Everest Face
बेनीघाट रोराङकाे अर्को नमुना कार्य, एकिकृत छात्रावासको उद्घाटन

देशकै नमुना गाउँपालिकाको पहिचान बनाउन अग्रसर धादिङको बेनीघाट रोराङ गाउँपालिकाले अर्को नमुना कार्यको सुरुवात गरेको छ । गाउँपालिकाको शैक्षिक सुधारका लागि पालिकाको वडा नम्बर ८ भरिका विद्यालयहरूलाई एकिकृत गर्दै कालिका माध्यमिक विद्यालय विधाङमा एकिकृत छात्रावासको उद्घाटन गरिएको छ । 

बिहीबार पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्ययतामा एकिकृत छात्रावासको उद्घाटन गरिएको हो ।

kalika_mavi-1734065102.jpg
पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बेनीघाट रोराङ गाउँपालिकाले एकिकृत आवासीय विद्यालयको अवधारणालाई अघि सारेर नयाँ इतिहास रच्ने काम गरेको बताए । 

“बेनीघाट रोराङका अध्यक्ष, उपाध्यक्ष एवम् सम्पूर्ण पदाधिकारीलाई विशेष रूपले धन्यवाद दिन चाहन्छु, तपाईँहरूले एउटा चुनौतीपूर्ण र केही हदसम्म जोखिमयुक्त कामको सुरुवात गर्नुभएको छ । आवासीय विद्यालय स्थापना गर्ने निर्णय गरेर । र त्यसको सबै व्यवस्थापन पनि हालको लागि गाउँपालिकाले नै गर्ने गरेर तपाईँहरूले एउटा नयाँ इतिहास रच्ने, नयाँ जोखिम उठाउने र जनतालाई नयाँ ठाउँमा पुर्‍याउने र यो पालिकालाई पनि । म तपाईँहरूलाई हृदयदेखि नै धन्यवाद पनि दिन चाहन्छु ।” अध्यक्ष प्रचण्डले भने । 

आफू जोखिम मोल्न रुचाउने र देशको राजनीतिक एवम् सामाजिक रूपान्तरणको लागि पटक पटक जोखिम उठाएको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले गाउँपालिका आफैँले व्यवस्थापन गर्ने गरी वडाभरिका विद्यालयलाई गाँसबासको सुविधासहितको एकिकृत विद्यालय बनाउनु आफूले जस्तै जोखिम मोल्ने र निरन्तरतामा क्रमभङ्गताको एउटा प्रयोग भएको बताए ।

Prachanda-1734065105.jpg
पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ।

उनले भने, “मैले यो कुरा तपाईँहरूको अगाडि राख्दै गर्दा मैले यति भन्नैपर्छ जीवनमा पटक पटक राजनीतिक परिवर्तनका लागि जोखिमहरू उठाउँदै कहिले युद्धको जोखिम, कहिले शान्तिको जोखिम, कहिले संविधानको, कहिले के गर्दै आउने प्रक्रियालाई सम्झिँदा अहिले तपाईँहरूले सुरु गरेको यो एकिकृत आवासीय विद्यालय त्यसकै एउटा निरन्तरतामा क्रमभङ्ग कै प्रयोग हो । यस अर्थमा तपाईँहरू धन्यवादको पात्र हुनुहुन्छ ।” 

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले समाज विकासको आधार शिक्षा नै भएपनि तत्काल परिणाम नआउने हुनाले शिक्षामा लगानी गर्न हिचकिचाउने प्रवृत्ति नेपालमा रहेको तर यसलाई बेनीघाट रोराङले चिरेर अघि बढेको बताए । 

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्ः बेनीघाट राेराङ देशकै उत्कृष्ट नमुना पालिका बन्नेमा शङ्का छैन: प्रचण्ड

“समाजको विकास, जनताको विकास, जनताको समृद्धिको प्रमुख आधार शिक्षा हो भन्ने कुरा तपाईँ हामी सबैले सैद्धान्तिक रूपले बुझेका छौँ । विकास, समृद्धि र सभ्यताको आधार शिक्षा नै हो । आज विकसित भन्दा विकसित देशहरूले पनि शिक्षालाई प्राथमिकता दिँदै आएका छन् । शिक्षामा लगानी बढाउनुपर्छ भन्दै त्यसो गर्दै आएका पनि छन्”, अध्यक्ष प्रचण्डले भने, “शिक्षामा गरेको लगानीको प्रतिफल तत्काल पाइँदैन । यसको परिणाम आउन समय लाग्छ । नेपालमा शिक्षामा लगानी गर्नु भनेको परिणाम नआउने ठाउँमा लगानी गर्नु हो भन्ने बझाई छ । अन्य विकसित देशमा समग्र बजेटको पन्ध्रदेखि बीस प्रतिसतसम्म शिक्षामा लगानी गर्छन् । हामी कहाँ त्यो खालको सोचाई अघि बढ्न सकेको छैन । यस परिप्रेक्ष्यमा बेनीघाट रोराङले सुरु गरेको यो परियोजना जोखिमयुक्त छ र सँगै अवसर पनि ।”

kalika_mavi-(10)-1734065092.jpg
पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)लाई स्वागत गर्दै । 

बेनीघाट रोराङ गाउँपालिकाले आफ्नो पालिकाका समुदायको उत्थानको लागि शिक्षालाई मूल मन्त्र बनाएर अघि बढ्नु सुझबुझपूर्ण निर्णय भएको बताए ।  

“मानव जीवन, समाज र सभ्यताको विकास शिक्षाविना सम्भव छैन भन्ने बुझेर नै तपाईँहरूले विकट गाउँपालिकाको पनि विकट वडामा जहाँ चेपाङ समुदायको उपस्थिति छ, यहाँ यो आवासीय विद्यालय सञ्चालन गर्न लागेको हेर्दा यो बुझ्न गाह्रो छैन कि यो विकट भूगोलमा बस्ने समुदायलाई माथि उठाउने आधार नै शिक्षा हो भन्नेकुरा तपाईँहरूले राम्रोसँग बुझ्नु भएको छ ।”, उनले भने । 

बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले दुःख, पिडा, अभाव, बलिदान, सङ्घर्ष सबै बुझेको व्यक्ति भएकाले उनले पालिकाको समृद्धिको लागि काम गर्ने अध्यक्ष प्रचण्डले दाबी गरे ।  

उनले भने, “यस गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया, हामी उहाँलाई पार्टीभित्र विवेक भनेर चिन्छौँ । उहाँ आफैँ पनि परिवारको चार चार जनाको बलिदानी आउनुभएको व्यक्ति हुनुहुन्छ । बुबा, दाइ, भाइ अनि प्रकारान्तरले आमाले पनि छोडेर जानुभयो । त्यो पिडा र बलिदानीपूर्ण सङ्घर्षबाट उठेको उहाँले पक्कै पनि यस ठाउँको लागि राम्रै गर्नुभएको छ । आज राजमार्गबाट माथि आउँदै गर्दा बाटोघाटो हेर्दा थाहा पाएँ, विवेकले गफ लगाएको हो कि भनेको साँच्चै काम गरेको रहेछ ।”

त्यसै गरी बागमती प्रदेशका पूर्व मुख्यमन्त्री नेकपा माओवादी केन्द्र बागमती प्रदेशका नेता शालिकराम जमरकट्टेलले आफूले वषौँदेखि उठाउँदै आएको अवधारणालाई बेनीघाट रोराङ गाउँपालिकाले कार्यान्वयन गरेको र यो सराहनीय कार्य भएको बताए । 

shalikrama_jamarkattel-1734065105.jpg
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री नेकपा माओवादी केन्द्र बागमती प्रदेशका नेता शालिकराम जमरकट्टेल ।

“जब यो राज्य पुनसंरचना भयो, त्यतिबेलादेखि नै विद्यालयहरूलाई अब आवासीय मोडलमा लैजानुपर्छ र अहिलेको पाठ्यक्रमहरूलाई अब सिटिइभिटीले पढाउने प्राविधिक शिक्षालाई बाह्र कक्षासम्म थप गर्नुपर्छ भनेर प्रदेशमा आवाज उठाउँदै आएको आयौँ । तैपनि यो सम्भव भएको थिएन”, नेता जमरकट्टेलले भने, “बागमती प्रदेश सरकारको नेतृत्व गर्दैगर्दा म आफैँले त्यो नीति पास गरेर अगाडि बढ्यौँ । हुन त यसभन्दा पहिला पनि प्रदेश सरकारले विभिन्न ठाउँमा आवासीय विद्यालयको लागि बजेट विनियोजन गरिसकेको छ । तर यो बेनीघाट रोराङले एउटा सुरुवात गरेको छ । यो अत्यन्तै सराहनीय कार्य हो ।”

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्ः देशका सबै विद्यालयहरुलाई आवासीय मोडलमा लानुपर्छः जमकट्टेल

धादिङ (१) को (ख) बाट बागमती प्रदेशसभा सदस्य समेत रहेका नेता जमरकट्टेलले विद्यालयहरूलाई आवासीय मोडलमा लैजानुपर्ने र प्राविधिक शिक्षालाई जोड दिइनुपर्ने बताए । 

“अब विद्यालयहरूलाई अनिवार्य आवासीय मोडलमा लानै पर्छ । र पाठ्यक्रम बदल्नैपर्छ अब । अब नर्सरी देखि कक्षा बाह्रसम्म नै सिटीइभिटीले पढाउने नर्सिङ र इन्जिनियरिङ शिक्षालाई समावेश गर्नैपर्छ । अध्ययनपछि व्यावसायिक बन्ने, योग्य र दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा पाउनुपर्छ”, नेता जमरकट्टेलले भने, “अन्यथा हाम्रो शिक्षा, विद्यालयहरू बेरोजगारी उत्पादन गर्ने कारखाना बन्ने छ ।”

kalika_mavi-(5)-1734065098.jpg
एकिकृत छात्रावास उद्घाटन समाराेह ।

बेनीघाट रोराङले शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरेको र यस अभियानलाई आफ्नो तर्फबाट साथ र समर्थन रहने प्रतिबद्धता उनले व्यक्त गरे । 

“बेनीघाट रोराङले शिक्षालाई मुख्य प्राथमिकता दिएर जुन यो आवासीय मोडललाई अघि सारिएको छ । यो सराहनीय छ । यो आवासीय विद्यालयलाई अगाडि बढाउन मैले गर्नसक्ने सबै सहयोग, साथ र समर्थन रहने छ ।” 

बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले पालिकाका बालबालिकाहरूलाई पेटभरि खाएर पढ्न पाउने वातावरण बनाउन एकिकृत आवासीय विद्यालयको अवधारणा अगाडि ल्याएको बताए । 

bibek_thapaliya-1734065104.jpg
बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ।

“कुपोषण, भोकमरी, खाद्य असुरक्षा र अशिक्षाको अवस्था सुधार गर्न हामीले वडाभरिका ६ वटा विद्यालयहरूलाई एकिकृत गरी हामीले आवासीय विद्यालयको अवधारणा अगाडि ल्याएका हौँ”, अध्यक्ष थपलियाले भने, “सपना त खासै ठुलो होइन, पेटभरि बालबालिकालाई खुवाएर पढ्ने, पढाउने वातावरण सिर्जना गर्ने हो । यसैको जगमा अति सीमान्तकृत र पछाडि परेका वा पारिएका समुदायको आर्थिक, सामाजिक रूपान्तरण हुनेमा हामी विश्वस्त छौँ ।”

आवासीय विद्यालयको अवधारणा अघि सार्न सबैको योगदान रहेको र रहने अपेक्षा गरेको अध्यक्ष थपलियाले बताए ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्ः बालबालिकाहरूले पेटभरि खाना खाएर ढुक्कले पढ्न पाउन्ः अध्यक्ष थपलिया 

“घन्टौँ हिँडेर विद्यालय आउने÷जाने बाध्यात्मक अवस्था विद्यार्थीहरूमा छैन । यस वडाका वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति, सम्पूर्ण राजनीतिक दल, सम्पूर्ण वडावासीहरूको सामूहिक प्रयत्नबाट यो सम्भव भएको छ । यस मानेमा सबैजना बधाईको पात्र हुनुहुन्छ ।”, उनले भने । 

आवासीय विद्यालयको अवधारणाको निरन्तरता, स्रोत व्यवस्थापन, स्वामित्व लगायत विषयलाई ध्यानमा राखेर व्यापक तयारी गरिरहेको र स्रोत व्यवस्थापनमा टेवा पुर्‍याउने उद्देश्यले आगामी माघमा श्रीमद् भागवत ज्ञान महायज्ञ आयोजना गर्न लागिएको अध्यक्ष थपलियाले जानकारी दिए । 

kalika_mavi-(2)-1734065100.jpg
एकिकृत छात्रावास उद्घाटन समाराेह ।

“भोलि पालिका सरकारको नेतृत्व फेरिन सक्छ । त्यस अवस्थामा यस विद्यालयको निरन्तरता कसरी हुनसक्छ ? यसको स्वामित्व ग्रहण गर्छ या गर्दैन भन्ने खालका प्रश्नहरू पनि उठिरहेका छन् । हामीले यसैलाई मध्यनजर गरेर आगामी माघमा “शिक्षाको लागि भिक्षा” भन्ने नारासहित श्रीमद् भागवत ज्ञान महायज्ञ गर्ने तयारी गरेका छौँ”, उनले जानकारी दिँदै भने”, “यसको लागि हामीले समिति गठन गरिसकेका छौँ । वडावडामा प्रचारप्रसार समितिहरू बनाएका छौँ । उक्त ज्ञान महायज्ञले अध्यात्मलाई शिक्षासँग जोड्ने काम गर्ने छ । महायज्ञमा प्राप्त भिक्षा दानबाट यस विद्यालयकाले सञ्चालनमा सहयोग पुर्‍याउन अक्षय कोषको स्थापना गरिने छ ।”

कार्यक्रममा स्वागत भाषण गर्दै गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले यो एकिकृत आवासीय विद्यालयको मोडल विस्तारै अन्य वडाहरूमा पनि लागु गरिने जानकारी दिए । 

tap_bahadur_shrestha-1734065103.jpg
टाप बहादुर श्रेष्ठ, उपाध्यक्ष, बेनीघाट राेराङ गाउँपालिका । 

“हामीले अहिले वडा नम्बर ८ का ६ वटा विद्यालयहरूलाई यस कालिका माविमा एकिकृत गरेर सञ्चालन गर्न लागिरहेका छौँ । यो मोडल यस वडामा मात्रै सीमित रहने छैन । अन्य वडाहरूमा पनि लागु हुने नै ।”, उपाध्यक्ष श्रेष्ठले भने । 

भौगोलिक विकटता र गरिबीका कारण बालबालिकाहरू शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न र शिक्षाको ज्योतिबाट अन्धकार हटाई पिछडिएको समुदायको उत्थान गर्न आवासीय मोडल कोषेढुङ्गा साबित हुनेमा पालिकाका नेतृत्व विश्वस्त रहेको उनले बताए । 

अहिले तत्काल छात्रावास भवन नबनिसकेको हुनाले भुवाभञ्ज्याङमा रहेको श्री सूर्योदय आविको भवनलाई छात्रावासको रूपमा रूपान्तरण गरिएको छ उपाध्यक्ष श्रेष्ठले जानकारी दिए । 

kalika_mavi-(7)-1734065096.jpg
कालिका माध्यमिक विद्याल, विधाङ ।

कार्यक्रममा धादिङका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरू, बेनीघाट रोराङसँग सीमा जोडिएको गण्डकी गाउँपालिका गोरखाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, पालिकाभरिका विद्यालयका प्रअहरु, विभिन्न आमा समूह, क्लब लगायत सामाजिक सङ्घसंस्थाहरू, शिक्षा प्रेमी एवम् स्थानीय समुदायको व्यापक उपस्थिति थियो । 

गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)को सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन गाउँपालिकाका शिक्षा शाखा प्रमुख बोधराज पाठले गरेका थिए । 

kalika_mavi-(12)-1734066308.jpg
कार्यक्रम सञ्चालन गर्दै बाेधराज पाठक । शिक्षा शाखा प्रमुख, बेनीघाट राेराङ गाउँपालिका ।

एकिकृत छात्रावासको उद्घाटन समारोहसँगै सोही वडामा अवस्थित चैलिङ होमस्टेको पर्यटन प्रवर्द्धन पनि गरिएको छ । ग्रामीण पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ नेपाल) ले चैलिङले यस वर्षको घुम्नैपर्ने नेपालका तीन गाउँ गन्तव्यको सूचिमा राखेको छ । नेवार समुदायको बसोबास रहेको चैलिङ गाउँ नेवारी संस्कृति, अर्ग्यानिक खानपान र प्राकृतिक सुन्दरताको लागि प्रख्यात छ । 

chailing_homestay-1734066570.jpg
चैलिङ हाेमस्टे ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update