Everest Face
नेपालमा गाँजा खुला गर्ने तयारी

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपालमा गाँजा खुला गर्न एक महिना भित्रै नियमावली ल्याउने बताएका छन् । 

शुक्रवार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी र प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले औषधीय र औद्योगिक प्रयोजनका लागि एक महिनाभित्र गाँजासम्बन्धी नियमावली ल्याउने बताएका हुन् । 

गृहमन्त्री लामिछानेले गाँजाबाट औषधि र विभिन्न सामाग्री निर्माणका लागि गाँजा खेती खुला गर्न लागिएकाे बताए । उनले मन्त्रालयले यसबारे काम गरिरहेको बताउँदै एक महिनाभित्रै नियमावली आउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

बैठकमा समितिका सभापति आरजु राणा देउवाले भदौसम्म गाँजा खुला गर्ने नियमावली ल्याउन मन्त्रालयलाई निर्देशन समेत दिएकी छन् ।

वि.सं. २०३३ सालभन्दा अगाडि नेपालमा गाँजा खुला थियो । २०३३ सालमा  लागु औषध नियन्त्रण ऐन २०३३ आएपछि गाँजालाई प्रतिबन्ध लगाएको थियो । नेपालमा पश्चिमी देशहरूको दबाबमा गाँजा खेती र बिक्रीलाई प्रतिबन्ध लगाएको बताइन्छ ।  नेपालमा पर्यटक आउने चलन सन् १९६० को दशकमा गाँजा खाने संस्कृतिबाट सुरु भएको हो ।

सन् १९६१ मार्चमा संयुक्त राष्ट्रसङ्घीय मुख्यालयमा सम्पन्न सम्मेलनले अन्तर्राष्ट्रिय सन्धि ‘द सिङ्गल कन्भेन्सन अन नार्कोटिक ड्रग्स १९६१’ पारित गरेको थियो । जसले गाँजालाई पनि अफिम सरहको कडा लागूऔषध मान्दै प्रतिबन्ध लगाएको थियो ।

विश्वका अधिकांश देशहरूले गाँजालाई खुला गरिसकेका छन् । नेपालमा पनि गाँजालाई खुला गर्ने विषयमा बहस भइरहेको छ । 

 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update