Everest Face
लायन्स क्लबद्वारा दुर्गमका चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण 

लायन्स क्लब अफ काठमाडौँ स्वयम्भू टाउनले धादिङको बेनीघाट रोराङ गाउँपालिका–६, बुम्पुङमा अवस्थित श्री सिद्धकाली आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा तथा झोला वितरण गरेको छ । 

दुर्गममा रहेको र अति सीमान्तकृत चेपाङ समुदायको बालबालिकाहरू अध्ययनरत उक्त विद्यालयका ८८ जना विद्यार्थीहरूलाई शनिवार क्लबद्वारा ट्र्याक सेट, टोपी, झोला र जाडोमा पौष्टिक आहारका रूपमा चमानप्रास सहित झन्डै तीन लाख रुपैयाँ बराबरको सामाग्री वितरण गरेको हो ।

bumpung-(3)-1734842971.jpg
श्री सिद्धकाली आधारभूत विद्यालयका विद्यार्थीहरू ।

बेनीघाट रोराङ गाउँपालिकाको सहकार्यमा लायन्स क्लब अफ काठमाडौँ स्वयम्भू टाउन, लियो क्लब अफ काठमाडौँ स्वयम्भू टाउन–२ (अल्फा), लियो क्लब अफ काठमाडौँ स्वयम्भू टाउनले संयुक्त रूपमा न्यानो कपडा तथा झोला वितरण कार्यक्रम आयोजना गरेको हो । 

siddhakali-1734842964.jpg
न्यानाे कपडा तथा झाेला वितरण कार्यक्रम ।

बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठको प्रमुख आतिथ्ययतामा क्लबका पदाधिकारी तथा सदस्यहरू, लायन्स क्लब अफ काठमाडौँ जिल्ला कोषाध्यक्ष सहित सदस्यहरू, लियो क्लब अफ काठमाडौँ स्वयम्भू टाउनका पदाधिकारी एवम् सदस्यहरू, स्थानीय जनप्रतिनिधि., विद्यालयका शिक्षकहरू र स्थानीय अभिभावकहरूको समेत उपस्थितिमा विद्यार्थीहरूलाई उक्त सामाग्री वितरण गरिएको छ । 

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले दुर्गमका अति सीमान्तकृत चेपाङ समुदायको विद्यार्थीलाई अत्यावश्यक सामाग्रीहरू वितरण गरेको भन्दै क्लबलाई धन्यवाद दिए । 

Tap_bahadr-Shrestha--1734842976.jpg
टाप बहादुर श्रेष्ठ, उपाध्यक्ष, बेनीघाट राेराङ गाउँपालिका ।

“यस दुर्गम बस्तीका अति सीमान्तकृत चेपाङ समुदायका विद्यार्थीलाई जाडोमा न्यानो कपडा, टोपी, किताब बोक्ने झोला र पौष्टिक आहार चमानप्रास लगायत सामाग्रीहरू वितरण गर्नुभएकोमा लायन्स क्लबलाई धन्यवाद दिन चाहन्छु”, उपाध्यक्ष श्रेष्ठले भने, “उहाँहरूले यसअघि पनि यही वडाको अर्को विद्यालयमा यसरी नै सामाग्रीहरू वितरण गर्नुभएको थियो । यसपालि पनि उहाँहरू आफैँले प्रस्ताव राखेर यो सहयोग प्रदान गर्नुभयो । विशेषगरी क्लबका पूर्व अध्यक्ष सुरेन्द्र न्याउपाने सरलाई धन्यवाद दिन चाहन्छु ।” 

उपाध्यक्ष श्रेष्ठले आफ्नो गाउँपालिकामा अति सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको र उनीहरूको आर्थिक, सामाजिक तथा शैक्षिक अवस्थाको सुधार गर्न गाउँपालिकाले हरसम्भव प्रयास गरिरहेको जानकारी दिँदै विभिन्न सङ्घसंस्थाहरूको पनि उतिकै सहयोगको खाँचो रहेको बताए । 

Tap_bahadr-Shrestha--(1)-1734842975.jpg
विद्यार्थीहरूसँग उपाध्यक्ष श्रेष्ठ ।

“हाम्रो गाउँपालिका भौगोलिक हिसाबले पनि अति नै विकट छ, त्यसमाथि अति सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता छ । हामी पालिका सरकारले पनि यहाँका समुदायलाई माथि उठाउन प्रयास गरिरहेकै छौँ । तपाईँ सङ्घसंस्थाहरूले पनि यसरी नै सहयोग जारी राख्नुहोला”, उपाध्यक्ष श्रेष्ठले भने, “तपाईँहरूले देशका मात्रै नभई विभिन्न अन्तर्राष्ट्रियस्तरका दातृ निकायहरू पनि चिन्नुभएको छ । उहाँहरूसँग पनि यहाँको समस्याहरूबारे जानकारी गराइदिनुहोला ।”

divyalaxmi_sharma-(1)-1734842966.jpg
दिव्यालक्ष्मी शर्मा, अध्यक्ष, लायन्स क्लब अफ काठमाडाैं स्वयम्भु टाउन ।

त्यसैगरी लायन्स क्लब अफ काठमाडौँ स्वयम्भू टाउनका अध्यक्ष दिव्यलक्ष्मी शर्माले साँच्चै आवश्यक परेको, अति नै दुर्गम र अति सीमान्तकृत चेपाङ समुदायको बालबालिकाहरू अध्ययनरत विद्यालयका विद्यार्थीहरूलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताइन् । यस कार्यका लागि भूगोल, समुदाय र विद्यालय छनौट गरेर सहयोग गर्ने र सहयोग प्रदान गर्न सरिक हुने सबैलाई धन्यवाद दिइन् । 

divyalaxmi_sharma-1734842968.jpg
दिव्यालक्ष्मी शर्मा, अध्यक्ष, लायन्स क्लब अफ काठमाडाैं स्वयम्भु टाउन ।

क्लबका पूर्व अध्यक्ष एवम् यस कार्यक्रमका संयोजक सुरेन्द्र न्यौपानेले आफूहरूले प्रचारको लागि नभई विशुद्ध सेवाभावले सहयोग प्रदान गरिरहेको बताए । 

“जहाँ जसलाई साँच्चै आवश्यक परेको छ । आवश्यकता हेरि उहाँहरूको लागि विशुद्ध सेवाभावले सहयोग गर्छौँ र गर्दै आएका पनि छौँ”, न्यौपानेले भने, “यहाँ चन्द्र जी यस कार्यक्रमको कभरेजको लागि काठमाडौँदेखि आउनुभएको छ । म उहाँलाई पनि अनुरोध गर्न चाहन्छु कि, यो हामीले सामाग्री दिएको र प्रचार गर्नको लागि नभई आवश्यकतालाई ध्यानमा राखेर सहयोग गरेको भन्ने हिसाबले कभर गरिदिनुहोला ।”

surendra_nyaupane-1734842963.jpg
सुरेन्द्र न्याैपाने, पूर्व अध्यक्ष, लायन्स क्लब अफ काठमाडाैं स्वयम्भु टाउन ।

खाली प्रचार र चर्चा पाउन नभई आवश्यक परेकोलाई सहयोग गर्नु लायन्स क्लबको उद्देश्य रहेको उनले बताए । 

“अलि अलि सहयोग दिएर, दुई चार वटा फोटो खिचेर चर्चा पाउन त काठमाडौँकै कुनै विद्यालयमा गरे पनि हुने थियो नि, यति विकट ठाउँमा किन आउनुपर्थ्यो र ?”, प्रश्न गर्दै न्यौपानेले भने, “यस्तो जाडोमा यहाँका विद्यार्थीहरू नाङ्गा आङ, खाली खुट्टा अनि काखीमा किताब च्यापेर स्कुल आइरहेको देख्दा उनीहरूका लागि यति सहयोग गर्न पाउँदा निकै खुशी लागेको छ ।”

hasan_gopali-(1)-1734842964.jpg
लायन्स क्लब अफ काठमाडौँका जिल्ला कोषाध्यक्ष हसन गोपाली ।

त्यसैगरी लायन्स क्लब अफ काठमाडौँका जिल्ला कोषाध्यक्ष हसन गोपालीले लायन्स क्लब अफ काठमाडौँ स्वयम्भू टाउनले अत्यन्तै उदाहरणीय कार्यहरू गरिरहेको बताए । क्लबमा शिक्षक, विज्ञहरू र व्यवसायीहरू जोडिएको र राम्रा कार्यहरू गरिरहेको भन्दै गोपालीले क्लबको स्वयम्भू टाउनका पदाधिकारीहरूलाई बधाई दिए । 

त्यसैगरी सिद्धकाली आधारभूत विद्यालयकी प्रअ शर्मिला सिलवालले आफ्ना विद्यार्थीहरूलाई सहयोग गरेकोमा क्लबलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिन आग्रह गरिन् । 

sharmila_silwal-1734842962.jpg
शर्मिला सिलवाल, प्रअ, श्री सिद्धकाली आधारभूत विद्यालय । 

“हाम्रो विद्यालय छनौट गरेर सहयोग गर्नुभएकोमा धन्यवाद । आगामी दिनमा हाम्रो यस विद्यालयलाई नै सहयोग गरिदिनुहुन अनुरोध गर्न चाहन्छु ।”, प्रअ सिलवालले भनिन् । 

विगत डेढ दशकदेखि सोही विद्यालयमा कार्यरत प्रअ सिलवालले विद्यालयको स्थापनाकालदेखि हालसम्मका उतारचढावहरूबारे सविस्तार ब्रिफिङ गरेकी थिइन् ।

सहयोग प्रदान गर्न पुगेका क्लबको टोली र अतिथिहरूलाई स्थानीय समुदायले बाजागाजा र फूलमालासहित स्वागत र सम्मान गरेका  छन्  ।

bumpung-1734842975.jpg
बाजा बजाएर स्वागत गर्दै स्थानीय समुदाय ।

भौगोलिक रूपमा विकट धादिङको दक्षिण–पश्चिममा अवस्थित बेनीघाट रोराङ गाउँपालिकामा झन्डै १३ हजार चेपाङ समुदायको बसोबास रहेको छ । यो गाउँपालिकाको सम्पूर्ण जनसङ्ख्याको करिब ४० प्रतिशत हुन आउँछ । पछिल्लो जनगणना अनुसार बेनीघाट रोराङ गाउँपालिकाको जनसङ्ख्या करिब ३३ हजार रहेको छ । 

अन्य तस्बिरहरूः

bumpung-(2)-1734842972.jpg

 

bumpung-(4)-1734842970.jpg

bumpung-(6)-1734842968.jpg

hasan_gopali-1734842967.jpg

siddhakali_Basic_scchool-1734842966.jpg

siddhakali-1734842964.jpg

bumpung-(5)-1734842970.jpg
तस्बिरः  चन्द्र तामाङ/एभरेष्ट फेस 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update