Everest Face
साहारा आधारभूत विद्यालयले पायाे नयाँ भवन, फेरियो काँचुली 

धादिङको बेनीघाट राेराङ-२ दुम्लिङस्थित साहारा आधारभूत विद्यालयकाे काँचुली फेरेको छ ।  चिटिक्क परेको चारकाेठे नयाँ भवन र शाैचालय पाएपछि विद्यालयकाे मुहार फेरेको हो । 

गाउँपालिकाको आग्रह र सहकार्यमा 'बिल्ड अप नेपाल' नामक गैरसरकारी संस्थाले भवन र शौचालय निर्माण गरिदिएको हो । 

असार २६ गते बुधवार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) को प्रमुख आतिथ्यतामा  भवनको उद्घाटनसँगै हस्तान्तरण गरिएको छ ।

sahara_basic_school-(4)-1720750333.jpg
भवनकाे उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)

वडा कार्यालय रहेको ताल्तीबाट साढे दुई घण्टाको पैदल दुरीमा रहेको यस विद्यालयमा भवनको अभावका कारण बालबालिकाहरूलाई पठनपाठनमा कठिन भइरहेको थियो । गाउँपालिका र विल्ड अप नेपालको साहारा पाएपछि यस विद्यालयमा पठनपाठन सहज हुने भएको छ । 

विकट क्षेत्रमा रहेको यस  विद्यालयलाई गत साल मात्रै कक्षा एक सञ्चालनको अनुमति प्रदान गरिएको थियो । यस विद्यालयमा हाल बालविकास र कक्षा एक गरी ६४ जना बालबालिकाहरू अध्ययनरत छन् । 

नयाँ भवन पाएपछि विद्यार्थी, अभिभावक र शिक्षक कर्मचारी समेत दङ्ग भएका छन् । भवन बनेसँगै पठनपाठन सहज बनेको छ ।

sahara_basic_school-(2)-1720750117.jpg
नयाँ भवन पाएपछि दंग विद्यार्थीहरू ।

गाउँपालिकाले पालिकाको शैक्षिक उन्नयनका लागि विभिन्न सङ्घसंस्था, निकाय तथा व्यक्तिहरूसँग समेत सहकार्य गरिरहेको छ । 

नयाँ भवन र शौचालय समेत निर्माण गरिदिएपछि गाउँपालिकाले विल्ड अप नेपालप्रति कृतज्ञता व्यक्त गरेको छ । 

त्यसैगरी भवनको निर्माणमा विल्ड अप नेपालसंग समन्वय गरेर महत्वपूर्ण योगदान पुर्याउने निर्माण व्यवसायी विकास थापाप्रति गाउँपालिकाले कृतज्ञता व्यक्त गरेको छ । 

व्यवसायी थापाले भवनको डिजाइनमा नभए पनि बालबालिकाको सुरक्षाको लागि रेलिङ हाल्ने, कम्पाउन्ड बनाउने लगायत काम गरेको गाउँपालिकाले जनाएको छ ।

अति सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको दुम्लिङमा अवस्थित यस विद्यालयमा चेपाङ समुदायकै विद्यार्थीको बाहुल्यता छ । केही समय अगाडि यस विद्यालयका विद्यार्थीहरूकाे चप्पल नलगाएकाे तस्बिर सामाजिक सञ्जालमा भाइरल समेत भएको थियो । 

sahara_basic_school-(3)-1720750116.jpg
नयाँ विद्यालय भवन ।

सो विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मान कुमार चेपाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे, वडा दुई का अध्यक्ष हेमराज भुजेल, विल्ड अप नेपालका इन्जिनियर सन्तोष न्यौपाने, एसएमसि, पिटीए, स्थानीय राजनीतिक दलका प्रतिनिधि लगायत ७० जनाको उपस्थिति थियो । 

sahara_basic_school-(5)-1720750668.jpg
नवनर्मित शाैचालय ।

तस्बिरः विल्ड अप नेपालकाे फेसबुक पेज, गाउँपालिकाका शिक्षा शाखा प्रमुख बाेधराज पाठककाे फेसबुकबाट ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update