Everest Face
स्थानीय सरकार संस्थागत स्व-मूल्याङ्कनमा बेनीघाट राेराङ देशकै प्रथम 

धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थानीय सरकार संस्थागत स्व-मूल्याङ्कन(LISA)मा  देशकै उत्कृष्ट पालिका बनेको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्व-मूल्याङ्कन रिपोर्ट अनुसार बेनीघाट रोराङले ८५.२५ अङ्कसहित गाउँपालिकातर्फ देशकै प्रथम स्थान हासिल गरेको हो । 

मन्त्रालयले बिहीबार उत्कृष्ट स्थान हासिल गरेको बेनीघाट राेराङलाइ एक विशेष समाराेहबीच सम्मानित गरेको छ । मन्त्रालयले विभिन्न १०० वटा सूचकहरूको आधारमा आ.व २०७९/०८० मा गरेको मूल्याङ्कनमा  गाउँपालिका मध्ये बेनीघाट रोराङ गाउँपालिका प्रथम भएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समग्र स्थिति, प्रक्रियागत स्थिति र परिणामको मुख्य तिन वटा आयामहरूलाई आधार मानेर मूल्याङ्कन गरिएको थियो ।

बेनीघाट राेराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले यस सम्मानबाट समग्र बेनीघाट राेराङबासी सम्मानित भएको प्रतिक्रिया दिएका छन् ।

त्यसैगरी बेनीघाट राेराङबासीले आफूमाथि गरेको आशा र भरोसालाई थप बलियो बनाएको अध्यक्ष थपलियाले बताएका छन् । 

पालिकामा सुशासन कायम राख्दै उत्कृष्ट कार्य सम्पादन गर्न जनप्रतिनिधिसँगै राष्ट्रसेवक कर्मचारीहरूको पनि अद्वितीय योगदान रहेको उनले बताए । 

यस सम्मानले भावी दिनहरूमा अझै राम्रो र उत्कृष्ट कार्य सम्पादन गर्न जिम्मेवारी बढाएको बोध भएको अध्यक्ष थपलियाले बताएका छन् ।

सम्मान कार्यक्रममा बेनीघाट रोराङका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे लगायत अन्य कर्मचारीहरू सहभागी थिए।

बेरुजु शून्य गाउँपालिका बेनीघाट राेराङ 

आर्थिक वर्ष २०७९/८० मा बेनीघाट राेराङ गाउँपालिकाको बेरुजु शून्य देखिएको छ ।  महालेखा परीक्षकको कार्यालयले वार्षिक प्रतिवेदन अनुसार बेनीघाट रोराङ गाउँपालिकाको बेरुजु शून्य देखाएको हो  । बेनीघाट राेराङ देशभरिका स्थानीय तहमध्ये शून्य बेरुजु भएको पहिलो गाउँपालिका बनेको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update