छोराले खान नखाने, धेरै रुने, समय–समयमा ज्वरो आउने अनि उनको शरीर दिनानुदिन कमजोर हुँदै गएपछि बेनीघाट रोराङ–५ आपसोमराकी सिता चेपाङ एक महिनाअघि छोरालाई लिएर बेनीघाटस्थित अस्पतालमा पुगिन् । अस्पतालमा चेकजाँच गरेपछि उनको २८ महिने छोरा सुशील चेपाङलाई कुपोषण भएको पुष्टि भयो ।
छोरालाई कुपोषण भएको थाहा पाएपछि आत्तिइन् सिता । तर, उनको अत्तालिएको मनलाई अस्पतालले शान्त बनाइदियो । अस्पतालले उनलाई कुपोषणमा परेका बालबालिकाहरूलाई बेनीघाट रोराङ गाउँपालिका सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिए । अस्पतालले उनलाई बेनीघाट रोराङले सञ्चालन गरेको चरौँदीस्थित पोषण सुधार केन्द्रमा पठाइदियो ।
अहिले उनी पोषण सुधार केन्द्रमा बसेको एक महिना भयो । पोषण सुधार केन्द्रमा राखेको एक महिनामै छोरा सुशीलको स्वास्थ्यमा राम्रो सुधार आएको छ । छोराको स्वास्थ्यावस्थाले बेचैन भएकी सिताको मुहारमा अहिले मुस्कान पलाएको छ । उनको बेचैन मुहारमा मुस्कान भर्ने काम गरेको छ, पोषण सुधार केन्द्रले ।
बेनीघाट रोराङ–१० बाचराङकी शर्मिला चेपाङ एक वर्षकी छोरी सलिनाको स्वास्थ्य कमजोर हुँदै गएपछि चिन्तित भइन् । खाना नखाने, धेरै रुने, ज्वरो आउने भएपछि छोरी सलिनाको शरीर दिनदिनै कमजोर हुँदै गयो । शर्मिलाले छोरीलाई गाउँको स्वास्थ्य क्लिनिकमा लगेर जँचाइन् । छोरी सलिनालाई कुपोषण भएको रहेछ । कुपोषण भएको थाहा पाएर शर्मिला पनि आत्तिइन् । तर, गाउँको स्वास्थ्य क्लिनिकका कर्मचारीले गाउँपालिकाले निःशुल्क पोषण सुधार केन्द्र सञ्चालन गरेको र त्यहाँ लैजान भनेपछि उनको अत्तालिएको मनलाई राहत मिल्यो ।
उनले छोरीलाई पोषण सुधार केन्द्रमा ल्याएको दुई महिना भयो । अहिले छोरीको स्वास्थ्य राम्रो हुँदै गएको छ । निःशुल्क छोरीको उपचार पाएपछि उनी निकै दङ्ग छिन् । उनी भन्छिन्, “कति बच्चाहरू मृत्युको मुखमा पुगेर पनि बाँच्न सफल भएको छ । मेरी छोरीको स्वास्थ्य पनि राम्रो हुँदै गएको छ । गाउँपालिकाले यस्तो सुविधा दिएकोमा खुसी लागेको छ ।”
बेनीघाट रोराङ–१ स्थित पइन्टारका १२ वर्षीय निशान तामाङ वर्षौँदेखि खोरमा थुनिएको थियो । सुस्तमनस्थिति भएका निशानले के खान हुने के खान नहुने छुट्टाउन नसक्ने, जे पायो त्यही खाने र घरमा हेरचाह गर्ने मान्छे नभएपछि उनलाई खोरमा थुनेर राखिएको थियो । आमा अर्को बिहे गरेर गएपछि उनका बाबुले पनि दोस्रो विवाह गरे । निशानलाई गाउँमा हजुरआमासँग छोडेर बाबुआमा चितवन गए । हजुरआमाले रेखदेख गर्न नसकेपछि उनलाई खोरमा राख्न थालियो । खोरमा राखिएपछि उनको स्वास्थ्य झन् झन् कमजोर हुँदै गयो । उचित आहार र समयमा खाना नपाउँदा निशान कुपोषणको सिकार बने ।
निशानकाे पहिलाे भिडियाे रिपाेर्ट हेर्न यस लिङ्कमा क्लिक गर्नुहाेस्ः उपचार नपाउँदा मृत्यु कुर्दै १२ वर्षीय निशान गाेम्बा तामाङ (everestface.com)
उनको दयनीय अवस्थाबारे सञ्चारमाध्यमहरूले देखाएपछि गाउँपालिकाले निशानको उद्धार गरेर पोषण सुधार केन्द्रमा ल्याएको छ । अहिले निशानको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । खोरमा थुनिएर मृत्युसँग पैँठेजोरी खेलिरहेका निशानले अहिले नयाँ जीवन पाएको छ । नाति निशानले निःशुल्क उपचार पाएपछि हजुरआमा श्रीमायाको मुहारमा पनि मुस्कान पलाएको छ । नेपाली भाषा बोल्न नजान्ने श्रीमाया नेपाली र तामाङ भाषा मिसाउँदै मुस्कुराउँदै भन्छिन्, “खुसी लाग्यो, हाई ता पाङ्से ङाइ मी, ताम पाङ्बा आसे (खै के भन्नु र मैले त । बोल्न आउँदैन)।”
बेनीघाट रोराङ गाउँपालिकाले सञ्चालनमा ल्याएको पोषण सुधार केन्द्रमा अहिले सात जना बालबालिकाहरू उपचाररत छन् । केन्द्रबाट कुपोषणको सिकार भएर मृत्युको मुखमा पुगिसकेका बालबालिकाहरूले पुनर्जीवन पाइरहेका छन् ।
पोषण सुधार केन्द्रका प्रमुख टिका कुमारी घिमिरेका अनुसार केन्द्रबाट हालसम्म ४७ जना बालबालिकाहरूले उपचार पाएका छन् । घिमिरेले केन्द्रको प्रमुखको जिम्मेवारी सम्हालेको ६ महिना भयो । यसबीचमा केन्द्रबाट दर्जनौँ बालबालिकाहरूले नयाँ जीवन लिएर गएका छन् । कुपोषणका कारण रुघ्न अवस्थामा पुगेका बालबालिकाहरू केन्द्रमा आएर हृष्टपुष्ट भएर नयाँ जीवन लिएर गएको देख्न साह्रै आनन्द महसुस गरेको उनी सुनाउँछिन् ।
पोषण सुधार केन्द्र सञ्चालन गर्ने नेपालकै पहिलो पालिका बेनीघाट रोराङ
धादिङको दक्षिणी भेगमा पर्ने बेनीघाट रोराङ गाउँपालिकाले २०८० जेठबाट पोषण सुधार केन्द्र सञ्चालनमा ल्याएको हो । गाउँपालिकाका अनुसार यो पोषण सुधार केन्द्र स्थानीय सरकारले सञ्चालनमा ल्याएको नेपालकै पहिलो पोषण सुधार केन्द्र हो । बेनीघाट रोराङ गाउँपालिका पोषण सुधार केन्द्र सञ्चालनमा ल्याउने नेपालकै पहिलो पालिका बनेको छ ।
अति सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको बेनीघाट रोराङ गाउँपालिकामा विशेषगरी चेपाङ र दलित समुदायका बालबालिकाहरूलाई कुपोषणबाट बचाउन पोषण सुधार केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ब्रजेश तामाङले बताए ।
“हाम्रो गाउँपालिकामा अति सीमान्तकृत चेपाङ समुदायको बाहुल्य छ । अशिक्षा, गरिबी र चेतनाको कमीका कारण खासगरी चेपाङ र दलित समुदायका बालबालिकाहरू कुपोषणको सिकार बनेको अवस्था छ”, प्रमुख तामाङले भने, “खासगरी चेपाङ र दलित समुदायलाई लक्षित गरेर पोषण सुधार केन्द्र सञ्चालनमा ल्याइएको हो ।”
बेनीघाट रोराङ गाउँपालिकाको कुल जनसङ्ख्याको ३८ प्रतिशत चेपाङ समुदायले ओगटेको छ । गरिबी, अशिक्षा र चेतनाको कमीका कारण सो समुदायका बालबालिकाहरू कुपोषणको सिकार बन्ने गरेका छन् । गाउँपालिकाले सञ्चालनमा ल्याएको पोषण सुधार केन्द्रमा सबैभन्दा बढी बालबालिकाहरू चेपाङ समुदायकै छन् । खासगरी चेपाङ र दलित समुदायलाई लक्षित गरेर पोषण सुधार केन्द्र सञ्चालनमा ल्याइएको भएपनि पालिकाभरिका जुनसुनकै समुदायका बालबालिकाहरूले केन्द्रबाट समान उपचार सेवा लिन सक्छन् ।
पोषण सुधार केन्द्रमा बालबालिकाहरूलाई सन्तुलित भोजन, आवश्यक भिटामिन तथा औषधिहरू, नियमित चेकजाँच, हेरचाह लगायत सेवा निःशुल्क उपलब्ध हुन्छ । बालबच्चाका आमा वा कुरुवालाई पनि खाना बस्नको सुविधा उपलब्ध हुन्छ । सुरुमा भर्ना गर्दा बच्चा र आमा (कुरुवा)लाई एक जोर कपडा समेत दिइन्छ । बालबालिकाको हेरचाह गर्न, सरसफाइ गर्न, धुन, नुहाउन अभिभावकले सहयोग गर्नुपर्छ । केन्द्रका कर्मचारीहरूले पनि सहयोग गर्छन् ।
सामान्यतया बालबालिकाहरू तीन महिनासम्म राख्ने गरेका छन् । यद्यपि उनीहरूको स्वास्थ्यावस्था अनुसार थोरै वा धेरै समय राख्न पनि सक्छन् । यति नै समय राख्नुपर्ने वा राख्न पाइने भन्ने नियम छैन । केन्द्रबाट उपचार गरेर घर फर्किएका बालबालिकाहरूलाई पनि केन्द्रले नियमित रूपमा फलोअप गरिरहन्छ ।
केन्द्रमा राखेर उपचार गर्दैगर्दा बालबालिकाहरूमा जटिल स्वास्थ्य समस्या देखिए केन्द्रले नै एम्बुलेन्सको व्यवस्था गरेर अस्पतालमा पठाउने गरेको केन्द्रका प्रमुख घिमिरेले बताइन् ।
पोषण सुधार केन्द्रमा आमाहरूलाई सीपमूलक तालिम
पोषण सुधार केन्द्रले बालबालिकाहरूको उपचार मात्र गर्दैनन्, बालबालिकाहरूका आमा(कुरुवा)हरूलाई सीपमूलक तालिम समेत दिन्छन् । चकटी बुन्ने, ढकिया बुन्ने लगायत विभिन्न हस्तकला सामाग्रीहरू बनाउने तालिम दिइन्छ । यसका साथै बालबच्चाको हेरचाह, सरसफाइ, सन्तुलित भोजन लगायत विषयमा दैनिक रूपमा सिकाइन्छ ।
“पोषण सुधार केन्द्रबाट आमाहरू बालबच्चाको उपचार मात्रै गरेर जाँदैनन् । उनीहरू आफैँ पनि नयाँ सिप, चेतना र शिक्षाको कोसेली लिएर जान्छन् ।”, प्रमुख घिमिरे भन्छिन् ।
बालबच्चाहरूलाई खाना खुवाउने, औषधि खुवाउने, नियमित चेकजाँच लगायत स्याहारसुसार गर्ने काममा केन्द्रकै कर्मचारी खटिन्छन् ।
फुर्सदमा यत्तिकै बस्ने आमाहरूलाई स्वास्थ्य शिक्षा, सरसफाइ, पोषण, सन्तुलित भोजनदेखि घरपरिवार र सामाजिक व्यवहार सम्मको चेतना बढाउने काम केन्द्रले गर्दै आएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि पोषण सुधार केन्द्रलाई निरन्तरता दिनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छ ।
अत्यन्तै निम्न वर्गीय समुदायलाई लक्षित गरेर ल्याएकाे यस कार्यक्रमलाई लिएर गाउँपालिकाबासीले पालिका सरकारकाे सराहना गरिरहेका छन् ।