धादिङको बेनीघाट रोराङको छैटौँ राष्ट्रपति रनिङ शिल्ड तथा मजदुर सहिद वृहत् खेलकुद प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ ।
कार्तिक २५ गतेबाट सुरु भएको वृहत् खेलकुद प्रतियोगिता हिजो कार्तिक ३० गते विशालटारस्थित चन्द्रोदय माध्यमिक विद्यालयको प्राङ्गणमा भव्य समारोह बीच सम्पन्न भएको हो ।
कवि एवम् साहित्यकार डा. नवराज लम्सालको प्रमुख आतिथ्ययतामा यस वर्षको प्रतियोगिता सम्पन्न गरिएको हो ।
यसै अन्तरगत चौथो अध्यक्ष कप क्रिकेट प्रतियोगिता र पाँचौँ मदन भण्डारी स्मृति कप फुटबल प्रतियोगिता पनि सम्पन्न भएको छ ।
बेनीघाट रोराङमा गाउँपालिकाले विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूलाई खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नको लागि पालिका स्तरीय खेलकुद प्रतियोगिताको आयोजना गरिएको हो ।
हर्कपुर माविले जित्यो छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
बेनीघाट रोराङ गाउँपालिकाको छैटौँ राष्ट्रपति रनिङ शिल्ड माध्यमिक विद्यालयले जितेको छ । पालिकाको वडा नम्बर-४ मा अवस्थित हर्कपुरले १५ स्वर्ण, ११ रजत र ५ कास्य सहित ३१ पदक पोल्टामा पार्दै प्रतियोगितामा प्रथम स्थान हासिल गरेको हो ।
अघिल्लो प्रतियोगितामा विजय हासिल गरेको वागेश्वरी माविले ११ स्वर्ण, ७ रजत, ४ कास्य गरी जम्मा २६ पदकसहित पोल्टामा पार्दै द्वितीय स्थान हासिल गरेको छ । चन्द्रोदय माविले ५ स्वर्ण, ९ रजत, ९ कास्य गरी जम्मा २३ पदकसहित तृतीय स्थान हासिल गरेको छ ।
त्यसैगरी ब्राइट फ्यूचर माविले ४ स्वर्ण, ६ रजत गरी जम्मा १ पदकसहित चौथो र पिपल भञ्ज्याङ माविले ३ स्वर्ण, २ रजत, १ कास्य गरी जम्मा ६ पदकसहित पाँचौँ स्थान प्राप्त गरेका छन् ।
बाँसखर्क मावि १ स्वर्ण, १ रजत, ९ कास्य गरी जम्मा ९ पदकसहित छैटौँ, कालिका मावि १ स्वर्ण २ रजत, ५ कास्य गरी जम्मा ८ पदक २ सातौँ, चन्द्रोदय मावि १ स्वर्ण, ३ रजत, १ कास्य गरी जम्मा ५ पदकसहित आठौँ, शंखादेवी मावि १ स्वर्ण, ३ कास्य गरी जम्मा ४ पदकसहित नवौँ, राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुल र राष्ट्रिय मावि १/१ कास्यसँगै जम्मा १/१ पदक जित्दै दसौँ स्थानमा छ । पञ्चकन्या मावि पदकविहीन बनेको छ ।
प्रतियोगितामा पालिकाका १२ वटै माध्यमिक विद्यालयहरूले सहभागिता जनाएका थिए ।
वागेश्वरी माविले जित्यो पाँचौँ मदन भण्डारी कप फुटबल प्रतियोगिता
छैटौँ राष्ट्रपति रनिङ शिल्ड तथा मजदुर सहिद वृहत् खेलकुद प्रतियोगिता अन्तरगत सञ्चालित पाँचौँ मदन भण्डारी कप फुटबल प्रतियोगिता वागेश्वरी मावि रिचोक्टारले जितेको ।
प्रतियोगितामा शंखादेवी मावि, मझिमटारले द्वितीय स्थान हासिल गरेको छ भने ब्राइट फ्यूटर इङ्लिस बोर्डिङ स्कुल, मलेखुले तृतीय स्थान प्राप्त गरेको छ ।
यस प्रतियोगितामा वागेश्वरी मावि रिचोक्टार, शंखादेवी मावि मझिमटार, ब्राइट फ्यूचर इङ्लिस बोर्डिङ स्कुल मलेखु, राष्ट्रिय मावि खोरभञ्ज्याङ, चन्द्रोदय मावि विशालटार, पीपलभञ्ज्याङ मावि वरडाँडा, चन्द्रोदय मावि बेनीघाट र राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुल चरौँदी गरी ८ वटा विद्यालयका खेलाडी÷विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए ।
चन्द्रोदय मावि विशालटारले जित्यो चौथो अध्यक्ष कप क्रिकेट प्रतियोगिता
वृहत् खेलकुद प्रतियोगिता अन्तरगत सञ्चालित चौथो अध्यक्ष कप क्रिकेट प्रतियोगिता चन्द्रोदय मावि विशालटारले हात पारेको छ । यस क्रिकेट प्रतियोगितामा ब्राइट फ्यूचर इङ्लिस बोर्डिङ स्कुलले दितीय स्थान प्राप्त गरेको छ ।
क्रिकेट प्रतियोगितामा चन्द्रोदय मावि विशालटार, ब्राइट फ्यूचर इङ्लिस बोर्डिङ स्कुल मलेखु, राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुल चरौदी, वागेश्वरी मावि रिचोक्टार, शंखादेवी मावि मझिमटार, चन्द्रोदय मावि बेनीघाट गरी ६ वटा विद्यालयका खेलाडी÷विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए ।
कार्यक्रममा कसले के भने ?
वृहत् खेलकुद प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि, कवि एवम् साहित्यकार डा. नवराज लम्सालले खेलकुद प्रतियोगिता भव्यताका साथ सम्पन्न गरेकोमा बधाई दिँदै बेनीघाट रोराङ गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारीहरूको मुक्तकण्ठले प्रशंसा गरे ।
“यस बेनीघाट रोराङ गाउँपालिकाले धादिङको शान बढाएको छ । एकपछि अर्को गर्दै नयाँ नयाँ कीर्तिमान र उपलब्धिहरू हासिल गरिरहेको देख्छु”, गाउँपालिकाको प्रशंसा गर्दै साहित्यकार डा. लम्सालले भने, “बेनीघाट रोराङ देशभरिका स्थानीय तहमध्ये शून्य बेरुजू भएको गाउँपालिका बन्नु, स्थानीय तह स्वमूल्याङ्कनमा देशकै प्रथम हुनु हामी धादिङवासीका लागि गौरवको कुरा हो ।”
मदन पुरस्कार विजेता समेत रहेका कवि एवम् साहित्यकार डा लम्सालले बेनीघाट रोराङले सुशासन कायम गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद, सामाजिक एवम् भौतिक विकास लगायत पालिकाको सर्वाङ्गीण विकासमा उदाहरणीय काम गरिरहेको बताए ।
डा. लम्सालले पालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) एक त्यागी र भिजनरी लिडर भएको बताए ।
“म देशभरिका विभिन्न ठाउँहरूमा पुगिरहेको हुन्छु । यतिको युवा, जोस–जाँगर भएको अनि भिजनरी लिडर मैले अन्त देखेको छैन । कृष्ण बहादुर थपलियाज्यूलाई अध्यक्षको रूपमा पाउँदा यहाँका जनताले पक्कै गर्व गर्नुपर्छ”, डा. लम्सालले भने, “उहाँलाई भोलि के हुन्छ भन्ने चिन्ता छैन । भोलि आफू हारिन्छ या जितिन्छ त्यो पनि मतलब छैन । वास्तवमा उहाँलाई भविष्यको चिन्ता छैन । वस, आज राम्रो गरौँ भन्ने छ । वर्तमानमा सत्कर्म गर्दै जिउन जान्नुभएको छ ।”
पालिकाकाले विभिन्न नयाँ नयाँ भिजन, योजना र कार्यक्रमहरू अघि सार्दै तिनलाई सफलतापूर्वक सम्पन्न गर्नुमा पालिकाको राजनीतिक नेतृत्वसँगै कर्मचारी प्रशासनको पनि उतिकै भूमिका रहेको डा. लम्सालले बताए ।
“बेनीघाट रोराङ देशकै नमुना पालिका बन्नु र बनाउनुमा यहाँको राजनीतिक नेतृत्व र राष्ट्रसेवक कर्मचारी प्रशासनको राम्रो ट्युनिङको भूमिका छ”, डा. लम्सालले भने, “पालिकाको हाकिम नर्बदा म्याम योङ अनि इनर्जेटिक हुनुहुन्छ । शिक्षा हाकिम बोधराज सर, अनि सन्तोष सरहरू, परशुराम सरहरू सबै एकदमै सक्षम अनि जोस जाँगरले युक्त हुनुहुन्छ ।”
नेपालको साहित्यिक नक्षत्रको एक ताराको रूपमा चम्किरहेका कवि एवम् साहित्यकार लम्सालले आफूले अहिलेसम्म कुनै पनि राजनीतिक दल वा विचारको खोल नओढेको र भविष्यमा पनि नओढ्ने बताए । आफू एक कवि एवम् साहित्यकार भएकाले साहित्यिक व्यक्तिकै रूपमा बाँच्ने उनले बताए ।
“यहाँको पालिका प्रमुख, राजनीतिक व्यक्तिको प्रशंसा गरिरहँदा मलाई राजनीतिक रङ्गले नहेर्नुहोला । मैले अहिलेसम्म कुनै पार्टी वा विचारको खोल ओढेको छैन”, डा. लम्सालले भने, “म एक कवि हुँ । पुरानो कोट लगाएर भए पनि कविता मात्रै भनिरहन्छु ।”
कार्यक्रममा डा. लम्सालले शिक्षालाई कसरी जीवनोपयोगी बनाउने, असल नागरिकको उत्पादन कसरी गर्ने, असल नागरिक कसरी बन्ने, शैक्षिक गुणस्तरको अभिवृद्धि गर्न शिक्षक, विद्यार्थी, अभिभावक, राजनीतिक नेतृत्व, स्थानीय सरकारको भूमिका लगायत विविध विषयमा लामो प्रवचन दिएका थिए ।
कार्यक्रमका सभापति एवम् गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले वृहत् खेलकुद प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको घोषणा गर्दै प्रतियोगिता सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।
प्रतियोगितामा हार र जीत अवश्यम्भावी भएको बताउँदै जित्नेले खुसी हुने र हार्नेले दुखी हुनेभन्दा पनि हारजित हुने दुवै पक्षले खुसी हुनुपर्ने अध्यक्ष थपलियाले बताए ।
उनले भने, “प्रतियोगितामा हारजित हुन्छ । जित्नेले खुसी हुने र हार्नेले दुखी हुने होइन । दुवैले खुसी हुनुपर्छ । हामी हारजित हुने दुवैले खुसी हुने खालको समाज र सामाजिक चेतनाको अभिवृद्धि गराउन लागिपरेका छौँ ।”
अध्यक्ष थपलियाले गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको पालिकाको शैक्षिक उन्नयनका लागि सबै खालका प्रयासहरू गरिरहेको बताए । भौगोलिक विकटताका कारण कतिपय विद्यार्थीहरूले घण्टौँ अप्ठ्यारा बाटो पार गरेर विद्यालय आवतजावत गर्नुपर्ने र कतिपय अभिभावकहरूले आर्थिक अभावका कारण बालबालिकालाई विद्यालय पठाउन समेत नसक्ने अवस्था रहेको विषयलाई मध्यनजर गर्ने एकीकृत आवासीय विद्यालयको अवधारणा अघि सारिएको बताए ।
अध्यक्ष थपलियाले भने, “हाम्रो पालिका भौगोलिक विविधतासँगै विकटता पनि छ । गाउँ बस्तीहरू पाखा पखेराहरूमा छरिएका छन् । विद्यार्थीहरू विद्यालय आउजाउ गर्न पनि कठिन छ । कतिपय अभिभावहरूले आर्थिक अभावका कारण केटाकेटीलाई विद्यालय पठाउन पनि नसक्ने अवस्था छ । त्यसैले हामीले विद्यालयहरूलाई मर्ज गरेर निःशुल्क आवासीय सुविधासहितको एकीकृत विद्यालय बनाउने योजना अघि सारेका छौँ ।”
पालिकामा सुशासन कायम गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधारहरूको विकास गर्दै पालिकावासीको सामाजिक एवम् आर्थिक विकास गर्न आफू लागिपरेको उनले बताए ।
समृद्ध गाउँपालिका बनाउन र पालिकावासीलाई सुखी र खुसी बनाउन कुनै कसरत बाँकी नराख्ने अध्यक्ष थपलियाले बताए ।
अध्यक्ष थपलियाले आफू अत्यन्तै निम्न वर्गबाट आएको हुनाले आफूले निम्न वर्गको दुःख, पिडा, अभावलाई महसुस गर्न सक्ने र सो वर्गको उत्थानकै लागि आफूले जीवन समर्पण गर्ने बताए ।
अध्यक्ष थपलियाले भने, “म एक सामान्य निम्न वर्गीय परिवारबाट आएको हुँ । म ती वर्गको सबै खाले पिडाहरू, अभावहरू नजिकबाट बुझ्न सक्छु । म उहाँहरूको जीवनको उत्थानका लागि आफूलाई समर्पित गर्न चाहन्छु ।”
समापन समारोह कार्यक्रमको सञ्चालन गाउँपालिकाका शिक्षा शाखा प्रमुख बोधराज पाठकले गरेका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरेले स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी एवम् शिक्षक/शिक्षिकाहरूले नाचगान प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पालिकाभरिका १२ वटै माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी, विव्यस, पालिकाका सम्पूर्ण वडाका जनप्रतिनिधि, कर्मचारी, खेलप्रेमीहरू गरी एक हजार पाँच सय भन्दा बढीको उपस्थिति थियो ।
अन्य तस्बिरहरूः