Everest Face
बेनीघाट राेराङले प्रहरीलाई हस्तान्तरण गर्याे विपद् उद्धार सामाग्री 

धादिङको बेनीघाट राेराङ गाउँपालिकाले पालिकाभित्रका प्रहरी कार्यालयहरूलाई विपद् उद्धार सामाग्री हस्तान्तरण गरेको छ । 

विपद्को समयमा उद्धार गर्नका लागि न्यूनतम स्रोत तथा सामाग्रीहरू समेत अभाव भएको भन्ने प्रहरी कार्यालयहरूको गुनासो आएको भन्दै त्यसलाई सम्बोधन गर्न उद्धारका सामाग्रीहरू हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ । 

आज गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै उद्धार सामाग्रीको वितरणसँगै विपद्को समयमा ज्यानको प्रवाह नगरी नागरिकको सुरक्षामा खटिने प्रहरीलाई धन्यवाद ज्ञापन गरेको गाउँपालिकाका प्रवक्ता रोशन कुमार सिलवालले जानकारी दिए । 

"सुरक्षा व्यवस्था चुस्त, दुरुस्त बनाई नागरिकको जिउ धनको रक्षा गर्ने राज्यको दायित्व कार्यान्वयनको लागि खटिएका प्रहरी (ट्राफिक सहित)ले साबेल, पिक, सुतरीको डोरी को सहयोगले पहिरोको कारण ढलेका रुख काटी राजमार्ग पन्छाउन तथा विविध कारण बिग्रेका वा दुर्घटनामा परी बाटोमा फसेका गाडीलाई तानी राजमार्गको अवरोध हटाउन आवश्यक उपकरण लगायतका सामान्य बन्दोबस्तीको सामाग्री विना नै कार्य सम्पादन गर्नुपर्ने बाध्यता रहेको बेहोराले हामीलाई चिन्तित बनाएको थियो", गाउँपालिकाले जारी गरेको प्रेस नोटमा भनिएको छ, "यस अवस्थाको जानकारीले सुरक्षा र विपद् पूर्व तयारी र प्रतिकार्यको हाम्रो समग्र अवस्था मूल्याङ्कन गर्ने मौका समेत प्राप्त भयो जसले हामीलाई स्तब्ध बनाएको छ ।"

प्रहरी इन्चार्जहरूलाई उद्धार तथा बन्दाेबस्तीका सामाग्रीहरू हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले सुरक्षा कार्यमा अत्यावश्यक बन्दोबस्तीका न्यूनतम सामाग्री हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको बताए ।

Benighat-'-(1)-1728391278.jpg
प्रहरीलाइ उद्धार सामाग्री हस्तान्तरण गर्दै अध्यक्ष कृष्ण बहादुर थपलिय

उद्धार र बन्दोबस्तीको सामाग्रीको उपलब्धताले सुरक्षा व्यवस्थापनमा थप सघाउ पुग्ने विचार व्यक्त गर्दै अध्यक्ष थपलियाले सरुवा भएर जाने क्रममा प्रहरी इन्चार्जद्वारा यी सामाग्री समेतको उचित बरबुझारथ हुनुपर्ने बताए । 

यसैगरी वडा नं ४ का वडाध्यक्ष राजु बहादुर मगरले प्रहरीले सामना गर्नुपरेको अभावको जानकारी पाउने बित्तिकै विपद् लगायतका आकस्मिक रूपमा खटिने प्रहरी बन्दोबस्तीका सामाग्री विनै बर्दी मात्र लगाएर सडकमा उत्रनु हुँदैन भन्ने महसुस गरी बेनीघाट रोराङ गाउँपालिकाले प्रदर्शन गर्न सकेको द्रुत कार्यसम्पादनप्रति आफूलाई जनप्रतिनिधिको रूपमा गर्व लागेको बताए।

बन्दोबस्तीको सामाग्री सहयोग लगायतका सुरक्षाका विषयमा निरन्तर संवाद र छलफल गरी गाउँपालिकाले सहकार्यको वातावरण निर्माण गरेको तथा अभिभावकत्व लिएकोमा भन्दै उपस्थित प्रहरी इन्चार्जहरूले गाउँपालिका जनप्रतिनिधि तथा कर्मचारीप्रति कृतज्ञता व्यक्त गरेका छन् । 

 

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update