Everest Face
कुलमान घिसिङलाई त्यो ठाउँमा मैले पुर्‍याएको हुँ: मुख्यमन्त्री तामाङ 

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं तामाङले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक बनाउन आफूले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । 

तामाङ पहिचान दिवसको अवसरमा नेपाल तामाङ घेदुङ मकवानपुरले आज हेटौँडामा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री तामाङले यस्तो बताएका हुन् । 

“मैले कुलमान घिसिङलाई पनि सपोर्ट गरेको हुँ । नभए आज कुलमान घिसिङ त्यो स्थानमा हुने थिएन । कुलमान घिसिङलाई जब ठाउँमा लगिसकेपछि मात्रै कुलमान घिसिङ बनेको हो । त्यसको नेतृत्व मैले गरेको थिएँ”, मुख्यमन्त्री तामाङले भने, “कुलमान घिसिङ एउटा इन्जिनियर मान्छे, यत्तिकै बसिरहेको थियो । उनलाई चिलिमेमा लगिसकेपछि नवौँ तहबाट ११औँ तहमा प्रोमोशन भयो । त्यहाँबाट प्राधिकरणको नेतृत्वमा पुग्यो । उनले राम्रो काम गर्‍यो, र आज कुलमान घिसिङ बन्यो ।”

त्यसैगरी तामाङ समुदायको सिर उच्च बनाउन आफूले वैचारिक पृष्ठभूमिलाई वास्ता नगरी सबैलाई सहयोग गरेको उनले बताए । 

नेपाल सरकारका सहसचिव रुद्र सिं तामाङ, र सिडिओ आशमान तामाङलाई पनि आफूले सहयोग गरेको उनले बताए । “रुद्रसिङ तामाङ सहसचिव हुनुहुन्छ । उहाँले पनि तामाङ समुदायको पहिचान राखेको छ । काठमाडौं महानगर, जतिबेला स्थानीय सरकार पनि थिएन । त्यसबेला रुद्र सिं तामाङलाई  प्रमुख प्रशासकीय अधिकृत बनायो । त्यसमा म र मेरा पार्टी नेपाली काँग्रेसले ठुलो भूमिका खेलेको थियो । आशमान तामाङ लाई सिडिओ बनाउन पनि सहयोग गरेको छु ।”, उनले भने । 

तामाङ समुदाय अन्य समुदायभन्दा कुनै पनि हिसाबले कमजोर नरहेको उनले बताए । तामाङ समुदायले पनि राज्यका विभिन्न राजनीतिक, सामाजिक, प्रशासनिक क्षेत्रमा उतिकै उत्कृष्ट कार्य सम्पादन गर्न सक्ने उनले बताए । 

“तामाङ समुदायले पनि पढ्न सक्छन्, लेख्न सक्छन्, सबै काम गर्न सक्छन् । आज एसईई मा उत्कृष्ट नतिजा ल्याएर तामाङ समुदायका भाइबहिनीहरू सम्मानित हुँदै छन् । यसले तामाङ समुदाय अन्य समुदायभन्दा कमजोर छैनन् भन्ने पुष्टि भएको छ ।”, मुख्यमन्त्री तामाङले भने । 

मुख्यमन्त्री तामाङले तामाङ समुदायले आफ्नो पहिचान स्थापित गर्नका लागि नीति निर्माणको तहमा पुग्नुपर्ने धारणा राखेका छन् । 

“कानुन बन्नु मुख्य कुरा हो । हाम्रा बाजेहरूले भन्ने गर्थे, मुखिया ठुलो होइन, मुखिया बनाउने नियम÷कानुन कुरा हो । लामा ठुलो होइन, छ्याइ पो ठुलो हो । बुढा पाका ठुलो होइन, उनीहरूको आशीर्वाद ठुलो कुरा हो”, उनले भने, “ऐन कानुन सदनबाट बन्छ, त्यसले गर्दा खास आन्दोलन त सदनबाट हुन्छ । जहाँबाट कानुन ऐन नियम बन्छ ।”

तामाङ र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजी भाषा बनाउनु ठुलो उपलब्धि भएको उनले बताए । 

मुख्यमन्त्री तामाङले भने, “तामाङले नेपाली बोल्दा जिस्काउँथ्यो । नेपालीले तामाङ बोल्दा अशुद्ध हुन्छ । हेर्दा सानो तर तामाङ भाषा र नेपाली भाषालाई बागमती प्रदेश सरकारको कामकाजी भाषा बनाउनु सानो कुरा होइन ।”  

त्यसैगरी बागमती प्रदेश सकारका उद्योग वाणिज्य तथा भूमि प्रशासन मन्त्री सुकुमाया मुक्तानले सरदार जङ्गवीर पाख्रिन तामाङले गरेको पहिचानको आन्दोलनको जगमा टेकेर तामाङ समुदाय आजको स्थानसम्म आइपुगेको बताइन् । 

मन्त्री मुक्तानले राज्यको शोषण, दमन र उत्पीडनमा परेर पहिचान विहीन भएर बाँचिरहेको तामाङ समुदायलाई पहिलो पटक पहिचान दिलाउन जङ्गवीर पाख्रिन तामाङ योगदानको स्मरण गराइन् ।

अहिलेको युगमा कुनै पनि समुदाय अन्य समुदायभन्दा कमजोर वा बलिया नभई सबै समान हुनुपर्ने र हुनसक्ने उनले बताइन् । 

नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष कालु घलानकाे सभापतित्व, बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं तामाङको प्रमुख अतिथियता, बागमती प्रदेश सरकारका उद्योग वाणिज्य तथा भूमि प्रशासन मन्त्री सुकुमाया मुक्तानकाे विशेष अतिथियतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, तामाङ समुदायका विभिन्न सङ्घ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरूकाे उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update