शिक्षक होस् या निजामती कर्मचारी, चिकित्सक होस् या सैनिक प्रहरी प्रायः सुगम ठाउँ रोज्छन् । दुर्गम ठाउँमा पुग्यो भने सेवामा भन्दा सरुवाको दौडधुपमा समय बिताउँछन् । सुगम अथवा आफूलाई अनुकूल हुने ठाउँमा सरुवा हुन साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्छन् । हुन त सुगमता खोज्नु, आफू अनुकूलता खोज्नु मानवीय स्वभाव हो । तर, आफ्नो पेशा वा सेवा क्षेत्रको न्यूनतम धर्मलाई निभाउनु असल मानवको कर्तव्य हो । आफ्नो कर्तव्यको पालना गर्नु असल मानिसको परिचय हो । यद्यपि कतिपय मानिसहरू भने प्रतिकूलतादेखि भाग्दैनन् । बरु त्यसलाई नै अनुकूल बनाउने कोसिस गर्छन् । अप्ठ्यारा र चुनौतीहरूलाई अवसरको रूपमा हेर्दछन् । र, आफूलाई प्रतिकूलतासँग जुध्ने सामर्थ्यवान् साबित गरेर छोड्छन् ।
यस्ता एक व्यक्ति हुन् जीवन कुमार श्रेष्ठ उर्फ जीवन सर । आजभन्दा दुई दशक अघि २०६१ सालको जेठ महिनाको उखरमाउलो गर्मीमा धादिङको गजुरी बजारबाट पृथ्वी राजमार्गलाई छोडेर दक्षिणतिर महाभारत लेकतर्फ उक्लिँदै गर्दा जीवन कुमार श्रेष्ठको मनमा अनेक कौतुहलताहरू पक्कै उठेका थिए । खानाको लागि नुन, तेल, दाल, चामल, मसला साँझ टुकी बाल्नको लागि मट्टितेल, लत्ताकपडा लगायत सामलतुमल बोकेर तत्कालीन महादेवस्थान गाविसको वडा नम्बर ६ मा पर्ने सिमटार गाउँसम्म उनी उक्लिँदै थिए ।
उनी जागिर खाना आएका थिए । तर, गाउँलेहरूले परिवारको सदस्य जस्तो व्यवहार गरे । उनले गाउँलेहरूको प्रेम र स्नेहले “आफू जागिर खाना आएको हुँ” भन्ने पनि भुले ।
“नयाँ गाउँ, नयाँ ठाउँ, चिनेजानेका कोही थिएनन् । आफूलाई चाहिने सामलतुमल बोकेर आइयो । विद्यालयको अध्यक्ष अक्कल तामाङ हुनुहुन्थ्यो । उहाँकै घरमा बस्यौँ ।” स्मृतिका पानाहरू पल्टाउँदै उनी सुनाउँछन्, “एक हप्ता उहाँको घरमा बस्यौँ । उहाँ अक्कल दाइले सारै माया र सम्मान गरेर घरमा राख्नुभयो । पछि हामीलाई बस्ने घर पनि खोजिदिनु भयो । हामी बस्यौँ ।”
आफूले दुई दशक बिताएको विद्यालयलाई छोडेर जाँदै गर्दा हालै जेठ ३१ गते आयोजित बिदाइ कार्यक्रममा बोल्दै उनले थुप्रै किस्साहरू सुनाए । बीस वर्षअघि गाउँको विद्यालयमा पढाउन आउँदाका दिनहरू, बिताएका क्षणहरू, भेटिएका मानिसहरू सम्झेर अलि भावुक देखिए जीवन सर । सम्झनाका पोकाहरू खोल्दै जाँदा अलिकति भावुकता, अलिकति हाँसो अनि गहिरो हार्दिकताको मिश्रण उनको मुहारमा पोखियो । उनले पटक पटक ‘हाँसाहाँसी नै बिदाइ लिएर जाने’ बताइरहेका थिए । हँसिलो मुहारका उनी हाँसिरहेकै थिए, हाँसाहाँसी बोलिरहेकै थिए । तर, उनका आँखाहरू भने भिजिसकेका थिए ।
“अक्कल दाइहरूले ‘सरहरूलाई भुईँमा सुताउनु हुँदैन’ भनेर चिम्बाङबाट खाट बनाएर ल्याइदिनु भयो । त्यो खाट अहिले पनि छ । खुट्टाहरू बलिया नै छन् । फलेक मात्रै अलि बिग्रेको छ ।”, पुनः दुई दशकअघि फर्किँदै उनले सुनाए, “यति मात्रै होइन, हामीलाई खाना पकाउने भाँडाकुँडा, पानी बोक्ने गाग्री समेत किनिदिनु भयो । अनि, हामीलाई तरकारी, खुर्सानी, सागसब्जी सिमटार गाउँका बासिन्दाहरूले घरमै पुर्याइदिनुभयो । अक्कल दाइ लगायत सिमटारबासीले गरेको त्यो मायाले मलाई यहाँ २० वर्ष रोक्यो ।”
सिमटारबासीको प्रेमले ओतप्रोत भएका उनले त्यत्ति बेलै मनमनै दृढ सङ्कल्प गरेका थिए, “अब जीवनमा जति वर्ष पढाउँछु, यही ठाउँमा पढाउँछु अनि अवकाश लिन्छु ।” उनले त्यही गरे । आफ्नो सङ्कल्प पुरा गरे । बीस वर्ष सिमटार आविमा पढाएर स्वैच्छिक अवकाश लिएर जाँदैछन् उनी ।
वि.सं. २०२५ साल वैशाख २५ गते गोरखाको पालुङटारमा जन्मिएका उनी अहिले ५७ वर्षका भए । उनले ३७ वर्ष विद्यालयमा पढाएर बिताए । उनले औँला समाएर क, ख, र, १,२,३, ए, बी, सी, डी सिकाएका विद्यार्थीहरू विभिन्न क्षेत्रहरूमा स्थापित भए होलान् । उनी आफ्नो धर्ममा अडिग रहे । शिक्षाको ज्योति छर्ने महायज्ञमा उनी अनवरत लागिरहे ।
करिब चार दशकको शिक्षण पेसामा उनले जम्मा दुई वटा विद्यालयमा पढाए । वि.सं. २०४३ सालमा उनले धादिङको उत्तरी भेगमा गणेश हिमालको फेदमा अवस्थित तिप्लिङ गाउँमा रहेको दोङदेन देवी प्राविबाट शिक्षण पेशा सुरु गरे । हाल रुबी भ्याली गाउँपालिकामा पर्ने उक्त विद्यालय माविमा स्तरोन्नति भएको छ । उक्त विद्यालयमा १७ वर्ष पढाएपछि २०६१ सालमा सिमटार प्राविमा पढाउन आएका हुन्, जीवन सर ।
गोरखामा जन्मिए । जीवन सरले धादिङको उत्तरी भेग र सबैभन्दा दक्षिणी भेगमा शिक्षण जीवन बिताए । सुगम ठाउँ, घर पायक अथवा अनुकूल र सहज ठाउँको खोजी उनले कहिल्यै गरेनन् । उनले आफ्नो रगत र पसिनाले धादिङलाई सिञ्चित गरे ।
“जहाँ समाज अन्धकार छ, पिछडिएको छ, त्यस्तै गाउँ, ठाउँ र समाजमा शिक्षाको ज्योति छर्नु नै एक असल शिक्षकको धर्म हो ।”, उनी भन्छन्, “रुबीभ्यालीमा पुग्दा त्यहाँ मेरो खाँचो महसुस भएको थियो, त्यसैले त्यहाँ १७ वर्ष बिताएँ । सिमटारमा आउँदा यो गाउँ, यो ठाउँ र समाजको लागि मैले केही योगदान गर्न आवश्यक ठानेँ । अनि यहाँका मानिसहरूको सरलता, प्रेम र सद्भावले मलाई रोकिराख्यो ।”
सिमटार गाउँमा उनी केवल विद्यालयका शिक्षक मात्रै भएर बसेनन् । समाजका एक असल अभिभावक भएर बसे । सिमटार गाउँका एक असल बासिन्दा भएर बसे । समाजमा झैझगडा, मुद्दा मामला पर्दा मेलमिलापकर्ताको रूपमा टुक्रुक्क हाजिर हुन्थे जीवन सर । शैक्षिक उन्नयनका लागि प्रयास गर्नु उनको धर्म नै थियो, उनले आफूलाई शिक्षामा मात्रै सीमित राखेनन् । सामाजिक, आर्थिक एवम् विकास निर्माणका कार्यहरूमा पनि रचनात्मक सहयोग गरे । सिमटार गाउँको सर्वाङ्गीण विकासमा सरिक भए ।
उनको नजरमा विगत दुई दशकको अवधिमा यस क्षेत्रले अभूतपूर्व फड्को मारेको छ । आफू आउँदा ताका खानाको लागि धौधौ हुने यहाँका बासिन्दाहरू अहिले घरघरमा सडक पुर्याएर आफ्नै सवारी साधन किनेर बसिरहेको उनी बताउँछन् ।
“म आउने बेला खाना लाउन नपुगेर बालबच्चालाई विद्यालयमा समेत पठाउँदैन थिए । घरको काममा सघाउन बालबच्चाहरू बाध्य थिए । अहिले सम्पन्न भएर बालबच्चाहरूलाई सहरमा लगेर पढाएका छन् ।”, जीवन सर भन्छन्, “बालबच्चाहरूलाई सहर बजारमा लगेर पढाउन थालेपछि यहाँ विद्यार्थी सङ्ख्या घट्दै गएको छ ।”
दुई दशक अघि ६०–८० जना विद्यार्थी पढ्ने सिमटार आविमा अहिले जम्मा २८–३० जना विद्यार्थी छन् । आफ्नै घर आँगनको विद्यालय छोडेर बालबच्चालाई सहरमा लगेर पढाएको प्रति उनी त्यत्ति सन्तुष्ट छैनन् । त्यसो गर्नुभन्दा आफ्नै गाउँको विद्यालयको गुणस्तर अभिवृद्धि गरेर बालबालिकालाई घरपरिवारसँगै बसेर गाउँमै पढ्ने व्यवस्था गर्नतर्फ ध्यान दिनुपर्ने उनको मत छ ।
बिदाइ कार्यक्रममा उनले बीस वर्षको अवधिमा विद्यालयको विकासमा गरेका कार्यहरूको फेहरिस्त सुनाए । उनको कदममा साथ दिएका व्यक्तित्वहरूलाई आफ्नै हातबाट कदरपत्र दिएर सम्मान व्यक्त गरे । उनले विगतका कथाहरू सुनाउँदा बिदाइ कार्यक्रममा सन्नाटा छायो । साँझ बिदाइ भोजको आयोजना गरे । उनको बिदाइ भोजमा सिमटारका बासिन्दाहरू, स्थानीय जनप्रतिनिधि, पूर्व सहकर्मीहरू, वडाका सम्पूर्ण विद्यालयका शिक्षक कर्मचारीहरू उपस्थित भए । बिदाइ समारोहमा स्थानीय समुदायको उपस्थितिले निकै खुसी देखिए जीवन सर ।
अन्तिममा पंत्तिकारलाई जीवन सरले भने, “म बीस वर्ष अघि करिब करिब ३० केजीको भारी बोकेर ३० किलोमिटर हिँडेर आएको थिएँ, भोली त्यो भन्दा हल्का झोला बोकेर मोटरसाइकलमा जाँदै छु ।”
अन्य तस्बिरहरूः
तस्बिरः चन्द्र तामाङ/एभरेष्ट फेस