Everest Face

धादिङको बेनीघाट रोराङ गाउँपालिकाले संविधान दिवस र राष्ट्रिय शिक्षा दिवसको अवसरमा ‘शैक्षिक सम्मान समारोह–२०८१’ भव्यताका साथ सम्पन्न गरेको छ ।

गाउँपालिकाले संविधान दिवसको दिन (हिजो) असोज ३ गते बेनीघाट रोराङ–३ मलेखुस्थित बागेश्वरी माविको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गर्दै संविधान दिवस र राष्ट्रिय शिक्षा दिवस मनाएको हो । 

बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)को सभापतित्व, बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्री एवम् धादिङ–१ का सङ्घीय सांसद राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यता र बागमती प्रदेश सदस्य मायादेवी शर्माको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

benighat--(28)-1726826566.jpg
संविधान दिवस तथा राष्ट्रिय शिक्षा दिवसकाे अवसरमा आयोजित शैक्षिक सम्मान समारोह ।

गाउँपालिकाले संविधान दिवस र राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित सम्मान समारोह कार्यक्रममा पालिकाभित्रका विद्यालयहरूबाट शैक्षिक सत्र २०८०/८१ को परीक्षामा एसईई, कक्षा १२, आधारभूत तह, कक्षा पाँच र कक्षा ३ मा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यालयहरू (सामुदायिक र निजी दुवै), उत्कृष्ट अङ्क प्राप्त गर्न सफल विद्यार्थीहरू, उच्चतम अङ्कसहित विद्यार्थी उत्तीर्ण गराउन सफल विषयगत शिक्षक/शिक्षिकाहरू, विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू लगायत तीनसय जना भन्दा बढीलाई नगद, प्रमाणपत्र र दोसल्लासहित सम्मानित गरेको छ । 

benighat--(9)-1726826566.jpg
कार्यक्रममा प्रमुख अतिथि सांसद राजेन्द्र प्रसाद पाण्डेबाट सम्मान पत्र ग्रहण गर्दै एक शिक्षिका ।

त्यसैगरी राष्ट्रिय शिक्षा दिवसको सन्दर्भमा गाउँपालिकाले विद्यालयहरूबीच आयोजना गरेको लोकदोहोरी प्रतियोगिता, शिक्षक हाजिरी जवाफ प्रतियोगिता लगायत प्रतियोगिताका विजेताहरूलाई पनि पुरस्कृत गरेको छ । साथै पालिकाका उत्कृष्ट कार्य सम्पादन गर्ने तीन जना कर्मचारीहरूलाई पनि सम्मानित गरेको छ ।   

कार्यक्रमका प्रमुख अतिथि सांसद राजेन्द्र प्रसाद पाण्डेले नेपालको वर्तमान संविधानबारे ब्रिफिङ गर्दै यो संविधान विश्वकै उत्कृष्ट र समावेशी संविधान भएको बताए । 

benighat--(17)-1726825346.jpg
कार्यक्रममा बाेल्दै सांसद राजेन्द्र प्रसाद पाण्डे (धादिङ-१)

“आज हामी संविधान दिवस मनाउँदै छौँ । संविधान दिवस मनाइरहँदा संविधानबारे केही कुरा भन्नैपर्छ । २०७२ सालमा संविधानसभाबाट जारी भएको यो संविधान विश्वकै उत्कृष्ट र समावेशी संविधान हो । यस संविधानले लैङ्गिक समानता कायम गर्न महिलालाई ३३ प्रतिशत अनिवार्य प्रतिनिधित्वको व्यवस्था गरेको छ”, बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्री समेत रहेका सांसद पाण्डेले भने, “पिछडिएका, अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्वको लागि समानुपातिक समावेशी प्रणालीमार्फत नेतृत्वमा पुर्‍याउने व्यवस्था पनि यस संविधानले गरेको छ ।” 

लोकतन्त्रमा जनताद्वारा निर्वाचित प्रतिनिधिहरूले नेतृत्व गर्ने भए पनि निर्वाचित भएर कहिल्यै नेतृत्वमा पुग्न नसक्ने अल्पसङ्ख्यक समुदायलाई समेत स्वतः नेतृत्वमा पुग्ने व्यवस्था यस संविधानले गरेको उनले बताए । “प्रत्येक वडा सरकारमा दलित र महिलाको अनिवार्य प्रतिनिधित्वको व्यवस्था यसको उदाहरण हो । त्यसैले यो विश्वकै उत्कृष्ट संविधान हो ।”, उनले भने ।  

संविधानको कार्यान्वयनमा सबै तहका सरकार, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी लगायत विभिन्न पेशागत क्षेत्रका नागरिकहरूको उत्तिकै भूमिका हुने उनले बताए । 

शिक्षकहरूको अनुशासनमाथि प्रश्न !

राष्ट्रिय शिक्षा दिवसको सन्दर्भमा बोल्दै सांसद पाण्डेले शिक्षक÷शिक्षिकाहरू शिक्षाको ज्योति छर्दै समाजको भविष्य कोर्ने महान् योद्धाहरू भए पनि अहिलेका शिक्षक/शिक्षिकाहरूको अनुशासनमा प्रश्न चिन्ह खडा भएको बताए । 

“शिक्षकहरूले अनुशासन सिकाउनुपर्छ, तर आफैँ अनुशासित भएन भने के सिकाउने ?”, सांसद पाण्डेले प्रश्न गर्दै भने, “मैले पनि गजुरीको आदर्श स्कुलमा ९ वर्ष पढाएको हुँ । हामीले पढाएका विद्यार्थीहरू अनुशासित पनि छन् । उनीहरू अहिले विभिन्न क्षेत्रमा स्थापित भएका छन् । तर अहिले शिक्षकहरूमा नै अनुशासनको कमी हुँदै गएको हो कि जस्तो लाग्छ ।”

benighat--(27)-1726825215.jpg
कार्यक्रममा सहभागी शिक्षकहरू ।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षा, शिक्षा सम्बन्धी ऐन कानुन, शिक्षण पद्धति, शिक्षकका हक अधिकार र कर्तव्य, शैक्षिक गुणस्तर र विद्यार्थी जस्ता विषयहरूमा छलफल हुने भएकाले शिक्षकहरूले अनिवार्य रूपमा कार्यक्रम अवधिभर बस्नु र सुन्नुपर्ने तर शिक्षकहरूले त्यसो नगरेको सांसद पाण्डेले गुनासो पोखे । 

“शिक्षा सम्बन्धी ऐन संशोधन गर्नुपर्ने शिक्षकहरू माग छ । तर उहाँहरू आफैँ कार्यक्रममा बस्नुहुन्न, सुन्नुहुन्न, फेरि बानेश्वरको सडकमा गएर छाता ओढेर नाराबाजी गर्नुपर्ने दिन आउँछ । आफ्ना हक अधिकारबारे के कस्तो ऐन कानुन बन्दै छ भन्ने थाहा पाउन हामीलाई सुन्नु पर्‍यो नि । एक जना म पनि हुँ कानुन बनाउने । मलाई तपाईँहरूले त्यो ठाउँमा पुर्‍याइदिनुभएको छ ।”

विशेषतः शिक्षक, विद्यार्थी, विद्यालय र विव्यस समेतलाई सम्मान गर्नका लागि कार्यक्रमको आयोजना गरिएको हो । तर, कार्यक्रम सञ्चालन हुँदै गर्दा शिक्षकहरू कार्यक्रममा भन्दा पनि एकअर्कासँग गफिन र कार्यक्रमस्थलबाट बाहिर जाने÷आउने क्रम चलिरहेपछि प्रमुख अतिथि समेत रहेका सांसद पाण्डेले उनीहरूको अनुशासनमाथि प्रश्न उठाएका हुन् । 

कार्यक्रम जारी हुँदाहुँदै सम्मानपत्र थापेपछि शिक्षकहरू आ–आफ्नै सुरमा भटाभट बाहिर निस्किन थालेपछि गाउँपालिकाका शिक्षा शाखा प्रमुख समेत रहेका कार्यक्रम सञ्चालक बोधराज पाठकले पटक–पटक सजग गराइरहेका थिए । 

benighat--(10)-1726827138.jpg
बाेधराज पाठक, शिक्षा शाखा प्रमुख, बेनीघाट राेराङ गाउँपालिका ।

“तपाईँ शिक्षकहरूको सम्मानको लागि कार्यक्रमको आयोजना गरिएको हो । तपाईँहरू कार्यक्रम अवधिभर बस्नैपर्छ । यसरी बाहिर निस्किन पाउनुहुन्न”, शिक्षकहरूलाई कार्यक्रमस्थलमा बस्न आग्रह गर्दै प्रमुख पाठकले भने, “तपाईँहरू को–को बाहिर जाँदै हुनुहुन्छ हामीलाई थाहा छ । तपाईँहरू सम्मानपत्र थापेर यसरी बाहिर जान पाउनुहुन्न । सबैतिरबाट क्यामेराले खिच्दै छ । हामी चिनिहाल्छौँ ।”

त्यसैगरी कार्यक्रमका विशेष अतिथि बागमती प्रदेश सदस्य मायादेवी शर्माले शिक्षा जीवनको ज्योति भएकोले शिक्षालाई नै जोड दिनुपर्ने बताइन् । घरमा पुरुष शिक्षित हुँदा एक जना मात्रै शिक्षित हुने र महिला शिक्षित हुँदा सबै परिवार र सन्तान सबै शिक्षित हुने भएकाले महिला शिक्षामा जोड दिनुपर्ने उनले बताइन् । 

Mayadevi_sharma-1726827385.jpg
मायादेवी शर्मा, बागमती प्रदेश सदस्य ।

“घरमा पुरुष शिक्षित हुँदा एक्लै शिक्षित हुन्छ, तर एक जना महिला शिक्षित हुँदा सबै परिवार शिक्षित हुन्छ । त्यसैले महिला शिक्षामा जोड दिनुपर्छ । आज महिलाहरू पनि उतिकै अगाडि बढेका छन् । यहाँ कार्यक्रममा पनि शिक्षकहरूभन्दा शिक्षिकाहरू धेरै देखिराखेको छु । यो निकै खुसीको कुरा हो ।”, उनले भनिन् ।

शिक्षालाई सीपसँग जोड्न सके कोही पनि शिक्षित मानिस बेरोजगार हुनु नपर्ने उनले बताइन् । बेनीघाट रोराङले शिक्षालाई सीपसँग जोड्ने कार्यमा पनि अघि बढिरहेको देख्न आफूलाई खुसी लागेको शर्माले बताइन् । 

“बेनीघाट रोराङले शिक्षामा फड्को मारेको देख्दा खुसी लागेको छ । जिल्लाकै उत्कृष्ट नतिजा ल्याउने विद्यालय, विद्यार्थी यहाँ छन् । शिक्षालाई सीपसँग जोड्न र विद्यार्थीहरूलाई थप सिर्जनात्मक बनाउन ‘बेकारबाट आविष्कार’ जस्ता कार्यक्रमहरू सञ्चालन गरेको छ । यो सराहनीय कार्य हो ।”, पालिका सरकारको प्रशंसा गर्दै शर्माले भनिन् ।

बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले नेपालको संविधान २०७२ को निर्माण, यसमा भएका व्यवस्थाहरू र कार्यान्वयनको चरण र अवस्थाबारे जानकारी दिँदै यस संविधानलाई संस्थागत गर्नको लागि गाउँपालिका लागि परेको बताए । 

benighat--(19)-1726825258.jpg
टाप बहादुर श्रेष्ठ, उपाध्यक्ष, बेनीघाट राेराङ गाउँपालिका ।

नेपालको नयाँ संविधानको एउटा अङ्गको रूपमा स्थानीय सरकार निर्माण भएकोले संविधान र संवैधानिक व्यवस्थाहरूको कार्यान्वयन गर्दै जनताको सर्वाङ्गीण विकासमा लाग्नु स्थानीय सरकारको कर्तव्य भएको उपाध्यक्ष श्रेष्ठले बताए । 

उपाध्यक्ष श्रेष्ठले संविधानको कार्यान्वयनका लागि सबै राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजका अगुवा, हरेक पेशा र क्षेत्रका नागरिकहरूले साझा सङ्कल्प तयार पार्नु आजको टड्कारो आवश्यकता भएको बताए । 

“संविधानले दिएको हक अधिकारको उपयोग गर्दै र संविधानले निर्दिष्ट गरेका कर्तव्यहरूको पालना गराउँदै जनताको जीवनस्तर उठाउन कुनै कसरत बाँकी नराखेको र निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ ।”, उपाध्यक्ष श्रेष्ठले भने ।  

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरेले शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि पालिका लागिपरेको बताइन् । शैक्षिक सुधारका लागि पालिका सरकार मात्र नभई समुदाय, विद्यालय, विव्यस, बुद्धिजीवी, राजनीतिक दल, शिक्षक कर्मचारी लगायत सम्बन्धित सरोकारवाला सबैको उतिकै भूमिका रहने र सोही अनुरूप भूमिका खेल्नुपर्ने धारणा घिमिरेले व्यक्त गरिन् । 

narbada_ghimire-1726827756.jpg
नर्बदा घिमिरे, प्रमुख प्रशासकीय अधिकृत, बेनीघाट राेराङ गाउँपालिका ।

“पालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ । पालिकामा आधारभूत तह अनिवार्य तथा निःशुल्क र माध्यमिक तह निःशुल्क शिक्षा लागु गरिएको छ”, अधिकृत घिमिरेले भनिन्,  “विद्यार्थीहरूले पेटभरी खाएर, आङ ढाकेर ढुक्कले पढ्न पाउन् भन्ने उद्देश्यले सकेसम्म सबै विद्यालयहरूमा आवासीय सुविधा पनि उपलब्ध गराउने हाम्रो लक्ष्य छ । र, सोही अनुरूप लागिपरेका छौँ ।” 

शैक्षिक सुधारको लागि २०८१/८२ लाई शैक्षिक सुधार वर्षको रूपमा मनाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको उनले बताइन् ।

पालिकाको जनप्रतिनिधिले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम निर्माण गरिरहेको र तिनको कार्यान्वयनका लागि पालिकाका कर्मचारी लागि परिरहेको उनले बताइन् । पालिकाका सरकार प्रमुखले भौतिक विकास भन्दा पनि शैक्षिक विकासलाई प्राथमिकतामा राख्नु समाजको भविष्य र दूरदर्शिताको द्योतक भएको अधिकृत घिमिरेको भनाइ छ । 

“शिक्षामा गरेको लगानीको प्रतिफल हिजोको आजै पाइँदैन । नतिजा तुरुन्तै देखिँदैन । आज लगानी गर्‍यो दश, बीस वर्षपछि अथवा त्यो भन्दा पछि परिणाम देखिने हो । यस्तो समाजको भविष्यलाई ध्यानमा राखेर नीति, कार्यक्रम तथा योजनाहरू बनाउने जनप्रतिनिधि पाउनु सौभाग्यको कुरा हो ।”, अधिकृत घिमिरेले भनिन् । 

राजनीतिक दलका प्रतिनिधिहरूले कसले के भने ? 

नेकपा माओवादी केन्द्र बेनीघाट रोराङका अध्यक्ष राजेन्द्र कँडेलले अहिलेको संविधान निर्माण गर्न र व्यवस्थाको परिवर्तनमा नेकपा माओवादीको अद्वितीय योगदान रहेको बताए । 

benighat--(26)-1726825214.jpg
राजेन्द्र कँडेल, अध्यक्ष, नेकपा माओवादी केन्द्र, बेनीघाट रोराङ गाउँपालिका । 

“नेकपा माओवादीले गरेको सङ्घर्षको जगमा टेकेर आजको व्यवस्था आएको हो । आज विश्वकै उत्कृष्ट, समावेशी संविधान बनेको छ । यसको कार्यान्वयन भइरहेको छ ।”, उनले भने ।

वर्ग निर्माणको प्रमुख आधार शिक्षा नै भएकोले वर्ग सङ्घर्षको अन्त्य गर्दै समान र समतामूलक समाजको निर्माणका लागि माओवादीले सङ्घर्षको मैदानमा होमिने बेलामा नै सबैलाई समान शिक्षाको नारा अघि सारेको उनले बताए । 

“माओवादीले वर्ग सङ्घर्षको अन्त्यका लागि परम्परागत बुर्जुवा शिक्षालाई बहिष्कार गर्दै सबैलाई जनवादी शिक्षाको नारा अघि सारेको हो । आज कमसेकम सबैलाई समान शिक्षा र शिक्षामा सबैको समान पहुँचको सुनिश्चितता गर्न शिक्षालाई संविधानले मौलिक हकको रूपमा व्यवस्था गरेको छ”, अध्यक्ष कँडेलले भने, “बेनीघाट रोराङमा सबैले एकै खालका समान शिक्षा लिन पाउने व्यवस्था हुनुपर्छ ।” 

नेकपा एमाले बेनीघाट रोराङका अध्यक्ष राजकुमार त्रिपाठीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएकोमा शङ्का नभएको तर बेनीघाट रोराङमा भने यसको कार्यान्वयन हुन नसकेको आशङ्का व्यक्त गरे । उनले गाउँपालिका सरकारले फरक विचार र अन्य राजनीतिक दललाई निषेध गरेर अघि बढिरहेको बताए ।

benighat--(25)-1726825216.jpg
राजकुमार त्रिपाठी, अध्यक्ष, नेकपा एमाले, बेनीघाट राेराङ गाउँपालिका ।

“आवाजलाई थुन्न खोज्दा विष्फोटन हुन्छ र भयानक रूप लिन्छ । हाम्रो गाउँपालिका सरकार प्रमुखज्यू वर्ग सङ्घर्ष गरेर आउनु भएको हो । वर्ग सङ्घर्ष गरेर नै उहाँले छलाङ मार्नुभएको हो । त्यो हामीलाई थाहा छ । त्यसैले उहाँले वर्ग सङ्घर्ष बुझ्नु भएको होला भन्ने हाम्रो आशा थियो । तर आज उहाँको भूमिकामाथि हामीलाई शङ्काको सुविधा प्राप्त भएको छ । उहाँले फरक विचारलाई निषेध गरेर अघि बढिरहेको भान हामीलाई भएको छ । उहाँले वर्ग सङ्घर्षलाई भुलेर वर्ग सम्झौतामा लाग्नु भएको हो कि भन्ने आशङ्का पैदा भएको छ ।”, अध्यक्ष त्रिपाठीले भने । 

पालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको र सोही अनुसार लगानी गरेपनि त्यसको प्रतिफलमा भने प्रश्न चिन्ह खडा भएको उनले बताए । 

“पालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेकोप्रति हाम्रो समर्थन छ । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि भन्दै थुप्रै कार्यक्रमहरू पनि गरिरहेका छन् । तर त्यसको प्रतिफलमा ध्यान नदिएको जस्तो देखिएको छ । शैक्षिक गुणस्तर कति वृद्धि भयो ? कतै शिक्षामा गरेको लगानी बालुवामा पानी त भइरहेको छैन ?”, उनले प्रश्न गरे ।

विभिन्न विद्यालयहरूमा अयोग्य व्यक्तिहरूलाई समेत शिक्षक कर्मचारी नियुक्ति गरेको जानकारी आएको भन्दै शिक्षा क्षेत्रमा हाम्रोलाई भन्दा पनि राम्रोलाई प्राथमिकतामा राखेर काम गर्न उनले आग्रह गरे । 

त्यसैगरी नेपाली काँग्रेस बेनीघाट रोराङका सभापति ऋषिनाथ त्रिपाठीले पालिकाले संविधान दिवस र राष्ट्रिय शिक्षा दिवस मनाइरहँदा संविधान र शिक्षाबारे छलफल बहस हुन जरुरी रहेको बताए । 

benighat--(14)-1726825353.jpg
ऋषिनाथ त्रिपाठी, सभापति, नेपाली काँग्रेस, बेनीघाट राेराङ गाउँपालिका । 

“आज हामी संविधान दिवस मनाइरहेका छौँ । संविधान दिवस मनाइरहँदा यसको कार्यान्वयनको अवस्थाबारे छलफल हुन जरुरी छ । संविधानले ग्यारेन्टी गरेका मौलिक हकअधिकारहरूको कार्यान्वयनमा ध्यान दिन जरुरी छ ।”, सभापति त्रिपाठीले भने ।

त्यसैगरी राष्ट्रिय शिक्षा दिवस मनाइरहँदा शिक्षाबारे व्यापक बहस हुनुपर्ने उनले बताए । संविधानले शिक्षालाई मौलिक हकको रूपमा व्यवस्था गरेपनि अझै पनि थुप्रै बालबालिकाहरू विद्यालय बाहिर हुनु, सबैले समान शिक्षा नपाउनु, शिक्षामा समान पहुँच नहुनु, शैक्षिक गुणस्तर खस्कँदै जानु चिन्ताको विषय भएको उनले बताए । 

जिल्ला शिक्षा समन्वय इकाई धादिङका निमित्त प्रमुख कृष्ण कुमार श्रेष्ठले बेनीघाट रोराङले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको भन्दै खुसी व्यक्त गरे । 

benighat--(21)-1726825256.jpg
कृष्ण कुमार श्रेष्ठ, निमित्त प्रमुख, जिल्ला शिक्षा समन्वय इकाई, धादिङ ।

पालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा लागु हुनु, एसईईमा दोस्रो जिल्ला टप्पर विद्यालय यसै पालिकामा हुनु, आवासीय सुविधा सहितको विद्यालयहरू सञ्चालन हुनु, यस्तै शिक्षक÷शिक्षिका तथा विद्यार्थीहरूलाई सम्मानित गर्ने भव्य कार्यक्रमको आयोजना हुनु पालिकाले शिक्षालाई दिएको प्राथमिकताका सूचक भएको उनले बताए ।  

“यस गाउँपालिकाका अध्यक्ष विवेक थपलियाज्यूले शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरिरहनुभएको छ । शिक्षा मात्र नभई हरेक क्षेत्रमा उतिकै अब्बल देखिएको छ”, उनले भने, “शून्य बेरुजु भएको पालिका बन्नु, लिजा (स्थानीय तह संस्थागत स्वः मूल्याङ्कन) देशकै प्रथम स्थान हासिल गर्नु चानचुने कुरा होइन । पालिका अध्यक्षज्यूको इतिहास हेर्दा पनि उहाँ जे काम गर्नुहुन्छ अत्यन्तै लगनशीलताका साथ गर्नुहुन्छ । यस्तै लगनशीलता कायम होस् ।” 

प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल बेनीघाट रोराङ गाउँपालिकाले शिक्षा क्षेत्रमा गरिरहेको कामको सराहना गरे । बेनीघाट रोराङमा अनिवार्य तथा निःशुल्क शिक्षा लागु हुनु ठुलो उपलब्धि भएको उनले बताए । 

benighat--(13)-1726825354.jpg
दामाेदर अर्याल, कार्यकारी निर्देशक, प्रयास नेपाल, धादिङ ।

“राष्ट्रिय शिक्षा दिवसको अवसरमा बागमती प्रदेश सरकारले आयोजना गरेको प्रदेश स्तरीय कार्यक्रममा पुगेको थिएँ । कतै धादिङको नाम आउँछ कि आउँदैन भन्ने जिज्ञासा थियो । बेनीघाट रोराङ गाउँपालिकाको नाम आयो । यस गाउँपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा लागु गरेर धादिङको नाम राखेको छ”, निर्देशक अर्यालले भने, “सुशासन र सेवा प्रवाह लगायत अन्य क्षेत्रमा पनि देशकै अब्बल पालिका साबित भएको छ । यसका लागि गाउँपालिका सरकार र खासगरी सरकार प्रमुख कृष्ण बहादुर थपलिया (विवेक)लाई धन्यवाद र बधाई पनि दिन चाहन्छु ।”

शिक्षा क्षेत्रको मात्र नभई गाउँपालिकाको सर्वाङ्गीण विकासको लागि सबै राजनीतिक दल, समुदाय, सामाजिक अगुवा, बुद्धिजीवी सबैले एकले अर्कालाई विरोध गर्नुभन्दा रचनात्मक सल्लाह तथा सुझाव दिएर अघि बढ्न जरुरी रहेको उनले बताए । 

प्रयास नेपाल धादिङले विभिन्न कार्यहरूमा सहकार्य गर्न पाउँदा खुसी लागेको सबै कार्यहरू निस्वार्थ ढङ्गले गरेको उनले बताए । 

“हामी गैरसरकारी संस्था सञ्चालन गर्ने र काम गर्नेलाई विभिन्न स्वार्थ लिएर काम गरेको आरोप लाग्ने गरेको छ । तपाईँहरू ढुक्क हुनुस्, प्रयास नेपालले कुनै राजनीति गर्दै र कुनै धर्मको प्रचार पनि गर्दैन । जे गर्छ, तपाईँहरूको आवश्यकतालाई ध्यानमा राखेर सके जति निस्वार्थ भावले सहयोग गर्छ ।”

benighat--(15)-1726825349.jpg
कार्यक्रमकाे समापन भएकाे घाेषणा गर्दै कार्यक्रमका सभापति एवम् पालिका अध्यक्ष कृष्ण बहादुर थपलिया, (विवेक)

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजका अगुवा, शिक्षक, विव्यस अध्यक्ष, कर्मचारी, सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरू लगायत सरोकारवालाहरूको उपस्थिति थियो । 

कार्यक्रममा बेनीघाट रोराङ–७ स्थित स्यादुलका मालिका आमा समूहले पञ्चे बाजाको प्रस्तुति दिएका थिए । त्यसैगरी विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक एवम् शिक्षिकाहरूले समेत प्रस्तुति दिएका थिए । 

कार्यक्रमका सभापति गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले कार्यक्रम भव्यताका साथ सफल भएको घोषणा गर्दै समापन गरे । 

कार्यक्रमका अन्य तस्बिरहरूः

narbada_ghimire-(2)-1726829021.jpg

narbada_ghimire-(1)-1726829027.jpg

narbada_ghimire-(4)-1726829016.jpg

narbada_ghimire-(3)-1726829016.jpg

benighat--(11)-1726825359.jpg

तस्बिरः चन्द्र तामाङ/एभरेष्ट फेस 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update