Everest Face

मकवानपुरको कैलाश गाउँपालिका–२ स्थित वैकुण्ठ–कैलाशमा नेपालकै सबैभन्दा लामो जिपलाइन बन्ने भएको छ । 

वैकुण्ठ र कैलाश गाउँलाई जोड्ने एक हजार पाँचसय मिटर लम्बाई र एक हजार मिटरको उचाइमा रहने जिपलाइनको धमाधम निर्माण भइरहेको कैलाश–२ का वडाध्यक्ष राजेन्द्र घिसिङले जानकारी दिए । 

वैकुण्ठ–कैलाशको पर्यटन प्रवर्द्धनका लागि कैलाश गाउँपालिकाले पालिकाको एक महत्त्वाकाङ्क्षी योजनाको रूपमा करिब दुई करोड रुपैयाँको लागतमा जिपलाइन निर्माण गर्न लागिएको वडाध्यक्ष घिसिङले जानकारी दिए । 

गाउँपालिकाले दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय योजनाको रूपमा जिपलाइनलाई अगाडि बढाएको हो । आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको बजेटको काम अहिले भइरहेको छ । 

सन्ध्या निर्माण सेवाले ठेक्का लिएर काम गरिरहेको छ । जिपलाइन आधारभूत काम यसै आर्थिक वर्षमा सम्पन्न हुने र जिपलाइन सँगै रहने अन्य संरचनाहरूको निर्माण आगामी आर्थिक वर्षमा हुने उनले जानकारी दिए ।

Rajendra_Ghising--1718611064.jpg
राजेन्द्र घिसिङ, वडाध्यक्ष, कैलाश गाउँपालिका-२, मकवानपुर । 

जिपलाइनसँगै आकर्षक रेष्टुरेन्ट र पार्कहरू समेत बन्ने छ । वैकुण्ठ डाँडाबाट सुरु भएर कैलाशको डाँडामा ल्यान्ड हुने छ । 

नेपालकै सबैभन्दा लामो जिपलाइन बनेपछि कैलाश–२ को मात्र नभई समग्र कैलाश गाउँपालिकाको पहिचान बढ्ने र पर्यटन प्रवर्द्धनमा पनि ठुलो टेवा पुग्ने वडाध्यक्ष घिसिङले बताए । 

विष्णुकुण्ड, गुरु पद्मसम्भवको प्रतिमा, डाँफे मुनाल पार्क, ऐतिहासिक सतिघाट, भाइरल पिङ लगायत पर्यटकीय आकर्षणहरू रहेको वैकुण्ठमा जिपलाइन अर्को ठुलो आकर्षण बन्ने भएको छ ।

प्राकृतिक, धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटनको केन्द्र वैकुण्ठ कैलाश अब साहसिक पर्यटनको गन्तव्य पनि बन्ने भएको छ । देशकै लामो जिपलाइन बनेपछि देशभरिकै आन्तरिक पर्यटकहरूको ध्यानाकर्षण गर्ने र बाह्य पर्यटकहरूको समेत आगमन बढ्ने स्थानीयको विश्वास छ । 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update