तामाङ समुदायको सबैभन्दा ठुलो सांस्कृतिक पर्व २८६१औँ सोनाम ल्होछार (डुक ल्हो) को अवसरमा आगामी माघ १६ र १७ गते धादिङको बेनीघाट रोराङ–१ स्थित थमभञ्ज्याङमा वृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ ।
सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्नको लागि वीर बहादुर तामाङको संयोजकत्वमा नौ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा भुवन नेगी, सदस्यहरूमा राजकुमार तामाङ, हरि बहादुर तामाङ, दिपक तामाङ, फुलमान गोम्बा तामाङ, अस्मिता तामाङ, गोविन्द लामा रहेका छन् ।
धादिङको बेनीघाट रोराङ–१ र मकवानपुरको कैलाश–२ ले संयुक्त रूपमा कार्यक्रमको आयोजना गर्ने भएको छ ।
गत वर्ष २८६०औँ सोनाम ल्होछारको अवसरमा मकवानपुरको कैलाश–२ स्थित डाँफेमुनाल पार्कमा संयुक्त रूपमा मेला आयोजना गरिएको थियो । यस वर्ष धादिङको बेनीघाट रोराङ–१ कार्यक्रम हुने भएको हो ।
सांस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ । स्थानीय कलाकारहरूका साथसाथै ताम्बा, बोम्बो, लामा लगायत स्थानीय सांस्कृतिक झाँकीहरूको प्रस्तुति रहने जनाएको छ ।
सांस्कृतिक कार्यक्रमको सञ्चालनको लागि व्यक्तिगत एवम् संस्थागत दान तथा सहयोगबाट स्रोत व्यवस्थापन गरिने आयोजकले जनाएको छ । कार्यक्रमलाई सभ्य र भव्य ढङ्गले सम्पन्न गर्नको लागि विभिन्न विषयगत उपसमितिहरू पनि गठन गरिएको छ । कार्यक्रमको लागि आवश्यक आर्थिक स्रोत व्यवस्थापनको लागि दुर्ग तामाङको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ । यस समितिको सहसंयोजकमा रामलाल स्याङतन, सदस्यमा सुन बहादुर तामाङ, धन बहादुर तामाङ र जयराम थीङ रहेका छन् ।
त्यसैगरी कार्यक्रमको प्रचारप्रसारको लागि पत्रकार चन्द्र तामाङको संयोजकत्वमा तीन सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ । बाँकी आवश्यक विषयगत समितिहरू केही दिनपछि गठन गरिने छ ।
त्यसैगरी बेनीघाट रोराङ–१ का वडाध्यक्ष जीवन सिं तामाङको संयोजकत्वमा सल्लाहकार समिति पनि गठन गरिएको छ । सल्लाहकार समितिको सदस्यमा कैलाश–२ का वडाध्यक्ष राजेन्द्र घिसिङ, नेकपा एमाले बेनीघाट रोराङ–१ का पार्टी अध्यक्ष सुरेन्द्र तामाङ (मिलन), नेकपा माओवादीका बेनीघाट रोराङ–१ का अध्यक्ष सुरेन्द्र तामाङ, नेपाली काँग्रेस बेनीघाट रोराङ–१ का सभापति लालकुमार लामा, बेनीघाट रोराङ–१ का पूर्व वडाध्यक्ष नन्द प्रसाद तामाङ र नेपाली काँग्रेस बागमती प्रदेश सदस्य श्याम लामा रहेका छन् ।
यस वर्षको सोनाम ल्होछार माघ १७ गते परेको छ । तामाङ समुदायले बोधिसत्त्व मञ्जुश्रीले विकास गरेको चिनिया खगोलशास्त्रमा आधारित चन्द्र पात्रो अनुसार प्रत्येक वर्षको माघ शुक्ल प्रतिपदाको दिनमा सोनाम ल्होछार पर्व मनाउँदै आएका छन् । यस वर्ष गरुड वर्ग (डुक ल्हो) को बिदाइ र (डुल ल्हो) सर्प वर्षको स्वागत गर्दै २८६१औँ सोनाम ल्हाछार मनाउन लागिएको हो ।
बाह्र ल्होखोर अर्थात् बाह्र वटा पशुपंक्षी तथा जीवजन्तुहरूको चक्रका आधारमा प्रत्येक वर्ष फरक फरक पशुपंक्षी तथा जीवजन्तुहरूको स्वागत र बिदाइ गर्दै सोनाम ल्होछार मनाउने गर्दछन् । मुसा वर्ग (जीवा ल्हो) बाट सुरु भई सुँगुर/बँदेल वर्ग (ट्वा/ड्वा ल्हो) मा पुगेर एउटा चक्र पुरा हुन्छ र फेरि त्यही चक्र दोहोरिन्छ ।
किंवदन्ती अनुसार महामानव गौतम बुद्धले दर्शका लागि जीवजन्तुहरूलाई आग्रह गर्दा सबैभन्दा पहिला मुसा आइपुगेकोले मुसाबाट गणना सुरु भएको मान्यता छ । बुद्धको दर्शन गर्न मुसापछि जुनजुन पशुपंक्षी तथा जीवजन्तु गएको थियो सोही क्रमअनुसार गणना गरिएको हो । सबैभन्दा अन्तिममा बँदेल/सुँगुर पुगेको थियो ।
नेपाल लगायत संसारभरि छरिएर रहेका तामाङ समुदायले नयाँ वर्ष एवम् सांस्कृतिक पर्वको रूपमा सोनाम ल्होछार हार्षाेल्लासका साथ मनाउँदै आएका छन् । तामाङ भाषामा ‘ल्हो’ को अर्थ ‘वर्ष’ र ‘छार’ को अर्थ ‘नयाँ’ भन्ने हुन्छ । त्यसैले ल्होछार तामाङ समुदायको नयाँ वर्ष पर्व हो ।
तामाङ समुदाय मात्र नभएर हिमाली बौद्ध धर्मावलम्बी गुरुङ, ह्याेल्माे, शेर्पा, थकाली लगायत समुदायले पनि फरक फरक मितिमा ल्होछार पर्व मनाउने गर्दछन् ।