धादिङको बेनीघाट रोराङ–१ स्थित ब्रोम्दिङ र थमभन्ज्याङमा पाँच हजार बोट चियाको बिरुवा रोपिएको छ ।
वडामा चिया खेतीको प्रवर्द्धन गर्ने उद्देश्य अनुरूप अघिल्लो आर्थिक वर्ष २०७९/८० र चालु आर्थिक वर्ष २०८०/८१ गरी पाँच हजार बिरुवा रोपिएको हो ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाले पाँच लाख रुपैयाँको लागतमा तीन हजार बिरुवा रोपिएको थियो । जसमध्ये ब्रोम्दिङ र थमभन्ज्याङमा पन्ध्र/पन्ध्र सय बिरुवा रोपिएको थियो ।
त्यस्तै चालु आर्थिक २०८०/८१ मा तीन लाख रुपैयाँको लागतमा थप दुई हजार बिरुवा रोपिएको हो । दुई हजार बिरुवामध्ये ब्रोम्दिङ र थमभन्ज्याङमा ६/६ सय बिरुवा रापिएको छ । बाँकी आठ सय बिरुवा पुरानो बिरुवा मरेको ठाउँमा रोपिएको चिया प्रवर्द्धन कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए ।
बेनीघाट रोराङ गाउँपालिकाले एक वडा एक कृषि उत्पादन पकेट क्षेत्रको रूपमा विकास गर्ने उद्देश्य लिएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा “एक वडा एक विशेष उत्पादन” नीति मार्फत आत्मनिर्भर स्थानीय अर्थतन्त्रको निर्माण गर्दै लगिने उल्लेख छ । जस अनुसार वडा नम्बर १ लाई चिया, अम्रिसो, आलु, बेमौसमी बन्दा, काउली खेतीको पकेट क्षेत्रको रूपमा विकास गरिने उल्लेख छ ।
गाउँपालिकाले चिया खेती प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा “पालिका क्षेत्रमा नगदे बालीका रूपमा चिया, अम्रिसो, अदुवा, बेसार आदिको उत्पादन र बजार प्रवर्द्धन गर्ने नीति लिइने” गाउँपालिकाले उल्लेख गरेको छ । जस अनुसार वडा नम्बर १ मा चिया प्रवर्द्धनको कार्यक्रमलाई निरन्तरता दिन पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
धादिङको दक्षिणी भेगमा पर्ने बेनीघाट रोराङ गाउँपालिकाको अधिकांश भूभाग महाभारत पर्वत क्षेत्रमा पर्दछ । महाभारत पर्वत शृङ्खलामै पर्ने वडा नम्बर १ को ब्रोम्दिङ र थमभन्ज्याङ समुन्द्री सतहबाट एक हजार सात सयदेखि दुई हजार तीन सय साठी मिटरसम्म फैलिएको छ । न्यानो समशीतोष्ण हावापानी पाइने यस क्षेत्रमा चिया खेतीको प्रबल सम्भावना रहेको छ । गाउँपालिकाले यस क्षेत्रका नाङ्गा डाँडाहरूमा चिया खेती प्रवर्द्धन गर्ने र स्थानीय समुदायको आयआर्जन बढाउने नीति लिएको छ । यससँगै पर्यटनको अथाह सम्भावना रहेको यस क्षेत्रमा चिया खेतीले पर्यटनको प्रवर्द्धनमा पनि टेवा पुग्ने गाउँपालिकाको विश्वास छ ।
राम्रोसँग चिया खेतीको प्रवर्द्धन गर्न सके यस क्षेत्रका नाङ्गा डाँडा/थुम्काहरू केही वर्षभित्र चिया बगानको रूपमा परिणत हुने छन् । चियाको उत्पादन र विक्री वितरणबाट स्थानीय समुदायको आयआर्जन बढ्ने छ भने पर्यटनको आगमनले थप आम्दानीको स्रोत सिर्जना हुने छ ।
बेनीघाट रोराङ–१ का वडा सदस्य सन्तोष तामाङले आगामी सातदेखि दश वर्षभित्र ब्रोम्दिङ र थमभन्ज्याङ चिया बगानमा परिणत हुने र सोही अनुरूप पालिका र वडा सरकारले काम गरिरहेको बताए ।
“यहाँ चिया रोप्न थालेपछि स्थानीय दिदीबहिनी दाजुभाइहरू पनि खुसी भएका छन् । चियाएको बगान हेर्न इलाम अथवा अन्त कतै जानु नपर्ने भएर उहाँहरू खुसी भएका छन्”, सदस्य तामाङले भने, “अबको सातदेखि दश वर्षभित्र यो डाँडा पनि इलामको जस्तै चिया बगान बन्छ भन्ने विश्वास छ ।”
संरक्षणको चिन्ता
चिया रोपिएको क्षेत्र पहिला खुल्ला चरण क्षेत्र थियो । चिया रोपिसकेपछि पनि स्थानीय समुदायले गाई वस्तु चराइदिँदा संरक्षणमा चुनौती देखिएको छ । गाईवस्तुले खाइदिने, हेरचाहको कमीले कतिपय बिरुवाहरू आफैँ मर्ने लगायत कारणले थुप्रै बिरुवाहरू हराइसकेका छन् । पहिला बिरुवा रापिएका ठाउँहरू/खाल्डाहरूमा पुनः नयाँ बिरुवा रापिएका छन् । तर, तिनको पनि संरक्षण हुनेमा शङ्का उत्पन्न भएको छ । बिरुवा मात्रै रोपेर यतिकै छोडिदिने हो भने “चियामा लगानी बालुवामा पानी” भने जस्तै हुनसक्छ । बिरुवाको रोपाई सँगसँगै तिनको हुर्काइ, बढाइ र संरक्षणमा पनि ध्यान दिन जरुरी छ ।
सोही वडाका अर्का वडा सदस्य बाबुलाल तामाङले चियाको बिरुवाको संरक्षणको लागि सक्दो पहल गरिरहेको बताए ।
“चिया रोपेको ठाउँमा गाईवस्तु नचराउन हामीले पटक पटक भनिरहेका छौँ । तर, छेउछाउमा चराउँदा कहिलेकाहीँ पस्ने रहेछ”, उनले भने, “त्यही भएर हामीले गाईवस्तुलाई चिया रोपेको क्षेत्रबाट टाढा लैजान भनेका छौँ । केही बिरुवाहरू खाएको रहेछ । अब हामी कडाइ गर्छौँ ।” हिउँदमा पानी हाल्ने र गोडमेल पनि गरेको उनले बताए ।
संरक्षणको लागि स्थानीय समुदाय आफैँ जागरूक हुन जरुरी छ । स्थानीय समुदायलाई चिया खेतीको उद्देश्य, यसले पछि दिने लाभ, यसको संरक्षणको दायित्व लगायत विषयमा जनचेतना अभिवृद्धि गराउनु आवश्यक देखिन्छ ।
अन्य तस्बिरहरूः
तस्बिरः चन्द्र तामाङ/एभरेष्ट फेस