Everest Face
बेनीघाट रोराङ गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित 

धादिङको बेनीघाट रोराङ गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । 

शुक्रवार बिहान गाउँपालिकाको कार्यालय विशालटारमा पालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) को अध्यक्षतामा बसेको गाउँकार्यपालिकाको पन्ध्रौँ बैठकले पालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो ।

वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष थपलियाले आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले सामाजिक पूर्वाधारतर्फ शिक्षा र स्वास्थ्यमा उल्लेखनीय प्रगति गरेको बताए । चालु आर्थिक वर्षको अन्त्यतिरसम्म आउँदा उत्कृष्ट कार्यसम्पादन गरेर पालिकालाई देशकै नमुना स्थानीय तह बनाउन सकेको र यसलाई कायम राख्न जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, बुद्धिजीवी एवम् समुदायको उतिकै भूमिका रहने उनले बताए । 

bibek-thapaliya-(2)-1718967029.jpg
निति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष  कृष्ण बहादुर थपलिया (विवेक) (बायाँ), प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे (दायाँ) ।

“समृद्ध, समावेशी र सुखी बेनीघाट रोराङको आधार: कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, सुशासन र पूर्वाधार” भन्ने गाउँपालिकाको दीर्घकालीन सोचलाई सार्थक बनाउने अभियानमा पालिका सफल मार्गमा रहेको बताए । 

“गाउँपालिकाको वडा नम्बर ८ मा एकीकृत आवासीय विद्यालयको निर्माण कार्य तथा अन्य तयारी अन्तिम चरणमा पुगेको छ । कुपोषण अन्त्यका लागि नेपालकै सम्भवतः पहिलो पोषण सुधार केन्द्रको थालनी गरेका छौँ”, अध्यक्ष थपलियाले भने, “यसै आर्थिक वर्षमा खानेपानी गुणस्तर प्रयोगशालाको स्थापना र सञ्चालन गरी हाम्रो पालिकामा मात्र होइन छिमेकी गाउँपालिकाका लागि समेत खानेपानीबाट हुनसक्ने सरुवा रोगबाट बच्न र बचाउन सहयोगी सिद्ध भएको छ ।”

यसैगरी गुणस्तरीय शिक्षामा गरिब र धनी जुनसुकै कोखमा जन्मेका बालबालिकाको उतिकै हक हुने कुरा सुनिश्चित गर्न मरिमेटेर लागि परेको उनले बताए । साथै महिलाको आर्थिक सामाजिक सशक्तीकरणलाई सदैव प्राथमिकतामा राखेको अध्यक्ष थपलियाले बताए । 

bibek-thapaliya-(1)-1718967032.jpg
गाउँसभामा उपस्थित कार्यपालिका सदस्य एवम् जनप्रतिनिधिहरू ।

अध्यक्ष थपलियाले गाउँपालिकाले सुशासन र सेवा प्रवाहमा देशभरिमै ख्याति कमाएको बताउँदै यस कार्यमा भूमिका खेल्ने सबैप्रति कृतज्ञता व्यक्त गरे । 

“सुशासन र सेवा प्रवाहमा ख्याति नै कमाएका छौँ । गाउँपालिकाको अभूतपूर्व कार्य सम्पादनको श्रेयको भागीदार यहाँ उपस्थित सम्पूर्ण गाउँसभा सदस्यज्यूहरू हुनुहुन्छ”, उनले भने, “गाउँपालिकालाई देशकै नमुना र उदाहरणीय गाउँपालिका बनाउन यहाँहरूले आ–आफ्नो ठाउँबाट खेल्नु भएको भूमिकाको उच्च कदर गर्दछु । आगामी दिनहरूमा समेत गाउँपालिकाको गतिविधि तथा कार्य सम्पादनलाई सूक्ष्म रूपले नियाल्दै र पृष्ठपोषण दिँदै पालिकालाई कमजोरी सच्याउँदै अगाडि बढ्ने रचनात्मक वातावरण यहाँहरूले सृजना गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछु ।”

bibek-thapaliya-(3)-1718967029.jpg
गाउँसभा सम्पन्न भएपश्चात सामूहिक तस्बिर । 

तस्बिरः चन्द्र तामाङ/एभरेष्ट फेस 
 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update