Everest Face

यतिबेला वनजङ्गलमा  निगुरो पाइन्छ । निगुरो रोप्न पर्दैन । बर्खा मौसममा वनजङ्गलमा आफै पलाउँछ निगुरो । यो उन्यू प्रजातिको घाँस हो ।

पहाड र तराई सबैतिरको जङ्गलमा निगुरो पाइन्छ । तर, यसको जातमा केही भिन्नता हुन्छ । साथै स्वाद पनि फरक हुन्छ । तुलनात्मक रूपमा पहाडको जङ्गलमा पाइने निगुरो बढी स्वादिलो हुन्छ ।

निगुरोलाई कतिपय ठाउँमा न्युरो वा निहुरो पनि भनिन्छ । पहाडमा कालो निगुरो बढी रुचाइन्छ । यसैगरी तराईमा हरियो । निगुरो यतिबेलाको मौसमी सागसब्जी हो  । वनजङ्गलमा आफै उम्रने भएकाले यसमा कुनै रासायनिक मल वा विषादी प्रयोग हुँदैन । अर्थात् यो पूर्णतः जैविक हुन्छ ।

Niguro-1723261092.jpg
निगुराे ।

अहिले हामीले खाने धेरैजसो सागसब्जी विषादी मिसाइएको हुन्छ । व्यावसायिक ढङ्गले उत्पादन गरिएका सागसब्जीमा रासायनिक मल, कीटनाशक औषधी प्रयोग गरिन्छ । यस्ता सागसब्जी फलाउन, बढाउन, भण्डारण गर्न पनि रसायन वा विषादी मिसाउने गरिन्छ । तर, निगुराे शुद्ध विषादिरहित हुन्छ ।

कति पोषिलो ?

निगुरो खानुको फाइदै फाइदा छन् । आफै वनजंगलमा गएर खोज्ने हो भने भान्साको खर्च कटौती हुने भयो । वनजंगलमा उम्रिएका हुनाले यो जैविक र मौसमी तरकारी पनि हो । पोषणविद्हरूले निगुरो पौष्टिकताले भरिपूर्ण रहेको बताउने गर्छन् । निगुरोको सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको उनीहरूको भनाई छ ।

Niguro-(3)-1723261090.jpg
निगुराेकाे बिटाे ।

पोषणविद्हरू भन्छन्, ‘यसमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ ।’ बालबालिका र गर्भवती महिलालाई त निगुरो अरू बढी लाभदायक छ । किनभने निगुरोको तरकारी सेवन गरिरहँदा भिटामिन प्राकृतिक रूपमै प्राप्त हुन्छ । अतिरिक्त भिटामिनको चक्की चपाइरहनु पर्दैन । पोषणविद्हरूले यसमा कोलेस्ट्रोल एवं बोसोजन्य पदार्थ नपाउने भएकाले कुनै पनि किसिमको हानी नहुने बताएका छन् ।

कतिपयले जङ्गलबाट खोजेरै तरकारीको छाक टार्ने गर्छन् । कतिपयले निगुरो, च्याउ बेचेर पैसाको जोहो पनि गर्छन् । यस मौसममा कतिपय ठाउँका बासिन्दाहरूले निगुरो बेचेर मनग्य पैसा समेत कमाउँछन् ।

Niguro-(2)-1723261091.jpg
पहाडमा पाइने माेटाे खालकाे निगुराे।

कसरी खाने ?

निगुरो तरकारीको रूपमा प्रयोग गरिन्छ । नेपालीको सायदै यस्तो भान्सा होला, जहाँ निगुरो पाकेको छैन । वर्षायाम लागेसँगै कतिले वनजङ्गलबाट खोजेर र कतिले बजारबाट किनेर निगुरो पकाउने गर्छन् ।
निगुरोलाई भुटेर वा आलुसँग मिसाएर पनि सेवन गर्न सकिन्छ ।

 तर, सतर्क हुनुपर्छ

निगुरो जस्तै देखिने सबै वनस्पति खान लायक भने हुँदैन । कतिपय निगुरो जस्तै देखिने वनस्पति विषाक्त हुन्छ । निगुरोको तरकारी टिपेर खाँदा कतिपय बिरामी परेको खबर पनि बारम्बार आउने गर्छ । त्यसैले आफूले चिनेको अवस्थामा मात्र निगुरो खोज्ने, टिप्ने वा किन्ने गर्नुपर्छ ।

तस्बिरः चन्द्र तामाङ/एभरेष्ट फेस 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update