Everest Face
बागमती प्रदेशको बजेट: ६४ अर्ब ५४ करोड

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड चार लाख रुपैयाँको बजेट ल्याएको छ।

आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले शनिबार प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गरेका हुन्। चालु खर्चतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ एक अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षको खर्च बेहोर्ने स्रोतमध्ये कर राजस्वबाट २७ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड रुपैयाँ, संघीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ६५ लाख रुपैयाँ, चालू आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ८६ करोड रुपैयाँ अनुमान गरिएको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनमा एक अर्ब ८४ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको हो। चालु आर्थिक वर्षमा प्रदेश सरकारले ६२ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएको थियो।

प्रदेश सरकारले व्यावसायिक उत्पादन वृद्धि तथा थप रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण प्रवाह कार्यक्रमलाई निरन्तरता दिनको लागि एक अर्ब ५० करोड छुट्याएको छ। त्यस्तै, मन्त्री थपलियाले प्रदेश सडक यातायात गुरुयोजना बनाएर काम गर्न सात अर्ब ७८ करोड बजेट विनियोजन गरेका छन्।

गुरुयोजनामा प्रदेश लोकमार्गमा २० वटा र प्रदेश मार्गमा २३० वटा सडक राखिएको छ। बागमती सरकारले सडक, पुल र झोलुङ्गे पुलका लागि दुई अर्ब २८ करोड रुपैयाँ विनियोजन गरेको छ।

प्रकाशित मिति: आइतबार, असार २, २०८१  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update