Everest Face
वैकुण्ठमा बन्यो ‘तामाङ सांस्कृतिक डम्फु पार्क’

पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गरेको मकवानपुरको कैलाश गापा–२ वैकुण्ठस्थित डाँफेमुनाल पार्क परिसरमा तामाङ सांस्कृतिक डम्फु पार्क निर्माण गरिएको छ । 

तामाङ समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा सो समुदायको संस्कृति र पहिचानलाई झल्काउने गरी सांस्कृतिक पार्क निर्माण गरिएको कैलाश–२ का वडाध्यक्ष राजेन्द्र घिसिङले जानकारी दिए । 

“हाम्रो यो क्षेत्रमा तामाङ समुदायको बाहुल्यता छ । तामाङ समुदायको धर्म, संस्कृति, भेषभुषा तथा पहिचानलाई झल्काउन र संरक्षण गर्न पार्क स्थापना गरेका हौँ”, वडाध्यक्ष घिसिङले भने, “यसले हाम्रो संस्कृतिको जगेर्ना गर्न र हाम्रो संस्कृतिलाई पर्यटनसँग जोड्न पनि मदत गर्ने विश्वास हामीले लिएका छौँ ।”

Damfu_Park-(2)-1721007518.jpg
राजेन्द्र घिसिङ, वडाध्यक्ष, कैलाश-२, मकवानपुर । तस्बिरः वडाध्यक्ष घिसिङकाे फेसबुक वालबाट ।

बागमती प्रदेश सरकार संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजना हेटौँडाको दश लाख रुपैयाँ, स्थानीय समुदायको करिब एक लाख बाह्र हजार रुपैयाँ बराबरको श्रमदान गरी एघार लाख बाह्र हजार रुपैयाँको लागतमा पार्क निर्माण गरिएको छ ।

Damfu_Park-(1)-1721006778.jpg
डम्फु पार्क । 

पार्कमा ८ फिटको गोलाकार डम्फु, डम्फुको अगाडि तामाङ समुदायको महिला र पुरुष डम्फु बजाएर नाचिरहेको आकृति निर्माण गरिएको छ । पार्कलाई थप सुन्दर बनाउन आवश्यक संरचनाहरू आगामी आर्थिक वर्षमा निर्माण हुने वडाध्यक्ष घिसिङले बताए । 

कैलाशमा नेपालकै लामो जीपलाइन बन्दै

Damfu_Park-(4)-1721008159.jpg
जिपलाइनमा रमाउँदै पर्यटक । तस्बिरः गुगल ।

मकवानपुरको कैलाश गाउँपालिका–२ स्थित वैकुण्ठ–कैलाशमा नेपालकै सबैभन्दा लामो जीपलाइन बन्ने भएको छ । 

वैकुण्ठ र कैलाश गाउँलाई जोड्ने एक हजार पाँचसय मिटर लम्बाई र एक हजार मिटरको उचाइमा रहने जिपलाइनको धमाधम निर्माण भइरहेको कैलाश–२ का वडाध्यक्ष राजेन्द्र घिसिङले जानकारी दिए । 

वैकुण्ठ–कैलाशको पर्यटन प्रवर्द्धनका लागि कैलाश गाउँपालिकाले पालिकाको एक महत्त्वाकाङ्क्षी योजनाको रूपमा करिब दुई करोड रुपैयाँको लागतमा जिपलाईन निर्माण गर्न लागिएको वडाध्यक्ष घिसिङले जानकारी दिए । 

गाउँपालिकाले दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय योजनाको रूपमा जिपलाईनलाई अगाडि बढाएको हो । आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको बजेटको काम अहिले भइरहेको छ । 

सन्ध्या निर्माण सेवाले ठेक्का लिएर काम गरिरहेको छ । जिपलाईन आधारभूत काम यसै आर्थिक वर्षमा सम्पन्न हुने र जिपलाइन सँगै रहने अन्य संरचनाहरूको निर्माण आगामी आर्थिक वर्षमा हुने उनले जानकारी दिए । 

जिपलाइनसँगै आकर्षक रेष्टुरेन्ट र पार्कहरू समेत बन्ने छ । वैकुण्ठ डाँडाबाट सुरु भएर कैलाशको डाँडामा ल्यान्ड हुने छ ।

Damfu_Park-(3)-1721008159.jpg
वैकुण्ठ कैलाशमा निर्माणाधिन जिपलाइन ।

नेपालकै सबैभन्दा लामो जिपलाईन बनेपछि कैलाश–२ को मात्र नभई समग्र कैलाश गाउँपालिकाको पहिचान बढ्ने र पर्यटन प्रवर्द्धनमा पनि ठुलो टेवा पुग्ने वडाध्यक्ष घिसिङले बताए । 

विष्णुकुण्ड, गुरु पद्मसम्भवको प्रतिमा, डाँफे मुनाल पार्क, ऐतिहासिक सतिघाट, भाइरल पिङ लगायत पर्यटकीय आकर्षणहरू रहेको वैकुण्ठमा जिपलाईन अर्को ठुलो आकर्षण बन्ने भएको छ ।

प्राकृतिक, धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटनको केन्द्र वैकुण्ठ कैलाश अब साहसिक पर्यटनको गन्तव्य पनि बन्ने भएको छ । 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update