Everest Face
लैं‌ङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा  बेनीघाट राेराङले के-के गर्याे ? (प्रतिवेदन हेरौँ)

यस वर्षकाे लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान हिजो मङ्सिर २५ गते समापन भएको छ । लैङ्गिक विभेद र हिंसाको अन्त्य गर्दै समतामूलक समाज निर्माण निर्माण गर्ने उद्देश्यले प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म संसारभरि नै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन हुँदै आएको छ । 

यस वर्ष “हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता” भन्ने नाराका साथ नेपालमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमा भने “Towards 30 years of the Beijing Declaration and Platform for Action: Unite to End Violence Against Women” नाराका साथ यो अभियान सञ्चालन गरिएको छ । 

यस अभियान अन्तरगत देशका विभिन्न स्थानीय तहहरू, सामाजिक सङ्घसंस्थाहरूले विविध कार्यक्रमहरू सञ्चालन  गरेका छन् । धादिङको बेनीघाट राेराङ गाउँपालिकाले पनि विविध कार्यक्रमहरूको आयोजना गर्दै १६ दिने अभियान समापन गरेको छ ।  

benighat_rorang-(4)-1733892177.jpg
लैङ्गिक हिंसाकाे अन्त्य गर्न प्रतिवद्धता व्यक्त गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे ।

लैङ्गिक हिंसा विरुद्धको यस १६ दिने अभियानमा बेनीघाट राेराङले के-के गर्याे ? गाउँपालिकाको प्रतिवेदन हेराैँः 

१.  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समुद्घाटन कार्यक्रम वडा नं. ७, चरौँदीमा गा.पा. अध्यक्ष श्री कृष्ण बहादुर थपलीया (विवेक) लगायत स्थानीय जनसमुदायको सहभागितामा दीप प्रज्वलन गरी गरियो ।

२. लैङ्गिक हिंसा विरुद्ध‌को १६ दिने अभियानलाई प्रभावकारी बनाउनको लागि वडा सचिवहरूलाई भर्चुअल माध्यमबाट अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो ।

३.  लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धमा जनप्रतिनिधि, महिला समूह, आमा समूह लगायत महिला रक्षक सञ्जालका प्रतिनिधिहरूको सक्रिय सहभागितामा छलफल तथा अन्तरक्रिया कार्यक्रम यस पालिकाको सभा हलमा गरियो । उक्त छलफलले पालिकाका जनप्रतिनिधि विशेष गरी वडा सदस्य र पालिकाका कर्मचारीमा लैङ्गिक सवालमा संवेदनशीलता अभिवृद्धि भएको विश्वास गर्न गरिएको छ ।

जनचेतनामूलक प्रभात फेरी

लैङ्गिक हिंसा विरुद्ध चेतना जोगाउने उद्देश्यले जनप्रतिनिधिहरू, राजनीतिक दल, सामाजिक अगुवा, कर्मचारी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू, शिक्षक, विद्यार्थी, आमा समूहका पदाधिकारीहरू लगायतको उल्लेखनीय सहभागितामा गाउँपालिकाको कार्यालयबाट सुरु गरिएको थियो र  विशालटार बजार परिक्रमा गरी प्रभात फेरी कार्यक्रम सम्पन्न गरियो ।

निबन्ध प्रतियोगिता

लैं‌ङ्गिक समानता नैसर्गिक अधिकार शीर्षकमा आयोजित माध्यमिक विद्यालय स्तरीय (९-१०) निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्न विद्यार्थीहरू क्रमशः श्री सन्तोषी सुर्खेती (चन्द्रोदय मा.वि. बेनीघाट), उमिद थपलिया (राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुल चरौदी) रोमन श्रेष्ठ (ब्राइट फ्युचर मा.वि. मलेखु) र रोमन श्रेष्ठ (राष्ट्रिय मा.वि. खोरभञ्जयाङ) सफल भएका छन्।

विद्यालयमा लैङ्गिक हिंसा विषयमा पठन पाठन

विद्यालयस्तरदेखि नै बालबालिका तथा किशोर किशोरीमा लैङ्गिक हिंसा सम्बन्धी ज्ञान र सचेतना अभिवृद्धि गर्न यस बेनीघाट रोराङ गाउँपालिकाले मिति २०८१/ ०८/ ०७ गते कक्षा ६ देखि माथिका सबै कक्षामा (पहिलो घण्टी) लैङ्गिक हिंसा सम्बन्धी कक्षा सञ्चालन गर्ने निर्णयअनुसार पालिकाका  सबै विद्यालयहरूलाई सो विषयमा तयार पारिएको सन्दर्भ सामाग्री सहित पत्राचार गरिएको थियो।सो विषयमा विद्यालयको स्टाफ बैठक राखी छलफल गर्न, सो सम्बन्धी थप अध्ययन गर्न र कक्षा सञ्चालनको लागि lesson planning र पठनपाठन सामाग्री निर्माणको लगायतको तयारीको लागि अनुरोध गरिएको थियो।साथै सो विषयमा विद्यार्थीलाई अतिरिक्त एवम् रचनात्मक प्रस्तुति गीत, कविता, संवाद लेखनको लागि प्रोत्साहन गर्न समेत भनिएको थियो।पालिकाको अनुरोधमा विद्यालय स्तरमा समेत विविध क्रियाकलापसहित लैङ्गिक हिंसा सम्बन्धी अभियान सञ्चालन गरिएको छ।

वडा स्तरमा विविध कार्यक्रम

१६ दिने अभियानको सिलसिलामा वडा स्तरमा कार्यक्रम गर्न निर्देशित गरे बमोजिम प्रत्येक वडामा  आमा समूह, विद्यालय, शिक्षक, महिला स्वास्थ्य स्वयम् सेविका लगायतका समाजका अगुवा र अभियन्ता समेतको सहभागितामा विविध कार्यक्रम सञ्चालन भएका छन्। प्रभात फेरी र लैङ्गिक हिंसा न्यूनीकरण र रोकथाम विषयमा लोक गीत प्रतियोगिता, अन्तर्क्रिया  एवम् जनप्रतिनिधि र सरोकारवाला बीच छलफल र संवादका कार्यक्रम सञ्चालन गरिएको छ। यस कार्यमा वडा सचिव तथा वडा अध्यक्षको विशेष सक्रियता एवम् सहभागिता रहेको थियो।

समापन

१६ दिने अभियानको क्रममा पालिकामा तय गरिएको विविध कार्यक्रमको समीक्षा गरी यस अभियानको समापन कार्यक्रम मिति २०८१/०८/२५ गते गाउँपालिका प्राङ्गणमा आयोजना गरियो।कार्यक्रममा महिला अधिकार रक्षक सञ्जालको तर्फबाट सङ्गीता कँडेल दीपाले यस पटकको १६ दिने अभियान रचनात्मक कार्यक्रमसहित सञ्चालन भएको उल्लेख गर्नु भयो। पृथक शैलीमा कार्यक्रम सम्पन्न भएकोमा हर्ष व्यक्त गर्दै महिलाको आर्थिक सशक्तीकरण गर्दै आगामी दिनमा पालिका अगाडि बढ्नु पर्नेमा जोड समेत दिनु भएको थियो।मन्तव्यकै क्रममा वडा नं २ का वडा अध्यक्षले सामान्य घरायसी विवाददेखि लैङ्गिक हिंसाका घटनामा संलग्न रहनुपर्ने र यी विषयको सम्बोधन र समाधान जटिल भएकोले जनप्रतिनिधिलाई विशेष किसिमको तालीम तथा सहायता प्रणालीको व्यवस्था हुनु आवश्यक भएको बेहोरा औँल्याउनु भयो।

अभियानको सबल पक्ष

यस चालू आ.व २०८१ मा १६ दिने अभियान अन्तर्गत सञ्चालित पृथक एवम् विविध कार्यक्रमका सकारात्मक पक्ष तपशिल बमोजिम उल्लेख गर्न सकिन्छ।

१.  सबै कार्यक्रममा वडादेखि गाउँपालिका कार्यालयसम्म यात्रा गर्नु विकटका वडाका लागि समय र लागतको हिसाबले खर्चिलो हुन आउँछ। यसले वडाको सेवा प्रवाह समेत प्रभावित हुन सक्दछ। अतः वडा स्तरमा लैङ्गिक हिंसा सम्बन्धी सञ्चालन गर्ने कार्यक्रमको ढाँचा एवम् अपेक्षित उपलब्धि विषयमा सबै वडा सचिवलाई भर्चुअल माध्यमबाट अनुशिक्षण गरिएको थियो। सेवा प्रवाह र कार्य सम्पादनमा प्रविधिमैत्री बन्दै पालिका यसरी नै अघि बढ्नु पर्दछ।

 २.   वडा नं ६ का वडा सचिव गोकर्ण अर्याल तयारी  सहित स्वयम् पञ्चकन्या मा.वि स्यादुलमा गई लैङ्गिक हिंसा के हो, किन यसको न्यूनीकरण आवश्यक छ लगायतका विषयमा कक्षा लिनु भएको थियो।प्रत्येक वडाका वडा सचिवले जिम्मेवारीपूर्वक आफ्नो वडामा कार्यक्रम सञ्चालन गरेको पाइयो। यस्ता जनचेतनामूलक सामाजिक कार्यक्रममा वडा सचिवको सक्रियताले उनीहरूमा आत्मविश्वास बढेको र यस अभियानप्रतिको अपनत्व भाव बढेको पाइयो।

३.  पालिकाका प्रत्येक वडामा प्रभात फेरी, जनचेतना केन्द्रित लोक सांस्कृतिक कार्यक्रममा उल्लेखनीय जनसहभागिता रहेको थियो। वडा स्तरका कार्यक्रममा किशोरी तथा महिलाले आफ्ना आवाज गीत सङ्गीत मार्फत बुलन्द रूपमा व्यक्त गरेको पाइयो। वडा कार्यालय र वडा अध्यक्ष उनीहरूको लागि आफ्नो आवाज राख्ने केन्द्र बन्न पुग्यो। आफ्ना मुद्दामा महिलाको अग्रसरताले महिला सशक्तीकरणमा टेवा पुराएको छ भन्न सकिन्छ। आमा समूहहरूले गाएका गीत र रचनाले गाउँ घर अनि बजारमा महिलाले भोगिरहेका दुःख पीडा हिंसाका कथा  अनि सुनाए र हिंसा रोकथामको लागि खबरदारी समेत गरे। किशोर तथा विद्यालयका छात्रको समेत सहभागिताले लैङ्गिक हिंसा महिलाको मात्र नभई सबैको समान चासो र चिन्ता रहेको सामाजिक मुद्दा हो भन्ने छाप कलिला बालक अर्थात् भोलिका पुरुषमा परेको पक्षलाई कदर योग्य नै मान्नु पर्दछ।

सुधार गर्न सकिने पक्ष

समापन कार्यक्रममा वडा सचिव, वडा अध्यक्ष लगायत सबै कर्मचारीको उपस्थितिमा गरिएको समीक्षा पश्चात्  तपशिल बमोजिम सुधार आवश्यक छ भनी मनन गरिएको छ।

१.  वडा स्तरमा लैङ्गिक हिंसा र यसको कानुनी उपचार रोकथाम नियन्त्रणको विषयमा विषयगत ज्ञान विज्ञमार्फत वडा सचिव, वडा अध्यक्ष र आम जनसमुदायलाई दिन पनि आवश्यक देखियो। सो को माग स्थानीय महिलाबाट समेत भएको पाइयो।आगामी वर्ष वडा सचिव र वडा अध्यक्ष केन्द्रित यस्ता तालीम राख्न सकिन्छ। तत् पश्चात् स्थानीय आमा समूह, महिला समूह मार्फत तत् विषयमा अनुशिक्षण गर्न सकिन्छ।

२.  महिला तथा किशोरीको लागि १६ दिने अभियानलाई आफ्नो आवाज बुलन्द मनाउने अवसरको रूपमा निरन्तरता दिनु उपयुक्त छ। गीत सङ्गीतलाई आवाज उठाउने माध्यम बनाउन सकिन्छ।पुरुषको समेत यस्ता कार्यक्रममा उतिकै सशक्त सहभागिता सुनिश्चित गर्न आवश्यक छ।

३. लैङ्गिक हिंसा र मानसिक स्वास्थ्य एक आपसमा परिपूरक भएकोले मानसिक स्वास्थ्य प्रवर्धनका विविध कार्यक्रम स्वास्थ्य शाखाबाट सञ्चालन हुनु उपयुक्त हुने महसुस भएको पाइयो।

४. कार्यक्रम सञ्चालन पश्चात् विस्तृत विवरण सहितको प्रतिवेदन सबै वडा कार्यालयले बनाउनु पर्ने र विषयगत यस्ता प्रतिवेदन मासिक प्रतिवेदनको हिस्सा बन्नु पर्दछ।

निष्कर्ष:

यस बेनीघाट रोराङ गाउँपालिकाद्वारा लैङ्गिक हिंसा निवारणलाई विशेष प्राथमिकतामा राखिएको छ। सो सम्बन्धमा निर्वाचित जनप्रतिनिधिको विशेष चिन्ता र चासो रहेको छ। यस आ.व को १६ दिने अभियानको क्रममा सञ्चालित  कार्यक्रममा विविधता, व्यापक जनसहभागिता तथा पृथकता रहेको पाइयो। यद्यपि महसुस गरिएका माथि उल्लिखित सुधार गर्नुपर्ने पक्षलाई आगामी वर्षमा सम्बोधन गर्दै यस किसिमका कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउनु उचित हुनेछ। यस वर्षको अभियानमा समन्वयको भूमिका निर्वाह गर्ने महिला अधिकार रक्षक सञ्जाल, आमा समूह, सहकारी संस्था लगायत सहभागी सबै सरोकारवालमा बेनीघाट रोराङ गाउँपालिका हार्दिक कृतज्ञता व्यक्त गर्दछ र यस्ता कार्यक्रममा सबैको सहभागिता सुनिश्चित गर्दै अघि बढ्ने प्रण गर्दछ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update