Everest Face
धादिङको नीलकण्ठ नगरपालिकामा रोजगार मेला लाग्दै

धादिङको नीलकण्ठ नगरपालिकाले सीप, तालिम तथा रोजगार मेला आयोजना गर्ने भएको छ । 

सीप तथा क्षमता भएका र रोजगारीको खोजीमा रहेका व्यक्तिहरूलाई लक्षित गर्दै असार १४ गते सीप तथा रोजगार मेला सञ्चालन गर्न लागिएको हो ।

शनिवार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले असार १४ गते रोजगारदाता र रोजगारी चाहने श्रमिक युवाबीच समन्वय गराउने उद्देश्यले युवा, सीप, तालिम तथा रोजगार मेलाको आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दीपक विश्वकर्माले श्रमिकले रोजगारी नपाउने र रोजगारदाताले श्रमिक नपाउने अवस्थालाई अन्त्य गर्न मेलाको आयोजना गर्न लागिएको बताए ।

उनले एकतर्फ देशमा रोजगारीको सुनिश्चितता भएन भनेर विदेशिनेको लर्को लागेको र अर्कोतर्फ रोजगारदाताले श्रमिक नपाएर अन्यत्रबाटै श्रमिक भित्र्याउनुपर्ने अवस्था रहेको भन्दै श्रमिक र रोजगारदाताबीच समन्वय गराउने र बेरोजगारी न्यूनीकरण गर्न मेलाले टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । 

उप–प्रमुख विश्वकर्माले  हातमा सिप हुनेलाई रोजगारीको अवसर प्रदान गर्न, सफल व्यवसायी र विषय विज्ञसँग अन्तरसंवाद गर्न, रोजगारी खोज्ने र दिनेहरूबीच नवप्रवर्तन र स्वव्यवसाय विकासलाई प्रवर्द्धन गर्न यो मेला कोशेढुंगा साबित हुने बताए ।

जिल्लाको सदरमुकाम धादिङबेशीमा रहेको नीलकण्ठ बाल मन्दिर माध्यमिक विद्यालयमा हुने मेलामा सरकारी, निजी, गैरसकारी क्षेत्रका रोजगारी, सिप, तालिम, व्यवसाय तथा समग्र श्रम सम्बन्धी १४ ओटा स्टल रहने नीलकण्ठ नगरपालिकाका प्रवक्ता प्रकाशकुमार श्रेष्ठले जानकारी दिए । मेलामा धादिङ उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्स, होटेल सङ्घ, उद्योग तथा वाणिज्य कार्यालय, कृषि विकास तथा पशुसेवा कार्यालय, उद्यमशीलतामा काम गर्ने विभिन्न संस्थाहरू, व्यावसायिक तथा सीप विकास तालिम केन्द्र लगायतले स्टल राखेर रोजगारी सम्बन्धी परामर्श दिने उनले बताए ।

असार १४ गते हुने एक दिने युवा सिप, तालिम तथा रोजगार मेलाले रोजगारीको खोजीमा रहेका विविध क्षेत्रका युवाहरूलाई रोजगारदातासँग जोड्न, उद्यमशीलता तथा रोजगारका कैयन अवसरका बारेमा ज्ञान दिइने प्रवक्ता श्रेष्ठले बताए । 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update