Everest Face
एसईईमा किन कमजोर देखिए बेनीघाट रोराङ ? 

धादिङको बेनीघाट रोराङ गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा विश्लेषण तथा सुझाव सङ्कलन गोष्ठी सम्पन्न गरेको छ ।

हिजो (असार २५ गते मङ्गलवार) गाउँपालिकाको कार्यालय विशालटारमा गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)को अध्यक्षतामा गोष्ठी सम्पन्न भएको हो । 

गोष्ठीमा गाउँपालिका भरिका १२ वटा माविका प्रअहरू, शिक्षकहरू, विव्यस अध्यक्षहरू, वडा अध्यक्षहरू, वडा शिक्षा समिति सदस्यहरू लगायत शिक्षासँग सम्बन्धित सरोकारवालाहरूको उपस्थित थियो । 

Benighat_Rorang_SEE--1720583900.jpg
गाेष्ठीकाे तस्बिर । 

गोष्ठीमा भएको समीक्षा तथा भावी कार्यदिशाबारे भएको छलफलबारे चर्चा परिचर्चा गर्नुअघि २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बेनीघाट रोराङ गाउँपालिकाको नतिजाबारे पालिकाको शिक्षा शाखाले प्रस्तुत गरेको तथ्याङ्क हेरौँः 

२०८० को एसईई परीक्षामा बेनीघाट रोराङ गाउँपालिकाका (सामुदायिक १० र संस्थागत २ गरी) १२ वटा माध्यमिक विद्यालयहरूले सहभागिता जनाएका थिए । १२ वटा माध्यमिक विद्यालयहरूबाट जम्मा ३८६ जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । जसमध्ये जम्मा १६० जना पास भए । बाँकी २२६ जना फेल भए । प्रतिशतमा हेर्दा पास प्रतिशत ४१.४५ रह्यो भने ५८.५५ प्रतिशत फेल भए । 

सरदर राष्ट्रिय नतिजालाई हेर्दा पास प्रतिशत ४७.८६ छ भने फेल प्रतिशत ५२.१४ छ । यस हिसाबले हेर्दा बेनीघाट रोराङको नतिजा सरदर राष्ट्रिय नतिजाभन्दा निकै कमजोर देखियो । धादिङ जिल्लाको नतिजा प्रतिशत भने सरदर राष्ट्रिय नतिजाभन्दा अलि माथि ४८.१७ प्रतिशत छ । 

१२ वटा माविहरूमध्ये दुई वटा सामुदायिक माविहरूको उत्तीर्ण प्रतिशत शून्य रह्यो । वडा नम्बर १ मा अवस्थित श्री बाँसखर्क मावि र वडा नम्बर ६ मा अवस्थित श्री पञ्चकन्या माविले एक जना पनि उत्तीर्ण गराउन सकेनन् । श्री बाँसखर्क माविबाट १० जना र पञ्चकन्या माविबाट १४ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । 

सामुदायिकतर्फ वडा नम्बर ४ मा अवस्थित हर्कपुर माविले सबैभन्दा राम्रो नतिजा प्राप्त गर्‍यो । यस विद्यालयबाट १७ जना विद्यार्थी परीक्षामा सहभागी हुँदा १६ जना अर्थात् ९४.११ प्रतिशत पास भए । चन्द्रोदय मावि विशालटार ५८.२३ प्रतिशत सहित सामुदायिकतर्फ दोस्रो स्थानमा रह्यो । 

नतिजामा संस्थागत विद्यालयको योगदान 

संस्थागततर्फ वडा नम्बर ३ स्थित ब्राइटफ्यूचर मावि शतप्रतिशत नतिजासहित पालिकाकै प्रथम बने । यस विद्यालयबाट २९ जना विद्यार्थी सहभागी भएका थिए र सबै पास भए । राइजिङ स्टार बोर्डिङ स्कुल १२ जना सहभागी हुँदा ११ जना अर्थात् ९१.६७ प्रतिशत पास भए । समग्र पालिकाको नतिजामा संस्थागत विद्यालयको योगदान १७ प्रतिशत छ । 

संस्थागत विद्यालयको नतिजालाई नजोड्ने हो भने पालिकाको सामुदायिक विद्यालयको नतिजा ३५ प्रतिशतभन्दा कम हुन आउँछ । 

समग्र पालिकाको नतिजा हेर्दा ब्राइटफ्यूचर मावि प्रथम, हर्कपुर मावि द्वितीय, राइजिङ स्टार बाेर्डिङ स्कुल तृतीय र चन्द्रोदय मावि विशालटार चाैँथाे स्थानमा छ । 

शिक्षकहरूले “पानीमाथिको ओभानो बन्न” खोजे 

गोष्ठीको सुरुमा गाउँपालिकाको शिक्षा शाखाले तयार पारेको विश्लेषणात्मक प्रतिवेदन प्रस्तुत भयो । शिक्षा शाखा प्रमुख बोधराज पाठकले प्रतिवेदन वाचन गरेका थिए । त्यसपछि विद्यालयका प्रअहरूलाई आफ्नो विश्लेषण तथा सुझाव प्रस्तुत गर्न दिइयो । 

शून्य नतिजा ल्याएका वडा नम्बर १ स्थित श्री बाँसखर्क माविका प्रअ सुरेश कुमार तामाङले विद्यालय परिवारभित्रै समस्यै समस्या रहेको बेलिबिस्तार लगाए ।

“बाँसखर्क माविमा विद्यालय परिवारभित्रै समस्यै समस्या छ । सरहरूले आफू खुसी बिदा लिने, म आएपछि कडाइ गर्न खोजेको तैपनि भएन । उल्टै ‘हामी यसरी नै चलिरहेका छौँ, विव्यससँग पनि यस्तै सहमति भएको छ हाम्रो’ भन्न थाल्नुभयो”, प्रअ तामाङले भने, “प्राविको दरबन्दीले मावि चलाउनु परेको छ, शिक्षकहरू ‘हामी त माथिल्लो कक्षामा पढाउँदैनौँ’ भन्छन् ।”

यस विद्यालयको नतिजा राम्रो नआउनुमा भूगोल, विद्यार्थी, अभिभावक र समाज समेत दोषी रहेको उनले औँल्याए । 

“भौगोलिक कठिनाइ छ, विद्यार्थीहरूमा अनुशासनको कमी छ, अभिभावकहरू आफ्ना बालबच्चा विद्यालय आउँछन् कि आउँदैनन्, पढ्छन् कि पढ्दैनन्, चासो नै गर्दैनन् । विद्यालयमा पटक पटक बोलाउँदा पनि आउँदैनन् ।”, उनले भने ।

Benighat_Rorang_SEE--(3)-1720583894.jpg
गाेष्ठीमा सहभागी शिक्षकहरू ।

त्यसैगरी वडा नम्बर दुई स्थित श्री पिपलभन्ज्याङ माविका प्रअ नानीबाबु लोहनीले कोही फेल नहुनेगरी लागु गरिएको लेटर ग्रेडिङ प्रणालीका कारण विद्यार्थीमा पढ्ने बानी घटेको र जसले गर्दा निराशाजनक नतिजा आएको बताए । सोही विद्यालयका अध्यक्ष एवम् वडा दुई का अध्यक्ष समेत रहेका हेमराज भुजेलले विद्यार्थीहरू तल्लो कक्षाहरूदेखि नै कमजोर हुँदै आएको औँल्याए । 

“एकैचोटी दश कक्षामा पुगेर मात्रै विद्यार्थी कमजोर भएका होइनन्, तल्लो कक्षाहरूदेखि नै कमजोर हुँदै आएका छन् । हामीले गत शैक्षिकसत्रमा कक्षा पाँचका १०७ जना विद्यार्थीहरूको परीक्षा लिँदा जम्मा १० जनाले मात्रै गणित विषय पास गरेका थिए ।”, अध्यक्ष भुजेलले भने, “अब तल्लो कक्षादेखि नै सुधार्नुपर्छ ।”

अन्य विद्यालयका प्रअ एवम् विव्यस अध्यक्षहरूले पनि आफू पानीमाथिको ओभानो बन्न खोजे । प्रअहरूले विद्यार्थीले नपढेको, अनुशासन नभएको, सामाजिक सञ्जालमा भुल्ने गरेको, अभिभावकले बेवास्ता गरेको, शिक्षक दरबन्दी नभएको, शिक्षण पद्धति गलत भएको, भौगोलिक कठिनाइ भएको लगायत समस्याहरूको बेलिबिस्तार लगाए । 

एसईई मा निकै लाजमर्दो नतिजा आउनुमा ‘आफ्नो खासै कमजोरी नभएको’ जसरी प्रस्तुत भए शिक्षकहरू । विद्यार्थीहरू फेल हुँदा आफू पनि फेल भएको महसुस शिक्षकहरूले गरेको देखिएन । बरु आफू बाहेक सबै गलत भएको र सबै अरू शिक्षक, विद्यार्थी, विव्यस, अभिभावक सङ्घ, सरकार दोषी भएको करार गरे । प्रअ विद्यालयको प्रशासकीय प्रमुख, व्यवस्थापक एवम् संयोजकको हैसियतले गर्नुपर्ने र गर्न नसकेका कामहरूबारे खासै बोलेनन् । न त, भविष्यको योजना नै सुनाए ।  

खराब नतिजा ल्याएका सामुदायिक विद्यालयका शिक्षक, विव्यस अध्यक्ष तथा सदस्यहरूले समस्यै समस्याको चाङ देखाइरहेका बेला उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयका प्रअ एवम् विव्यस अध्यक्षहरूले भने ठिक उल्टो कथा सुनाए । 

२०८० को एसईई मा बेनीघाट रोराङ गाउँपालिकामा शतप्रतिशत विद्यार्थी पास गराउँदै प्रथम स्थानमा रहेका ब्राइटफ्यूचर माविका प्रअ कल्पना सिलवालले शिक्षक शिक्षिकाहरूबीचको टिमवर्क, विव्यसको राम्रो व्यवस्थापन र अभिभावकहरूको सक्रियताले विद्यार्थीहरूको पढाइलाई राम्रो बनाउन सकिने बताइन् । आफ्नो विद्यालयले राम्रो नतिजा ल्याउनुमा यी नै कुराहरूको राम्रो संयोजन रहेको उनले सुनाइन् । 

शतप्रतिशत नतिजासहित जिल्ला द्वितीय र गाउँपालिका प्रथम स्थान हासिल गरे पनि खासै सन्तुष्ट भने छैनन् उनी । 

“नेपाल नै टप गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । हामी सोही अनुसार मेहनत पनि गर्छौँ । तर, यस पटक सोचे जस्तो भएन ।”, उनले भनिन् ।

आफ्नो विद्यालय यसअघि तीन पटक जिल्ला टप र एक पटक नेपाल टप भएको उनले सुनाइन् । शिक्षक, अभिभावक, विव्यस र विद्यार्थीबीच राम्रो सहकार्य भए विद्यालय शिक्षालाई उत्कृष्ट बनाउन सकिने उनले बताइन् । 

त्यसैगरी सामुदायिक विद्यालयतर्फ गाउँपालिकामा उत्कृष्ट नतिजा ल्याउन सफल हर्कपुर माविका प्रअ सुरेन्द्र श्रेष्ठले पनि आफ्नो विद्यालय राम्रो हुनुमा शिक्षक शिक्षिकाहरूबीचको एकता र सहकार्य नै प्रमुख कारण रहेको बताए । 

“मेरो विद्यालयमा शिक्षकहरूबीच अत्यन्तै राम्रो सहकार्य छ । मैले खासै केही भन्नैपर्दैन । उहाँहरू आफैँ बुझ्नहुन्छ”, उनले भने, “शिक्षण सिकाईबारे उहाँहरू आफैँ योजना बनाउनुहुन्छ र कार्यान्वयन पनि गर्नुहुन्छ ।”

शिक्षण सिकाई उपलब्धिको लागि विद्यार्थीको नियमितता अनिवार्य रहेको उनले बताए । विद्यार्थीहरू अनियमित हुँदा शिक्षकले जति राम्रो पढाए पनि शैक्षिकस्तर माथि उठ्न नसक्ने उनले बताए । त्यसैगरी विद्यालय व्यवस्थापन समिति, वडा शिक्षा समिति एवम् जनप्रतिनिधिहरूको सक्रियताले पनि ठुलो प्रभाव पर्ने उनको अनुभव छ । 

“विद्यालयबारे वडा शिक्षा समिति, अभिभावक, जनप्रतिनिधिहरूले चासो दिनुपर्छ । मेरो विद्यालय वडाध्यक्षज्यूको घर आउनेजाने बाटोमा छ । उहाँ हप्तामै तीनचार पटकसम्म विद्यालयमा पस्नुहुन्छ । अनुगमन गर्नुहुन्छ ।”, उनले भने, “त्यसरी अनुगमन हुँदा हामीलाई सक्रिय बन्न मदत पुग्छ ।”

अनपेक्षित नतिजाले निराश गाउँपालिका 

बेनीघाट रोराङ गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । “शिक्षामा सुधार प्रगतिको आधार” भन्ने नाराका साथ शैक्षिक सुधार र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि हरतरहले लागि परेको छ । गाउँपालिकाले शैक्षिक वर्ष २०८१/८२ लाई “सिकाई सुधार–अभियान वर्ष” घोषणा गरेको छ । यस अभियानलाई सफल पार्नका लागि आवश्यक कार्यक्रम तथा बजेटको पनि व्यवस्था गरेको छ । हालै गाउँपालिकामा आधारभूत तथा अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको घोषणा पनि गरिएको छ । 

Benighat_Rorang_SEE--(6)-1720583891.jpg
गाेष्ठीमा सहजीकरण गर्दै  स्राेत व्यक्ति रामेश्वर पाेखरेल ।

गाउँपालिकाको शैक्षिक सुधार र गुणस्तर अभिवृद्धिका लागि साम, दाम, दण्ड, भेद नै लगाएर लागि परेको गाउँपालिकालाई हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजाले भने नराम्रोसँग झस्काएको छ । 

गोष्ठीमा बोल्दै गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले चरम निराशा व्यक्त गरे । अध्यक्ष थपलियाले शिक्षकहरूलाई भने, “अब तपाईँहरू जे मन लाग्छ गर्नुस्, म केही भन्दिन । मैले जति भन्नु यसअघि नै भनिसकेको छु ।”

Benighat_Rorang_SEE--(7)-1720583890.jpg
कृष्ण बहादुर थपलिया (विवेक), अध्यक्ष, बेनीघाट राेराङ गाउँपालिका ।

आफू निर्वाचित भएर आएदेखि नै पालिकाको शैक्षिक सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको तर नतिजा झन् खस्कँदै गएकोले निराशा छाएको उनले बताए । 

शिक्षकहरूले आफूले धेरै पढेको, डिग्री गरेको भन्दै घमण्ड गर्ने अनि राम्रोसँग नपढाउने, एक अर्कासँग शक्तिको लडाइँ गर्ने, राजनीतिक दलको झोला बोक्ने, सरुवाको लागि राजनीतिक दबाब दिलाउने जस्ता कार्यहरू गरेको उनले दुखेसो पोखे । 

त्यसैगरी गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले शैक्षिक गुणस्तरका लागि शिक्षकहरू नै पहिलो जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे । 

“विद्यार्थीले पढेनन्, अनुशासित भएनन्, सामाजिक सञ्जाल मोबाइल इन्टरनेटमा भुले भनेर तपाईँहरू पन्छिन मिल्दैन । नपढ्ने विद्यार्थीलाई पढ्ने बनाउने, विद्यार्थीलाई अनुशासित बनाउने, के गर्न हुने के गर्न नहुने सिकाउने तपाईँ शिक्षकहरूको जिम्मेवारी हो”, उपाध्यक्ष श्रेष्ठले भने, “उनीहरूले धेरै कुराहरू जानेका हुँदैनन्, के ठिक के बेठिक छुट्टाउन सक्दैनन् । त्यसैले विद्यालय र शिक्षकको आवश्यकता परेको हो ।”

Benighat_Rorang_SEE--(11)-1720584127.jpg
टाप बहादुर श्रेष्ठ, उपाध्यक्ष, बेनीघाट राेराङ गाउँपालिका । 

विद्यार्थीहरू तल्लो कक्षाहरूबाटै कमजोर भएर आएको तर एसईई अर्थात् कक्षा दशमा पढाउने शिक्षकलाई मात्रै दोष दिने गरेको भन्ने शिक्षकहरूको तर्कलाई उपाध्यक्ष श्रेष्ठले खण्डन गरे । 

“तपाईँहरू तल्लो कक्षाबाटै विद्यार्थीहरू कमजोर भएर आएको भन्नुहुन्छ, तल्लो कक्षामा पढाउने पनि तपाईँहरू जस्तै शिक्षक होइनन् ? जुन तहमा पढाए पनि शिक्षक शिक्षक नै हो, उसको काम राम्रोसँग पढाउने हो । बालबालिकाका, विद्यार्थीको भविष्यलाई सही मार्ग दर्शन गर्ने हो ।”, उपाध्यक्ष श्रेष्ठले भने । 

उपाध्यक्ष श्रेष्ठले शिक्षकहरूलाई समस्या मात्रै सुनाउन नभई समाधानका उपायहरू पनि सुझाउन गोष्ठीमा निमन्त्रणा गरेको सम्झाए । 

“तपाईँहरूलाई समस्या मात्रै सुनाउन बोलाएको होइन, समाधानका उपायहरू पनि ल्याउन भनेका थियौँ । तर तपाईँहरूबाट त्यो आएन ।”, उपाध्यक्ष श्रेष्ठले भने । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरेले पनि चरम निराशा पोखिन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा खस्कनुमा शिक्षकहरूले आफ्नो कमजोरी स्वीकार नगरेकोप्रति सुरुमै गुनासो गरिन् ।

“आजको गोष्ठीमा चाहिँ तपाईँहरूले आफ्नो कमजोरीको स्वीकारोक्तिबाट बहस छलफल सुरु गरेको भए राम्रो हुने थियो । तर, तपाईँहरू पानीमाथिको ओभानो बन्न खोज्नु भयो ।”, घिमिरेले भनिन्, “तपाईँहरूले आफ्नो कमजोरी महसुस नै गर्नुभएन । यहाँ त हामी सबैले निर्मम आत्म समीक्षा गर्नुपर्ने होइन र ? तपाईँहरूबाट कुनै आशा रहेन, आशा गर्ने पनि छैन ।”

Narbada_ghimire-1720583900.jpg
नर्बदा घिमिरे, प्रमुख प्रशासकीय अधिकृत, बेनीघाट राेराङ गाउँपालिका ।

कक्षाकोठाको नायक शिक्षकहरू नै भएकाले विद्यार्थी असफल हुँदा खासमा शिक्षक असफल भएको प्रमाणित हुने उनले बताइन् । “विद्यालय व्यवस्थापन समितिले विद्यालयको भौतिक पूर्वाधार लगायत आवश्यक स्रोत साधनको व्यवस्थापन गर्ने, सरकारले आवश्यक शिक्षक कर्मचारी, कार्यक्रम तथा बजेट व्यवस्थापन गर्ने काम गर्छ”, घिमिरेले भनिन्, “पढाउने र विद्यार्थीलाई असल शिक्षा दिएर राम्रो नागरिक उत्पादन गर्ने काम तपाईँ शिक्षकहरूको हो ।”

शिक्षकहरूले जागिरे मानसिकताबाट माथि उठेर समाजको आदर्श पात्रका रूपमा आफूलाई उभ्याउन सक्नुपर्ने घिमिरेले बताइन् । शिक्षकले विद्यालयमा पढाउने र जागिर पकाउने काम मात्र नगरी सिङ्गो समाज र समुदायको भविष्यबारे चिन्तन गरेर सोही अनुरूपको शिक्षा दिनुपर्ने धारणा घिमिरेले व्यक्त गरिन् । 

“बालबालिकाहरू तपाईँहरूका लागि विद्यार्थी मात्रै होलान्, तर उनीहरू समाज र समुदायको भोलिका नागरिक हुन् । उनीहरूलाई असल, सक्षम र इमानदार नागरिक बनाउने काम तपाईँहरूको काँधमा छ । यसलाई हल्का रूपमा लिएर बालबालिका, उनीहरूको समाज र समुदायको भविष्यमाथि खेलबाड नगर्नुहोला ।”

Benighat_Rorang_SEE--1720583900.jpg
बाेधराज पाठक, शिक्षा शाखा प्रमुख, बेनीघाट राेराङ गाउँपालिका (सबैभन्दा दायाँ) ।

गाउँपालिकाका शिक्षा अधिकृत बोधराज पाठकले हालै सार्वजनिक भएको एसईईको नतिजाले निराश बनाएको तर निराश भएर नभई नयाँ सोच, विचार र योजनाका साथ अघि बढ्नुको विकल्प नभएको बताए । 

“नतिजा बिग्रिएको हो तर हतोत्साहित हुनुपर्ने छैन र हुनु पनि हुँदैन”, अधिकृत पाठकले भने, “विगत विगत नै हो, जसले आगतलाई पाठ सिकाउँछ र भविष्यको मार्ग कोर्दछ ।”

अधिकृत पाठकले निराश नुहुनुपर्ने कारणबारे सूचकहरू प्रस्तुत गरे । “जिल्लाको समग्र सूचिमा ब्राइटफ्यूचर मावि दोस्रो नम्बरमा हुनु, हर्कपुर मावि १४ नम्बर आउनु, राइजिङ स्टार बोर्डिङ स्कुल १६ स्थानमा आउनु, बागेश्वरी माविको विद्यार्थीको जिपिए जिल्लामा सामुदायिकतर्फ दोस्रो नम्बरमा देखिनु ब्राइटफ्यूचर माविको विद्यार्थीको जिपिए ३.९१ आउनुले हामी जिउँदै छौँ भन्ने पुष्टि गरेको छ”, उनले भने, “एक वर्षको नतिजालाई लिएर विद्यालयप्रति अन्तिम धारणा निर्माण गर्नु पनि वाञ्छानिय हुँदैन भन्ने लाग्छ ।”

विद्यालयहरूले गरे प्रतिबद्धता व्यक्त 

पालिकाभित्रका १२ वटै माध्यमिक विद्यालयहरूले अर्को वर्ष नतिजामा सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । गाउँपालिकाले सबै विद्यालयलाई नतिजाको प्रतिरद्दतासहित अगाडि बढ्न निर्देशन दिएपछि विद्यालयहरूले नतिजा प्रतिशत निर्धारण गरेर प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । 

हालै सार्वजनिक भएको २०८० को नतिजामा शून्य प्रतिशत ल्याएको श्री बाँसखर्क मावि र श्री पञ्चकन्या माविले यस वर्ष ५०/५० प्रतिशत उत्तीर्ण गराउने प्रतिबद्धता जनाएको छ । 

३३.३३ प्रतिशत ल्याएको पिपलभन्ज्याङ माविले ५५ प्रतिशत, ३४.०७ प्रतिशत ल्याएको बागेश्वरी माविले ६३ प्रतिशत, शतप्रतिशत ल्याएको ब्राइटफ्यूचर माविले शतप्रतिशतसहित ४ जिपिए, ९४.१४ प्रतिशत ल्याएको हर्कपुर माविले ९५ प्रतिशत, २९.४१ प्रतिशत ल्याएको चन्द्रोदय मावि बेनीघाटले ले ६० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने प्रतिबद्धता जनाएका छन् । 

Benighat_Rorang_SEE--(5)-1720583892.jpg
४ जिपिए सहित शतप्रतिशत नतिजा ल्याउने प्रतिवद्धतामा हस्ताक्षर गर्दै ब्राइटफ्यूचर माविकी प्रअ कल्पना सिलवाल ।

त्यस्तै ५८.२३ प्रतिशत ल्याएको चन्द्रोदय मावि विशालटारले ८० प्रतिशत, ९१.६७ प्रतिशत ल्याएको राइजिङ स्टार बोर्डिङ स्कुलले १०० प्रतिशत, १५.७९ प्रतिशत ल्याएको कालिका माविले ५५प्रतिशत, १०.८१ प्रतिशत ल्याएको शङ्खादेवी माविले ५८ प्रतिशत, ९.०९ प्रतिशत ल्याएको राष्ट्रिय माविले ६० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने प्रतिबद्धता जनाएका छन् । 

प्रतिबद्धता पत्रमा विद्यालयका प्रअ, विव्यस अध्यक्ष, सहायक प्रअहरूले हस्ताक्षर गरेका छन् । 

प्रतिवद्धता पत्रः 

Benighat_Rorang_SEE--(8)-1720583888.jpg
बेनीघाट राेराङ गाउँपालिकाभरिका १२ वटा माविहरूले नतिजा सुधार गर्नका लागि जनाएकाे प्रतिवद्धता । 

तस्बिरः चन्द्र तामाङ/एभरेष्ट फेस 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update