
धादिङको गजुरी गाउँपालिका-२, छेपाङको डुडेठाँटिस्थित आधारभूत स्वास्थ्य केन्द्रमा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
गजुरी गाउँपालिका-२ वडा कार्यालयको आयोजना तथा मनमोहन मेमोरियल मेडिकल कलेज अस्पताल, कीर्तिगङ्गा मेडिकल सेन्टर र धादिङ अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा तीनसय जना भन्दा बढी स्थानीय जनसमुदायले सेवा लिएका छन् ।

"सबैका लागि स्वास्थ्य" भन्ने मूल नारा सहित आयोजित शिविरमा स्त्रीरोग, नाक, कान, घाँटी, हाडजोर्नी, दन्त सेवा, पाठेघर रोग सम्बन्धी स्क्रीनिङ, भिडियो एक्स-रे सेवा, सामान्य चिकित्सा सेवा प्रदान गरिएको थियो ।
लायन्स क्लब अफ धादिङ भैरवी, बगाले थापा क्षेत्री राष्ट्रिय फाउन्डेसन नेपाल, शीतल छहारी नेपाल, प्रयास नेपाल धादिङ, क्वेस्ट फार्मा कम्पनी तथा नेपाल सरकार , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, व्यवस्थापन विभागको प्राविधिक सहयोग रहेको थियो ।
-1735439466.jpg)
शिविरमा शिक्षाको महत्त्वलाई प्राथमिक दिई बालबालिकाहरूलाई कापी र कलम पनि वितरण गरिएको छ । साथै स्थानीय छेपाङ माध्यमिक विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरियो ।
-1735439461.jpg)
विपन्न चेपाङ, दलित, तामाङ र अन्य जाति समुदायको बसोबास रहेको सो क्षेत्रमा केही जटिल प्रकृतिका केशहरूलाई काठमाडौं रिफर गरिएको छ । गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला विसुरालको आतिथ्ययतामा आयोजित समुद्घाटन समारोहमा वडाध्यक्ष द्रोण कँडेलले छेपाङबासीलाई सेवा गर्न आउनु भएको टोलीलाई सम्मान पत्र सहित मायाको चिनो हस्तान्तरण गरी धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
-1735439462.jpg)
१४ जना डाक्टर र नर्स सहितको मेडिकल टिमबाट सञ्चालित सो शिविर आगामी दिनमा गजुरी गाउँपालिकाकै ४ नम्बर वडा लगायत अन्य दुर्गम भेगमा पनि सञ्चालन गर्न पालिकाले सहजीकरण गरिने अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनु भयो ।
विपन्न र सीमान्तकृत समुदायलाई स्वास्थ्यको मूलधारमा ल्याउने र धादिङ जिल्लालाई स्वास्थ्य क्षेत्रमा सबल र सुदृढ बनाउने अभियानलाई निरन्तरता दिँदै धादिङ जिल्लाका अन्य विकट क्षेत्रहरूमा पनि शिविर आयोजना गरिने स्वास्थ्य शिविर संयोजक तथा नेपाल सरकार, स्वास्थ्य बिमा बोर्डमा कार्यरत धादिङ निवासी डा. राम थापा क्षेत्रीले बताउनु भयो ।
तस्बिरः अशाेक श्रेष्ठ