Everest Face
लैङ्गिक हिंसा अन्त्य गर्न बेनीघाट राेराङकाे प्रतिबद्धताः विविध कार्यक्रमहरूको आयोजना 

धादिङको बेनीघाट राेराङ गाउँपालिकाले पालिकामा लैङ्गिक हिंसाको अन्त्य गर्न विविध कार्यक्रमहरूको आयोजना गरेको छ ।  

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत गाउँपालिकाले लैङ्गिक हिंसा न्यूनीकरणका लागि विविध कार्यक्रमहरूको आयोजना गरेको हो । 

"हामी सबैको प्रतिबद्धता: लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता" भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान गत साेमबारदेखि सुरु भएको छ । 

लैङ्गिक रूपमा हुने हिंसा नियन्त्रणको लागि विश्वव्यापी अभियानको रूपमा लिइने यो दिवस मङ्सिर १० देखि सुरु भएर मङ्सिर २५ अर्थात् नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने गरिन्छ ।

"हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता" भन्ने मूल नारालाई आत्मसात् गर्दै बेनीघाट राेराङ गाउँपालिकाले मङ्सिर १० गते वडा नम्बर ७ स्थित चराैँदीमा दीप प्रज्वलन गर्दै अभियानको उद्घाटन गरेको थियो । 

गाउँपालिकामा लैङ्गिक हिंसाको अन्त्य गर्नका लागि विविध कार्यक्रमहरूको आयोजना गरिएको गाउँपालिकाका सूचना अधिकारी परशुराम घिमिरेले जानकारी दिए । लैङ्गिक हिंसाको अन्त्य गर्नका लागि समाजका सबै पक्ष उत्तिकै जिम्मेवार बन्नुपर्ने घिमिरेले बताए । 

parshuram_ghimire--1732791639.jpg
परशुराम घिमिरे, सूचना अधिकारी, बेनीघाट राेराङ गाउँपालिका ।

"लैङ्गिक हिंसाको अन्त्य गर्न पहिलो 'म' बाट सुरु गर्नुपर्छ । 'म हिंसा गर्दिनँ र हिंसा गरे सहन्न' भन्ने सोच सबैले राख्नुपर्छ । अनि मात्रै लैङ्गिक हिंसारहित समाजको परिकल्पना गर्न सकिन्छ", उनले भने । 

यसै अभियान अन्तरगत आज लैङ्गिक हिंसाको अन्त्यका लागि वडा स्तरमा आयोजना गर्न सकिने कार्यक्रमहरूबारे सबै वडाका सचिवहरूलाई भर्चुअल माध्यमबाट अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । 

त्यसै गरी भोलि मङ्सिर १४ गते सबै वडाका जनप्रतिनिधिहरूसहितकाे सहभागितामामा लैङ्गिक हिंसा अन्त्य गर्ने विषयमा वृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । 

मङ्सिर १७ गते पालिकाका विद्यालयहरूमा विद्यार्थीहरूलाई लैङ्गिक हिंसा, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, लैङ्गिक हिंसाको अन्त्य गर्न सम्बन्धित पक्षहरूले खेल्नुपर्ने भूमिका, लैङ्गिक हिंसाको अन्त्य गर्नका लागि सञ्चालन गर्न सकिने कार्यक्रमहरू लगायत विषयमा कक्षा सञ्चालन गरिने भएको छ । यस कार्यक्रमको लागि गाउँपालिकाले लैङ्गिक हिंसा र यस विरुद्धको १६ दिने अभियानबारे सामाग्रीहरू तयार पारेको र कक्षा सम्बन्धित विद्यालयका शिक्षकहरूले नै सञ्चालन गरिने गाउँपालिकाका उद्यम विकास सहजकर्ता निर्जला मगरले जानकारी दिइन् । 

nirjala_magar-(1)-1732791795.jpg
निर्जला मगर, उद्यम विकास सहजकर्ता, बेनीघाट राेराङ गाउँपालिका । 

त्यसै गरी मङ्सिर २० गते अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसर समेत पारेर पालिकाभरिका स्वयमसेवीकाहरू, जनप्रतिनिधि, कर्मचारी एवम् नागरिक समाजका अगुवाहरूको उपस्थितिमा लैङ्गिक हिंसा विरुद्ध जनचेतना जगाउन प्रभातफेरि कार्यक्रमको आयोजना गरिएको छ । प्रभातफेरि बेनीघाट राेराङ गाउँपालिकाको कार्यालयबाट सुरु भई विशालटारस्थित चन्द्रोदय माविको प्राङ्गणमा पुगेर समाप्त हुने छ । 

मङ्सिर १८ गते देखि २३ गतेसम्म प्रत्येक वडामा लैङ्गिक हिंसा विरुद्ध आ-आफ्नै ढङ्गले विविध कार्यक्रमहरूको आयोजना हुने भएको छ । वडा स्तरमा गर्न सकिने कार्यक्रमहरूबारे सचिवहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ । 

त्यसै गरी यस अभियान अन्तरगत मावि स्तरीय निबन्ध लेखन प्रतियोगिताको पनि आयोजना  गरिने भएको छ । मङ्सिर २३ गते पालिकाका १२ वटै माविका विद्यार्थीहरूबीच निबन्ध लेखन प्रतियोगिता हुने छ । प्रतियोगिताको लागि प्रत्येक माविबाट एक छात्रा र एक छात्र गरी दुई दुई जनाले सहभागिता जनाउन पाइने गाउँपालिकाले जनाएको छ । 

डिसेम्बर १० अर्थात् मङ्सिर २५ गते बिहान १० बजे गाउँपालिकाको कार्यालयमा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूको उपस्थितिमा अभियानको समापन गरिने गाउँपालिकाले जनाएको छ । 

यस वर्षको १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले "हामी सबैको प्रतिबद्धता: लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता" भन्ने राष्ट्रिय नारा तय गरेको छ । 

यस्तै, अन्तर्राष्ट्रिय नारा भने बेइजिङ घोषणापत्र र कार्यान्वयनको ३० वर्ष: महिला विरुद्धको हिंसा अन्त्यका लागि एकजुट बनौँ भन्ने रहेको छ ।

तस्बिरः नेना तामाङ/एभरेष्ट फेस 

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update