Everest Face

धादिङ बहुप्राविधिक शिक्षालय गजुरीका विद्यार्थीहरूले बेनीघाट रोराङ–१ मा कृषि तथा पशुपालन क्षेत्रका समस्याहरूबारे अध्ययन गरेका छन् ।

कृषि तथा पशु प्राविधिक एवम् प्रसिक्षार्थीहरूले जेठ ७–९ सम्म बेनीघाट रोराङ–१ का सिमटार र जरुङ गाउँका कृषकहरूसँग घरघरमा पुगेर उनीहरूका समस्याहरूबारे स्थलगत अध्ययन गरेका हुन् । 

जेठ सात गते सिमटार गाउँका कृषकहरूसँग भेटघाट तथा अध्ययन गरेका विद्यार्थीहरूले आठ गते जरुङ गाउँका कृषकहरूसँग साक्षात्कार गरेका थिए । दुई दिनमा करिब एकसय पचास कृषक परिवारसँग भेटेर अध्ययन गरेका उनीहरूले पशु स्वास्थ्य तथा कृषिबाली शिविर समेत सञ्चालन गरेका छन् । 

CTEVT-Dhading-(1)-1716374182.jpg
शिविरमा मकैबालीकाे राेग परीक्षण गर्दै प्रशिक्षार्थीहरू ।

शिविरमा पशु चौपायाको स्वास्थ्य परीक्षण, बालीनालीको रोग परीक्षण, माटो परीक्षण गरिनुका साथै आवश्यक औषधिहरू समेत निःशुल्क वितरण गरिएको छ । शिविरमा कृषकहरूलाई कृषि तथा पशुपालनका विषयमा परामर्श समेत दिइएको छ । 

शिविरका क्रममा विषादीहरूको प्रयोगका विषयमा जनचेतनामूलक नाटक समेत देखाइएको थियो । “विषादीहरूको सही तरिकाले प्रयोग गरौँ, वातावरण र आफूलाई पनि बचाऔँ” भन्ने मूल सन्देश बोकेको नाटक शिक्षालयकै विद्यार्थी अरुण राईले लेखेका थिए । 

प्रशिक्षार्थीहरूलाई समुदायसँग प्रत्यक्ष साक्षात्कार गराई कृषकहरूको वास्तविक समस्याको पहिचान गर्न र समाधानका उपायहरूको खोजी गर्न टेवा पुर्‍याउने उद्देश्यले स्थलगत अध्ययन तथा अनुसन्धान कार्यक्रमको आयोजना गरिएको शिक्षालयका प्राचार्य कविराज भण्डारीले बताए । 

Kabiraj_Bhandari-1716374229.jpg
कविराज भण्डारी, प्राचार्य, धादिङ बहुप्राविधिक शिक्षालय, गजुरी-१, धादिङ ।

“नेपाल कृषि प्रधान देश भएपनि कृषि तथा पशुपालन व्यवसायलाई आधुनिकीकरण गर्न नसक्दा किसानहरूको जीवनस्तर माथि उठ्न सकेको छैन । हाम्रो कृषि परम्परागत एवम् गुजारा प्रणालीमा आधारित छ ।”, प्राचार्य भण्डारीले भने, “कृषकहरूका समस्या, कृषिबाली तथा पशुचौपायाहरूमा लाग्ने रोगको पहिचान गर्न र समाधानका लागि स्थानीय सरकार एवम् सम्बन्धित निकायको ध्यान आकर्षण गराउन सहयोग पुगोस् भन्ने हेतुले यस कार्यक्रमको आयोजना गरिएको हो ।”

Jivan_Sing_Tamang-(2)-1716374187.jpg
स्थानीय कृषकसँग समस्याबारे साेधपुछ गर्दै प्रशिक्षार्थीहरू ।

त्यसैगरी शिक्षालयका कृषि प्रशिक्षक एवम् पशुविज्ञान विभागका कार्यक्रम संयोजक डा. विवेक अधिकारीले विद्यार्थीहरूले पाठ्यक्रमबाट सिकेका ज्ञान र सिपलाई समुदायमा गएर प्रत्यक्ष लागु गर्न सघाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । 

Dr_Bibek_Adhikari-1716374229.jpg
डा. विवेक अधिकारी, कृषि प्रशिक्षक एवम् पशु विज्ञान कार्यक्रम संयाेजक, धादिङ बहुप्राविधिक शिक्षालय, गजुरी-१, धादिङ ।

डा. अधिकारीले भने, “बेनीघाट रोराङ–१ को जरुङ र सिमटार गाउँमा कृषकहरूको अवस्था, बालीनाली तथा पशु स्वास्थ्य समस्याको अध्ययन, प्रशिक्षार्थीलाई समुदायको सामाजिक तथा आर्थिक अवस्था, जनसाङ्ख्यिक वितरण लगायतका विषयहरूको ज्ञान होस् भन्ने उद्देश्यले स्थलगत कार्यक्रम गरिएको हो ।”

त्यसैगरी शिक्षालयका लेखा तथा प्रशासकीय अधिकृत जीवन देवकोटाले यस कार्यक्रमले कृषकहरूलाई कृषिबाली तथा पशुचौपायामा लाग्ने रोगहरूको पहिचान गर्न, तिनको निदान गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।

Untitled-design-1716374231.jpg
जीवन देवकाेटा, लेखा तथा प्रशासकीय अधिकृत, धादिङ बहुप्राविधक शिक्षालय, गजुरी-१, धादिङ । 

अधिकृत देवकोटाले भने, “कृषकहरूलाई थोरै भएपनि सहयोग पुगोस् भनेर हामीले शिविर पनि सञ्चालन गरेका छौँ । शिविरमा कृषिबाली, पशु स्वास्थ्यको परीक्षण गर्नुका साथै निःशुल्क औषधि पनि दिएका छौँ ।”

त्यसैगरी बेनीघाट रोराङ–१ का वडाध्यक्ष जीवन सिं तामाङले शिक्षालयको यस कार्यक्रमले वडाको कृषकहरूको समस्या, कृषिबाली तथा पशुचौपायामा लाग्ने रोगको पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । यस कार्यक्रमले परम्परागत गुजारा प्रणालीमा आधारित कृषि कर्म गर्दै आएका कृषकहरूलाई आधुनिक एवम् व्यावसायिक कृषितर्फ आकर्षित गर्न अभिप्रेरित गर्ने अध्यक्ष तामाङले बताए । 

Jivan_Sing_Tamang-1716374192.jpg
जीवन सिं तामाङ, वडाध्यक्ष, बेनीघाट राेराङ-१, धादिङ । 

शिक्षालयका प्राविधिक एवम् प्रशिक्षार्थीहरूले तयार पारेको संक्षिप्त प्रतिवेदन प्राप्त भएको र सो प्रतिवेदनलाई आधार मानेर वडाको कृषि क्षेत्रको समस्या समाधान र विकासको लागि अघि बढ्ने उनले बताए । 

प्रतिवेदनमा वडाका कृषकहरू परम्परागत गुजारा कृषि प्रणालीमा आधारित रहेको, रासायनिक मल, विउविजन, आधुनिक कृषि प्रविधिको कमी, सिँचाइको अभाव, कृषिबाली तथा पशु स्वास्थ्य बिमाको व्यवस्था नभएको, कृषि प्राविधिकको व्यवस्था नभएको, कृषि उत्पादनको बजार व्यवस्थापन नभएको लगायत दर्जनौँ समस्याहरू उल्लेख रहेको अध्यक्ष तामाङले बताए । प्रतिवेदनमा उल्लेख भएका समस्याहरूको समाधानका लागि आफू लागिपर्ने प्रतिबद्धता उनले व्यक्त गरे । 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update