागि, असल र सक्षम नागरिकहरू उत्पादन गर्नमा ठुलो योगदान पुर्याएको छ । यस विद्यालयमा अध्ययन गरेका व्यक्तिहरू राज्यको विभिन्न उच्च ओहोदामा पुगेका छन्”, मुख्यमन्त्री तामाङले भने, “काठमाडौँमा पढ्नुपर्ने विद्यार्थीहरू यस विद्यालयमा पढ्न आएका छन् । यसले के देखाउँछ भने यस विद्यालयले निजी विद्यालय भएर पनि राज्यको शिक्षा क्षेत्रमा निकै ठुलो योगदान पुर्याउनु भएको छ । म यसको लागि बागमती प्रदेश सरकारकै तर्फबाट धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु ।
मुख्यमन्त्री तामाङले राज्यको सर्वाङ्गीण विकासको लागि निजी वा सामुदायिक जुन सेक्टरको भए पनि दुवै सेक्टरले उतिकै योगदान पुराउनुपर्ने बताए ।
त्यस्तै विद्यालय शिक्षालाई स्थानीय सरकारको एकल अधिकारभित्र राख्नुपर्ने धारणा मुख्यमन्त्री तामाङले राखेका छन् । बागमती प्रदेश सरकारले विद्यालय शिक्षालाई स्थानीय सरकारको एकल अधिकारभित्र राखेको तर शैक्षिक विकासको लागि प्रदेश सरकारले समन्वय गर्ने उनले बताए ।
“हामीले तीन तहको सरकार बनाएका छौँ । तर, शिक्षालाई स्थानीय सरकारको एकल मातहतमा राख्नुपर्छ भनेर व्यवस्था गरेका छौँ । किन कि शिक्षाको विकासको लागि स्थानीय सरकारको सबैभन्दा बढी योगदान रहन्छ । त्यसैले हामीले प्रदेश सरकारले समन्वयको भूमिका मात्रै खेल्नुपर्छ भनेका छौँ । प्रदेश सरकारले विद्यालयको संरचना निर्माण, विभिन्न कार्यक्रम सञ्चालन लगायत गर्नुपर्ने कामहरू गर्छौँ यद्यपि स्थानीय सरकारको अधीनमा शिक्षा क्षेत्र हुनुपर्छ भन्ने हाम्रो मान्यता हो”, “प्रदेश सरकारले विश्वविद्यालय खोल्न पाउने एकल अधिकार सुनिश्चित गरेको छ । तर, हामीसँग स्थानीय र सङ्घसँग जस्तो संरचना छैन । त्यसैले सङ्घ र स्थानीय सरकारको सहयोगमा मात्रै हामी प्रदेश सरकारले पनि विश्वविद्यालय खोल्न र सञ्चालन गर्न सक्छौँ ।”
त्यस्तै मुख्यमन्त्री तामाङले व्यवहारिक र जीवनउपयोगि शिक्षा आजको आवश्यकता भएको बताएका छन् । नेपालको शिक्षा व्यवहारिक भन्दा पनि सैद्धान्तिक भएकाले पढेका बालबालिकाहरूले खाना पकाउन समेत नजान्ने अवस्था आएको उनले बताए ।

“पढ्दै, सिक्दै कमाउँदै कार्यक्रम हामीले अघि बढाएका छौँ । अहिले विद्यार्थीहरू खाना पकाउन पनि युट्युबको सहारा लिनुपर्ने अवस्थामा पुगेको छ । साँच्चै व्यवहारिक र जीवनोपयोगी शिक्षा आजको आवश्यकता हो”, उनले भने”, “हामीले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रमलाई यस विद्यालयले पनि लागु गरेको रहेछ । यो अत्यन्तै राम्रो अभ्यास हो ।”
साथै मुख्यमन्त्री तामाङले तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयले समाजसेवी एवम् आध्यात्मिक साधक तुलसी मेहर श्रेष्ठको सोच, विचार र अवधारणालाई कार्यान्वयन गरेको भन्दै आभार व्यक्त गरेको छन् ।
“साँच्चै तुलसी मेहरले जसरी समाजलाई केन्द्रमा राखेर सबैले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । उहाँको अवधारणालाई यस विद्यालयले साँच्चै कार्यान्वयन गर्नुभएको रहेछ । यसको पनि धन्यवाद दिन चाहन्छु ।”, मुख्यमन्त्री तामाङले भने ।
तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयका प्रधानाध्यापक रघुनाथ खनालको सभापतित्व, बागमती प्रदेशका माननीय मुख्यमन्त्री बहादुर सि लामा तामाङको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको वार्षिकोत्सव समारोहमा बागमती प्रदेशका सांसद माननीय प्रेम बहादुर पुलामी मगर (छिन्तु), हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बुद्धिजीवी, समाजसेवी, शिक्षाप्रेमी, अभिभावक एवम् विद्यार्थीहरूको उपस्थिति थियो ।